4 years ago
July 11, 2021
एजेन्सी – १६औं संस्करणको युरोपेली च्याम्पियनसिपको उपाधिको लागि आइतबार राति इटाली र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । यि दुई टोली जारी युरोमा अपराजित रहँदै फाइनलमा पुग्न सफल भएका टोली हुन् ।

खेल वेम्बली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२:४५ बजे हुने छ । घरेलु मैदानमा हुने खेलमा इंग्ल्यान्ड युरोमा पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा मैदान उत्रनेछ । पछिल्लो १२ खेलमा अपराजित रहेको इंग्ल्यान्ड युरोमा पहिलोपटक नै फाइनलमा पुग्न सफल भएको हो ।
यस्तै इंग्ल्यान्ड ५५ वर्षपछि ठुला प्रतियोगिता जित्ने लक्ष्यमा हुनेछ । इंग्ल्यान्डले ५५ वर्षअघि अर्थात सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो । त्यसयता इंग्ल्यान्ड पहिलोपटक फाइनलमा पुगेको हो ।
टोलीसँग लयमा रहेका कप्तान ह्यारी केन, रहिम स्टर्लिङ, बुकायो साका, फिल फोडेन, जाडोन सान्चो, मार्कस रासफोर्ड, ज्याक ग्रेयालिस, रिस जेम्स, मासन माउन्ट, काल्भिन फिलिप्स, जोर्डन हेन्डरसन, डिक्लन राइस, बेन चिलवेल, बेन ह्वाइट, ह्यारी मगाएर, जोन स्टोन्स, केएल वाल्कर र गोलरक्षक जोर्डन पिकफोर्ड रहेका छन् ।

ह्यारी केन र रहिम स्टर्लिङलाई गोल्डेन बुट जित्ने अवसर छ । केनले क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै गोल्डेन बुट जित्न कम्तीमा दुई गोलको आवश्यक छ । एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपनि गोल्डेन बुट रोनाल्डो र केनले बाड्नेछ । यस्तै रहिमलाई पनि गोल्डेन बुट जित्न ३ गोलको खाँचो छ ।
यता, पछिल्लो ३३ खेलमा अपराजित रहेको इटाली पनि इंग्ल्यान्डलाई उसकै मैदानमा स्तब्ध पार्दै ५३ वर्षपछि युरोको च्याम्पियन बन्न लक्ष्यमा हुनेछ । इटाली सन् १९६८ मा घरेलु मैदानमा युगोस्लाभियालाई हराउँदै च्याम्पियन बनेको थियो । त्यतिबेला फाइनल पनि दुई लेगमा भएको थियो । त्यसयता इटाली यो सहित तेस्रोपटक फाइनल खेल्दैछ ।
इटालीले पछिल्लोपटक सन् २०१२ मा फाइनल खेलेको थियो । जहाँ इटालीले स्पेनलाई ४–० ले नतिजा सुम्पिएको थियो । यसपटक उच्च लयमा रहेको इटाली उक्त कमजोरीलाई सुधारेर च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।

पछिल्लो ३ वर्षयता अपराजित रहेको इटालीसँग सिरो इम्मोविले, लोरेन्जो इन्सिग्ने, जियाकोमो रास्पाडोरी, एन्ड्रिय बेलोट्टी, फेडरिको किएजा, म्यानयुल लोकाटेली, माटियो पेस्सिना, निकोलो बरेल्ला, फेडरिको बर्नरडेस्ची, जर्गिन्हो, मार्काे भेराट्टी, एलेसान्द्रो बास्टोनी, जियोभानी डि लोरेन्जो, इमर्सन, एलेसान्द्रो फ्लोरेन्जी, फ्रान्सिस्को एसर्वी, जर्जियो चिलियानी, लियोनाद्रो बोनुची र गोलरक्षक जियानलुइगी डोन्नररुम्मा रहेका छन् । चोटका कारण लियोनार्दाे स्पिनाजोला टोलीमा हुनेछैनन् ।
यि दुई टोलीबीचको इतिहास हेर्दा इटाली केही बलियो देखिएको छ । हालसम्मको २७ खेलको नजितामा इटाली ११ खेलमा विजयी भएको छ । इंग्ल्यान्डले ८ खेल आफ्नो पक्षमा पार्दा ८ खेल बराबरीमा सकिएको छ । पछिल्लो दुई खेलमा यि दुई टोलीले बराबरी खेलेका छन् । पछिल्लोपटक सन् २०१८ मार्च २७ मा १–१ गोलको बराबरी खेलेका थिए । त्यसयता यि दुई टोली पहिलोपटक आमने सामने हुन लागेका हुन् ।
इटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीले यस उपाधिका लागि लामो समयबाट काम गरिरहेको बताएका छन् । ‘हामीले धेरै वर्षदेखि यसका लागि काम गरिरहेका छौं । त्यसैले हामी धेरै खुसी छौं र खेलाडीहरूलाई यस कामका लागि धन्यवाद दिन चाहन्छु,’ मान्सिसीले भने, ‘हामीले अहिलेसम्म केही जितेनौं । हामीले आइतबार जित्नु पर्नेछ ।’
यस्तै मान्सिसीले घरेलु टिमसँग खेल्नु पर्ने हुँदा फाइनलमा ध्यान दिएर खेल्ने बताए । ‘इंग्ल्यान्डको पछाडी पुरै स्टेडियम हुनेछ । उनीहरुले हामीलाई दबाबमा राख्ने छन् । फाइनल खेल अन्य खेल भन्दा फरक हुन्छ । हामीले ध्यान दिएर खेल्नु पर्छ,’ उनले भने ।

इंग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट इटालीको अवरोध हटाएर इतिहास बनाउन चाहन्छन् । ‘हामी फाइनलमा छौं भन्ने तथ्यलाई हामीले रमाइलो गर्यौं । तर, हामीलाई अर्को एक ठुलो अवरोध छ । इटाली उत्कृष्ट टिम हो । पछिल्लो दुई वर्ष उनीहरु उत्कृष्ट लयमा देखिएका छन्,’ प्रशिक्षक साउथगेट भन्छन्, ’ठुलो खेलमा लागि हेरिरहेको छु ।’
इटालीका लियोनार्दो बोनुचीले युरो कपको फाईनल ईङ्ल्याण्डको घरेलु मैदानमा खेल्दा कुनै डर नहुने बताएका छन् । ‘त्यहाँ धेरै ईङ्लिस टिमका समर्थक रहन्छन् । तर यसले हामीलाई अतिरिक्त प्रेरणा दिनेछ,’ बोनुचीले भनेका छन् । १ हजार इटालियन समर्थकलाई वेम्बली रंगशालामा प्रत्यक्ष खेल हेर्न अनुमती प्रदान गरिएको छ ।
३४ वर्षको बोनुचीले ३६ वर्षका सेन्टर ब्याक जर्जियो चिलिनीसँग सहकार्य गर्दै इग्ल्यान्डको औसत २५ वर्षको टिमलाई रोक्ने जिम्मेवारी छ । बोनुचीले ठट्टा गर्दै फाइनल खेललाई युवाविरुद्ध बुढो मान्छेको भिडन्तको रुपमा व्याख्या गरे । ‘उनीहरुसंग निकै आक्रमक खेलाडी छन् । हामीले उनीहरुलाई ध्यान दिन आवश्यक छ । र उनीहरुको सम्पुर्ण टिमलाई नजर लगाउन आवश्यक छ,’ उनले भने, ‘हामीलाई पार्न सक्ने अफ्ठयाराका विषयमा जानकार छौं । हामी उनीहरुको गतिबारे कुनै जानकार छौं ।’
इटालीको फाइनल यात्रा
इटालीविरुद्ध टर्की (३–०)
इटालीविरुद्ध स्वीट्जरल्यान्ड (३–०)
इटालीविरुद्ध वेल्स (१–०)
राउन्ड अफ १६ : इटालीविरुद्ध अष्ट्रिया (२–१) अतिरिक्त समय
क्वाटरफाइनल : इटालीविरुद्ध बेल्जियम (२–१)
सेमिफाइनल: इटालीविरुद्ध स्पेन (१–१) पेनाल्टी सुटआउट (४–२)
इंग्ल्यान्डको फाइनल यात्रा
इंग्ल्यान्डविरुद्ध क्रोएसिया (१–०)
इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड (०–०)
इंग्ल्यान्डविरुद्ध चेक (१–०)
राउन्ड अफ १६ : इंग्ल्यान्डविरुद्ध जर्मनी (२–०)
क्वाटरफाइनल : इंग्ल्यान्डविरुद्ध युक्रेन (४–०)
सेमिफाइनल : इंग्ल्यान्डविरुद्ध डेनमार्क (२–१) अतिरिक्त समय
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]