4 years ago
May 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले नेपाली भलिबलमा दुर्लभ इतिहास रचेको छ । काठमाडौंमा शनिबार सम्पन्न छैटौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा एकै क्लबका महिला र पुरुषमा उपाधि जित्दै आर्मीले यो इतिहास रच्न सफल भएको हो ।

एकै प्रतियोगितामा एकै क्लबका दुवै टोली फाइनल पुग्ने इतिहास यसअघि भएपनि एकै प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि एकै टोलीले जित्ने आर्मी पहिलो टोली बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार पुरुषतर्फ आर्मीले उपाधि जित्ने क्रममा राउन्ड रोविन लिगको अन्तिम खेलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–१ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो । यो सँगै आमीलै हेल्प नेपाललाई तीनै पटक फाइनलमा पराजित गर्न सफल भयो ।
आर्मीले यसअघि असोजमा भएको क्लब च्याम्पियनसिपमा तथा पुस र माघमा पोखरामा भएको टाइगर कपमा पनि हेल्प नेपाललाई हराएर उपाधि जितेको थियो । यसअघि आर्मीको टोली पोखरामा भएको टाइगर कपमै महिला र पुरुष दुवैतर्फ फाइनलमा प्रवेश गरेर इतिहास रच्ने संघारमा पुगेपनि पुरुष टोलीमात्रै सफल हुँदा महिला उपविजेतामै खुम्चिनुपरेको थियो ।

महिला भलिबल सुरु गरेयता ९ वर्षको अवधिमा आर्मी चौथोपटक फाइनल पुग्दै च्याम्पियन बन्न सफल रहयो । यसअघि आर्मी २०७६ सालमा पाँचौ केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा एपिएफसँग पराजित भएको थियो । त्यसपछि आर्मीले पोखरामा टाइगर कपमा एपिएफसँगै र झापामा न्यु डायमन्डसँग हार बेहोर्दै उपविजेतामै सीमित बन्न पुगेको थियो ।
आर्मीले २०७१ पुसबाट मनिषा खाँडको नेतृत्वमा महिला भलिबलको थालनी गरेको थियो । त्यतिबेला रोशनी खालिङ, रन्जना खड्का, मनिषा तामाङ, गीता डाँगी, रमिला तन्डुकार र निमा श्रेष्ठ पनि टोलीमा रहेको महिला टोलीका हालका मुख्य प्रशिक्षक लोकेश बुढाले जानकारी गराए । त्यसपछिको आर्मीमा महिला भलिबलको जग बसाल्ने काम वरिष्ठ भलिबल प्रशिक्षक कपिल किशोर श्रेष्ठले नै गरे ।
उनकै प्रशिक्षणमा आर्मी २०७६ जेठमा भएको पाँचौ केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा पुग्दै इतिहास रच्न सफल भएको थियो । त्यसपछि कपिल किशोरले टोली छाडेपनि उनले त्यतिबेला आर्मी महिला भलिबलमा नयाँ शक्तिको रुपमा उदाउने बताइसकेका र आर्मी टोली रणनीतिक र शारीरिक रुपमा पनि बलियो रहेको बताएका थिए ।

‘म आउँदा आर्मीमा महिला भलिबलको सुरुवात भइसकेको थियो । त्यतिबेला मनिषा खाँडले टोलीको नेतृत्वमा थिइन् । जानकी भण्डारी, साफिया पुन, संगम महतो, सुनिता खड्का र शान्ति थारु म आफैंले ल्याएको खेलाडी हो । पछि एलिसा भुजु र श्रृष्टि खड्गी पनि टोलीमा समेटिए । एउटा बेस बनाएर छाडेको थिए । पछि फेरि टोलीलाई प्रशिक्षण दिदा नै अब च्याम्पियन बन्न सक्ने आधार देखिसकेको थिएँ,’ प्रशिक्षक श्रेष्ठले त्यसबेला भनेका थिए ।
‘टिम पहिलाबाट नै राम्रो हो । च्याम्पियन बन्ने आशा गरेको थिए । सेटरमा नै आर्मी कमजोर थियो । कृपा अधिकारी आएपछि सुनमा सुगन्ध भयो । हार्ने टिमले जित्नै लागेको अवस्थामा नर्मस हुने आर्मीमा हावी रहेको थियो । अहिले त्यो ब्रेक भएको छ । यही गतिलाई निरन्तरता दिन सके अब जित्न गाह्रो नहोला,’ श्रेष्ठले बताए ।
यस्तै प्रशिक्षक श्रेष्ठले यसपटक आर्मी च्याम्पियन बन्दा एपिएफमा सरस्वती चौधरी र न्यु डायमन्डमा प्रतिभा माली नहुनुले पनि मनोवल उच्च बनाएर खेल्दा सफलता हात पार्न सहज भएको बताए । पुरुष हकमा टोलीले टिम अनुसारको रणनीति बनाएर खेल्दा लगातार च्याम्पियन बन्न सफल भएको प्रशिक्षक श्रेष्ठले बताए । अब पुरुषतर्फ आर्मीलाई ब्रेक गर्न समय लाग्ने उनले औल्याए ।

आर्मीकी कप्तान कृपा अधिकारीले आर्मीबाट पहिलोपल्ट नेपाल भलिबल संघले आयोजना गर्ने एनभिए लिग नै जित्न पाउँदा खुशी लागेको बताइन् ।
‘आर्मीले भलिबल सुरुवात गर्दा म टोलीमा थिइन । आर्मीमा बेसिक सिकाएर हैन कि अग्ला–अग्ला खेलाडी देखेर लोकेश गुरुले भलिबल सुरुवात गर्नुभएको रहेछ । सुरुवातमा आर्मीले नतिजा आफ्नो पक्षमा पार्न सकेन । पछि कपिल गुरु र जगदिश गुरुलाई पनि आर्मीले प्रशिक्षकको रुपमा आबद्ध गरेको थियो । त्यही बेसबाट आर्मीले राम्रो खेल्न थालेको जस्तो लाग्छ,’ कृपाले भनिन् ।
‘आर्मीको महिला टोलीलाई च्याम्पियन बन्न यसअघि पनि अवसर नआएको होइन । तर टोलीले सफलता हात पार्न सकेन । आफ्नै नेतृत्वमा लिड गरेर आर्मीलाई पहिलोपटक च्याम्पियन बनाउन पाउँदा निकै खुशी छु । अब यसलाई जोगाउन हामीले थप मिहनेत गर्नुपर्छ,’ उनले भनिन् ।
आर्मीको सुरुवाती समयको कप्तान मनिषा खाँडले यो च्याम्पियन लगातारको मिहेनतको फल रहेको बताइन् । ‘हामीले सुरुवात गर्दा टोली नपुग्ने अवस्था थियो । टोलीमा समेटिएका केही खेलाडीहरुले केही समय खेलेर अरु खेल रोजे । हामी भलिबलमै रह्यौं । हामीले पनि छोडेको भए, आर्मीमा महिला भलिबल टिम नै बन्न सक्ने थिएन,’ मनिषाले भनिन् ।

‘पछि सिभिल खेलाडीलाई करारमा ल्याएर टोली बनाउन लाग्यौं । त्यतिले पनि नभएपछि आर्मीको भित्रबाटै र ढोरपाटन भलिबलबाट केही खेलाडीलाई समेट्दै टोली बनाएर खेल्न हिडेका हौं । लगातार नतिजा दिन नसक्दा भलिबल नै छौडौं कि भन्ने अवस्थासम्म पुगेको थियौं । तर, एक न एक दिन च्याम्पियन हुने सोचिरहेका थियौं । टोलीको सबैमा मनमा च्याम्पियन बन्ने इख थियो । त्यो पूरा भएको छ । धेरै खुशी लागेको छ,’ उनले सुनाइन् ।
मनिषाले टोलीमा कृपा अधिकारीको आगमनसँगै टोली झनै बलियो बनेको बताइन् । ‘कृपा म्याम आएपछि हामी झनै बलियो भयौं । उहाँको खेलाउने शैली फरक छ, नेतृत्व गर्ने क्षमता राम्रो छ । अब यो च्याम्पियनलाई निरन्तरता दिने कोशिस गर्नेछौं,’ उनले थपिन् ।
टोली स्थापना भएयता ९ वर्षको अवधिमा आर्मी सुरुवाती समयमा आर्मी चौथो स्थानभन्दा अघि बढ्नै सकेन । त्यसपछि लगातार तिखारिएको आर्मी पोखराको लामाचौरमा तिजको अवसरमा भएको प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भयो । त्यसपछि २०७६ जेठमा आर्मीले फाइनलसम्म पुग्दै आफुलाई थप प्रमाणित गर्दै अघि बढायो ।

पछिल्लो एक वर्षको प्रदर्शनलाई हेर्दा आर्मी उपाधि दावेदारकै रुपमै रहेको छ । त्यसमा सेटर कृपा अधिकारीको आगमनले टोली झनै संगठित र मजवुत बन्न पुगेको छ ।
आर्मीको महिला टोलीलाई यसपटक च्याम्पियन बन्न एपिएफकी मुख्य स्पाइकर सरस्वती चौधरी र न्यु डायमन्डकी प्रतिभा माली नहुनु पनि फाइदाको विषय बन्यो । तर, आर्मीले आफ्नो अन्तिम खेलमा पुलिस जस्तो सशक्त टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेका कारण टोलीलाई कमजोर भने आक्न मिल्दैन ।
यता राष्ट्रिय खेलाडीले भरिपूर्ण आर्मीको पुरुष टोली भने लगातार च्याम्पियन बन्दै आइरहेको छ । गत वर्ष आर्मीले आफुले खेलेको सबै तीन प्रतियोगितामा च्याम्पियन बन्नै ह्याट्रिक उपाधि जित्न सफल भएको छ ।

२०७७ को चैतमा इलाममा भएको प्रतियोगिता जितेपछि आर्मी लगातार च्याम्पियन बनिरहेको छ । आर्मीले त्यसपछि गतवर्ष असोजमा एनभीए च्याम्पियनसिप र पुस र माघमा भएको टाइगर कपमा हेल्प नेपाललाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । त्यसपछि धनगढीमा भएको मुख्यमन्त्री कपमा पनि आर्मीले गण्डकीलाई पराजित गर्दै उपाधिमा ह्याट्रिक गर्दा यो वर्षको सुरुवातमै हेल्प नेपाललाई नै पराजित गर्दै उपाधि यात्राको थालनी गरेको छ ।
२०७५ सम्म आर्मीमा अलराउन्डरको भूमिकामा रहेका पुरुष टोलीका प्रशिक्षक जगत बहादुर सिंह २०७६ सालदेखि सहायक प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । २०७७ को अन्त्यतिर मुख्य प्रशिक्षक बनेका उनले लगातार राम्रो नतिजा दिएका छन् । उनको प्रशिक्षणमा आर्मी सबै पाँच प्रतियोगितामा च्याम्पियन बनेको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]