5 years ago
August 17, 2020
जगदिश भट्ट
‘कर्म गर तर फलको आश नगर’ यहि आदर्श भनाईलाई मूल मन्त्र मान्दै, हरक्षण आफूलाई केन्द्रित गर्दै, राष्ट्र र पेशा प्रति समर्पित हुँदै अनवरत रुपमा लम्किएको यात्रा निरन्तर चलेकै छ ।

आज राष्ट्रिय खेलकुद परिषद (राखेप) मा भलिबल सहायक प्रशिक्षकको रुपमा स्थायी जागिर सुरु गरेको १६ वर्ष पूरा भएको छ । त्यो भन्दा अघि पहिला करार सेवामा ८ वर्षको सेवा अवधि जोड्दा राखेपमा आबद्ध भएको २४ वर्ष पूरा भएछ ।
विगत तीन दशकयता अनवरत रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सुरुमा खेलाडी र त्यसपछि प्रशिक्षकको मुख्य भूमिकामा जीवनको महत्त्वपूर्ण समयहरु उर्जनशील र सृजनशिल दिनहरू व्यतित गर्दा भदौ १ गतेले पुराना दिनलाई स्मरण गराएको छ । अध्ययनका सिलसिलामा माध्यमिक शिक्षा उतिर्ण गरेपछि डाक्टर बन्नु पर्छ भन्ने मेरो उद्देश्य थियो । त्यसैले विज्ञान विषयमा अध्ययन सुरु गरे । भलिबलबाट अलग हुन सक्ने कुरा थिएन ।
पढाई र खेललाई एक साथ अघि बढाउन सजिलो थिएन । भलिबल प्रतिको आकर्षणले अन्य अवसरलाई खासै महत्व दिइएन । भलिबलमै आकर्षित भइयो । फर्केर हेर्दा यो तीन दशक कति छिटो बित्यो पत्तै पाइन । सुन्दर भविष्यको सपना पूरा गर्ने यो बीचमा धेरै अवसर आए, जुन अवसरलाई मैले पनि आत्मसात गर्ने कोसिस त गरें तर भलिबल, पटक्कै छोड्न सकिन ।

पढाइमा अब्बल, कान्छो छोरो, सकेसम्म डाक्टर नै बनाउनु पर्छ भन्ने परिवारको सपना थियो । त्यसकै लागि मैले उच्च शिक्षाको सुरुवात विज्ञान विषयबाट गरे । तर, परिवारको सपना अधुरै रह्यो । म डाक्टर हुन सकिन । अर्को पटक फेरि मसँग एउटा मौका थियो । नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टमा उर्तिण हुने सम्भावना थियो । तर, अन्तरवार्ता छोडेर म सातौं दक्षिण एसियाली खेलकुद (साग) खेल्न निस्किए ।
नेपाल टेलिकम ,नेपाल विद्युत प्राधिकण र दुग्ध विकास संस्थानको जागिर खाने अवसर छाडेर मैले राखेपमा खेलकुदकै सेवा गर्ने अढोट गरे । सन् २००२ र २००३ मा भारतको पटियालमा स्पोर्ट्स डिप्लोमा गर्ने अवसर पाउँदा महेन्द्रनगरमा भएको राम्रो व्यापार छोडेर पढ्न गए । त्यहाँ आफ्नो समूहमा उत्कृष्ट नतिजा ल्याएर स्वदेश फर्के । त्यसपछि आफ्नै खर्चमा थाइल्यान्ड र सिगांपुर लगायत अन्य स्थानमा समेत एड्भान्स कोचिङ कोर्ष गर्न गए ।
कुनै न कुनै दिन नेपालको भलिबललाई लागि फलदायी हुन सक्छ भन्ने उद्देश्यबाट यी निर्णय प्रेरित थियो । पाकिस्तानमा २००४ मा भएको नवौं साग खेलाडीका रुपमा मेरो अन्तिम प्रतियोगिता थियो । खेलाडीका रुपमा सन्यास लिएपछि भलिबलबाट म अलग हुने कुरै थिएन । प्रशिक्षकका रुपमा काम गर्दै गएँ । महेन्द्रनगरमा आफ्नै पहलमा स्थानिय निकायको सहयोगमा मात्र ७० दिनमा चार कोठे भवन समेतको नेपालकै उत्कृष्ट भलिबल प्रशिक्षण केन्द्रको स्थापना गर्यौं ।

२०६२ सालमा उदघाटन भएको त्यो प्रशिक्षण केन्द्र सुदूरपश्चिमकै नमुना केन्द्र बन्न सफल भएको ठान्दछु । त्यो भलिबल प्रशिक्षण केन्द्रबाट हामीले सयौं खेलाडी उत्पादन गर्यौं । ०६३ साल यता महेन्द्रनगर तथा देशका विभिन्न स्थानमा स्कुल कलेजसँग सहकार्य गरेर विपन्न र माध्यम परिवारका खेलाडी बन्न चाहनेलाई अध्ययन र खाने बस्ने व्यवस्था मिलायौं । अहिलेसम्म उत्पादन भएका १ हजार ४७ जना महिला तथा पुरुष खेलाडीमध्य बाट कति सेना, नेपाल प्रहरी र सशत्र प्रहरीमा आबद्ध भए । कति सरकारी तथा गैर सरकारी निकायमा आबद्ध गराउनका लागि पहल गर्यौं ।
भलिबलका कारण व्यक्तिगत विषय धेरै प्राथमिकतामा परेनन् । कतिपय अवस्थामा परिवारलाई समय दिन सकिएन । भलिबलकै विकास र विस्तारका लागि देशका विभिन्न ठाँउमा शिक्षकहरुलाई खेल शिक्षकका रुपमा अध्यापन गराउने, कहिले रेफ्री तालिम गराउने, कहिले खेलाडीलाई आधारभूत ज्ञान सिकाउनेमा लागियो । हाम्रो अभिभावक संस्था नेपाल भलिबल संघले लिएका उद्देश्य पुरा गर्नका लागि आफ्नो तर्फबाट हरसम्भव इमान्दारीताका साथ प्रयास गरिरहेको छु, गरिरहनेछु ।
आठ वर्षयता संघको सदस्य र पदाधिकारीका रुपमा जिम्मेवारी निर्वाह गरियो । तर, मुख्य भूमिका भने प्रशिक्षण नै रह्यो । खेलाडी, प्रशिक्षक र संघको पदाधिकारीका रुपमा नेपालको भलिबल विकासमा थोरै योगदान गर्न सकेकोमा पनि मलाई गर्व छ । खेलाडीका रुपमा नवौं साग अन्तिम थियो । दशौं सागमा मलाई पुरुष टोलीको प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।

खेल्न छोडेको दुई वर्षमै आफ्नै समकालिन खेलाडी सम्मिलित टोलीलाई प्रशिक्षण दिन पाउनु त्यो मेरो लागि ठूलो मौका थियो । प्रशिक्षकका रुपमा २००६ बाट सुरु भएको यात्रामा यहाँसम्म आइपुग्दा पछाडि फर्केर हेर्नुपरेको छैन भन्दा फरक पर्दैन । संघको उचित व्यवस्थापन, खेलाडी र प्रशिक्षण टोलीको मेहनतमा हामीले २०१७ मा मल्दिभ्समा भएको तेस्रो सेन्ट्रल जोन सिनियर एसियन पुरुष भलिबलमा कास्य पदक जितेका थियौं । पुरुष भलिबलको ४२ वर्षे इतिहासमा पहिलो पटक पदक जित्दा त्यो टोलीको प्रमुख प्रशिक्षकमा रहँदा गर्वको विषय थियो ।
खेलाडीका रुपमा हामीले प्राप्त गर्न नसकेको सफलता प्रशिक्षकका रुपमा प्राप्त गर्यौं । त्यो नेपाली पुरुष टोलीको ठूलो उपलब्धि थियो । त्यसको अर्को वर्ष इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा पुरुष टोलीले भाग लिने अवसर पायो । त्यो ३२ वर्ष पछि पहिलो पटक एसियाडमा भलिबल टोलीको सहभागिता थियो । त्यहँ पनि हामीले १५ औं स्थान प्राप्त गर्न सक्यौं । त्यो अर्को उपलब्धि थियो ।
तीन वर्षअघि पुरुष भलिबल टोलीले एउटा सुखद सुरुवात गरेको थियो । महिला टोलीले त्यसलाई अझै उचाई दिने काम गर्यो । बंगलादेशमा गत कार्तिकमा भएको एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगितामा नेपालले स्वर्ण पदक जितेको थियोे । त्यस्को मुख्य प्रशिक्षकका रुपमा भूमिका निर्वाह गर्न पाउनु मेरो लागि अर्को अवसर थियो । मंसिरमा स्वदेशमै आयोजना भएको १३ औं सागमा टोलीले रजत पदक जित्यो ।
भारतसँग पाँचौ सेटमा पुगेर पराजित भएपनी हामीले यसअघि भन्दा सागमा सफल नतिजाका रुपमा पहिलो पटक रजत पदक जितेका थियौं । स्वर्ण जित्न सकेको भए हामीले अर्को इतिहास रच्ने थियौं । त्यसमा केहि खिन्न त लागेको छ तर, जुन सफलता प्राप्त गर्यो प्रशिक्षकका रुपमा भन्नुपर्दा त्यो पनि सानो सफलता थिएन ।

पुरुष टोलीको सफलताको केहि समयपछि नै सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नु हामी जस्ता भलिबल कर्मीका लागि सुखद पक्ष थियो । भलिबल परिवारका लागि यो गर्व गर्ने विषय हो ।
समग्र भलिबलको विकासको एउटा साक्षी र सहयात्री भएकोमा गुनासो गर्ने ठाँउ छैन । तर, व्यक्तिगत रुपमा राखेपमा भने अहिलेसम्म जहाँको त्यहि रहँदा भने अलिक खल्लो लाग्ने रहेछ ।
२४ वर्षे सेवा अवधिमा एक तह पनि बढुवा नहुुन विडम्बना नै मान्नु पर्दछ । योबीचमा १४ जना राखेप सदस्य सचिव हुनुभएछ । खेलकुद मन्त्री त्यो भन्दा बढी हुनु भयो होला । यो बीचमा बढुवाको आश्वासन नपाएको पनि होइन । तर परिणाम आएन । राखेपमा सबैको बढुवा हुँदैन भन्ने एउटा उदाहरण मै हुँ ।
परिवारको जिम्मेवारी, आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि खासै केहि गर्न सकिएको छैन । आफ्नो उर्जावान समय भलिबलमा समर्पण गरियो । भन्नका लागि राखेपमा जागिर खाएपछि गर्नै पर्छ भन्ने पनि होला । तर, हामी केहि त्यस्ता प्रशिक्षक छौं जसले प्रशिक्षण पेशालाई जागिरमा मात्र सिमित गरेनौं । आफ्नो क्षमताले भ्याउने सबै खेलमै दियौं । व्यक्तिगत रुपमा जहाँको त्यहि रहँदा भने कतै खेलमा लागेर गल्ति त गरिएन भन्ने सोच पनि नआउने होइन । तर, आफ्नो लगावका अगाडि सबै फिक्का लाग्छन् ।

२०६१ सालमा स्थायी गर्ने समयमा क्षमता र योग्यताका आधारमा नियुक्ति दिएको भए आज विशिष्ट श्रेणी को भइन्थ्यो होला । त्यसको चार वर्ष पछि स्वतः फाइल बढुवा त भयो । तर हाम्रो पालामा खुला प्रतिस्पर्धाबाट छनोट हुने बेलामा सरकार परिवर्तन भयो । त्यसपछि हाम्रो पालो आएन । पछिल्लो १४ वर्षमा कुनै पनि प्रक्रियालाई अघि बढेन । हामी पछिका पछि पर्यौं । अहिले पनि म जस्तै कयौं पीडित साथीहरुमा भरोसामा नभएपनि आशा चाहिँ जीवितै छ ।
खैर, हामीले गरेको काम राज्यले दिएको जिम्मेवारी भन्दा कयौं गुना माथि छ । हामी राज्य र पेशाका लागि अझै पनि आफ्नो हैसियत, मन-मस्तिष्क र दिमागले भ्याएसम्म स्वार्थ भन्दा माथि उठेर खेलको विकासमा निरन्तर लागिरहने छौं । म जस्ता पीडितका लागि पनि यो एउटा सकारात्मक र प्रेरणादायी सन्देश हुनसक्छ । हामीले गर्ने काममा कहीं कतै कुनै पनि मोडमा सम्झौता नगरौं । बाँकी राज्यको काम हाम्रो भाग्यको खेल ।
जय भलिबल, जय खेलकुद ।
– भट्ट मुख्य प्रशिक्षक रहेको राष्ट्रिय महिला भलिबल टोलीले गत वर्ष एभिसी सेन्ट्रल जोनमा स्वर्ण र १३ औं सागमा रजत पदक जितेको थियो ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]