एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेज आफ्नो टोलीका लागि गोल गर्न माहिर छन् । राष्ट्रिय टोली होस् या क्लब फुटबल, उनले हरेक टोलीमा खेल्दा गोल गरेकै हुन्छन् । यसबाहेक उनी मैदानभित्र अनुशासन तोड्ने पक्षमा पनि पटक पटक चर्चामा आउने गरेका छन् ।

विगतमा विपक्षी खेलाडीलाई टोकेको घटना सार्वजनिक भइसक्दा मंगलबार चेल्सीविरुद्ध च्याम्पियन्स लिगमा भने सुआरेजले विपक्षी खेलाडीलाई चिमोटे । चेल्सीका जर्मन डिफेन्डर एन्टोनियो रुडीगर र सुआरेज बलका लागि संघर्ष गरिरहँदा सुआरेज लड्न पुगे । तर उनले त्यसक्रममा रुडीगरको तिघ्राको भित्री भागमा चिमोट्न भ्याए ।
रुडीगर सुआरेजको उक्त हर्कतबाट रिसले चुर हुँदै उनीसँग विवादमा उत्रिए । यसो गर्दा सुआरेज भने हाँसेर नै बसिरहे । रेफ्रीले दुवै खेलाडीलाई छुट्ट्याए । सुरुवातमा एक्कासी दुई खेलाडीबीच पेलापेल हुँदा रेफ्रीले पनि के भएको चाल पाएनन् । तर टिभीमा रिप्ले हेर्दा भने सुआरेजले चिमोटेपछि रुडीगर रिसाएको देखियो । रेफ्रीले उक्त घटनालाई भीएआर प्रयोग भने गरेनन् ।
विगतमा टोकेको केहि घटना इंगित गर्दै चेल्सीकै पूर्व खेलाडीले भने सुआरेज सुध्रिएको भन्दै व्यंग्य गरे । उनले भने, ‘जब तपाईं आफ्नो बच्चाले टोक्न छोडेर चिमोट्न थालेको देख्नुहुन्छ, यसलाई सुधार नै मान्नुपर्छ ।’
Rudiger making Suarez look like a scared kitten #ATLCHE #Chelsea #Giroud #Rudi pic.twitter.com/y2Y47ThjyQ
— Chelsea Factual (@ChelseaFactual) February 23, 2021
सुआरेजले सन् २०१० मा आयाक्सबाट खेल्दा पिएसभीका ओतमान बक्काललाई टोकेपछि १० खेलको प्रतिबन्ध भोगेका थिए । त्यसको तीन वर्षपछि लिभरपुलबाट खेल्दा उनले चेल्सीकै ब्रानिस्लाभ इभानोभिचको काँधमा टोके । त्यसपछि सन् २०१४ को विश्वकपमा इटालीका जिओर्जियो किएलिनीलाई टोकेपछि विश्वभर चर्चा भयो ।