1 year ago
October 17, 2022
फेयर प्ले प्रकाश तिमल्सिना, पोखरा पोखरा बुद्ध चोकका सुमन हमालले नवौं राष्ट्रिय खेलकुदको तेस्रो दिन मात्र पोखरा रंगशाला टेकेका थिए । बुद्ध चोकस्थित उनको निवास र पोखरा रंगशालाको दूरी मुस्किलले ५ सय मिटर छ । चिनजानका केहि खेल पत्रकारले आफू पोखरा रिर्पोटिङका लागि आएको सुनाएपछि मात्र सुमनले नवौंका बारेमा जानकारी पाएका हुन् । त्रिभुवन आर्मी […]
फेयर प्ले
प्रकाश तिमल्सिना, पोखरा
पोखरा बुद्ध चोकका सुमन हमालले नवौं राष्ट्रिय खेलकुदको तेस्रो दिन मात्र पोखरा रंगशाला टेकेका थिए । बुद्ध चोकस्थित उनको निवास र पोखरा रंगशालाको दूरी मुस्किलले ५ सय मिटर छ । चिनजानका केहि खेल पत्रकारले आफू पोखरा रिर्पोटिङका लागि आएको सुनाएपछि मात्र सुमनले नवौंका बारेमा जानकारी पाएका हुन् ।
त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच आइतबार समूह चरणको फुटबल खेल अन्तिम केहि मिनेट हेरेपछि सुमनले भने, ‘मलाई त यहाँ यत्रो खेलकुद भइरहेको छ भन्ने थाहा नै थिएन ।’ यो त प्रतिनिधि आवाज मात्र हो ।
गण्डकी प्रदेश र यसको राजधानी पोखरामा बृहत राष्ट्रिय खेलकुद आयोजना भइरहेको सुमन जस्तै धेरै पोखरेलीलाई थाहा छैन । आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रचार प्रसारका लागि मात्र झण्डै ५० लाख रुपैयाँ बजेट छुट्टाएको छ । तर, नवौंको आयोजनाको मुख्य थलो पोखरामा नै यसको चर्चा कम छ । पोखरा रंगशालाभित्र भने खेलाडी, प्रशिक्षक, व्यवस्थापकहरुको चहलपहल र प्रचारप्रसारले खेलकुदमय वातावरण देखिन्छ । रंगशाला नजिकका केहि ठाँउमा नवौंको ब्यानर राख्नुबाहेक बाहिर प्रचार लगभग शून्य छ ।
तुलानात्मक रुपमा खेलकुदका लागि कम परिचित लुम्बिनी प्रदेशम ३ वर्षअघि आयोजना भएकोको आठौं राष्ट्रिय खेलकुदको परिवेश फरक थियो । खेल आयोजनामा स्थानीयलाई समेटिएको आठौं संस्करणको दाँजोमा दाँजोमा नवौं निकै कमजोर देखिएको छ । प्राकृतिक रुपमा सुन्दर पोखरा नगरीमा कमजोर व्यवस्थापन र दर्शकको न्यून उपस्थितिले खेलकुद महोत्सवको झल्को आएको छैन । पोखरामा राष्ट्रिय खेलकुद हुने तय भएसँगै यहाँको अन्तरिक पर्यटन र खेलकुद जोडिएर बेजोड माहोल सिर्जना हुने अपेक्षा गरिएको थियो । तर नवौं उत्तर्रार्द्धमा लम्कँदा त्यस्तो छनक देखिएको छैन ।
चौथो दिन सोमबारसम्म आइपुग्दा स्थानिय दर्शक तान्न नवौं पूर्ण रुपमा असफल भएको छ । खेलसँग सम्बन्धितहरुका लागि भने नवौं मेला जस्तै छ । दर्शकको उपस्थितिले खेलको रौनकतालाई बढाउछ। खेलाडी र आयोजकलाई हौसाउछ । त्यसअर्थमा नवौं निरश र खल्लो छ ।
खेलप्रेमी पोखरेलीलाई तान्न नसकेको खेलकुद
पोखरा खेलकुदप्रेमीको सहरका रुपमा परिचित छ । भलिबल, फुटबल सुरुदेखि नै र पछिल्ल्लो समय क्रिकेट पनि पोखरेलीबीच लोकप्रिय खेलमा गनिन्छ । वर्षेनी आयोजना हुने आहा रारा गोल्ड कप फुटबल, टाइगर कपलगायत भलिबलका विभिन्न प्रतियोगितामा दर्शकको उल्लेख्य उपस्थिति हुने गरेको छ । यसले प्रतियोगिता भन्दा खेलको लोकप्रियताकै कारण केही खेलमा दर्शक आएको मान्न सकिन्छ ।
पोखरेलीका लागि खेल कुनै प्रतियोगिता मात्र होइन महोत्सव जस्तै हो । पोखरेलीका लागि खेल मनोरञ्जनात्मक साधान मात्र नभई भावनासँग पनि जोडिएको छ । पोखरा प्रिमियर लिग (पिपिएल) को दुई संस्करणको आयोजनाले क्रिकेट प्रति पोखरेलीको रुचीलाई केहि बढाएको थियो । समूहगत खेलसँगै अन्य व्यक्तिगत खेल पनि पोखरामा हुने गरेको छ । काठमाडौंपछि खेल आयोजनाका लागि पोखरा उपयुक्त गन्तव्य मानिन्छ ।
त्यसो त काठमाडौंपछि भौतिक पूर्वाधारकै हिसाबले पोखरा धनि छ । त्यसैले ३ वर्षअघि नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्दा पोखरामा एक तिहाइ खेल यहाँ भएका थिए । महिला क्रिकेट, महिला फुटबल, बीच भलिबल, टाएथोलन, ब्याडमिन्टन, भारोत्तोलन, ह्यान्डबल , आर्चरी आयोजनाको जिम्मेवारी पोखरामा भव्य रुपमा सम्पन्न भएको थियो । त्यति बेला दर्शकको उपस्थिति पनि लोभलाग्दै थियो ।त्यसबेला पोखरामा हुने भनिएको प्याराग्लाइडिङ सहभागी टिम नपुग्दा हुन सकेन ।
सागकै कारण पोखरा रंगशालाको पूर्ननिर्माण, कभर्ड हल निर्माण लगायतका भौतिक संरचना तयार भएको थियो । पोखरा रंगशाला भित्रको जस्तो अलग अलग खेलको संरचना एकै ठाउँमा नेपालको अर्को स्थानमा छैन । पोखरा रंगशाला हाता भित्र मात्र फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, दुई वटा कर्भड हल, एउटा सेमिकभर्ड हल, लन टेनिस, स्क्वास, आर्चरीका लागि अलग अलग खेल संरचना छन् । नवौंका अधिकांश खेल यहि पोखरा रंगशालाकै हाता भित्र भइरहेका छन् । तर खेल्ने र खेलाउनेलाई बाहेक नवौंमा खासै कसैलाई चासो देखिदैन । दशै र तिहार जस्तो महान चाडका बीचमा नवौं आयोजना गर्नै पर्ने उपयुक्त तर्क राखेपले दिन सकेको छैन ।
पूर्वाधार निर्माण शून्य
राष्ट्रिय खेलकुद देशको सबैभन्दा ठूलो खेल प्रतियोगिता हो । शीर्ष श्रेणीको प्रतिस्पर्धासँगै देशको विभिन्न क्षेत्रमा पूर्वाधार निर्माणका लागि पनि राष्ट्रिय खेलकुद महत्वपूर्ण मानिन्छ। तर १३ औं सागमा बनेको पूर्वाधारलाई स्तरोन्नति गर्ने होस् या नयाँ पूर्वाधार निर्माण गर्ने, सम्बन्धित निकाय यसमा चुकेका छन् । वर्षौंदेखि चर्चमा रहेको पोखरा रंगशालामा फ्लड लाइट राख्ने योजना यसपटक पनि कागजबाट कार्यान्वयन तहमा पुग्न सकेन । उद्घाटन समारोहका लागि राखिएका अस्थायी बत्ति अपर्याप्त हुँदा समारोह नै सोचेजस्तो चम्किलो हुन सकेन ।
क्रिकेट मैदानमा साइट स्क्रिन निर्माण भएको छ । नवौंमा निर्माण भएका औंलामा गन्न मिल्ने संरचनामध्य यसलाई लिन सकिन्छ । तर राष्ट्रिय खेलकुदमा पनि अस्थायी टेन्ट गाडेर नै प्रतियोगिता संचालन गरिएको छ । नजिकै रहेको अस्थायी शौचालय खेल क्रममा नदेखियोस् भनेर जाने ठाँउ पालले छेकिएको छ ।
सुटिङ खेलका लागि वैकल्पिक पूर्वाधार नहुँदा फेरिपनि राष्ट्रिय प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित केन्द्रिय रेन्जमा आयोजना भयो । पौडीका लागि फिस्टेल एकेडेमीको पोखरी प्रयोग गरिएको छ । २५ मिटर लामो पुलमा ६ लेन मात्र हुँदा पौडी आयोजना पनि सकसपूर्ण भएको छ ।
आर्चरीमा खेल सामग्री पर्याप्त नहुँदा आयोजना सुस्त हुन पुगेको छ । उपलब्ध गराइएको केही सामाग्री प्रयोग गर्न नसकिने हुँदा खेल तालिका लम्बिएको छ । ब्याडमिन्टनमा सुरुको दुई दिन तीन कोर्ट राखिएकोमा खेल नभ्याउने डरले स्टेज घटाएर तेस्रो दिनबाट चौथो कोर्ट राखियो । हक्कीको हकमा त खेल सुरु हुने दिन विहानसम्म पनि मैदान व्यवस्थापन पूर्ण भएको थिएन । अघिल्लो दिन मात्र घाँस काटिएको मैदानमा प्रतियोगिताको पहिलो दिन खेल समयमा सुरु हुन सकेन ।
अन्य विभिन्न खेलमा खेल स्थल व्यवस्थापन र पूर्वाधारमा समस्या देखिएको छ । चाडपर्व लगत्तै खेल आयोजना हुँदा आयोजनामा प्रत्यक्ष असर परेको देख्न सकिन्छ ।
खल्लो उद्घाटन
राखेपले नवौंको उद्घाटन र समापन भव्य गराउने योजना बनाउने सुनाएको थियो । तर, राखेपले दाबी गरे जस्तो भव्यता उद्घाटन समारोहमा झल्कन सकेन । प्रस्तुती होस् वा अन्य कुनै पनि कारणले दर्शकलाई उत्साहित बनाउन सकेन । झण्डै साढे ३ घण्टा चलेको उद्घाटन सत्रमा मार्च पास र केहि सांगितिक कार्यक्रमाबाहेक दर्शकको स्मरणमा रहने खासै विषय थिएनन् ।
समान्यतया ठूला खेल मेलाको उद्घाटनामा राष्ट्र प्रमुख र सरकार प्रमुखले खेलको सुरुवातको छोटो घोषणा गर्ने प्रचलन हुन्छ । तर, नवौंका मुख्य अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनको लामो भाषणले खासै उत्साह भर्न सकेन । पोखरामै ३९ वर्षअघि भएको राष्ट्रिय खेलकुदमा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहले एक पंक्तिमा राष्ट्रिय खेलकुद उद्घाटन भएको स्थानीय खेल पत्रकारले सुनाए । अन्तर्राष्ट्रिय स्तरमा पनि यस्तै हुने गर्दछ, तर नवौंमा उपराष्ट्रपतिले भाषण नै गरे ।
उद्घाटन र समापन समारोहका लागि मात्र राखेपले ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । नवौंको उद्घाटन परम्परागतबाहेक नयाँपन केहि थिएन । अन्त्यमा आतसबाजीले केहि रौनक दियो । तर त्यहि पनि आधा घन्टा बढी हुँदा पट्यार मान्दै उपस्थित खेलाडीले नै पनि रंगशाला छाडेका थिए ।
समारोहका संयोजक राखेपका बोर्ड सदस्य एकेन्द्र कुवरका अनुसार उद्घाटन समापनका लागि ९ करोड माग भएपनि ३ करोड मात्र स्वीकृति भएको थियो । आतसबाजीका लागि मात्र ९ लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ । उद्घाटन समारोहमा रंगशालामै उपस्थितले राम्ररी सुन्न नसकेको साउन्ड सिस्टमका लागि ६० लाख रुपैयाँ खर्च भएको बताइएको छ । साउन्ड सिस्टम काठमाडौंबाट झिकाइएको थियो ।
नवौं आयोजनाको आधा सम्म आइपुग्दा पनि रौनककता छाउन नसकेको नवौंको समापन पछि समिक्षा त हुन्छ नै होला । खेलका दौरान हरेक दिन नयाँ समस्या उत्पन्न भइरहँदा नवौंको चर्चा भन्दा बढी आलोचना भइरहेको छ । प्रोटेस्ट सदर भइसकेपछि ८ राष्ट्रिय खेलाडीले एनआएनए फुटबल टोलीबाट वामअर्प गर्दै अनुशासन मात्र तोडेनन् प्राविधिक समितिको निर्णय कार्यान्वयन कति फितलो छ भन्ने प्रमाणित गरिदिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति विना आयोजना भएको प्याराग्लाइडिङका दौरान निसिम थापाको मृत्युले राखेपको गैरजिम्मेवारीपनलाई उजागर गरेको छ ।
नवौंबाट आयोजकले जस कम र आलोचना बढी खेप्नु पर्ने निश्चितप्राय छ । हरेक दोस्रो मान्छे नवौंको व्यवस्थापनबाट असन्तुष्ट देखिन्छन् । केहि टोलीले जर्सी पनि समयमा पाएनन् । कतिपय खेल निर्धारित समयमा सुरु भएका छैनन् । भौतिक पूर्वाधारका हिसाबले अहिले सम्मकै सबैभन्दा सहज भएर पनि व्यवस्थापनका हिसाबले राखेप चुकेको छ । यातायात व्यवस्थापन फितलो हुँदा खेलहरु स्थगित नै गर्नुपरेको उदाहरण पनि छ ।
स्थानियलाई बेवास्ता
राष्ट्रिय खेलकुद आयोजनामा राखेप मुख्य आयोजक हुने गरेपनि स्थानीय आयोजकका रुपमा खेलकुद निकायलाई जिम्मेवार बनाउने परम्परा स्थापित थियो । तर, यसपटक स्थानिय गण्डकी खेलकुद परिषद्लाई बेवास्ता गर्दै नवौं आयोजना गरिएको छ । अधिकांश व्यवस्थापनका लागि स्थानीयको भन्दा काठमाडौंमा बढी निर्भर देखिन्छ ।
गण्डकी प्रदेशलाई जिम्मेवारीबाट विमुख बनाउँदा अपनत्व महसुस गरेको देखिन्न । १६ हजार ५ सय दर्शक क्षमताको रंगशालामा उद्घाटनका दौरान अधिकांश सिट खाली थिए । उद्घाटन सत्र रंगशालामै बसेर हेर्न चाहेने स्थानियलाई पनि सुरक्षाको कारण देखाउँदै पस्न दिइएन । उद्घाटनका लागि हजारौंको संख्यामा पास छापिएको भनिएपनि त्यसअनुसारको उपस्थिति हुन सकेन ।
स्थानीय श्रोत साधानलाई परिचालन र आवश्यकता अनुसार समन्वय गर्न राखेप नेतृत्व असफल भएको छ । देशको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता सबैभन्दा सुविधासम्पन्न ठाँउमा गर्दा पनि कमजोर व्यवस्थापनका कारण अहिले सम्मकै उत्कृष्ट आयोजनाको जस पाउने सम्भवनाबाट राखेप चुकेको छ । यसले नेतृत्वको क्षमतामाथि स्वभाविक रुपमा प्रश्न खडा हुन्छ नै ।
March 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]
March 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]
March 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]