4 years ago
June 27, 2021
एजेन्सी – अतिरिक्त समयसम्म लम्बिएको खेलमा अष्ट्रियालाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि इटालीले वैकल्पिक खेलाडीको दुई गोलमा २-१ को जित दर्ता गरेको हो ।

खेलको सुरुवातदेखि नै इटालीले बल पोसेसनमा पकड जमाएपनि खेलमा अग्रता लिन सकेको थिएन । दोस्रो हाफमा अष्ट्रियाले गोल गरेपनि भीएआरले मान्यता नदिँदा खेल अतिरिक्त समयमा लम्बिएको थियो । इटालीका फरवार्डले अपेक्षित प्रदर्शन गर्न नसक्दा अष्ट्रियाको रक्षात्मक रणनीति सफल भएको थियो ।
१७ औं मिनेटमा निकोलो बारेल्लाको प्रहारलाई गोलरक्षकले खुट्टाले बचाउन सफल रहेका थिए । त्यसको दुई मिनेटपछि नै बारेल्लाको प्रहारलाई डिफेन्डर हिन्टरेगरले छेक्दै गोलको खतरा टारेका थिए । ३२ औं मिनेटमा इटालीको अग्रता लिने प्रयासमा पोस्ट बाधक बन्यो । चिरो इम्मोबिलेले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारले गोलरक्षक ड्यानीएल ब्याकमानलाई बिट गरेपनि पोस्टमा लाग्दै बाहिरिएको थियो ।

पहिलो हाफमा अष्ट्रियाले निकै कम गोलको अवसर पाएको थियो । १८ औं मिनेटमा मार्को अर्नाउटोभिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको भली प्रहार आकासिएको थियो । ३६ औं मिनेटमा डेविड अलाबाको फ्रिकिक क्लियर गरेपछि आएको अवसरलाई इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माले सहजै बचाएका थिए । ४२ औं मिनेटमा स्पिनाजोलाको प्रहारलाई गोलरक्षक ब्याकमानले विफल पारे ।
६३ औं मिनेटमा अष्ट्रियाले अर्नाउटोभिचको हेडर गोल भएपनि भीएआरले त्यसलाई मान्यता दिएन । लाइनरको क्रसलाई अलाबाले हेडर गरेपछि फार पोस्टमा अर्नाउटोभिचले पोस्टको दिशा दिएका थिए । तर भिडिओ असिस्टेन्ट रेफ्रीले अर्नाउटोभिचको अन्तिम टचलाई अफसाइड भन्दै गोल दिएनन् ।
८२ औं मिनेटमा स्पिनाजोलाको क्रसमा बेरार्डीको एक्रोब्याटिक प्रहार निकै बाहिर गयो । पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा उनले केहि संयम भएर बल नियन्त्रण गर्नुपर्नेमा हतारमा प्रहार गर्दा गोलरक्षकलाई कुनै समस्या दिन सकेनन् ।

अतिरिक्त समयको ९५ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेडेरिको किएजाले गोल गर्दै इटालीलाई अग्रता दिलाए । युभेन्टसका फरवार्ड किएजाले स्पिनाजोलाको चिप पासमा ६ यार्ड बक्स क्षेत्रभित्र राम्रो बल नियन्त्रण गर्दै तेस्रो टचमा गोल गरेका थिए ।
लोरेन्जो इन्सिग्नेले १ सय ४ औं मिनेटमा प्रहार गरेको फ्रिकिकलाई ब्याकमानले उत्कृष्ट डाइभ दिँदै विफल पारेका थिए । तर त्यस बचाउपछि आएको कर्नरबाट बनेको मुभमा इटाली अग्रता दोब्बर पार्न सफल रहयो । म्याटियो पेस्सिनाले पेनाल्टी क्षेत्रभित्र डिफेन्सले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए ।

अतिरिक्त समयको १ सय ६ औं मिनेटमा डोनारुम्माले राम्रो बचाउ गर्दै इटालीको २ गोलको अग्रता जोगाए । उनले लुइस स्वाउबले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई आफ्नो बायाँतर्फ डाइभ दिँदै बचाएका थिए ।
खेलको ५ मिनेट समय बाँकी रहँदा अष्ट्रियाले गोल फर्काउँदै खेलमा फर्कने संकेत दियो । स्वाउबको कर्नरमा वैकल्पिक फरवार्ड सासा कालाज्डिचले गोल गर्दै इटालीलाई दबाबमा राखेका थिए । उनले कर्नरमा आएको बललाई निअर पोस्टमा डाइभिङ हेडर गर्दै गोल गरेका थिए । यससँगै इटालीले लगातार ११ खेलमा गोल नखाएको सिलसिलामा पनि पुर्णविराम लागेको छ ।
इटालीले अब क्वाटरफाइनलमा आइतबार हुने बेल्जियम र पोर्चुगलबीच खेलको विजेतासँग खेल्नेछ । उक्त क्वाटरफाइनल खेल २ जुलाईमा म्युनिखमा हुनेछ ।

अष्ट्रियालाई हराउँदै इटालीले नयाँ राष्ट्रिय कीर्तिमान समेत कायम गरेको छ । लगातार ३१ खेल अपराजित रहँदै इटालीले ८२ वर्ष पुरानो कीर्तिमान तोडेको हो । यसअघि इटालीले सन् १९३५ अक्टोबर देखि सन् १९३९ जुलाईसम्म ३० खेल अपराजित रहने कीर्तिमान राखेको थियो । त्यसबेला टोलीका प्रशिक्षक भिटोरियो पोज्जो थिए । उनको नेतृत्वमा टोलीले लगातार दोस्रो विश्वकप तथा सन् १९३६ को ओलम्पिकमा स्वर्णपदक समेत जितेको थियो ।
इटालीले सन् २०१८ मा रोबर्टो मान्सिनीलाई प्रशिक्षकको जिम्मेवारी दिएपछि जम्मा २ खेल हारेको छ । पछिल्लोपटक टोलीले सन् २०१८ को नेसन्स लिगको खेलमा पोर्चुगलसँग पराजय बेहोरेको थियो । त्यसयता टोलीले ३१ खेलमा हार बेहोरेको छैन । पछिल्लो १२ खेलमा टोलीले ३४ गोल गरेको छ ।
त्यसअघि शनिबार नै भएको पहिलो खेलमा डेनमार्कले फरवार्ड कास्पर डोलबर्गको दुई गोलमा वेल्सलाई पराजित गरेको थियो । डेनमार्क ४-० को फराकिलो जित दर्ता गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

खेलको आठौं मिनेटमा नै डेनिस फरवार्ड डोलबर्गले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार आकासिएको थियो । लगत्तै अर्कोतर्फ कप्तान ग्यारेथ बेलको प्रहार थोरैले बाहिरिंदा वेल्सले अग्रता लिन सकेन । डेनमार्कले त्यसपछि आक्रमणमा जोड दिँदै लगातार कर्नरबाट दबाब सिर्जना गरेपनि गोल गर्न भने सकेन ।
२७ औं मिनेटमा डोलबर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाए । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहारलाई गोलरक्षक ड्यानी वार्डले डाइभ दिएपनि जोगाउन सकेनन् । विंगर मिकेल डाम्सगार्डले दिएको पासलाई फ्रान्सेली क्लब निसबाट खेल्दै आएका फरवार्डले सुन्दर गोलमा परिणत गरे ।

डच क्लब आयाक्सका लागि समेत खेलेका उनले आफ्नो पूर्व क्लबको मैदानमा नै गोल गर्न सफल भएका हुन् । उनी नियमित फरवार्ड युसुफ पाउल्सेनलाई चोट लागेपछि सुरुवाती रोजाइमा परेका थिए । ३२ औं मिनेटमा डोलबर्गकै प्रहारलाई गोलरक्षक वार्डले विफल पार्दै स्कोर १-० कै स्थितिमा राखे ।
इन्ज्युरी समयमा डेनमार्कले अग्रता दोब्बर गर्ने अवसर सदुपयोग गर्न सकेन । फरवार्ड मार्टिन ब्रेथवेटले पेनाल्टी क्षेत्रभित्र बल रोक्न नसक्दा पछाडी आएका डिफेन्डर योकिम माहेलले गरेको प्रहार गोलरक्षक वार्डले विफल पारे ।
दोस्रो हाफको सुरुवातमा नै डोलबर्गले डेनमार्कको अग्रता दोब्बर पारे । ४८ औं मिनेटमा ब्रेथवेटले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दिएको लो क्रसमा नेको विलियम्सले खराब क्लिअरेन्स सिधै डोलबर्गको खुट्टामा पुगेको थियो । उनले ६ यार्ड बक्सबाट सहजै गोलरक्षक वार्डलाई बिट गर्दै व्यक्तिगत दोस्रो गोल गरे ।

८२ औं मिनेटमा डेनमार्कले गोल गर्ने अर्को अवसर सिर्जना गर्यो । वैकल्पिक फरवार्ड आन्द्रिएस कर्नेलिएसले मिडफिल्डबाट बढाएको मुभमा ब्रेथवेटले दिएको क्रसलाई माहेलले गोलको दिशा दिन सकेनन् ।
८६ औं मिनेटमा ब्रेथवेटले सुवर्ण अवसर खेर फाले । कर्नेलिएसको हेडर गोलरक्षक वार्डले बचाएपछि आएको बललाई ब्रेथवेटले खाली पोस्टमा गोलको दिशा दिन सकेनन् । उनको प्रयास पोस्टमा लागेर फर्केपछि आएको रिबाउन्डमा जोआकिम एन्डरसनको प्रहार बाहिरियो ।
८७ औं मिनेटमा माहेलले गोल गर्दै डेनमार्कको जित सुनिश्चित गरे । वैकल्पिक खेलाडी माथिअस जेन्सनले दिएको सुन्दर पासलाई माहेलले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गरेको शक्तिशाली प्रहार गोल भएको थियो ।

९० औं मिनेटमा वेल्स १० खेलाडीमा सिमित भयो । माहेलमाथि खराब ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए । वेल्सका लागि इथान अम्पादुले पनि अघिल्लो खेलमा सिधै रातो कार्ड पाएका थिए ।
इन्ज्युरी समयमा ब्रेथवेटले गोल गर्दै डेनमार्कको फराकिलो जित पक्का गरे । उनले पेनाल्टी क्षेत्रभित्र संयमित रहेर फिनिस गर्दै वार्डलाई बिट गरेका थिए । रेफ्रीले सुरुवातमा अफसाइड दिएपनि भीएआर रिभ्युबाट गोलले मान्यता पाएको थियो ।
डेनमार्कले अब क्वाटरफाइनलमा आइतबार ९:४५ बजे हुने चेक रिपब्लिक र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]