5 years ago
June 18, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह सी मा लगातार दोस्रो जित दर्ता गर्दै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार घरेलु मैदानमा अष्ट्रियामाथि २-० को जित दर्ता गर्दै डच टोली १३ वर्षपछि युरोको नकआउट चरणमा पुगेको हो । यसअघि टोली सन् २००८ को युरोमा समूह चरण पार गर्न सफल रहेको थियो ।

घरेलु टोली नेदरल्यान्ड्सले खेलको ११ औं मिनेटमा मेम्फिस डिपाएको पेनाल्टी गोलमा अग्रता लिएको थियो । अष्ट्रियाका कप्तान डेविड अलाबाले पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राईजलाई लडाएको भिडियो असिस्टेन्ट रेफ्रीले देखेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । गोलरक्षक बाक्म्यानले डिपाएको प्रहारको दिशा ठम्याएपनि रोक्न भने सकेनन् ।
खेलको ४० औं मिनेटमा डिपाएले नै अग्रता दोब्बर पार्ने सुवर्ण अवसर खेर फाले । वोट वेघर्स्टले पेनाल्टी क्षेत्रभित्र लामो पासलाई नियन्त्रण गर्दै दिएको पासलाई डिपाएले पोस्टको दिशा दिन सकेनन् । गोलरक्षक र डिफेन्डर दुवै वेघर्स्टको पासमा झुक्किंदा डिपाएले लगभग खाली पोस्टमा गोल गर्न चुकेका थिए । त्यसअघि अष्ट्रियाका मार्टिन हिन्टरेगरको प्रहार बाहिरिंदा अष्ट्रिया खेलमा फर्कन सकेन ।

६७ औं मिनेटमा नेदरल्यान्ड्सले डम्फ्राइजको गोलमा अग्रता दोब्बर पार्यो । वैकल्पिक खेलाडी डनि मालेनले अफसाइड ट्रयाप बिट गर्दै पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासलाई अनमार्क रहेका डम्फ्राइजले पहिलो टचमा नै गोल गरेका थिए ।
यस जितसँगै नेदरल्यान्ड्सको २ खेलमा ६ अंक भएको छ । यसै समूहमा रहेको युक्रेन र अष्ट्रियाको ३-३ अंक छ । नर्थ म्यासेडोनिया भने अंकविहिन रहेको छ । अन्तिम चरणमा युक्रेन र अष्ट्रिया तथा नेदरल्यान्ड्स र नर्थ म्यासेडोनिया भिड्नेछन् ।
त्यसअघि दिनको दोस्रो खेलमा बेल्जियमले एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै समूह बी को खेलमा डेनमार्कलाई पराजित गरेको थियो । दोस्रो हाफमा मैदान प्रवेश गरेका केभिन डे ब्रुएनको प्रभावशाली प्रदर्शनमा बेल्जियमले २-१ को जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गर्यो ।

डेनमार्कले खेलको दोस्रो मिनेटमा नै अग्रता लिँदै घरेलु समर्थकमाझ उत्साह छरेको थियो । बेल्जियमको डिफेन्समा कमजोरीको फाइदा उठाउँदै युसुफ पाउल्सेनले गोल गरेका थिए । उनले पिएर एमिल होएबिएरको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
बेल्जियमले पहिलो हाफमा गोलको केहि अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । डेनमार्कले बेल्जियमलाई बल पोसेसनमा रहंदा पनि निरन्तर दबाब दिँदा टोलीले गोल फर्काउन सकेको थिएन । तर दोस्रो हाफमा प्रशिक्षक रोबर्टो मार्टिनेजले मिडफिल्डर डे ब्रुएनलाई मैदान प्रवेश गराउँदै खेलको रुप नै बदले ।

डे ब्रुएनकै पासमा थोर्गन हाजार्डले ५५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र डे ब्रुएनले संयमित रहेर डिफेन्स लाइन तोडेपछि दिएको पासलाई हाजार्डले गोल गरेका थिए । ७१ औं मिनेटमा डे ब्रुएनले सानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले इडेन हाजार्डको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि दुवै टोलीले गोलको अवसर सिर्जना गरेपनि गोलरक्षक बाधक बने । डेनमार्कले ८७ औं मिनेटमा खेल बराबरी गर्न अवसर पाएपनि क्रसबार त्यसमा बाधक बन्यो । ८७ औं मिनेटमा मार्टिन ब्रेथवेटले स्कोभ ओल्सनको क्रसमा गरेको हेडरमा कोर्टुवा निरिह बनेपनि क्रसबारले बेल्जियमको अग्रता जोगायो ।

यस जितसँगै बेल्जियम समूह बीको २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा पुगेको छ । बेल्जियमले नकआउट चरणमा पनि स्थान पक्का गरेको छ । समूहमा फिनल्यान्ड र रसियाको समान ३-३ अंक छ । डेनमार्क भने दुवै खेलमा पराजित हुँदै समूह चरणबाट नै बाहिरिने सम्भावना बढेको छ ।
त्यस्तै दिनको पहिलो खेलमा कप्तान एन्ड्रिय यार्माेलेन्कोले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि युक्रेनले युरोपेली च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको थियो । युक्रेनले पहिलोपटक युरो खेलिरहेको नर्थ म्यासेडोनियालाई २–१ ले पराजित गरेको हो ।

यो जितसँगै युक्रेनले समूह चरण पार गर्ने सम्भावना जीवितै राख्दा लगातार दोस्रो हार बेहोरेको नर्थ म्यासेडोनियाको समूह चरण पार गर्ने सम्भावना झिनो बनेको छ । युक्रेन पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३–२ ले पराजित भएको थियो भने नर्थ म्यासेडोनियाले अष्ट्रियासँग ३–१ को हार बेहोरेको थियो । रोमानियास्थित एरिना नेसनल बुखारेस्टमा बिहीबार भएको खेलमा युक्रेनको जितमा यार्माेलेन्को र रोमन यारेमचुकले गोल गर्दा नर्थ म्यासेडोनियाका इज्ग्जान एलिओस्कीले एक गोल फर्काए ।
खेलको नवौं मिनेटमा रुस्लान मालिनोभ्स्कीको प्रहारलाई नर्थ म्यासेडोनियाका गोलरक्षक स्टोल डिमिट्रिभ्स्कीले बचाउदा युक्रेन अग्रता लिनबाट चुक्यो । लगत्तै मालिनोभ्स्कीको पासमा एन्ड्रिय यार्माेलेन्कोको प्रहारमा गोलरक्षक स्टोल नै बाधक बने । १७औं मिनेटमा इल्जिफ इल्मासले गोल गर्न अवसर खेर फाले । २४औं मिनेटमा यार्माेलेन्कोको प्रहारलाई गोलरक्षक डिमिट्रिभ्स्कीले उत्कृष्ट बचाउ गर्दै म्यासेडोनियाको खतरा टारे ।
२९औं मिनेटमा कप्तान यार्माेलेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाए । एलेक्सान्डर काराभाइवको पासमा उनले सहजै फिनिस गरेका थिए । ३४औं मिनेटमा यार्माेलेन्कोले पासमा रोमन यारेमचुकले अफसाइड बिट ट्रयापमा गोल गर्दै युक्रेनको अग्रता दोब्बर पारे । ३९औं मिनेटमा कप्तान गोरान पाण्डभले गोल गरेपनि उनी अफसाइड ठहरिदा म्यासेडोनियाले गोल अन्तर घटाउन सकेन ।

४७औं मिनेटमा एरिजान एडेमीको प्रहारमा गोलरक्षक जर्ज बुस्चानले डाइभ दिदै क्लियर गर्दा म्यासेडोनिया निराश बन्यो । ५१औं मिनेटमा रुस्लान मालिनोभ्स्कीको फ्रिकिकलाई डिमिट्रिभ्स्कीले डाइभ दिँदै बचाए । ५७औं मिनेटमा इज्ग्जान एलिओस्कीले गोल गर्दै म्यासेडोनियालाई खेलमा फर्काउने संकेत दिए ।
एलेक्सान्डर ट्राजकोभ्स्कीको प्रहार क्रसबारमा लागेर फर्केपछि रिवाउन्डमा कप्तान गोरान पाण्डभले प्रहार गर्न खोजेका थिए । त्यसक्रममा काराइभले फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै म्यासेडोनियालाई पेनाल्टी प्रदान गरे । इज्ग्जान एलिओस्कीको पेनाल्टीलाई गोलरक्षक जर्ज बुस्चाले बचाएपनि रिवाउन्डमा एलिओस्कीनै गोल गर्न सफल भए ।
६६औं मिनेटमा मालिनोभ्स्कीको प्रहारलाई डिमिट्रिभ्स्कीले बचाए । ८४औं मिनेटमा युक्रेनले पेनाल्टी पाएपनि सदुपयोग गर्न सकेन । मालिनोभ्स्कीको फ्रिकिकलाई पेनाल्टी बक्समा स्टेफन रिस्टोभ्स्कीले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहयता लिदै युक्रेनलाई पेनाल्टी प्रदान गर्दा मालिनोभ्स्कीको प्रहारलाई गोलरक्षक डिमिट्रिभ्स्कीले बचाए ।

यो जितपछि समूह ‘सी’ मा युक्रेनले दुई खेलबाट ३ अंक जोडेको छ । अंकविहीन म्यासेडोनिया पुछारमा रहेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]