3 years ago
May 27, 2023
हेटौंडा (हाम्रो खेलकुद) – काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदमा शनिबार टिम च्याम्पियन बनेको छ । पहिलो संस्करणमा भने काठमाडौं दोश्रो भएको थियो ।

बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेलको उपस्थितिमा आतिसबाजी र सांगीतिक प्रस्तुतीका साथ सम्पन्न भयो ।
दोस्रो संस्करणमा काठमाडौं ३१ स्वर्णसहित टिम च्याम्पियन बन्यो । काठमाडौंले थप २१ रजत र २५ कांस्य पनि जित्यो । डिफेन्डिङ च्याम्पियन चितवन दोस्रो स्थानमा रहँदा काभ्रे तेस्रो भयो ।
चितवनले २३ स्वर्ण, २४ रजत र २५ कांस्य तथा काभ्रेले १२ स्वर्ण, १३ रजत र १८ कांस्य पदक प्राप्त गरे । शीर्ष तीन स्थानमा रहने टोलीलाई मुख्यमन्त्री जमकट्टेल, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रतियोगिता संयोजक तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कृत गरे ।
चार जिल्लामा प्रतिस्पर्धा गराइएको खेलकुदमा १३ खेलमध्ये १२ खेलका कुल १६८ स्वर्ण पदक गणना भएको थियो । पौडी खुला प्रतियोगिता भएकाले पदक तालिकामा पौडीको पदक गणना गरिएन ।
समापन समारोहमा अन्तिम तथा १६८ औं स्वर्णका लागि पुरुष फुटबलमा मकवानपुर र काठमाडौंले प्रतिस्पर्धा गरेका थिए । उक्त फाइनल मकवानपुरले पेनाल्टी सुटआउटमा काठमाडौंलाई हराउँदै स्वर्ण जित्यो ।
१३ जिल्लाका करिब २५ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका हरेक स्वर्ण विजेताले खेल प्रतिस्पर्धा सकिए लगत्तै पाँच हजार नगद पुरस्कार पाए ।
त्यस्तै रजत र कांस्य पदक विजेता पनि क्रमशः चार हजार र तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले अब तेस्रो संस्करण अन्तर प्रदेश छनोटको रूपमा सञ्चालन हुने उल्लेख गर्दै अन्तर प्रदेश खेलकुदको सुरुआत पनि आगामी फागुन आयोजना बताए ।
फुटबलमा मकवानपुर च्याम्पियन
दोस्रो बागमती प्रदेश खेलकुदको अन्तिम स्वर्ण प्रतिस्पर्धाको रूपमा रहेको पुरुष फुटबलमा मकवानपुर च्याम्पियन भएको छ ।
हेटौंडोको पिप्ले क्याम्पा रंगशालामा शनिबार सम्पन्न फाइनलमा मकवानपुरले काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै च्याम्पियन भएको हो ।
खेलको निर्धारित समय १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटतर्पm धकेलिएको थियो । पेनाल्टी सुटआउटमा मकवानपुरले काठमाडौंमाथि ४–३ को जित रच्यो । दुवै तर्फबाट पहिलो पेनाल्टी प्रहार सफल हुन सकेन । मकवानपुरका निर्मल बल र काठमाडौंका खेमराज तामाङको प्रहार गोलमाथि परिणत हुन सकेन ।
तर, मकवानपुरले त्यसपछिको प्रहारमा गोल गर्दा काठमाडौंको तीन प्रहार मात्र गोलमा परिणत भयो । मकवानपुरका विकास लामा, सुवास पाख्रिन, सुजन गुरुङ र प्रीतम स्याङ्बोले गोल गरे ।
काठमाडौंका लागि वाङ गुरुङ, कब्बु कन्दवा र सनम शेर्पाको प्रहार गोलमा परिणत भयो । तर, चौथो पेनाल्टी प्रहार गर्न आएका काठमाडौंका विवेक राईको प्रहार बाहिरिएसँगै मकवानपुरले स्वर्ण जित्यो । चितवनका कप्तान प्रीतम स्याङ्बो उत्कृष्ट खेलाडी घोषित भए ।
भक्तपुर र मकवानपुरलाई रग्बी उपाधि
भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीको उपाधि शनिबार जितेका छन् । भक्तपुर पुरुष तथा मकवानपुर महिलामा च्याम्पियन बनेका हुन् ।
हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा भएको पुरुष फाइनलमा भक्तपुरले मकवानपुरलाई ३१–५ स्कोरले पराजित ग¥यो । भक्तपुरका सुरज रानाले २ तथा प्रवेश पनेरु, रमेश बानियाँ र नरेन्द्रप्रसाद जोशीले १ ट्राइ गरे ।
१ ट्राइबाट ५ अंक प्राप्त हुन्छ । भक्तपुरका निरोज कार्कीले ३ कन्भर्सनबाट ६ स्कोर बटुले । १ कन्भर्सन वापत २ अंक दिइन्छ । मकवानपुरका अनिश तामाङले १ ट्राइ गरे ।
महिलाको उपाधि भिडन्तमा मकवानपुरले ललिपतुरलाई १७–१० स्कोरले हरायो । विजयी टिमका लागि पुष्पा खड्काले २ तथा मनीषा घिसिङले १ ट्राइ गरे । मकवानपुरकी ज्योतिका बम्जनले १ कन्भर्सन गरिन् ।
ललितपुरका कमला राई र प्रेक्षा वाग्लेले समान १–१ ट्राइ गरे । मकवानपुरको महिला टोलीले उपाधि निश्चित गरेपछि मैदानमा खुशीयाली मनाइ राख्दा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा मैदानमै पुगेर टोलीलाई बधाइ दिएकी थिइन् ।
दुईदिने प्रतियोगिताको पुरुषमा ८ तथा महिलामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । बागमती प्रदेश खेलकुदमा रग्बी पहिलोपटक समावेश गरिएको हो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]