एजेन्सी – बार्सिलोनाका पूर्व स्टार रोनाल्डिन्होलाई मातृशोक परेको छ । कोराना भाइरसका कारण रोनाल्डिन्होकी आरमा डोना मिगुइलिनाको ७१ वर्षको उमेरमा मृत्यु भएको आइतबार घोषणा गरिएको थियो ।

बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले पूर्व सहकर्मीलाई आमाको मृत्युमा सामाजिक सञ्जालमार्फत गहिरो समवेदना व्यक्त गरेका छन् । ‘रुनी मसँग कुनै शब्द छैन र मलाई विश्वास लगेको छैन, मेस्सीले लेखेका छन्, म यस्तो समयमा तिम्रो परिवारलाई धर्यधारण शक्ति मिलोस भन्ने काम गर्न चाहन्छु । उनको मृत्युमा दुःख लागेको छ । मृत आत्माको चिर शान्तिको कामना गर्दछु ।’
क्लबका अन्य थुप्रै खेलाडीले पूर्व सहकर्मीलाई परेको दुःखमा सहानुभुती प्रकट गरेका छन् । गत वर्षको डिसेम्बर २१ मै ब्राजिलियन महान खेलाडीले आमालाई कोरोना संक्रमण भएको सर्वजनिक रुपमा जानकारी गराएका थिए । उनले त्यति बेला भनेका थिए, ‘प्रिय साथीहरु, मेरो आमालाई कोभिड संक्रमण भएको छ । उनी त्यसबाट ठीक हुनका लागि संघर्षरत छिन् ।’
आइसियूमा राखेर रोनाल्डिन्होको आमाको उपचार गरिएको थियो । तर उनी त्यसबाट ठीक भइनन् । उनको मृत्युमा एट्लेटिको मिनेरो र बार्सिलोनाले पनि दुःख व्यक्त गरेको छ । रोनाल्डिन्होलाई पनि गत अक्टुबरमा कोभिड संक्रमण भएको थियो । तर उनलाई लक्षण भने देखिएको थिएन ।