default_image

6 years ago

January 30, 2020

याम र अमृतको राष्ट्रिय टोलीबाट खेल्ने चाहना

360 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबलमा उर्वर थलोको रुपमा परिचित छ । महिलामा होस् या पुरुष दुवैको राष्ट्रिय टोलीमा गण्डकी प्रदेशका खेलाडीकै बाहुल्यता रहँदै आएको छ ।

घरेलु भलिबलमा गण्डकी प्रदेशका याम क्षेत्री र अमृत केसी पछिल्लो समयको स्टार र चर्चित खेलाडी हुन् । झन्डै ५ वर्षदेखि भारतीय सेनामा कार्यरत दुवै खेलाडी नेपालमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुनासाथ उपस्थित भइहाल्छन् । भारतीय सेनाको जागिरे रहेपनि उनीहरु अधिकांश समय नेपालको विभिन्न भु–भागमा हुने राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता खेल्न पुग्छन् । यो उनीहरुको भलिबलप्रतिको माया र लगावले नै हो ।

याम र अमृत प्राय एकै टोलीबाट खेल्ने गर्छन् र जहाँ पनि उनीहरुको खेल लोभलाग्दो नै हुने गर्छ । उनीहरुको प्रदर्शन हेर्ने हो भने राष्ट्रिय टोलीमा स्थान बनाउन क्षमताकै रहेको छ । राष्ट्रिय टोलीमा पर्ने-नपर्ने प्रशिक्षक अनुसारको योजना र रणनीतिमा भर पर्ला, तर हरेक प्रतिभावान खेलाडीले आफूलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणसम्म पुगेर प्रस्तुत गर्ने मौका भने पाउनुपर्छ । लगातार उच्च स्तरको प्रदर्शन गर्नका बाबजुद यी दुईले अहिलेसम्म राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल हुने अवसर पाएका छैनन् ।

गत साता नेपाल भलिबल संघको आयोजनामा भएको पाँचौ संस्करणको आरबीबी एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्ट्स क्लबले  च्याम्पियन बन्दा दुवैको प्रदर्शन लोभलाग्दो थियो । दुवैले लामो समयदेखि नेपालको राष्ट्रिय भलिबल टोलीबाट खेल्ने इच्छा व्यक्त गर्दै आएका छन् । तर नेपाल भलिबल संघले जारि गर्ने प्रारम्भिक सुचीमा दुवै खेलाडी हालसम्म अटाएका छैनन् ।

नेपाल भलिबल संघले नेपालमा भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप र १३औं सागको लागि नेपालगन्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदलाई आधार मान्दै टोली तयार पारेको थियो । याम र अमृत दुवैले आठौंमा सहभागिता जनाएको थिएनन् । त्यसकारण पनि उनीहरुले टोलीमा नपर्दा चित्त बुझाउने बाटो रहन्छ । तर त्यसअघि भने दुवै खेलाडीको नाम संघले उपेक्षा गर्दै आएको छ ।

घरेलु भलिबलमा पछिल्ला समयको दुई ठुला प्रतियोगितामा यि दुवै खेलाडीले खेल्दै आफ्नो खेल कौशल देखाइसकेका छन् । काठमाडौंमा भएको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिता र भर्खरै सम्पन्न एनभिए कपमा उनीहरुले प्रतिस्पर्धा गरेका थिए । याम मिडल ब्लकर तथा अमृत ओपन स्पाइकर हुन् ।

नेपालले अर्काे महिना बंगलादेशमा आयोजना हुने छैटौ संस्करणको सेन्ट्रल जोनमा प्रतिस्पर्धा गर्दै छ । याम र अमृतले राष्ट्रिय टोलीबाट खेल्ने चाहना रहेको र अवसर पाए राष्ट्रको प्रतिनिधित्व गर्दै देशको नाम अझै उँचो बनाउने लक्ष्य रहेको सुनाए ।

‘हरेक खेलाडीझैं मेरो पनि राष्ट्रिय टोलीबाट खेल्ने चाहना छ । केहि महिनामा बंगलादेशमा सेन्ट्रल जोन हुँदैछ भन्ने सुनेको छु । प्रारम्भिक टोलीमा समेटिएको खण्डमा अन्तिम टोलीमा पर्न कडा मिहिनेत गर्नेछु,’ अमृतले भने, ‘म भारतीय सेनामा कार्यरत छु । मैले त्यहाँ पनि लगातार भलिबल नै खेलिरहेको छु । राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा पर्न सके समय मिलाउन कुनै गाह्रो हुने छैन । सायद समय नमिल्ने भन्ने भएर नै हामीलाई नबोलाइएको होला । तर, हामी टोलीको सुचीमा परेको खण्डमा प्रशिक्षणमा सहभागी भएर कडा मिहिनेत गर्नेछौं ।’

अमृत २०७० सालमा पहिलोपटक राष्ट्रिय टोलीको २५ जनाको प्रारम्भिक सुचीमा परेका थिए । त्यसयता, उनी टोलीबाहिरै रहेका छन् । बिरुवा गाँउपालिका १ बिरुवा स्याङ्जाका अमृत पाँच वर्ष अघि भारीय सेनामा भर्ना भएका थिए । उनी ७/८ गोर्खा राइफल्स (जिआर) मा छन् ।

यामले पनि राष्ट्रिय टोलीबाट खेल्ने इच्छा रहेको समय मिलाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । ‘भारतीय सेनाको जागिरे रहेकै कारण समय नमिल्ने सोचेर राष्ट्रिय टोलीको प्रारम्भिक सुचीमै नबोलाइएको जस्तो लाग्छ । बोलाउने भए त समय मिलाएर आउने थिए । राष्ट्रिय टोलीबाट खेल्ने इच्छा त कसलाई नहोला र ?,’ यामले भने, ‘राष्ट्रको प्रतिनिधित्व गर्दै खेल्ने सपना र चाहना छ । राष्ट्रिय टोलीका लागि बोलाइन्छ भने आउनको लागि कुनै कसर राख्ने छैन । अवसर पाए गुमाउँदिन ।’ माछापुच्छ्रे गाउपालिका लवाङ घलेल कास्कीका २४ वर्षीय याम पनि पाँच वर्षअघि नै भारतीय सेनामा भर्ना भएका थिए । उनी ६/८ गोर्खा राइफल्स (जिआर) मा छन् ।

प्रतिभा र खेल्ने शैली हेर्ने हो भने याम र अमृत नेपाली टोलीमा पर्न लायक खेलाडी हुन् । अहिले राष्ट्रिय टोलीमा मिडल ब्लकर पोजिसन केहि कमजोर देखिएको छ । याम ब्लक मात्र नभएर क्विक स्पाइकका लागि पनि परिचित छन् । राष्ट्रिय स्तर र अन्तर्राष्ट्रिय स्तरमा खेल्ने शैली र स्तर फरक होला, तर घरेलु भलिबलमा लगातार उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कम्तिमा अवसर भने दिनुपर्छ । यसले टोलीमा नयाँ आयाम त ल्याउँछ नै, भलिबलमा लाग्ने सोच बनाएका नयाँ पुस्तालाई पनि मनोबल बढ्नेछ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.