default_image

3 years ago

March 2, 2021

नेपाल सुपर लिग : योजना चुस्त, तयारी सुस्त

सुबास हुमागाईं, काठमाडौं फ्रेन्चाइज टोलीको अवधारणामा फुटबल लिग सुरु गर्ने योजना अनुसार अखिल नेपाल फुटबल संघ र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले दुई वर्षअघि सम्झौता गरेका थिए । सम्झौतामा एन्फाले सुपर लिगलाई वार्षिक क्यालेन्डरमा उचित स्थान दिएर संचालन गर्ने भनिएपनि सम्झौता गर्ने पत्रकार सम्मेलनबाहेक केहि गतिविधि अघि बढेन । उक्त सम्झौता भएको दुई वर्षपछि […]

103 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

फ्रेन्चाइज टोलीको अवधारणामा फुटबल लिग सुरु गर्ने योजना अनुसार अखिल नेपाल फुटबल संघ र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले दुई वर्षअघि सम्झौता गरेका थिए । सम्झौतामा एन्फाले सुपर लिगलाई वार्षिक क्यालेन्डरमा उचित स्थान दिएर संचालन गर्ने भनिएपनि सम्झौता गर्ने पत्रकार सम्मेलनबाहेक केहि गतिविधि अघि बढेन ।

उक्त सम्झौता भएको दुई वर्षपछि एन्फा र एनएसइएमले फेरी अर्को पत्रकार सम्मेलन आयोजना गरे । यसपटक प्रतियोगिता मिति तय गरियो र प्रतियोगिता शैलीको प्रारम्भिक खाका पनि । दुई वर्षअघि ७ प्रदेशका टोली रहेर होम एन्ड अवे पद्दतिमा गर्ने भनिएको वृहत लिग यसपटक भने खुम्चिएर ६ टोली सम्मिलित २ साताको प्रतियोगितामा सिमित भयो ।

दुई वर्षअघि नेपालको वैकल्पिक लिगको रुपमा आफूलाई उभ्याउने रणनीति बुनेको प्रतियोगिताले अहिले आउँदा भने सामान्य प्रतियोगिताको झल्को दिएको छ, र त्यसमा पनि अनेक बाधा अड्चन सहित । प्रतियोगिता सुरु हुन ७ साता बाँकी रहँदासम्म पनि प्रतियोगिता खेल्ने खेलाडी र ती खेलाडी आबद्ध क्लब यसबारे अनभिज्ञ छन् । सुपर लिगको आयोजक एनएसइएमले एन्फाले सम्पूर्ण प्राविधिक पक्ष हेर्ने बताइरहँदा एन्फाले भने यस विषयमा गम्भीर भएर अघि बढिरहेको छैन ।

खेलाडी अनुबन्ध प्रतियोगिताको मुख्य पाटो हो । फ्रेन्चाइज लिगमा नयाँ टोली रहने हुनाले साविक क्लबमा खेलिरहेका खेलाडीले सुपर लिग खेल्न पुरानो क्लब छाड्नुपर्ने हुन्छ अथवा लोनमा जानुपर्ने हुन्छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले एक साताअघि आयोजित पत्रकार सम्मेलनमा सुपर लिग आयोजना हुने समयमा ट्रान्सफर विन्डो खुल्ला हुने र त्यसबेला खेलाडी फ्री एजेन्ट हुने भएकाले फ्रेन्चाइज लिगमा अनुबन्ध हुने बताए ।

तर एन्फा अध्यक्ष शेर्पाले यसो भनिरहँदा विभागीय टोलीमा रहेका खेलाडीलाई भने नियम लागु हुँदैन । प्राइभेट क्लबमा नै पनि कतिपय खेलाडीले लामो सम्झौता गरेको अवस्था छ । यस्तो अवस्थामा भने अध्यक्ष शेर्पाले भनेजस्तो खेलाडी फ्री एजेन्ट हुँदैनन् । खेलाडी अनुबन्ध गर्ने सुरुवाती र सबैभन्दा महत्त्वपूर्ण पक्ष नै हालसम्म प्रष्ट हुन सकेको छैन ।

नेपाल सुपर लिगका सिइओ सुदीप शर्माका अनुसार एन्फाले लिगमा सबै खेलाडी उपलब्ध हुने ग्यारेन्टी दिएको छ । उनका अनुसार एन्फाले नै लिगमा सहभागी हुने नेपाली खेलाडीको वर्गीकरण गर्नेछ र आवश्यक स्वीकृति उपलब्ध गराउनेछ । तर चैत पहिलो साता हुने तयारी रहेको लिगको खेलाडी छनोट कार्यक्रम आउन ३ साता बाँकी रहँदा न खेलाडी यसबारे जानकार छन् न त उनीहरु अनुबन्धित क्लब नै ।

‘हामीले खेलाडीबारे सबै जिम्मेवारी एन्फालाई दिएका छौं । खेलाडी वर्गीकरण पनि वहाँहरुले नै गर्नुहुन्छ । हामीले व्यवस्थापन र आयोजनाको पाटो हेर्ने हो । वहाँहरुले सबै खेलाडी उपलब्ध हुने भन्नुभएको छ,’ उनले थपे, ‘हाम्रो लिगमा नेपालका सबै खेलाडी खेल्ने तयारी छ । लिगको महत्त्वका लागि पनि खेलाडीहरुको उपस्थिति चाहिन्छ ।’

दुई वर्षअघि ७ प्रदेशबाट ७ टोली हुने भनिएपनि हाल सहरमा आधारित रहेर ६ टोली निर्माण हुने भएका छन् । एकै प्रदेशका दुई सहर पनि हुन सक्ने शर्माले जानकारी दिए । सिंगल राउन्डको लिगमा सबै टोलीले ५-५ खेल खेल्नेछन् । हरेक टोलीमा २० खेलाडी रहनेछन् भने अहिलेसम्म २ वा ३ विदेशी खेलाडी राख्ने तयारी भइरहेको छ ।

सिइओ शर्माले दुई वर्ष घोषणा गरेजस्तो वृहत लिग गर्न सम्भव नभएपछि अहिले सुरुवातको रुपमा यो लिग संचालन गर्न लागिएको बताए । ‘दुई वर्षअघि हामीले ७ प्रदेशका टोलीसहित होम एन्ड अवे पद्दतिमा लिग गर्ने भनेका थियौं । समय घर्कियो र कोरोनाले हाम्रो तयारी पनि अघि बढ्न सकेन । अहिले सुरुवातको रुपमा सानो स्वरूपमा भएपनि प्रतियोगिता गर्न लागेका हौं । आउने दिनमा यसलाई नै परिस्कृत गर्दै अघि लैजाने योजना छ ।’

‘खेलाडी सहभागिता, पुरस्कार रकम लगायत अन्य पक्षमा केहि परिवर्तन गर्ने छैनौं । हामीले नेपालमा भएको अन्य प्रतियोगिताभन्दा फरक गर्ने लक्ष्यसहित यो कार्यक्रम अघि सारेका हौं । अहिलेलाई व्यावसायिक भन्दापनि हामीले फुटबल विकास प्राथमिकतामा राखेका छौं । क्विक्सको नाममा अघिल्लो साल पनि विद्यालय स्तरीय प्रतियोगिता आयोजना गर्दा एन्फालाई सहयोग गरेका थियौं । प्रतियोगिता नाफा-घाटा जे भएपनि हामी एन्फालाई सहयोग गर्नेछौं,’ शर्माले प्रष्ट पारे ।

सुपर लिगको फ्रेन्चाइज र टिम मालिकबारे अर्को साता विस्तृत विवरण सार्वजनिक गर्ने आयोजकको तयारी रहेको छ । त्यसको दुई सातापछि ड्राफ्ट वा अक्सनमार्फत खेलाडी छनोट हुनेछन् । पहिलो संस्करण भएको हुँदा टोली सन्तुलित होस् भन्ने हिसाबले ड्राफ्टबाट नै खेलाडी छनोट गर्ने सम्भावना छ । एन्फाले क्लब र खेलाडीसँग समन्वय गरेपछि यकिन भन्न सकिने शर्माले बताए ।

सुपर लिग आयोजकले यसो भनिरहँदा एन्फाले भने यस विषयमा कुनै कदम अघि चालेको देखिदैन । हालसम्म क्लबलाई पनि यसबारे औपचारिक जानकारी दिइएको छैन । वैशाखमा हुने प्रतियोगिताका लागि एकातर्फ आयोजक आफ्नो पक्षबाट अघि बढ्दा एन्फाले भने आफ्नो पक्षबाट सामान्य प्रक्रिया अघि बढाएको छैन ।

एन्फाका लिग समितिका निर्देशक संजीव मिश्रले यसबारे क्लब र खेलाडीसँग छलफल गर्न बाँकी रहेको स्वीकारे । उनले यस प्रक्रियामा केहि ढिला भएको पनि स्वीकार गरे ।

प्रतियोगिता तय भएको मितिले झन्डै दुई साताअघि खेलाडीलाई प्रशिक्षण गराउने तयारी फ्रेन्चाइजहरुले गरेका छन् । तर त्यस समयमा मोफसलको प्रतियोगिता हुने सम्भावना त छ नै, त्यसबाहेक नेपालको प्रतिनिधित्व गर्दै त्रिभुवन आर्मी क्लबले एएफसी कपको प्लेअफ चरणका खेल पनि खेल्दैछ । यस्तोमा आर्मीले आफ्ना खेलाडीलाई छोड्ने सम्भावना पक्कै रहँदैन ।

राष्ट्रिय टोली विश्वकप छनोटका लागि तयारी गर्दा आर्मीका ९ खेलाडी टोलीमा परेका थिए । यी सबै खेलाडी उपलब्ध नहुँदा लिगको स्वाद पक्कै कम हुन्छ । अझ पुलिस र एपिएफ जस्ता विभागीय टोलीका खेलाडी पनि नहुने हो भने सुपर लिगको गरिमा पक्कै घट्नेछ । सुपर लिगका सिइओ शर्मा पनि नेपालकै स्टार खेलाडी नै नहुने भन्ने सोच नै नरहेको बताउँछन् ।

हाल राष्ट्रिय टोलीका उपकप्तान रहेका त्रिभुवन आर्मी क्लबका फरवार्ड भरत खवासले आफू सुपर लिग खेल्न उत्साहित रहेको बताए । तर आर्मीले एएफसी कपमा सहभागिता जनाउँदा आफ्नो टोलीका खेलाडी खेल्ने वा नखेल्नेबारे भने केहि प्रष्ट नरहेको उनले सुनाए ।

‘हामी अप्रिल ७ मा एएफसी कप प्लेअफको पहिलो खेल खेल्दैछौं । त्यसपछि अर्को चरणका दुई खेल अर्को साता नै खेल्नुपर्छ । यसो हुँदा आर्मीका खेलाडीले सुपर लिगको तयारीमा संलग्न हुन मिल्दैन । हालसम्म हामीलाई सुपर लिगबारे केहि जानकारी आएको छैन,’ खवासले भने ।

‘फ्रेन्चाइज लिग राम्रो सोच हो । सहिद स्मारक लिग भन्दा फरक छ । सहिद स्मारक लामो समयदेखि चल्दै आएको लिग अझ नेपाली फुटबलको मेरुदण्ड नै हो । यसको बेग्लै महत्त्व छ । लामो समय चल्ने यस लिगले फुटबल विकासमा निकै टेवा पुर्याएको छ,’ उनले थपे,’ फ्रेन्चाइज लिगको महत्त्व बेग्लै छ । नयाँ योजना सुन्दा कौतुहलता छ । व्यावसायिक रुपमा सबै पक्षलाई राम्रो हुने देखिन्छ । एन्फा र सम्बन्धित पक्षले समन्वय गरेर लैजाँदा राम्रो हुन्छ ।’

नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले पनि फ्रेन्चाइज लिगको अवधारणा स्वागतयोग्य रहेको अभिव्यक्ति दिए । ‘ फ्रेन्चाइज लिग आयोजना गरेर व्य्वावासयिक पक्षमा अघि बढ्नु राम्रो हो । तर यसो भन्दा सहिद स्मारक र राष्ट्रिय लिग पनि सँगै अघि बढ्नुपर्छ । फ्रेन्चाइज लिग नयाँ छ र यसमा नयाँ पक्ष धेरै हुन्छ । अहिले पहिलो संस्करण अलि छोटो होला तर आउने संस्करण परिस्कृत गर्न सकिन्छ,’ उनले भने ।

थापाले सुपर लिग आएपनि एन्फाले डिभिजन लिग र राष्ट्रिय लिगलाई भने प्राथमिकतामा राख्नुपर्ने बताए । ‘यसले हाम्रो अधिकारिक लिग सहिद स्मारक लिगको महत्त्वलाई भने असर पार्न हुँदैन । एन्फाको प्राथमिकता सहिद स्मारक लिग र राष्ट्रिय लिगमा नै हुनुपर्छ । फ्रेन्चाइज लिगलाई कसरि समेट्न सकिन्छ भन्ने योजना भने आउनुपर्छ । सहिद स्मारक लिग फुटबल विकासको आधार हो, यसलाई अझ लामो समय गर्नमा ध्यान दिनुपर्छ,’ उनले थपे ।

वर्तमान अवस्थामा विभागीय खेलाडी सुपर लिग खेल्नेबारे भने थापा आफैं पनि प्रष्ट छैनन् । ‘ हामीले सुपर लिगबारे मिडियामा नै सुनेका हौँ । हालसम्म एन्फाबाट कुनै खबर आएको छैन । विभागलाई सूचना दिएपछि के गर्ने भन्ने छलफल गर्न बाँकी छ । विभागले प्राविधिक टोलीसँग पनि छलफल गर्ला अनि मात्र यकिन भन्न सकिन्छ,’ उनले भने, ‘कोरोनापछि पछिल्लो तीन महिना नियमित प्रशिक्षणमा छौं । मोफसलका प्रतियोगिताको लागि तयारी गरिरहेका छौं । हामीले के गर्ने भन्ने विभागकै निर्देशनमा भर पर्छ ।’

नेपाल एपिएफ क्लबका व्यवस्थापक अमित मल्लपनि हालसम्म एन्फाबाट केहि जानकारी नआएको बताए । ‘ एन्फाले सुपर लिगको विषयमा कुनै पत्राचार गरेको छैन । एन्फाबाट जानकारी आएपछि मात्र हामीले के गर्ने भन्ने सोच्नेछौं । अहिलेलाई हाम्रो टोली मोफसल प्रतियोगिता खेल्न नियमित प्रशिक्षणमा छ,’ उनले भने ।

‘मोफसलका प्रतियोगिता खेल्न पनि हामीले वाचा गरेका छौं । लामो समय खेल नभएकाले पनि अब मैदान फर्कनु जरुरि छ । एन्फाले पनि यस विषयमा सोचेको होला । विभागले त् नियमित रुपमा आफ्नो कार्यक्रम अघि बढाउने छ । एन्फाको निर्णय कस्तो हुन्छ, त्यसपछि छलफल गर्नेछौं,’ मल्लले थपे ।

नेपाल सुपर लिग आयोजनाका लागि एन्फा र एनएसइएमले सम्झौता गरेपछि दुई वर्षअघि लेखिएको लेख तल पढ्नुहोस :

फुटबलमा फ्रेन्चाइज लिग : सम्भावना भन्दा समस्या बढी

अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल सुपर लिग (एनएसएल) को आयोजनाको लागि सम्झौता गरे । सम्झौताअनुसार एन्फाले एनएसएलको प्राविधिक र खेल पूर्वाधारको पाटो हेर्नेछ भने चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको कम्पनि एनएसईएमले प्रतियोगिताको व्यापारिक, व्यवस्थापनलगायत अन्य पाटो सम्हाल्नेछ ।

एन्फाले पछिल्लो समय अन्य विविध प्रतियोगिता गर्ने वाचा पनि गरेको छ । कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले एनएसएलको लागि एन्फाले आवश्यक गृहकार्य गरेको र यस प्रतियोगितालाई एन्फाको वार्षिक क्यालेन्डरमा उचित स्थान दिन सकिने हुनाले नै अगाडी बढेको जानकारी दिए । अध्यक्ष शेर्पाका अनुसार फ्रेन्चाइज लिग नेपाली फुटबलमा नयाँ आयाम ल्याउने कडीको रुपमा स्थापित हुनेछ । तर, अहिले कायम रहेको स्थापित लिग फुटबल नै राम्रोसँग गर्न धौ-धौ परेको अवस्थामा फ्रेन्चाइज लिगमा हात हाल्नु कतिको उपयुक्त छ त ? यसका सम्भावना के छन् ? यसको भविष्य कस्तो रहनेछ ?

फिफाको विधानअनुसार कुनैपनि देशको आधिकारिक लिगमा कुनैपनि टोलीले खेल प्रदर्शनको आधारमा नै सहभागिता जनाउन पाउने हुनुपर्छ । विधानमा लेखिएको छ, ‘कुनैपनि क्लबले देशको फुटबल लिगमा सहभागिता जनाउने मुख्य आधार खेलमा सहभागिता र प्रतिस्पर्धा हुनुपर्छ । एक क्लबले देशको लिग फुटबल खेल्न कुनै श्रेणीको लिग खेल्ने र सिजनको अन्त्यमा त्यहीं रहने अथवा बढुवा र घटुवा हुनुपर्नेछ ।’

नेपालमा अहिले अधिकारिक रुपमा स्थापित रहेको सहिद स्मारक लिग विक्रम संवत २०११ देखि खेलिंदै आएको छ । हाल सहिद स्मारक लिगमा तीन श्रेणी (ए,बी र सी) छन् । यसबीचमा थुप्रै क्लबले उपाधिको स्वाद चाखेका छन् त उपाधि जितेकै कति क्लबको अस्तित्व बिलिन भइसकेको छ । आधुनिक फुटबलको गतिमा चल्न नसक्दा केहि क्लब हराएका छन् । केहि यस्ता क्लब पनि छन् जसले आधुनिक फुटबलको परिवर्तन अँगाल्दै छोटो समयमै शीर्ष डिभिजनको यात्रा पनि तय गरेका छन् ।

सहिद स्मारक लिग हरेक क्लबका लागि प्रतिस्पर्धा गर्ने खुला स्थल हो । हरेक वर्ष यस लिगमा खेल्न सी डिभिजन छनोटका रुपमा खुला प्रतिस्पर्धा हुँदै आएको छ । देशको कुनैपनि कुनामा रहेका क्लबले ए डिभिजन खेल्न यो प्रतियोगितालाई सुरुवाती खुड्किलाका रुपमा लिन सक्छन् । ए डिभिजन लिग राजधानी केन्द्रित भयो भन्ने तर्क यहाँनिर गलत सावित हुन्छ । देशको जुनसुकै क्लबले पनि ए डिभिजन क्लबका रुपमा आफूलाई स्थापित गर्न तीन श्रेणीको लिग खेले पुग्छ ।

कुनैपनि देशमा एक भन्दा बढी अधिकारिक लिग स्थापना हुनु हुँदैन । फिफाले त्यस्तो भएमा उक्त देशलाई निलम्बन गरेर समयसा नसुल्झे प्रतिबन्ध सम्म लगाउन सक्छ । वर्तमान परिपेक्षमा छिमेकी राष्ट्र भारतमा दुई अधिकारिक लिगले भारतीय फुटबलको सर्वोच्च निकायलाई निकै समस्या भइरहेको छ । फिफाले सन् २०२० सम्म दुवै लिगलाई एकै गर्ने अथवा एक लिगलाई मात्र आधिकारिकता दिन भारतलाई निर्देशन दिइसकेको छ ।

प्रस्तावित एनएसएलको लोगो

आई-लिग भारतको पुरानो फुटबल प्रतियोगिता हो र लामो इतिहास बोकेको क्लब पनि । यसै लिगमा भारतीय फुटबलका अब्बल क्लबहरु खेल्दै आएका छन् । इन्डियन सुपर लिग (आईएसएल) स्थापित भएको ५ वर्ष पुगेको छैन । तर व्यापारिक प्रतिष्ठानहरुको आबद्धताका कारण यस लिगमा राम्रो खेलाडीहरुको जमघट छ । प्रचुर आम्दानी हुने भएकाले यसै लिगमा खेलाडीहरुको आबद्धता रहेको हो । अब भारतीय लिगले कस्तो बाटो लिन्छ, त्यसमा कुनै एक पक्षलाई घाटा भने पक्कै हुने देखिन्छ ।

नेपालमा आयोजना गर्ने तयारी गरिएको नेपाल सुपर लिगबारे विस्तृत विवरण आइसकेको छैन । तर प्रतियोगिताको प्रारम्भिक खाका हेर्दा आयोजनाका लागि थुप्रै चुनौती तेर्सिने सम्भावना भने प्रबल छ । प्रतियोगिता सम्झौता हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा प्रदेशको आधारमा व्यापारिक प्रतिष्ठानहरुले ७ टोली गठन गर्ने भनिएको छ । यी सबै टोलीमा ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका १ सय ४० खेलाडीलाई बाँडिनेछ । त्यसबाहेक विदेशी खेलाडी पनि अनुबन्ध गर्न पाइने प्रावधान उल्लेख गरिएको छ । प्रतियोगिता सिंगल राउण्ड रोबिन र त्यसपछि ४ टोलीलाई प्लेअफमा खेलाइनेछ । जसमा कुल २५ खेल हुनेछ ।

प्रतियोगिताको खाका र संलग्न व्यक्तित्व हेर्दा पछिल्लो समय नेपाली क्रिकेटमा प्रचलनमा आएको फ्रेन्चाइज लिगको प्रभाव पारेको प्रष्ट देख्न सकिन्छ । तर विश्व खेलकुदमा क्रिकेट र फुटबल चल्ने प्रक्रिया बिल्कुल फरक छ । क्रिकेट विश्व बजारमा त्यति व्यावसायिकीकरण हुन सकेको छैन जति फुटबल भएको छ । जसकारण क्रिकेटमा क्लब भन्दा पनि राष्ट्रबीचको खेलहरु बढी हुने गर्दछ । अन्तर्राष्ट्रिय क्रिकेट समिति (आईसीसी) ले क्लब क्रिकेट भन्दा अन्तर्राष्ट्रिय क्रिकेटलाई बढी प्राथमिकतामा राखेको हुन्छ । आईसीसीले क्लब क्रिकेटलाई नियमन गर्ने अवस्था पनि आइसकेको छैन । तर पछिल्लो समय फ्रेन्चाइज लिगहरुको बढ्दो संख्याले आईसीसीले पनि खेलाडीले कति लिगमा खेल्न पाउने विषयमा नियमन गर्न गृहकार्य थालिसकेको छ ।

विश्व फुटबलमा कुनैपनि खेलाडीले एक समयमा एक क्लबबाट मात्र औपचारिक लिग खेल्न पाउँछ । एक खेलाडी एक समयमा एक क्लबसँग मात्र अनुबन्ध हुन पाउँछ । विशेष परिस्थितिमा खेलाडी लोन (ऋण) मा केहि समयको लागि अर्को क्लबमा जाने प्रचलन पनि रहेको छ । तर पछिल्लो समय ठूला क्लबहरुले अत्यधिक खेलाडी खरिद गरेर लोनमा पठाउने चलन बढेपछि फिफाले त्यसमा पनि सिमा तोक्ने बताएको छ । यसले खेलाडी र क्लबको व्यावसायिकतामा थप सुधार आउनेछ ।

नेपालको अवस्थामा ए डिभिजन क्लबले खेलाडीलाई अनुबन्धन गरेर राखेको हुन्छ । ए डिभिजन क्लबहरुले लिगको समयपछि मोफसल प्रतियोगिता खेलेर आम्दानी गरेका हुन्छन् । त्यसो नहुँदा नियमित प्रशिक्षण गरेर विभिन्न प्रतियोगिताका लागि तयारीमा हुन्छन् । प्रस्तावित फ्रेन्चाइज लिगमा ए डिभिजन लिगका खेलाडी सहभागी गराउने विषयमा क्लबहरुको ध्यानाकर्षण हुनु उत्तिकै जरुरि छ । एक त फिफाको नियमअनुसार एकै देशमा दुई लिगको सम्भव छैन । फ्रेन्चाइज लिगमा आबद्ध हुने खेलाडी घाइते भएको अवस्थामा फर्केर क्लबलाई नै घाटा हुनेछ । फ्रेन्चाइज लिगको अवधारणा हालसम्म सार्वजनिक भएको त छैन, तर यसले थुप्रै प्रश्न भने उब्जाएको छ ।

प्रतिष्ठित सहिद स्मारक लिगको शीर्ष श्रेणीको प्रतियोगिता सकिन लागेको छ । रेलिगेसन बिना नै गरिएको यस लिगमा दर्शकको संख्या अत्यन्तै न्यून रहेको छ । यसै त रंगशालाको अभाव, त्यसमाथि खस्कँदो खेलको स्तरले पनि प्रत्यक्ष असर परेको छ । देशको एकमात्र सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला वि.सं. २०७२ को महाभूकम्पयता चलेको छैन । अर्को वर्ष यो मैदान तयार हुने राखेपले जनाएको छ । तर यस्तो मिति तोक्ने काम धेरै भएका छन् र काम भने कछुवा गतिमै अगाडी बढेको छ । फ्रेन्चाइज लिग गर्न पूर्वाधारको पनि कमी नै छ ।

समग्रमा भन्दा नेपाली फुटबलको विकासका लागि अहिलेको माग फ्रेन्चाइज लिग होइन । फ्रेन्चाइज लिगमा संलग्न हुने सम्भावना रहेका व्यापारिक प्रतिष्ठानलाई सहिद स्मारक लिगका क्लबहरुमा ल्याउन सके, सबै पक्षलाई लाभ हुने देखिन्छ । एकतर्फ एन्फाको फुटबललाई व्यवसायिक बनाउने लक्ष्य पनि पूरा हुने, अर्कोतर्फ व्यापारिक प्रतिष्ठानको फुटबलमा होमिने इच्छा पनि । क्लबहरुलाई पनि आर्थिक रुपमा सबल बनेपछि कार्यसंचालनमा सहज हुनेछ । यससँगै खेलाडीहरुको पारिश्रमिक, खेल हुने स्थान लगायत अन्य पक्ष पनि विस्तारै बढ्नेछन् ।

फ्रेन्चाइज लिगको अवधारणालाई सुधार गरेर अगाडी लग्ने सम्भावना पनि हुन सक्छन् । सहिद स्मारक लिगका क्लबहरुको प्रत्यक्ष संलग्नतामा कुनै प्रतियोगिता आयोजना गर्नु अथवा सहिद स्मारक लिगलाई नै आधुनिकीकरण गर्ने सिलसिलामा परिवर्तन गर्ने सम्भावना नभएका हैनन् । तर त्यसको सम्भावना र त्यसपछिको भविष्य आशालाग्दो देखिन्न ।

वर्तमान परिस्थितिमा नेपाली फुटबललाई अगाडी बढाउन सहिद स्मारक लिगलाई अझ राम्रोसँग अगाडी बढाउनु जरुरि छ । बी र सी डिभिजनसँगै सी डिभिजन छनोटमा राजधानीवरपर भन्दा बाहिरको क्लबलाई खेल्न प्रोत्साहन गरेर त्यसको सुरुवात गर्न सकिन्छ । लामो समयदेखि वीरगंज युथ एकेडेमीले सहिद स्मारक लिग खेल्दै आएको छ । एक समय ए डिभिजनको संघारमा पुगेको क्लब अहिले सी डिभिजनमा छ । त्यसो त कोइलापानी जस्तो ए डिभिजनमा पुगेर बिल्लीबाठ भएको उदाहरण पनि छ । त्यसको लागि संघले उचित वातावरण बनाएर सहिद स्मारक लिगलाई नै प्राथमिकतामा राख्नु नेपाली फुटबलको दिर्घकालिन विकासको लागि उत्तम हुनेछ ।

March 18, 2024

बहराइन जान खोज्ने पदाधिकारीको नाम राखेपबाट अस्वीकृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय फुटबल टोलीसँग प्रत्यक्ष सरोकार राख्ने बाहेक अन्य पदाधिकारीलाई भने बहराइनको खेल हेर्न जानबाट रोक लगाएको छ । बहराइनमा हुने फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोट खेलका लागि एन्फाले फुटबल टोलीका साथ पदाधिकारी र अन्य गरि ४१ जनाको नाम बिहीबार स्वीकृतिका लागि राखेपमा […]

March 18, 2024

एट्लेटिकोलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बार्सिलोना आइतबार एट्लेटिको मड्रिडलाई ३-०ले हराउँदै स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औं मिनेटमा जोआओ फेलिक्सले गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । यो सिजन लिगमा उनको त्यो छैटौं गोल हो ।  दोस्रो हाफको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ६५ औं मिनेटमा […]

March 18, 2024

लिभरपुलविरुद्ध रोमाञ्चक जित सहित म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

एजेन्सी – चिर प्रतिद्वन्दी लिभरपुल माथि रोमाञ्चक जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुललाई अतिरिक्त समयमा ४-३ को जित निकाल्दै युनाइटेड अन्तिम चारमा पुग्न सफल भएका हो । निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय […]

Success

Thank you for your time.