default_image

5 years ago

September 3, 2019

एनओसी निर्वाचन : प्रगतिशील धारको यथास्थितिवाद

क्रिएटिभ भ्वाइस टीएस ठकुरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओस) मा प्राय सबै सदस्य प्रगतिशील विचारधाराका छन् । प्रगतिशीलको अर्थ हुन्छ, यथास्थितिलाई छाड्दै निरन्तर परिवर्तनलाई आत्मसात गर्नु । झापा विद्रोह वा दश बर्षे माओवादी सशस्त्र संघर्ष, कम्युनिस्ट आन्दोलनमार्फत मुलुकमा तीव्र परिवर्तनको आकांक्षा थियो, लक्ष्य थियो । यी दुवै सशस्त्र संघर्षको प्रमुख उद्देश्य विकास […]

46 views

0 Bookmark

क्रिएटिभ भ्वाइस

टीएस ठकुरी

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओस) मा प्राय सबै सदस्य प्रगतिशील विचारधाराका छन् । प्रगतिशीलको अर्थ हुन्छ, यथास्थितिलाई छाड्दै निरन्तर परिवर्तनलाई आत्मसात गर्नु ।

झापा विद्रोह वा दश बर्षे माओवादी सशस्त्र संघर्ष, कम्युनिस्ट आन्दोलनमार्फत मुलुकमा तीव्र परिवर्तनको आकांक्षा थियो, लक्ष्य थियो । यी दुवै सशस्त्र संघर्षको प्रमुख उद्देश्य विकास र समृद्धिको रहर नै हो । विकास र समृद्धिको सपना गाउँ शहर टोल र बस्तीहरुमा पुराउँदै लामो समयको सांगठनिक संरचना बिस्तारपछि परम्परागत धारलाई पछार्दै नेपाल कम्युनिष्ट पार्टी दुई तिहाइको सरकार बनाउन सफल भएको छ । यसले जनताका आम समस्यालाई कसरी सम्बोधन गरिरहेको छ? यो जगजाहेरै छ ।

यता आधिकारिक अन्तर्राष्ट्रिय खेलकुद सहभागिताका लागि अत्यावश्यक एनओसी पनि विचारका हिसाबले केही वर्षयता कम्युनिस्टमय छ । राजावादी वा कांग्रेस समर्थकहरुको उपस्थिति शुन्यप्राय झैं छ । हुनत खेलकुदमा दलगत विचारको उपस्थिति नै शुन्य हुनुपर्ने हो, खेलकुदको मर्म र भावना बुझेको खेलकर्मीको मात्र प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने हो । तर, सरकारको नीति नै राखेपमा राजनैतिक नियुक्त गर्ने छ । त्यसकै प्रभाव ओलम्पिकमा परेको हो । ओलम्पिक अर्को ग्ल्यामर क्षेत्र हो । यो सबैले राम्रोसँग बुझेका छन् । तसर्थ राखेप सिंढी हो । गन्तव्य एनओसी नै हो ।

कतिपय कम्युनिस्ट स्कुलिङबाटै हुर्किएका हुन्, कतिपय अवसरकै लागि सही । प्राय सबै एनओसी सदस्य नेकपा समर्थक छन् । एनओसीको साधारण सभाका सदस्यहरुमाझ एकाध बाहेक हात उठाएर ‘म नेकपा समर्थक हैन’ भन्ने ल्याकत राख्ने सदस्य छैनन् भनेपनि हुन्छ । अध्यक्षका प्रत्यासी जीवनराम श्रेष्ठले वडाध्यक्ष निर्वाचित हुनेदेखि राखेप सदस्यसचिव हुँदै हाल संघीय सांसदसम्मको यात्रा नेकपाकै आडबल र समर्थनमा तय गरेका हुन् । उता अध्यक्षका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठ नेकपा संस्थापक पुष्पलाल र महिना नेतृ सहाना पुत्र हुन् । उनको रगतमै कम्युष्टि सिंचित छ । यसले नै पुष्टि गर्छ, एनओसीमा नेकपाको एकलौटी प्रभाव । अन्य सबै पदमा उम्मेदवारी दिएका प्राय सबै नेकपा निकट नै छन् । कसैले भनुन्, वा कसैले खुलेर नभनुन् । तर, खेल पहिचान भएकाहरु पनि उल्लेख्य नभएका हैनन्, तर ती पनि नेकपाको प्रभावमा छन् । सत्ता र शक्ति सबैका लागि प्रिय जो छ ।

यसपटक एनओसी निर्वाचनमा कसले बाजी मार्ला? यसका लागि भदौ २० गतेसम्म प्रतिक्षा गर्नुपर्ने छ । ठुलै शक्ति केन्द्र हात धोएर नलाग्दासम्म जीवनराम श्रेष्ठको विरासत पल्टाउन सक्नेमा शंका छ । हुनत, उमेशलाल श्रेष्ठको आत्मविश्वास देख्दा निवार्चित हुनेमा उनी पनि ढुक्क छन् । तर उनका लागि राज्यको ठुलो शक्ति नलाग्दासम्म बिभिन्न संघहरुमा उनको पकड रहेको आधार देखिंदैन । पार्टीभित्र पनि उनको गुट स्पष्ट छैन । नेकपा विभिन्न गुटउपगुटमा विभाजित छ ।

एकहिसाबले जीवनराम र उमेशलाल एक समय एकै गुटका हुन्, वामदेव निकट । अहिले जीवनरामलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफु निकट ठान्दैनन् । ओलीकै गुट भनेर चिनिने करातेका अन्तर्राष्ट्रिय खेलाडी पुरेन्द्रविक्रम लाखे उमेशलाल समुहबाट महासचिवमा उम्मेदवार बनेका छन् । जीवनरामले खेलकुदमा पुर्ण समर्पित निलेन्द्रराज श्रेष्ठलाई महासचिव बनाउन चाहेका छन् । निलेन्द्र नेपाली खेलकुदका पुर्णकालीन कार्यकर्ता हुन्, जसरी नेकपाले सशस्त्र विद्रोहका बेला पुर्णकालीन कार्यकर्ता भर्ती गर्थ्यो । एथ्लेटिक्सको नेतृत्वबाट बाहिरिएपछि पनि निलेन्द्रले नेपालमा ट्रायथलनलाई स्थापित गरे । काठमाडौं म्याराथनलाई डेढ दशकको यात्रामा निरन्तर अघि बढाएका छन् ।

अध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ र जीवनराम श्रेष्ठ

नेपाली खेलकुदमा अलग पहिचान बनाएका रतन टण्डन कोषाध्यक्षमा निर्विरोध भए । उनी जीवनराम निकट हुन् । रतन टण्डन उनै व्यक्ति हुन्, जसले राज्यले निरन्तरता दिन अनकनाइरहेका बेला पनि खेलाडी तथा अफिसियलको आवास तथा भोजनको सम्पुर्ण खर्च व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएपछि १२ बर्ष अवरुद्ध चौथो राष्ट्रिय खेलकुद नेपालगन्जमा २०५५ सालमा सम्पन्न भएको थियो । उनकै नेतृत्व तथा लगानीमा दक्षिण एशियामै पहिलोपटक नेपालगन्जमा दक्षिण एशियाली भारोत्तोलन च्याम्पियनसीप सुरु भयो । उनकै नेतृत्वको नेपाल भारोत्तोलन संघले नेपाली खेलकुद इतिहासमै पहिलोपटक एशियाली युथ च्याम्पियनसीप जस्तो ठुलो प्रतियोगिता काठमाडौंमा सफलतापुर्वक गरेर देखायो । राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना पनि उपमहासचिवमा निर्विरोध भइसकेका छन् ।

नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन टण्डन लगातार दोस्रो कार्यकालका लागि एनओसीको कोषाध्यक्ष निर्वारोध भएका छन् ।

यसरी २७ सदस्य मतदातालाई नियाल्ने हो भने दुई तिहाइ जीवनरामकै पक्षमा रहेको उनी निकटस्थहरु बताउँछन् । तर उता उमेशलालको आत्मविश्वास हेर्दा उनका पछाडि पनि ठुलै शक्ति रहेको अनुमान लगाउन सकिन्छ । निर्वाचन हो, यसै भन्न सकिंदैन । उमेशलालको जित भए साँच्चिकै परिवर्तनका पक्षधरहरु एकजुट रहेछन् भन्ने सन्देश पक्कै प्रवाह हुनेछ । विचारका हिसाबले परिवर्तनकामीको बाहुल्य भएपछि आम नेपाली खेलप्रेमीले त्यहाँबाट परिवर्तनको अपेक्षा गर्नु स्वभाविक हो । त्यो नेतृत्वबाट सच्चा खेलकर्मीहरुले धेरै अपेक्षा गर्नु झनै अस्वभाविक हैन ।

खेलाडीलाई दलगत राजनीतिसँग चासो रहँदैन । हुनुपनि हुँदैन । उनीहरुलाई खेल्ने वातावरण बने पुग्छ । नियमित प्रशिक्षण, निरन्तर अभ्यास र स्पर्धाको निरन्तर उकालो लाग्दो मञ्च भए खेलाडीलाई सायद अरु केही चाहिंदैन । हो, पछिल्लो समय व्यवसायिकता पनि अनिवार्य शर्त जस्तै बन्न थालेको छ । आधारभुत आवश्यकता नै बनेको छ खेलाडीको दैनिक जीवनयापनका लागि आर्थिक स्रोत । तसर्थ खेलाडीका लागि बाँच्ने आधार पनि अर्को आवश्यकता बनिसकेको छ ।

राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना र निवर्तमान राखेप सदस्य सचिव केशवकुमार विष्ट

‘ओलम्पिक’ खेल्ने हरेक खेलाडीको सपना हुन्छ । खेलाडी जीवनको अन्तिम गन्तव्य पनि ओलम्पिक नै हो । नेपाल जस्तो मुलुकका लागि प्रतिभावान भएर मात्र पुग्दैन, ओलम्पिक सहभागिताका लागि भाग्य पनि चाहिन्छ । भाग्य यसअर्थमा कि नेपालको खेलकुद नीति र सरकारको लगानीका हिसाबले नेपाली खेलाडीको क्षमता, सीप र प्रतिभा ओलम्पिक स्तरमा अझै पुग्न सकेको छैन, तीतो यथार्थ यही हो । तेक्वान्दो स्टार संगीना वैद्य र दीपक बिष्ट बाहेक ६ दशकको ओलम्पिक यात्रामा सबै खेलाडीलाई वाइल्ड कार्डमार्फत पठाउने परम्पराले निरन्तरता पाएको छ । यो परम्परागत यात्राले कहिले बिट मार्ने हो? स्वयं खेलकुद नेतृत्व अहिलेसम्म पनि अनभिज्ञ छ ।

खेलकुद नेतृत्व भनेपछि सरकारको संरचनामा राखेप नै हो । अर्कोतर्फ एनओसी पनि त्यस्तै प्रकृतिको संस्था मानिएको छ नेपालमा । स्रोतसाधनका लागि राखेप र वैदेशिक सहभागिताका लागि एनओसी चाहिने भएको हुँदा दुवै संस्था समानान्तर जस्तै देखिएका हुन् । देशभित्र राखेप र देशबाहिर एनओसीको भुमिका उत्तिकै महत्वपुर्ण छ । लामो समय एनओसी राखेपको विदेश समन्वय युनिट जसरी काम गर्दै आएको थियो । एउटा कालखण्डमा राखेप नेतृत्व स्वतः ओलम्पिक नेतृत्वमा रहने प्रावधान थियो । जीवनराम श्रेष्ठ २०६२ को परिवर्तनपछि दोस्रो पटक राखेपमा नआउँदासम्म एनओसी एउटै लयमा थियो, अर्थात पारम्परिक ढर्रामा चलेको थियो ।

ओलम्पिकमा कसैको नजर थिएन । राखेपमा दोस्रोपटक जीवनराम श्रेष्ठको आगमनपश्चात नै एनओसी पहिलोपटक निर्वाचनमा होमिएको थियो । त्यतिबेलासम्म कुनै पनि संघमा आबद्ध नरहेका श्रेष्ठ जुडोबाट प्रनिनिधित्व गर्दै ओलम्पिक छिरेका थिए । ध्रुवबहादुर प्रधानलाई अध्यक्ष चुन्दै जीवनरामलाई महासचिवमा स्थापित गरेको थियो उक्त निर्वाचनले । भलै पुर्वसहमतिलाई तोड्दै रुक्मशमसेर पक्षधर केही पराजित सदस्यले नतिजालाई स्वीकार गरेनन् । र, अदालतको ढोका ढकढकाए । त्यसपछि एनओसी लगातार विवादको चंगुलमा फसेको छ ।

अदालत एउटा निर्णय दिन्छ, एनओसी सुनेको नसुन्यै गर्छ । खेलाडीको अन्तर्राष्ट्रिय सहभागिता भनौं या पदाधिकारीको विदेश मोहले गर्दा एनओसी र राखेपबीच अदालतको निर्णय अनुशरण गर्ने फुर्सद कसैलाई छैन । ओलम्पिक चार्टरको हवाला दिंदै हरेक नेतृत्वले ओलम्पिक अभियानलाई आफु अनुकुल व्याख्या गर्दै आएको छ ।

एनओसी विवादका क्रममा ओलम्पिक विवादमा तालाबन्दी गर्दाको क्षण

ओलम्पिक अभियानको मुख्य लक्ष्य भनेको कुनैपनि प्रकारको भेदभाव बिना ओलम्पिकको मर्म र भावनालाई आत्मसात गर्दै खेलकुद मार्फत युवापंक्तिलाई शिक्षित बनाउँदै उनीहरुलाई एकतावद्ध गर्दै जानु हो । त्यसले शान्त र असल समाज निर्माण गर्न योगदान गर्नु पनि हो । ओलम्पिक भाव भन्नाले आपसी समझदारी, भाइचारा र मित्रता, सहमति तथा नियमसंगत खेललाई जनाउँछ । यति मात्र भए ओलम्पिक अभियानले सार्थकता पाउँछ ।

हो, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सम्बन्धित राष्ट्रिय ओलम्पिक कमिटीमा विवाद चाहँदैन, सरकारको हस्तक्षेप स्वीकार गर्दैन । यद्यपी ओलम्पिक अभियानका तीन मुख्य अवयब अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, दोस्रो अन्तर्राष्ट्रिय खेल महासंघ र तेस्रो राष्ट्रिय ओलम्पिक कमिटी आफ्नो उद्देश्य प्राप्तिका लािग सक्रिय हुन सक्छन् । यी तीन मुख्य अवयवसँगै ओलम्पिक अभियानले ओलम्पिक गेम्सको आयोजक कमिटी, राष्टिय संघ, क्लब, अन्तर्राष्टिय फेडरेसन र राष्टिय ओलम्पिक कमिटीसँग सम्बन्धित व्यक्ति बिशेषगरी खेलाडी, निर्णायक, रेफ्री, प्रशिक्षक, अन्य अफिसियल र प्राविधिकलाई समेत गोलबन्द गर्दछ । यसले आइओसीबाट मान्यताप्राप्त अन्य संघसंस्थालाई पनि समावेश गर्दछ । संक्षेपमा ओलम्पिक अभियानको प्रमुख उद्देश्य खेलकुद मार्फत मानवजातिको एकता, आपसी भाइचारा र मित्रता तथा निष्पक्ष खेल नै हो ।

खेल दुई उद्देश्यले खेलिन्छ । पहिलो स्वस्थ रहन, अनि दोस्रो देशको प्रतिष्ठाका लागि । स्वस्थ नागरिकले देश विकासमा योगदान दिनसक्छन्, खेल्दाखेल्दै भिडबाट कोइ प्रतिभा जन्मन सक्छ, जसले देशको प्रतिष्ठा बढाउन सक्छ भन्ने विश्वास गरिन्छ । त्यसैले नेपाली खेलकुदको मुल नारा नै छ ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ यो बाहेक अरु उद्देश्य छैन भनेपनि हुन्छ । यतिका लागि खेलकुदका विविध पाटोमा जिम्मेवारीमा रहेका हरेक नेपाली नागरिकले आआफ्नो काम, कर्तव्य र अधिकार मात्र सम्झिदिए पुग्छ ।

पदलोलुपता नेपालीको समस्या देखिंदै आएको छ । काम भन्दा पद प्रमुख बिषय बन्ने गरेको छ । काम र परिणामभन्दा पनि पदीय जिम्मेवारीलाई पुज्ने नेपाली समाजको मनोविज्ञानका कारण सबैलाई पद चाहिएको हो । अर्कोतर्फ विदेश शयर नेपाली समाजमा मनोरोगका रुपमा उदाएको छ । विदेश शयरका लागि कुनैपनि खेल विशेषको संघमा बस्ने प्रचलन एकातिर छ भने अर्कोतर्फ शक्तिको आडमा एनओसी यात्रा गर्नु अर्को मनोरोग हावी हुँदैछ । राखेप वा एनओसी पदाधिकारी एवं सदस्यहरुको प्रोटोकल निर्धारण गरिएको छैन । तैपनि कानुनी तथा परम्परागत रुपमा शक्तिशाली बनाइएको राखेप सदस्यसचिव आकर्षक पद मानिन्छ ।

औपचारिक समारोहहरुमा राखेप सदस्य मात्रले पनि एनओसी पदाधिकारीलाई आफुसमान नहेर्ने अभ्यास पनि छ । त्यसको कारण हो । राखेप राज्य मातहतको निकाय हुनु । साथै राखेप बोर्डमा राज्यले प्रोटोकल निर्धारण गरेका नेपाल सरकारका सचिव तथा सहसचिव समेत सदस्य सरह रहनु । यसले राखेप सदस्यलाई कम्तीमा सहसचिव सरह रहने महसुस हुनु । यति माथि रहने पदीय मर्यादालाई बिर्सिएर राखेपका उच्च तहका व्यक्तित्वहरु एनओसीको तल्लो तहमा समेत रुझान हुनु विदेश सयरको मोहबाहेक अरु कारण हुनै सक्दैन । राखेप उपाध्यक्ष, निवर्तमान सदस्यसचिव पनि जसरी हुन्छ ओलम्पिक भवनमा पाइला टेक्ने चाहना गर्नु विदेश मोह नै प्रमुख कारण हो ।

१३ औं दक्षिण एसियाली खेलकुदको लोगो अनावरण कार्यक्रमदौरान

अझ संघीय सांसद र कुनैपनि संवैधानिक आयोगमा विराजमान अध्यक्षको ओलम्पिक मोह विकृतिको अर्को दृष्टान्त हो । ‘भन भन भाइ हो देउसी रे, एक स्वरमा भन देउसी रे’ भनेझैं ‘भन भन भाइ हो मै खाउँ मै लाउँ, विदेश जाउँ, एक स्वरमा भन मै खाउँ मै लाउँ, विदेश जाउँ’ भन्दा अरु कुरा केही पनि हैन । एनओसीमा विकृति मौलाउन थालेको छ । माकुराले जालो फिजाउन थालेको छ । काल पल्कनु डरलाग्दो अवस्था पक्कै हो । संघका अध्यक्षहरु नै एनओसी साधारणसभाका सदस्य रहने अभ्यास कुल्चदै गोरु बेचेको साइनो नभएका संघबाट भएपनि ओलम्पिक छिर्ने दाउ हेरेर बस्ने जमात यसपटक बढेको छ ।

उदाहरणका लागि राजीव श्रेष्ठको पहिचान बक्सिङ हो, पिताम्बर तिम्सिनाको चिनारी राखेप उपाध्यक्ष नै हो । उनी दुई पटक राखेप उपाध्यक्ष भए, यसले उनलाई राखेप उपाध्यक्ष ब्रान्ड बनाइदिएको छ । श्रेष्ठ क्यानोइङ संघ तथा तिम्सिना एथ्लेटिक्स संघबाट एनओसी पुगे । यिनीहरुले कुन खेलको पक्षमा लबिङ गर्लान् त? परिचय एउटा छ, जिम्मेवारी अर्को खेलको लिएर गएका छन् । मुख्य सवाल यही हो । हरेक संघको अध्यक्ष नै एनओसी जानु भनेको आआफ्ना खेलका लागि आवाज बुलन्द गर्नु नै खास उद्देश्य हो । एन्फा चलायमान र व्यवस्थित संस्था भएका कारण हिजो गणेश थापालाई पनि ओलम्पिक माेह भएन, आज कर्मा छिरिङलाई पनि लाेभ जागेन । कामकाजी संघलाई यसतर्फ खासै चासाे देखिंदैन ।

हुनत कहीं नभएको जात्रा यसपटक एनओसीमा हुँदैछ । २७ सदस्य सहभागि हुने साधारणसभामा २६ जना त कुनै न कुनै पदमा उम्मेदवार छन् । झण्डै मानार्थ अध्यक्षको पद सुनिश्चित नगरिएको भए पुरै २७ जना नै उम्मेदवार बन्ने पक्का रहेछ । योभन्दा विडम्बना के हुन्छ ? यसका लागि लामो समय नेपाली खेलकुदलाई नजिकैबाट नियालेका एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले पूर्वआँकलन गर्न सक्नु पर्दथ्यो । उनी नेपाली खेलकुद, राखेप र ओलम्पिक अभियानलाई राम्रोसँग बुझेका व्यक्ति हुन् । उनको खास छवि नै ‘खेलकुद नेता’ बनिसकेको सत्य नै हो ।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ ।

एनओसी नेपालको हो, नेपालीको हो । तसर्थ एनओसी समग्र नेपालीले अपनत्व गर्ने हुनुपर्छ । नेपाल जातीय, धार्मिक र साम्प्रदायिक विविधताले भरिएको देश हो । पूर्व मेचीदेखि पश्चिम महाकाली, उत्तर हिमालदेखि समतल तराइले अपनत्व महसुस गर्ने संस्थाका रुपमा एनओसीको संरचना विकास गर्न सक्नुपर्छ । आइओसीलाई सरकारको हस्तक्षेप मात्र स्वीकार्य छैन । त्यो बाहेक खेलकुदमा समर्पित जोसुकैलाई गोलबन्द गर्दै एनओसीको दायरा फराकिलो बनाउँदै लैजान सकिने रहेछ । यो यथार्थ हो । यसमा नेतृत्व चुकेकै छ ।

एनओसी अन्तर्गत दश वटा कमिसन छन् । यसमा खेलकुद कमिसन, अन्तर्राष्ट्रिय सम्बन्ध कमिसन, राष्ट्रिय ओलम्पिक एकेडेमी, खेलकुद र वातावरण कमिसन, शान्ति र खेलकुद कमिसन, मेडिकल कमिसन, महिला र खेलकुद कमिसन, स्पोर्ट्स फर अल कमिसन, मार्केटिङ र स्पोन्सर कमिसन, कल्चर कमिसन रहेका छन् । यसमा स्पोर्ट्स फर अलले बर्षमा एक पटक ओलम्पिक डे मनाउने बाहेक अरु काम गरेको देखिंदैन । अन्य कमिसन कत्तिको कामकाजी छन्, सबैलाई अवगत नै छ । यी सबै कमिसन पक्कै पनि खेलकुदको अभियानलाई गाउँ बस्तीसम्म फैलाउने अभियन्तालाई समेट्दै लैजानका लागि परिकल्पना गरिएका हुन् । खेलकुद अभियान भनेकै ओलम्पिक अभियान हो ।

नेपालमा खेलकुद साधना गर्ने ठुलो पंक्ति एकातिर छ, पद र पावरका पछाडि कुद्ने जमात अर्कोतर्फ छ । पद र पावरका पछाडि दौडनेहरुले नै अवसर पाइरहेका हुन्छन् । तीतो यथार्थ यही हो । यसले औंलामा गन्न सकिने व्यक्तिहरुलाई विदेश सयरको अवसर दिलाउला, तर सच्चा अर्थमा ओलम्पिक अभियानलाई दीगो बनाउन सक्दैन । जबसम्म निश्चित उद्देश्य प्राप्तिका लागि स्थापित संस्था गन्तव्यहिन यात्रामा अघि बढिरहन्छन्, नेपाल जस्तो देशमा समावेशी चरित्रलाई सम्बोधन जबसम्म गर्दैनन्, कामकाजीलाई सम्बोधन गर्दैनन्, विद्रोह जन्मिने निश्चित हो । तसर्थ नेतृत्वले समयै सम्बोधन गर्दै अघि बढ्न सक्नुपर्छ । सबैलाई चेतना भया । सबैको जय होस् ।

May 2, 2024

१२ ओलम्पियन एकै थलोमा सम्मानित

हिमाल खरेल,मोरङ सिओल ओलम्पिक १९८८ का सहभागी १२ नेपाली ओलम्पियनलाई विशेष सम्मान गरिएको छ । मोरङको सुन्दरहरैँचास्थित होटल नेपालीरिका आयोजित तेस्रो ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत आज साँझ उनीहरुलाई सम्मान गरिएको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा भएको कार्यक्रममा राजकुमारी पाण्डे, मेनुका राउत, हरि रोकाया, […]

May 2, 2024

इटहरीमा ओलम्पियन र खेलाडीको पैदल यात्रा

हिमाल खरेल,इटहरीतेस्रो ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत सुनसरीको इटहरीमा वाकाथन (पैदल यात्रा) सँगै स्वागत कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रमको सुरुवात कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार मन्त्री खत्रीले गरेका थिए । आज बिहीबार […]

May 1, 2024

रुपेशले जिते गणेशमान सिंह स्मृति बुद्धिचाल उपाधि

ललितपुर (हाम्रो खेलकुद)- नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। रुपेशले बुधबार फाइनलमा   क्याण्डिडेट  मास्टर मिलन लामासंगको  क्लासिकलतर्फको  पहिलो र दोस्रो खेल बराबरी खेलेका थिए। क्लासिकलमा १/१ को बराबरीले नतिजा नआएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। द्रुतगतिको ५/५ मिनेटको खेलमा सेतो र कालो गोटीको  दुबै खेलका […]

Success

Thank you for your time.