1 month ago
March 30, 2025
भुपेन्द्र जि.सी
गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् ।
सुदूरपश्चिमबाट २ वर्षअघि पिएम कप खेल्न प्रस्थान गर्दा उनको मानसिकता प्रष्ट थियो, ‘यो अवसरलाई जसरी पनि सदुपयोग गर्नुपर्छ । या त सकिन्छु वा पिएमकपको प्रदर्शनबाट सबैले चिन्छन् । डोमिनेट गरेर नै फर्किन्छु । किनभने मैले पाउनुपर्ने असफलता अरु केही बाँकी थिएन ।’
नभन्दै गत संस्करणको पिएम कपमा राम्रो प्रदर्शन गर्दै २ सय ८४ रनसहित छैटौं उत्कृष्ट ब्याटर बने । त्यसपछि नेपाल ए हुँदै नेपाल प्रिमियर लिगमा पनि खेले । यस पटकको पिएम कपमा त उनले झनै गज्जबको ब्याटिङ गरे । फलत: उनले सिनियर टोलीमा स्थान पनि बनाए ।
लुम्बिनीमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा दुई शतक हान्ने उनी एक्लो ब्याटर रहे । कुल ५ शतक बनेको प्रतियोगितामा गण्डकी प्रदेशका अर्जुन कुमाल, त्रिभुवन आर्मी क्लबका तृतराज दास र बागमती प्रदेशका इशान पाण्डेले पनि शतक बनाए । किरणले चौथो र छैटौं नम्बरमा आएर शतक प्रहार गरेका हुन् भने अन्य ३ खेलाडी ओपनर हुन् ।
नेपालबाट खेल्ने पहिलो रोजाइका अधिकांश ब्याटरले रन बनाउन संघर्ष गर्दा अनक्याप्ड क्रिकेटरको ब्याट मज्जाले चलेको छ । किरणले ९ इनिङमा २ शतकसहित ३२ चौका र १४ छक्काको मद्दतमा ३ सय ३७ रनका जोडे । उनीभन्दा ४ ब्याटरले मात्र बढी रन जोडे ।
किरणले गण्डकी प्रदेशविरुद्ध चौथो नम्बरमा ब्याटिङ गर्दै १०१ बलमा ९ चौका र ६ छक्कासहित १ सय २१ अविजित तथा कोशीविरुद्ध ९१ बलमा १२ चौका र ४ छक्कासहित १ सय १५ रनको अर्को विजयी शतकीय इनिङ खेले ।
किरण गण्डकीविरुद्धको शतक विशेष क्षण बताउँछन् । ‘राष्ट्रिय प्रतियोगितामा पहिलो शतक हुँदा त्यो क्षण विशेष थियो । अहिलेसम्म दुःख गरेको नै यस्तै प्रदर्शनलाई हो । शतक बनाउन मैले सक्छु भन्ने विश्वास चाहिने रहेछ । मेरा अहिलेसम्मका सबै असफलता याद गर्दा यो प्रतियोगिता राम्रो भयो ।’
गत वर्षको आत्माविश्वासले आफ्नो खेलमा सहयोग गरेको उनी बताउँछन् । ‘एउटा योजनाको साथ खेल्न राम्रो प्रदर्शन हुने रहेछ । अहिले र पहिलेमा मैले सक्छु भन्ने आत्माविश्वासको मात्रै फरक हो’, उनले भने ।
मध्यगतिका बलरबाट करिअर सुरुवात गरेका किरणले पछिल्लो दुई वर्षमा आफूलाई मध्यक्रमका ब्याटरको रुपमा स्थापित गर्न धेरै संघर्ष गरेका छन् ।
को हुन् किरण ठगुन्ना ?
बुबा प्रेमसिंह र आमा माया ठगुन्नाको कोखबाट पहिलो सन्तानको रुपमा उनको जन्म २०५४ सालमा बैतडीको कुलादामा भएको थियो । उनी ६,७ वर्षको हुँदा कन्ञनपुरको मझगाउँमा झरेका थिए । उनको घरदेखि महेन्द्रनगर कभर्डहल मैदान ३-४ किलोमिटर मात्रै टाढा छ ।
सानैदेखि उनी टेनिस बलले क्रिकेट खेले । भीम सार्की, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कमलसिंह ऐरी लगायतका खेलाडीसँगै खेलेर हुर्किएका हुन् । सानोमा भीम र उनी १०,१२ किलोमिटर लामो यात्रा एउटै साइकलमा गर्दथे ।
सुरुमा किरण तीव्र गतिका बलिङ अलराउण्डर हुँदा ब्याटिङमा कम अवसर पाउथे । नेपालले २०१४ को टी-२० विश्वकप खेलेपछि मात्रै उनले ड्युज बलको सुरुवात गरेको उनी बताउँछन् । पहिलो संस्करणको प्रधानमन्त्री कप २०१७ मा सुदूरपश्चिमञ्चल विकास क्षेत्रको टोलीमा पर्दै दुई खेलमा तीन जोडे । त्यसपछिका दुई संस्करण भने चोटसँग संघर्ष गर्दा गुमाउनु पुगे ।
किरणले २०१६ देखि २०१९ सम्म कुनैपनि फ्रेन्चाइज लिग खेल्न नपाउनुको मुख्य कारण यहि नै थियो । स्थानीय लिग, कलेज र प्रतियोगितामा राम्रो छाप छोडेपनि डिपिएलमा कुनैपनि फ्रेन्चाइजले उनलाई विश्वास गरेनन् ।
२०२१ मा प्रधानमन्त्री कपमा पहिलो खेलमा बागमतीविरुद्ध २४ र त्यसपछिका तीन खेलमा ५ रन जोड्दै कुल २९ रनका साथ प्रतियोगिता अन्त्य गरे । कोरोना महामारीको कारण लकडाउनमा उनले पुन: प्रशिक्षण गर्न पाएनन् । दायाँ खुट्टा ह्याम्स्ट्रिङमा चोट लागेपछि उनी पूर्ण विश्राममा रहे । त्यसपछि बलिङ नगर्ने निर्णय लिए ।
ब्याटिङमा राम्रो गर्न उनले बलिङ मेसिन आफैं किनेर प्रशिक्षण गर्ने निर्णय लिए । बलिङ मेसिनको मूल्य झण्डै तीन लाख पर्थ्यो । भाग्यले त्यसै समयमा बुबा प्रेमसिंह नेपाल आर्मीको सेकेण्ड लेप्टिनेन्डबाट सेनावृत्त (रिटायर्ड) हुँदा लगभग १५ लाख रुपैयाँ पाएका थिए । उक्त पैसा मध्य बुबासँग १० लाख रुपैयाँ मागे ।
आफूले क्रिकेट नबुझेपनि छोराको रहरलाई उनले कहिल्यै नकारेका थिएनन् । यस पटक पनि केही नबोली उक्त पैसा दिए । घरमै (कञ्चनपुरको मझगाउँ) इन्डोर नेट्स बनाए । जहाँ बलिङ मेसिन र लाइट जडान गरे । दिउँसो मात्र नभएर रातको समयमा पनि खेल्ने सम्मको व्यवस्था घरमै मिलाए ।
२०२२ मा प्रदेश छनोटमा सर्वाधिक रनकर्ता बनेका उनलाई दुई दिनको प्रशिक्षणमा राम्रो नगरेको भन्दै सुदूरपश्चिमकै टोलीमा राखेनन् । प्रदेश छनोटको राजनीतिमा खेलाडीमाथि कतिसम्म खेलवाड गरिन्छ यो एउटा राम्रो उदाहरण हो ।
घरमै सुविधासम्पन्न इन्डोर । तर प्रदेशकै टोलीमा नपर्नु । त्यसपछि क्रिकेट खेल्नलाई किरणका घरकाले पैसा दिन आनाकानी गर्नथाले । बरु विवाह गर्न निरन्तर दबाब दिए । वा पसल गर्न सुझाव दिन्थे । उनीसँगैका साथीहरु घरजम गरेर बसिरहेको हुँदा त्यो दबाब स्वभाविक थियो ।
तर किरणलाई क्रिकेटमा आफूले केही गर्न सक्छु भन्ने पूर्ण विश्वास थियो । नेपालमा पिएमकपमा परे पनि पाउने तीन चार खेल नै हो । त्यसपछि खेल नै हुँदैन थियो । राम्रो प्रशिक्षण, खेल र टर्फ विकेटमा अभ्यास गर्न उनी ६ महिना दिल्ली र ३ महिना पन्जाब गए । भारतबाट फर्केपछि किरणले फेरि मौका पाउने वा नपाउने सोच्नु परेको छैन ।
२०२३ नोभेम्बरमा केपी ओली कप टि२० कपमा पुलिस क्लबलाई ४ विकेटले हराउन सुदूरपश्चिमले १५९ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४६-५ को अवस्थाबाट ५१ रनको विजयी इनिङ खेलेका थिए ।
टर्निङ प्वाइन्ट बनेको २०२४ पिएमकप
यस पटक राम्रो नगरे अन्तिम हुने उनलाई स्पष्ट रुपमै प्रदेशबाट भनिएको थियो । त्यसैले किरण आफ्नो दबदबा बनाउन चाहन्थे । पहिलो खेलमा लुम्बिनीसँग १६ रनमा आउट भएका उनले त्यसपछि कर्णालीविरुद्ध ३५ बलमा ५ चौका र २ छक्कासहित ५० रन जोड्दै दुर्भाग्य रन आउट भए ।
गण्डकीविरुद्ध ७३ बलमा ५ चौकासहित ६० रन बनाउँदै लगातार दोस्रो अर्धशतक हाने । सोमपाल कामी, जितेन्द्र मुखिया र साहब आलम जस्ता बलर सम्मिलित आर्मीविरुद्ध ७४ बलमा ६ चौका र ३ छक्कासहित ६८ रन जोडेपछि छनोटकर्ताको नजरमा परेका थिए ।
२०२४ मा ८ इनिङमा २७ चौका र ११ छक्कासहित २ सय ८४ रनका साथ छैटौं स्थानमा अन्त्य गरे । पिएमकपमा राम्रो गर्ने सबै क्रिकेटरलाई फेब्रुअरीमा क्यानडासँग नेपाल ए मा समेटिएको थियो । उनले क्यानडा ए विरुद्ध अन्तिम दुई खेलमा अवसर पाउँदा मुलपानी मैदानमा १३ र २५ रन जोडेका थिए ।
पिएमकपमा राम्रो गरेका हुँदा एनपीएलमा उनलाई किन्न अक्सनमा फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा चल्यो । अधिकतम १० लाख मूल्यमा घरेलु टोली सुदूर र पोखरा भिड्दा गोलाप्रथामा पोखरा पुगेका थिए । पहिलो खेलमै चितवनसँग १ रनमा आउट भए ।
त्यसपछि अन्तिम खेलमा मौका पाएका उनले सुदूरपश्चिमविरुद्ध २८ बलमा ३२ रन बनाएका थिए । पोखरामा चेन्नई सुपर किंग्सका राजिव कुमार पनि हुँदा ब्याटिङ अझ सिक्न पाए । अघिल्लो महिना मोन्टी देशाईले नेपाल छाड्नुअघि ब्याटिङ क्लिनिकको रुपमा केही दिन प्रशिक्षण दिएका थिए ।
‘एनपिएल, नेपाल ए र ब्याटिङ क्लिनिकबाट धेरै सिक्न र अनुभव बटुल्न पाए । विशेषगरी आफ्नो कमजोरीमा काम गर्न पाउँदा राम्रो भयो । अनुभव एकैपटक आउँदैन । खेल्दै गएपछि आउने हो । हरेक कुराबाट सानो सानो सिकेको छु । क्रिकेटर भनेको यात्रा र अनुभव रहेछ’, उनले भने ।
नेपालमा खेल नहुँदा उनी छिमेकी देश भारत जान्छन् । ५,६ किलोमिटर यात्रापछि भारतको सिमाना आउँछ । सीमना पारी क्रिकेट बढी हुँदा त्यहाँबाट खेलको एक्सपोजर बढाएका छन् ।
‘अब जुनपनि खेल खेल्न मिल्छ त्यसमा राम्रो गर्ने हो । कसरी हुन्छ आफ्नो टिमलाई जिताउन प्रयास गर्दछु । नेपालको टोली सम्झिएर नै अहिलेसम्म खेलेको हो । नेपालको जर्सी लगाउने सपना छ । त्यसको लागि निरन्तर राम्रो गर्नुपर्छ’, त्यसैमा थपे,’म कुन स्तरमा खेल्छु त्यसको मतलब नै छैन । क्रिकेट खेल्न पाउनु नै ठूलो कुरा र खुसी हो ।’
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]