पोखरा (हाम्रो खेलकुद) – १८औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत मेन्स सिंंगल्सको उपाधि पोखराका प्रदीप खड्काले जितेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा शुक्रबार फाइनलमा प्रदीपले आरभ सम्राट हाडालाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गर्दै नगद ८० हजार सहितको उपाधि जितेका हुन् । जितसँगै उनी नेपालको शीर्ष बरियतामा उक्लिएका छन् ।
यस्तै, उपविजेता आरभले नगद ४० हजारसहित मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे । गत महिना काठमाडौंमा सम्पन्न गणेशमान राष्ट्रिय टेनिस प्रतियोगितामा प्रदीप आरभसँग ६–३, ६–१ ले पराजित भएका थिए ।
यस्तै, ३५ वर्ष माथिको एकलतर्फको उपाधि सन्तोष खत्रीले जिते । फाइनलमा न्तिोषले भीष्म गुरुङलाई ६–०, ६–१ को सहज सेटमा पराजित गरे । विजेता खत्रीले नगद ६० हजार तथा उपविजेता गुरुङले ३० हजार सहित ट्रफि मेडल पुरस्कार पाए ।
४५ वर्षमाथिको एकल उपाधि चन्द्र शाहीले जितिन् । उनले बिमलकुमार गुरुङलाई ६–३, ६–२ को सोझो सेटमा हराउँदै उपाधि रक्षा गरे । विजेताले नगद ४० हजार, उपविजेताले नगद २० हजार सहित ट्रफि मेडल पुरस्कार प्राप्त गरे ।
४५ वर्षमाथिको मेन्स डबल्समा हिमाल शाह र राजु क्षेत्रीको जोडी विजेता बन्यो । हिमाल जोडीले पोखराका विनोद कायस्थ र विकास गुरुङको जोडीलाई ६–२, ६–२ को सोझो सेटमा जित निकाल्दै प्रथम स्थान हासिल गरेको हो । विजेताले नगद २० हजार तथा उपविजेताले नगद १० हजार सहितको पुरस्कार प्राप्त गरे ।
विजयीलाई प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष रोशन केसी, नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणा, प्रतियोगिता प्रायोजक ट्रयाङ्कुलिटी स्पाका निर्देशक प्रनिल फैजु, नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, सूर्य–प्रेम टेनिस कोर्टका निर्माता किरण केसी, आयोजक संघका अध्यक्ष लोक गुरुङ, सचिव नवीन चालिसेलगायतले पुरस्कार प्रदान गरे ।