default_image

4 years ago

May 29, 2020

‘अयोग्य’ मीराको जाज्वल्यमान अल्ट्रा यात्रा

प्रकाश तिमल्सिना, काठमाडौं पारिवारिक पृष्ठभूमी, जन्मस्थान, हुर्केको समाजलाई हेर्ने हो भने मीरा राई खेलाडी बन्लिन् भन्ने सायदै कसैले अनुमान गरेको हुन्थ्यो । तर मीराको यात्रा खोतल्ने हो भने खेलाडी बन्नुअघि होस् या त्यसपछि, उनको यात्रा कम रोमाञ्चक छैन । सफलता प्राप्ती पछि फर्केर हेर्दा यात्राका सबै घुम्ती प्रिय लाग्न पनि सक्छन् । सायद उनको धैर्यताको […]

158 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

पारिवारिक पृष्ठभूमी, जन्मस्थान, हुर्केको समाजलाई हेर्ने हो भने मीरा राई खेलाडी बन्लिन् भन्ने सायदै कसैले अनुमान गरेको हुन्थ्यो । तर मीराको यात्रा खोतल्ने हो भने खेलाडी बन्नुअघि होस् या त्यसपछि, उनको यात्रा कम रोमाञ्चक छैन ।

सफलता प्राप्ती पछि फर्केर हेर्दा यात्राका सबै घुम्ती प्रिय लाग्न पनि सक्छन् । सायद उनको धैर्यताको मापन तिनै कठिन घुम्तीका कारण भएका थिए । हरेक कठिन परिस्थितिबाट अघि बढेकैले होला उनलाई मिहिनेत गर्न कत्ति पनि डर, अल्छी लाग्दैन । पछिल्लो ५-६ वर्षमा उनले विश्वभर अल्ट्राका निकै कठिन दौड पूरा गरेकी छिन् ।

क्षमता भएका सबै खेलाडी सफल हुन्छन् भन्ने छैन । औसत मानिएका खेलाडी पनि सफल भएका उदाहरण छन् । कतिलाई भाग्यले पनि साथ दिन्छ । मिहिनेत गरेकै भरमा सफलता पाइन्छ भन्ने ग्यारेन्टी हुन्दैन । तर, सफलता पाउनका लागि मिहिनेत भने गर्नैपर्ने हुन्छ । त्यस्तै मेहनती र सबैको साथ पाएर खेल जीवनमा उकालो चढेकी खेलाडी हुन् मीरा । कठिन मानिने अल्ट्रा दौडमा मीराले आफुलाई स्थापित गरेकी छिन् । देशभित्र भन्दा बाहिर उनले लामो र कठिन दौड दौडिएकी छिन् ।

५ किलो मिटर दौडबाट आफ्नो भाग्य जाँचेकी मीराले पछि १ सय किलोमिटर वा त्यो भन्दा बढीको दौड छिचोलिन् । शरीरमा तागत, मिहिनेत र धर्यता विना त्यो सफलता कल्पना पनि गर्न सकिन्न । सफलताका लागि व्यक्तिगत क्षमता जति महत्त्वपूर्ण हुन्छ त्यत्तिकै यस यात्रामा आवश्यक साथ, सहयोग र वातावरणको भूमिको पनि अर्थ रहन्छ । मीराको यात्राका हरेक मोडमा कोहि न कोहि त्यस्तै सहयोगी भावना भएका व्यक्तिहरु भेट भएको पाइन्छ । जसले उनलाई पछाडि फर्केर हेर्नुपरेन ।

कमजोर आर्थिक अवस्था र सम्भावनाको खोजी

२०७३ सालको असारमा फ्रान्समा ८० किलोमिटर दुरीको म्याराथन डु मोन्ट ब्लान्स अल्ट्रा दौडको उपाधि जितेपछि एकाएक मीराको चर्चा चुलिएको थियो । १२ घन्टा ३१ मिनेट १२ सेकेन्डको कीर्तिमानसहित उनले त्यो उपाधि जितेकी थिइन् । यसलाई युरोपकै कठिन कोर्स मानिँदो रहेछ । विश्वका चर्चित धाविकाहरुलाई पछि पार्दै उपाधि जितेपछि उनले त्यति बेला भनेकी थिइन्, ‘मैले कोर्सलाई सहज रुपमा लिए। यो भन्दा गाह्रो, खतरामा त गर्न सकिन्छ भने यो किन नसक्नु भन्ने लाग्यो ।’

त्यति बेलाको दौड सम्झंदा मीरा अहिले पनि त्यत्तिकै रोमाञ्चित हुन्छिन् । ‘आफ्नै पारामा दौडेको थिए । म थाकेको थिइनँ । सबैलाई बिर्सेछु । गुटुङटुङ दौडेछु’, उनले सम्झिइन्, ‘अन्त्यमा जितें । ठूलो मास थियो । मलाई त याद नै थिएन । अर्कै फिलिङ भयो, रेकर्ड पनि बन्यो । अहिले त त्यो दौड हुँदैन , अर्कै नाममा हुन्छ ।’

त्यसबेला विनाशकारी भूकम्पले गर्दा निराश बनेका देशवासीलाई अल्ट्रा दौड जितेर थोरै खुसी बनाउन सकेकोमा उनले महसुस गरेकी थिइन् । ‘त्यस्तो बेलमा देशको झन्डा अन्तर्राष्ट्रिय मन्चमा फरफराउन पाउँदा देशवासीलाई थोरै खुसी दिन सकें । खेल जीवनकै उत्कृष्ट क्षण हो त्यो । एकदम ठूलो रेस भन्ने थाहा थिएन । सबै व्यवस्थापन पहिले नै भएको थियो । म मात्र दौडिएँ । मलाई विश्वको उत्कृष्ट हुन्छु भन्ने अनुमान पनि थिएन ।’

हाम्रो देशको भौगोलिक बनोट र त्यसको अभ्यस्ताले नै अल्ट्रामा फाइदा पुगेको मीराको ठम्याई छ । ‘म हरेक दिन उकालो, ओरालो कठिन बाटोमा अभ्यास गर्थें,’उनले भनिन्, ‘शारीरिक रुपमा फिट थिएँ । हरेक दिनको अभ्यासले स्टामिना पनि थियो । जसले मलाई अल्ट्रा जस्तो कठिन कोर्समा पनि विश्व च्याम्पियन बन्न मद्दत गर्यो ।’

मीरा आफ्नो खेल जीवनको सबैभन्दा अविस्मरणीय क्षण फ्रान्सको त्यो सफलालाई मान्छिन् । त्यसअघि पनि उनले अल्ट्रा सफलता नपाएकी होइनन्, तर पनि उनलाई त्यो विशेष लाग्छ ।

खेलाडी बन्नुअघि मीराको संघर्षको पाटो बेग्लै छ । तत्कालिन नेकपा माओवादी लडाकुको सेना समायोजनका बेला अयोग्य ठहरिएपछि मीरालाई जीवनदेखि दिक्क लागेको थियो । नेपाली सेना बनेर कमजोर आर्थिक अवस्थाको परिवारलाई सहयोग गर्ने मीराको धोको सफल हुन सकेन ।

मीरा परिवारलाई आर्थिक रुपमा भरथेग गर्न भनेर नै माओवादी युद्धमा होमिएकी थिइन् । माओवादी क्रान्तीबाट उनी आफ्नो मात्र होइन देशकै मुहार फेर्ने लक्ष्यका साथ अघि बढेकी थिइन् । प्रारम्भिक शिक्षा गाउँकै स्कुलमा भए पनि थप शिक्षा हासिल गर्न घरको अवस्थाले कठिन भएको बुझेकी उनी आफूले नपाए पनि भाई र बहिनीलाई धेरै पढाउन चाहन्थिन् । त्यसका लागि उनले आफ्नो सपना भने थाती राख्नुपर्ने अवस्था थियो ।

विकट भोजपुर, त्यसमा पनि झनै विकट सानोदुम्मा गाउँमा मीराको परिवारलाई दैनिक हातमुख जोड्दै समस्या थियो । आमाबाबुको त्यो दुःखमा मीरा सघाउन चाहन्थिन । त्यो समयमा उनले माओवादीमा जानु उपयुक्त विकल्प मानिन् । कक्षा ६ मा अध्ययन गर्दा गर्दै उनी माओवादीमा आबद्ध भइन् । पार्टीमा लागे पनि अर्को दुई वर्ष घरमै बसेर उनले पढ्न पाइन् । कक्षा ८ पुगेपछि भने उनी पार्टीको पूर्णकालिन सदस्य बनेकी थिइन ।

राजनीतिक परिवर्तन माओवादीको लक्ष्य थियो । तर, मीराको लक्ष्य भनेको परिवारको अवस्था सुधार गर्नु थियो । त्यसबीचमा माओवादी शान्ति प्रक्रियामा आएपछि लडाकु सेना नेपाली सेनामा समायोजन गर्ने खबरले अरुलाई जस्तै मीरालाई पनि उत्साहित बनायो ।

सेनामा भर्ती हुने मौका मिल्दा त घरको अवस्था सुधर्नेमा उनी आशावादी थिइन् । तर, उमेर नपुगेको भन्दै मीरा अनमिनबाट (संयुक्त राष्ट्रसंघको नेपाली मिसन) सेनामा भर्ति हुनबाट अयोग्य घोषित भइन् । उनीसँगै अन्य ४ हजार ८ जनाले सेनामा जाने मौका पाएनन् । सेना बनेर आमाबाबुको मुहारमा खुसी ल्याउने मीराको चहना त्यति बेला अधुरो भयो ।

एउटा ढोका बन्द भयो भने दश वटा ढोका खुल्छन् यसै भनिएको होइन । अनमिनबाट अयोग्य घोषित मीराको जीवनले नयाँ मोड लियो । सेना बनेर देशको सेवा गर्ने अवसर नपाएकी मीराका लागि सायद अर्को ठूलो अवसरले कुरेर बसेको थियो । उनले देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाइन् । सिपाहीको जागिर नपाएकै कारण कयौ रात नानिदाएकी मीरा समय बित्दै जाँदा देशकै गौरव बनिन् । कठिन अल्ट्रा दौडको माध्यमबाट अन्तर्राष्ट्रिय देशको झण्डा फहराउन सफल भइन् ।

सुकबहादुर र पम्फा रानीका ३ छोरी, २ छोरामध्येकी दोस्रो सन्तान हुन् मीरा । अनमिनबाट अयोग्य भएपनि सानैदेखिको खेलकुद प्रतिको उनको रुची पूरा गर्ने माध्यम बन्यो माओवादीकै तत्कालिन पिएलए स्पोर्टस क्लब । पिएलएबाट सुरुका दिनमा कराते प्रशिक्षण थालेकी उनको बालाजु कराते एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक ध्रुवविक्रम मल्लसँग भेट भएको थियो ।

खेलाडी छनोटको सिलसिलामा प्रशिक्षक मल्ल सिन्धुलीको माओवादी क्याम्पमा पुग्दा अनुपमा मगर र मीरामा खेलाडी बन्ने सम्भावना देखेका थिए । दुवैलाई उनले काठमाडौं झिकाएर स्थानिय प्रतियोगितामा प्रतिस्पर्धा गराउन थाले । तीनै अनुपमाले मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा करातेतर्फ नै स्वर्ण पदक जितिन् । मीरा पनि सुरुमा करातेको ५०–५५ केजीमा प्रशिक्षण गर्थिन् । तर करातेमा उनको यात्रा अगाडी बढ्न सकेन ।

‘जुनै खेलमा पनि दौडलाई फिटनेसका लागि आधारभूत आवश्यकता मानिन्छ । मीरामा जत्ति पनि दौडन सक्ने क्षमता थियो । करातेमा फास्ट रिएक्सन चाहिने, त्यो चाहिं मीरामा कम थियो । उनी दौडन चाँही जति पनि सक्थिन । त्यसैले मैले उनलाई दौडमै लाग्ने सल्लाह थिएँ र तत्कालिन एथलेटिक्सका मुख्य प्रशिक्षक सुशील नरसिंह राणासँग भेट गराएँ,’मल्लले भनेका थिए ।

२०६५ मा टोखामा भएको ५ किलोमिटर दौडमा ओलम्प्यिन कान्छीमाया कोजुले स्वर्ण पदक जित्दा मीराले कास्य पदक जितेकी थिइन् । एथलेटिक्समा पहिलो पटक पाएको त्यो सफलताले मीरालाई त्यसैमा लाग्न प्रेरित गर्यो । पिएलएलबाट मीराले पाँचौं (२०६५) र छैटौं राष्ट्रिय खेलकुद (२०६८) मा ५ र १० किलोमिटर दौडमा प्रतिस्पर्धा गरिन् । तर उनको त्यो सहभागिता औपचारिकतामा सिमित रह्यो ।

छैटौं राष्ट्रिय खेलकुदपछि उनीसँग अर्को उद्देश्य केहि थिएन । उनले विदेश जाने निधो गरिन् । तीन वर्षे भिसामा मलेसिया जान काठमाडौं आएकी मीरालाई उनै मल्ल गुरुको सल्लाहले रोक्यो । मीरालाई अहिले पनि मल्लले भनेको पनि सम्झना छ,’मलाई तिम्रो घरको अवस्था थाहा छ। तर पनि यति राम्रो दौडने मान्छे मलेसिया जाने होइन। एक वर्ष हेर, केहि भएन भने जानु ।’

त्यसपछि भने उनी पूर्ण रुपमा दौडमा केन्द्रित भइन् । जति दौडदा पनि नथाक्ने मीराको संगत सेनाका अल्ट्रा धावकहरुसँग हुन थाल्यो । सेनाका भिम गुरुङ, कृष्ण गुरुङ, राज प्रधानलगायतको सल्लाहमा उनले लामो दुरीको दौडमा अभ्यास गर्न थालिन् । त्यही क्रममा २०७० चैतमा हिमालयन आउटडोर फेस्टिभल उनले प्रतिस्पर्धा गरिन् । मिहिनेत र भाग्यले नै होला त्यसमा उनी विजेता बनेर फर्किइन् । जसले उनलाई एथलेटिक्सबाट जोखिमपूर्ण विधा अल्ट्रा दौडतर्फ धकेल्यो ।

‘काठमाडौं बसेको तीन महिनामा त्यो हिमालयन आउटडोर भएको थियो । म खासमा अभ्यास भनेर गएको त्यहाँ त प्रतिस्पर्धा रहेछ । अनि म पनि दौडिए’, उनले सम्झिइन, ‘असिना पानी परेको थियो । सबै चुनौती छिचोल्दै मैले त्यो दौड जिते । नयाँ जुत्ता र ७ हजार रुपैयाँ पनि पाए । त्यसले मेरो हौसला चुलियो ।’

त्यसपछि मीरा मुस्ताङ ट्रेलमा भाग लिइन गइन् । अल्ट्रा दौडकै कारण त्यस क्षेत्रमा नेपालमा सक्रिया विदेशी रिर्चड बुलसँग उनको भेट भयो । बुलसँगको भेट उनी आफ्नो खेल जीवनको अर्को टर्निङ प्वाइन्छ मान्छिन् । उनको क्षमता देखेरै होला बुलले उनलाई अन्तर्राष्ट्रिय अल्ट्रामा जाने बाटो देखाए । बाटो मात्र देखाएनन्, सम्भावित सबै खाले ढोका खोल्नका लागि सहयोग पनि गरे ।

मीराको अन्तर्राष्ट्रिय चर्चा, सोलोमनमा आबद्ध

फ्रान्सको ८० किलोमिटर दौड जित्नुअघि मीराले हङकङमा चार तथा अस्ट्रेलिया र इटालीमा एक-एक पटक अल्ट्रा दौडमा भाग लिएकी थिइन् । २०७२ को माघमा उनी हङकङको स्काइ रनिङ एसियन च्याम्पियनसिपअन्तर्गत ५० किलोमिटर अल्ट्रा दौडमा महिला च्याम्पियन बनेकी थिइन् ।
मीराले हङकङमा एसियन च्याम्पियनसिपसहित भाग लिएका ४ मध्ये ३ मा उपाधि जितेकी थिइन् । ५० किलोमिटर दौडमा दोस्रो बनेकी थिइन् ।

भिसा ढिलो आएका कारण अस्ट्रेलियामा पुगेको भोलीपल्टै दौडमा भाग लिँदा समेत पनि उनी तेस्रो भएकी थिइन् । सन् २०१४ र २०१५ उनको खेल जीवनको उच्च विन्दु रहयो हो । चोटका कारण त्यसयता भने उनी त्यहि अवस्थामा सक्रिय हुन भने सकेकी छैनन् ।

मीराले दुई पटक घुँडाको शल्यक्रिया गराइसकेकी छिन् । सन् २०१६ मा पहिलो र २०१८ मा दोस्रो पटक शल्यक्रिया गराइन् । शल्यक्रियाबाट ठिक भएर अहिले उनले प्रशिक्षण सुरु गरिसकेकी छिन् । अब प्रतिक्षा पुनरागमनको छ ।

रिचर्ड बुलकै पहलमा मीरा अन्तर्राष्ट्रिय ब्रान्ड सोलोमनमा आबद्ध छिन् । पहिलो वर्ष उनलाई गेयर सहयोग गरेको सोलोमनले त्यपछिको ५ वर्षका लागि गेयरलगायत रकम पनि प्रायोजन गरेको छ । कुनै पनि अन्तर्राष्ट्रिय भाग लिँदाको हवाई टिकटदेखि आवश्यक सबै खर्च सोलोमनले नै बेहोर्ने गरेको छ । पाँच वर्षे सम्झौता यो वर्ष (२०२०) मा सकिदैछ । सम्झौता नविकरण हुनेमा उनी आशावादी छिन् ।

दुई पटक बायाँ घुँडाको शल्यक्रियाको सबै खर्च सोलोमनले नै बेहोरको थियो । सन् २०१६ मा एन्टेरियर क्रुसियट लिगामेन्ट (एसियल) को शल्यक्रिया र त्यसपछि २०१८ मा फेरि लिगामेन्टको अर्को शल्यक्रिया गरिएको थियो । ‘म यो अर्थमा भाग्यशाली छु । मैले आफूले लगानी गरेर अल्ट्रामा भाग लिने सम्भावना थिएन’, उनले भनिन्, ‘रिचर्ड बुलले सोलोमनसँग आबद्ध नगराइदिएको भए सायद मेरो यात्रा यहाँसम्म आउने थिएन ।’

अवार्ड र सम्मान

अल्ट्रा दौडमा पहिचान बनाइसकेकी नेपाली धाविका मीरा राईले विश्व प्रसिद्ध नेसनल जिओग्राफिकको नेसनल एडभेन्चर अफ द इयर अवार्ड २०१७ को पिपल्स च्वाइस अवार्ड जितेकी थिइन् । हरेक वर्ष दिइने अवार्डको लागि मनोनयनमा परेका अन्य ९ जनालाई पछि पार्दै उनले अवार्ड जितेकी थिइन् । च्यानलले विश्वका दश जनालाई मनोनयनमा राखेको अवार्डका लागि अनलाइन भोटिङका आधारमा मीरा विजयी भएकी थिइन् ।

त्यहि सफलताले उनलाई अमेरिकाको आउट साइड म्यागेजिनको अन्तवार्ता र फोटो सुटलाई बोलाएको थियो । अवार्ड जिताउनका लागि सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिन चाहिन् । ‘मैले एक पछि अर्को सफलता हात पार्दै जानुमा मलाई माया गर्ने र साथ दिनेको ठूलो भूमिका छ’, उनले भनिन्, ‘त्यो अवार्ड दिलाउन पनि मलाई दिन रात नभनी कतिले भोट गर्नुभएको छ । सबै प्रति म सधै आभारी छु । त्यहि अवार्डले म अन्तवार्ताका लागि अमेरिका पुगें । अल्ट्रा दौड विकासका लागि लागि सरकारस्तर कुनै पहल भएको छैन । सरकारी स्तरमा कुनै संघ संस्था पनि छैनन् ।’

तर मीराले प्राप्त गरेको सफलतालाई भने सरकारले कदर गरेको छ । केहि वर्षअघि सरकारले उनलाई ३० लाख रुपैयाँबाट सम्मानित गरेको थियो ।

भोजपुर ट्रेल, रंगशाला र सामुदायिक भवन

जुन खेलबाट आफू चिनिइन् त्यहि खेलको आफ्नै जिल्लामा लगेर प्रचार गर्ने उद्देश्यले मीराले मीरा इनिसिएटिभ र मीरा फाउन्डेसनको मार्फत ५ वर्षदेखि भोजपुर ट्रेलको आयोजना हुँदै आएको छ । गत वर्ष ५ देशका खेलाडीसहित ३ सय ५० जनाले त्यो दौडमा भाग लिएका थिए । तर कोरोना कहरका कारण सबै तयारीका बाबजुद यस पटक भने आयोजना हुन सकेन ।

महिला दिवसको अघिल्लो दिन आयोजना हुने रेसमा भाग लिन सबै भोजपुर पुगेर पनि फर्कनु परेको थियो । स्थानिय सरकारले कोभिड १९ का कारण उत्पन्न परिस्थितिलाई मध्य नजर गर्दै ट्रेल रेस आयोजनाको अनुमति नदिएपछि मीरासहितको टोली काठमाडौं फर्केको थियो ।

भोजपुरमा उनकै नामको रंगशाला पनि निर्माण भइरहेको छ । यो देख्दा भने त्यस्तो होला भन्ने कहिल्यै नसोचेको मीराले बताइन् । ‘मेरो नाममा रंगशाला पनि बन्ला भन्ने त मैले सपनामा पनि सोचेको थिइन’, उनले भनिन्, ‘यस्तो देख्दा गर्व लाग्ने रहेछ । रंगशाला बनाउने भनेर हुँदैन । थोरै रकमले पुग्दैन । आशा गरौं एक दिन पुरा हुनेछ ।’

उनको जन्म थलोको थर्पु निमावि छेवैमा निर्मित मीरा राई सामुदायिक विकास केन्द्र भवन निर्माण अन्तिम चरणमा पुगेको छ । ३० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको भवनको सिलान्यास गत वर्ष प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।

 

मीरा राई इनिसिएटिभ र फाउन्डेसन

मीरा अल्ट्रामा नयाँ खेलाडी आउन पर्नेमा जोड दिन्छिन् । त्यसकै पहलकै लागि मीरा इनिसिएटिभ र फाउन्डेसन स्थापना गरेकी छिन् । म जस्तो हुन चाहनेका लागि सहयोग पुर्याउने उद्देश्यका साथ संस्था खोलेका हौं’, उनले भनिन्, ‘रनिङ त गर्ने पर्यो । त्यसबाहेक अंग्रेजी भाषा पनि सिकाइरहेका छौं । भाषाको पनि आफ्नो ठाँउमा महत्त्व छ । खेलाडीको मनोबल बढाउनका लागि नै हामीले काम गरिरहेका छौं ।’

मीराकै सक्रियतामा गाउँका बालबालिकाहरू हरेक शनिबार ५ किमि र १० किमि दौड्ने गर्छन् ।

गाँउबाट उठेर अन्तर्राष्ट्रिय स्तरमा पुग्न कति कठिन हुन्छ त्यो मीरालाई जत्ति कसलाई थाहा होला र ? आफुले भोगेको जस्तै दुःख नयाँ पुस्ताले भोग्न नपरोस् भन्नका लागि उनले प्रयास थालेकी हुन् । ‘मलाई देखेर पनि कति भाई बहिनीहरुले अल्ट्रा सुरु गर्नुभएको छ । म पनि विकटबाट आएको हुँ’, उनले भनिन्, ‘त्यस्तै क्षमता भएका भाई बहिनीलाई सहयोग गर्ने हाम्रो उद्देश्य हो । म सबैको सहयोगले यहाँ पुगे । त्यसैले म पनि युवा पुस्तालाई सहयोग गर्न चाहन्छु ।’

पुनरागमनको अपेक्षा

कोभिड १९ को महामारीले विश्व नै आक्रान्त बनि रहेको बेला सबै आ आफ्नो ठाँउमा सिमित भएका छन् । मीरा पनि अहिले स्वदेशमै छिन् । यदि लकडाउन नभएको भए उनी कुनै विदेशी भूमिमा दौडको तयारीमा हुनेथिइन् । शल्यक्रियापछि उनी फेरि दौडका लागि तयार हुने क्रममा छिन् ।

मीरा भन्छिन्, ‘मलाई दौडन मन पर्छ । खेलकुद मन पर्छ । अझै खेल्छु भन्ने ममा छ । यदि सकिन भने आफु जस्तै दौडन चाहनेलाई अरुलाई अघि बढ्न मद्दत गर्नेछु । आफ्नो बाँकी सपना उहाँहरुबाट पुरा गर्नुछु । अल्ट्रामा नेपाली खेलाडीले सफलता पाउने सम्भावना बढी भएकाले नयाँ रनहरुलाई यसमा आउन उनी आग्रह पनि गर्छिन् ।’

खाँदै दौडिने । हिमाल, पहाड, छिचोल्दै पूरा गर्नुपर्ने अल्ट्रा दौडको सफलताका लागि अभ्यास, मेहनत, लगाव र सहनशीलतासँगै सहयोगी, व्यवस्थापन र अन्य वातावरण अनुकुल हुने पर्ने मीराको निष्कर्ष छ । त्यसैले पनि उनी भविष्यमा यस्ता खेलाडी उत्पादन गर्न अहिले देखि नै जग बसाउन तल्लिन छिन् । आफूले खेल्नु त छँदै छ, आउने दिनमा अझै धेरै ‘मीरा राई’ बनाउन उनी लागिपरेकी छिन् ।

मिरासँगको प्रत्यक्ष अन्तर्वार्ता :

March 19, 2024

हेल्प नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब समूह ‘ए’ को विजेता बन्दै आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल समूह विजेता बन्दै अन्तिम आठमा स्थान पक्का गर्न सफल […]

March 19, 2024

भलिबल च्याम्पिनसिप – महिलामा आर्मीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबको महिला टोलीले आठौं आरबीबी एनभिए भलिबल च्याम्पिनसिपमा पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको चौथो दिन मंगलबार आर्मीले कोशी प्रदेशलाई ३-० ले हराएको हो । आर्मी २५-१६,२५-२३, २५-७ ले विजयी‌ भएको हो । पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग पराजित आर्मीले सेमिफाइनल पुग्नका लागि […]

March 18, 2024

पहिलो जितबाट एपिएफ क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ क्लबले जितबाट आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको यात्रा सुरु गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा जारी प्रतियोगिताको सोमबार अन्तिम खेलमा एपिएफले जावलाखेल भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको हो । एपिएफले २५–१८,२५–१७,२५–१४ को सहज जित निकालेको थियो । समूह बीमा एपिएफ […]

Success

Thank you for your time.