4 years ago
September 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पुरुष होस् या महिला भलिबल वि.सं २०५० को दशकमा भलिबल नेपालमा सबैभन्दा धेरै खेलिने र रुचाइने खेल बनिसकेको थियो । देशभरका विभिन्न जिल्ला, स्कुल, कलेज तथा संघले आयोजना गर्ने राष्ट्रियस्तरको प्रतियोगिताले भलिबलको माहोल निकै गर्माएको थियो ।
खेलाडी, प्रशिक्षक र व्यवस्थापकसहितको नेपाली महिला राष्ट्रिय भलिबल टोली । तस्विरः सुष्मा थापा
यही समयमा नेपाली भलिबलकै इतिहासमा महिला भलिबल टोलीले पहिलो अन्तर्राष्ट्रिय पदक जितेको थियो । त्यो पनि पहिलो आधिकारिक अन्तर्राष्ट्रिय सहभागितामा । महिला टोलीले सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) मा बंगलादेशमाथि ३–० को सोझो सेटमा जित हात पार्दै भलिबलमा यो ऐतिहासिक पहिलो पदक जित्न सफल भएको थियो । त्यसअघि नेपालले १९८७ मा थाइल्यान्डमा मैत्रीपुर्ण खेल, १९९८ मा श्रीलंकामा रुपा बाहिनी अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता र साग अघि थाइल्यान्डमै अभ्यास र मैत्रीपुर्ण खेल खेलेको थियो ।
महिला भलिबल टोलीले १२ वर्षको अन्तर्राष्ट्रिय सहभागितामा पदक जित्न सफल भएको हो । महिला टोलीले भने तीन साग (१९९९, २००६, २०१६) मा कास्य जितेको थियो । सागमा कास्यपदकभन्दा माथि उठ्न नसकेको महिला टोलीले २०१९ मा काठमाडौंमै भएको १३औं सागमा रजत जित्न सफल हुदा साग अघि २०१९ मै प्रथम एभीसी सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकाल्दै नेपाली भलिबल इतिहासमै पहिलो स्वर्ण जित्न सफल भएको थियो ।
नेपाली महिला राष्ट्रिय महिला भलिबल टोली । तस्विरः सुष्मा थापा
सागमा महिला भलिबल कसरी समावेश भयो ? नेपाली महिला भलिबल टोलीले नेपाली भलिबलकै इतिहासमा तथा सागको पहिलो सहभागितामै कसरी कास्य पदक जित्न सफल भयो त ? यसबारे केही अग्रज र भलिबलसँग जानकारहरुसँगको कुराकानीको आधारमा केही तथ्य केलाउने प्रयास गरिएको छ ।
नेपाली महिला भलिबल टोलीले भारतको मद्रासमा सन् १९९५ मा भएको सातौ दक्षिण एसियाली खेलुकद (साग) मा खेल्ने योजना बनाएको थियो । तर, तयारी नरहेको टोलीलाई विश्वास नगरिदिदा
प्रतियोगिताबाट बञ्चित बनेको थियो । नेपाल भलिबल संघले त्यतिबेला अर्काे संस्करणको सागमा सहभागिता जनाउने वाचा गरेको थियो ।
नियमित तालिका अनुसार हरेक दुई वर्षमा साग आयोजना हुनुपर्ने प्रावधान थियो । तर, दोस्रोपटक नेपालमा भित्रिएको साग निर्धारित समयमा हुन सकेन । दुई वर्षपछि सन् १९९९ मा नेपालमै भयो । जसमा पहिलोपटक नेपाली महिला भलिबल टोलीले पहिलोपटक सहभागिता जनाउने अवसर जुरेको थियो । सागको लागि नेपालले एक वर्षअघिबाट नै तयारी थाल्ने अवसर पाएको थियो ।
स्वर्गीय युवराज दिपेन्द्र विरबिक्रम शाहसँग तस्विर खिचाउदै नेपाली टोली । तस्विरः सुष्मा थापा
१९९८ मा श्रीलंकाले रुपा बाहिनी कपको लागि आमन्त्रण गरेको थियो । हामीले तत्कालिन सदस्य–सचिव रुक्म शम्शेर राणालाई आग्रह गरेपछि रुपा बाहिनीमा सहभागिताको अवसर पाएका थियौ । जसमा नेपालको राष्ट्रिय टोली, माल्दिभ्सको राष्ट्रिय टोली र श्रीलंकाको शीर्ष चार टोलीबीच प्रतिस्पर्धा भएको थियो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक कपिल किशोर श्रेष्ठले नेपाली टोलीको अवस्था निकै नै दयनीय अवस्था रहेको बताउछन् । ‘नेपालको राष्ट्रिय श्रीलंका गएपनि स्थितिअनुसार हामीले त्यतिबेला जावलाखेल भलिबल क्लबको नामबाट प्रतियोगितामा सहभागिता जनाएको थियो । स्थिति निकै खराव नै थियो । हामी शुन्य अंकमा नै पराजित हुनुपर्ने खेल थियो । उनीहरुले मायाँ गरेर अंक दिएका थिए ’ विगत सम्झदै प्रशिक्षक कपिल किशोर श्रेष्ठले भने, ‘माल्दिभ्स कमजोर नै थियो । हामी माल्दिभ्सभन्दा राम्रो र श्रीलंकाभन्दा धेरै नै कमजोर थियौ । त्यहाँबाट हामीले धेरै सिक्यौ । सागलाई तयारीको लागि राम्रो अवसर समेत बनेको थियो ।’
त्यसपछि झन्डै एकवर्ष जस्तै राष्ट्रिय टोलीको प्रशिक्षणको तयारी हुन पाएको थिएन । ग्याप भएको थियो । आठौं राष्ट्रिय खेलकुद हुने पक्का भएपछि संघले आयोजना गर्ने राष्ट्रिय प्रतियोगिताबाट २५ जना खेलाडी छनोट गरेर बन्द प्रशिक्षण गराएर सागको लागि टोली तयार पारिएको थियो ।
खेलाडी छनोट र बन्द प्रशिक्षण र राष्ट्रिय टोली
नेपाली टोलीले १९९७ मा हुने भनिएको सागका लागि नै प्रशिक्षण थालिसकेको थियो । तर, विडम्वना साग २ वर्षपछि धकेलिएको थियो । यसबीचमा नेपालले श्रीलंकामा प्रतियोगिता र थाइल्यान्डमा मैत्रीपुर्ण खेल खेल्दै सागको लागि तयारी गरेको थियो । त्यसपछि राष्ट्रिय खेलमा गरेको प्रदर्शनको आधारमा २५ जनालाई बन्द प्रशिक्षणमा डाँकिएको थियो ।
खेलाडीहरुले त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहल र जावलाखेलमा रहेको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा प्रशिक्षण गरेका थियो । त्यतिबेला खेलाडी छनोट चार जना प्रशिक्षक मुख्य प्रशिक्षक कपिल किशोर श्रेष्ठ, चिनिया प्रशिक्षक, स्वर्गीय शिवराज श्रेष्ठ र सलिना श्रेष्ठले गरेका थिए ।
आठौं साफ अन्तरगतका खेलका केही झलकहरु । तस्विरः सुष्मा थापा
खेलाडीहरु जिल्ला, अञ्चल र राष्ट्रिय प्रतियोगिताबाट उचाई र खेलको आधारमा छनोट गरिएको थियो । विशेष गरी त्यतिबेला बागमती र गण्डकी अञ्चल राष्ट्रिय खेलकुदमा बलिया टोली थिए । यसरी १२ सदस्यीय नेपाली महिला भलिबल टोली छनोट गरिएको थियो । यो टोलीले साग आउनुअघि १० दिन थाइल्यान्डमा म्याच खेल्दा एक्सपोजर पाएको थियो ।
‘साग आउनुअघि लिंकन कलेजमा खेलाडीलाई प्रशिक्षणको लागि राखिएको थियो । हरेक टोलीले एक घन्टाको प्रशिक्षण पाउने थियो । समय कम हुने भएपछि श्रीलंकन प्रशिक्षकले थप तयारी हुने भन्दै नेपाली टोलीसँग मैत्रीपुर्ण खेल खेल्न गरेको आग्रह गरेको थियो ’ प्रशिक्षक श्रेष्ठले सम्झना गर्दै भने, ‘नेपाली टोलीले अभ्यासमा निकै राम्रो खेल खेल्दै १६–१७ अंकसम्म अग्रता लिएपछि श्रीलंकन प्रशिक्षक अत्तालिएको थियो ।
उनले श्रीलंकामा नेपाली टोलीको प्रदर्शन देखेका थिए । एक वर्षमा भयंकर परिवर्तन भएछ भनेर भनेको सम्झना अझैपनि छ ।’ नेपाली टोलीको प्रदर्शनले श्रीलंकन प्रशिक्षक मात्रै होइन नेपालमै रहेका चिनिया प्रशिक्षकले पनि विश्वास नै गर्न सकिरहेको थिएन । खेलाडीको लगाव, निरन्तर प्रशिक्षण र अन्तर्राष्ट्रिय म्याच एक्सपोजरले कति परिवर्तन गर्न सक्छ भन्ने देखाएको प्रशिक्षक श्रेष्ठले थपे ।
आठौं साफ र पहिलो पदक
आठौं सागमा आयोजक नेपालसहित भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्स गरी पाँच टोलीको सहभागिता रहेको थियो । टोलीले राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गरेका थिए । भारत र श्रीलंका प्रतियोगिताका बलियो टोली थिए । बंगलादेश अनुभवी भएपनि नेपालले सागमा कम्तीमा कास्यपदक जित्न सक्ने अवस्था थियो ।
नेपाल स्वभाविक रुपमा भारत र श्रीलंकासँग राम्रै अंक जोडेर पराजित भयो । हामी ब्लक र क्विक पार्टमा कमजोर हुदा पराजित भएका थियौं । माल्दिभ्सलाई सहजै पाखा लगाएको नेपालले अन्तिम दिन कास्यपदकको लागि प्रतिस्पर्धा गर्ने तय थियो । सोही दिन भारत र श्रीलंकाबीच स्वर्णको लागि प्रतिस्पर्धा हुदै थियो । अनुभवी बंगलादेशसँग केही असहज हुने अनुमान गरिएपनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ३–० को सोझो सेटमा जित निकाल्दै नेपाली भलिबल इतिहासमै पहिलो पदक जित्न सफल भयो ।
आठौं साफ अन्तरगतका खेलका केही झलकहरु । तस्विरः सुष्मा थापा
प्रशिक्षक श्रेष्ठले योजना बनाएर बंगलादेशसँग खेल्दा जित हात पार्न सकिएको बताए । ‘उनीहरु होचा थिए । हामीसँग कप्तान सुष्मा थापा, अन्जु श्रेष्ठ र सीता श्रेष्ठजस्ता अग्ला कदका खेलाडी थिए । बंगलादेशका खेलाडी केही होचो भएकाले र ओपनमा भन्दा क्विकमा बढी फोकस गर्दै जित्न सफल भयौ ’ ६२ वर्षीय प्रशिक्षक श्रेष्ठले भने, ‘टिमको विश्लेषण गर्दा पदक आउनेमा ढुक्क थियौं । तयारी पनि त्यही अनुसारकै थियो । खेलाडीहरुले कठोर मिहेनत गरेका थिए । उनीहरुले मिहेनत गरेको फल प्राप्त गरेको हो ।
नेपाली टोलीलाई पदक जिताउनुमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको पनि ठुलो हात छ । उनीहरुको योगदानलाई भुल्नु हुदैन ।’ उनले नेपाली भलिबल इतिहासमा आफ्नो प्रशिक्षणमा पहिलो पदक जिताउदा खुशी हुनु स्वभाविक रहेको बताउदै महिला भलिबल खेलाडी उत्पादन गर्ने क्लबहरुलाई पनि यसको श्रेय जाने बताएका छन् ।
त्यतिबेला महिला भलिबल खेलाडी उत्पादनमा जावलाखेल नै मुख्य थियो । त्यसपछि महिला भलिबलमा पश्चिमाञ्चलको पनि ठुलो योगदान छ । नेपाली टोलीले कास्यपदक जिते लगत्तै प्रशिक्षक श्रेष्ठले यस्तै प्रशिक्षण र अन्तर्राष्ट्रिय म्याच एक्सपोजर पाए आगमी संस्करणमा टोलीको कास्यपदक भन्दा माथिल्लो पदक जित्न सक्ने बताएका थिए । तर, नवौं सागमा महिला भलिबल नै समावेश भएन । १०औं सागमा महिला भलिबल समावेश भएपनि प्रयाप्त तयारी र म्याच एक्सपोजर नपाउदा नेपाल कास्यमा नै सीमित बन्यो ।
कप्तान सुष्मा थापाको अनुभव
म नेपाली महिला भलिबल टोलीले १९८७ मा थाइल्यान्डमा भएको मैत्रीपुर्ण खेलो लागि पनि टोलीमा थिए । म टोलीको सबैभन्दा कान्छी थिए । १० वर्षको अन्तरमा म परिपक्व भइसकेको थिए । घरेलु भुमिमा भएको सागमा मैले कप्तानीको भुमिका निर्वाह गर्न पाए । त्यो समय वर्षमा बल्लतल्ल दुई तीन प्रतियोगिता मात्र हुने गर्दथ्यो । मैले घरेलु प्रतियोगितामा कलेज, जिल्ला, अञ्चल र क्षेत्रियस्तरमा पदक जितिसकेको थिए ।
२०५५ सालमा नेपालगञ्जमा सम्पन्न चौथो राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलमा पश्चिमाञ्चलले निकै प्रतिस्पर्धात्मक खेलको पाँचौ सेटमा मध्यमाञ्चललाई हराएर उपाधि जितेका थियौं । त्यहिबाट आठौं साफ खेलकुदको लागि झण्डै २५ खेलाडी बन्द प्रशिक्षणमा बोलाईएको थियो । चार महिनाको बन्द प्रशिक्षणपछि अन्तिम टोली छनोट भएको थियो ।
स्वर्गीय राजा वीरेन्द्र विरबिक्रम शाहबाट सम्मान लिदै कप्तान सुष्मा थापा । तस्विर : सुष्मा थापा
चार महिनासम्म प्रत्येक खेलाडीहरुको दुःख, परिश्रम, मिहिनेतको पसिना र आँशु सामान्य खेलजीवनमा भन्दा धेरै गुणा बढी थियो, जुन बिर्सन गाह्रो पर्छ । जावलाखेलको भलिवल कोर्टमा धुलो र माटोसँग मडारिदै गरेको त्यो प्रशिक्षण अनि चिडियाखाना हेर्न आउने मानिसहरुको लामो लर्को । दैनिक ६ घण्टाको प्रशिक्षणले टोली गज्जव बनेको थियो । भनिन्छ परिश्रमको फल मिठो हुन्छ, त्यस्तै भयो । आठौं साफमा म कप्तान थिएँ ।
हामीले बंगलादेशलाई हराएर तेस्रो स्थान हासिल गर्दै कास्य पदक जित्न सफल भयौं । भारतले स्वर्ण र श्रीलंकाले रजत जितेका थिएँ । जुन कास्य भलिबल इतिहासमा नेपाली महिला भलिवल टिमले पहिलो पटक अन्तर्राष्ट्रिय पदक जितेको थियो । व्यक्तिगत रुपमा टिम कप्तानको हैसियतले महिला भलिबलको ऐतिहासिक उपलब्धि मेरो लागि जीवनको सबैभन्दा अविस्मरणीय क्षण बन्न पुग्यो । सपना पुरा भएको दिन थियो ।
नेपाली टोली :
सुष्मा थापा (कप्तान), अन्जु श्रेष्ठ, सीता श्रेष्ठ, टीका चौधरी, शान्ता सापकोटा, ऋषिसरा थापा, रुपा महर्जन, मनिदा शाही, बिनिता बुढाथोकी, सीता सेन, धनमाया कठायत, हीरा पन्त, कपिल किशोर श्रेष्ठ (मुख्य प्रशिक्षक), स्व. शिवराज श्रेष्ठ (सहायक प्रशिक्षक), सलिना श्रेष्ठ (ट्रेनर), उर्मिला पन्जियार, तीर्थमान श्रेष्ठ, (टिम म्यानेजर) र चिनिया प्रशिक्षक ।
December 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको घरेलु भलिबलमा राम्रो प्रभाव छाडिसकेका ३ पाकिस्तानी खेलाडीलाई समेट्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ को लागि आफ्नो टोली घोषणा गरेको छ । हेल्प नेपालले सोमबार पाकिस्तानी खेलाडी सार्वजनिक गर्दै अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको हो। पाकिस्तानी खेलाडीमा स्पाइकर मजर […]
December 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- न्युजेन स्पोर्टस एकेडेमीले सातौं टिआइए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका आफ्ना खेलाडीलाई सम्मान गरेको छ। गत वर्ष भारतको पश्चिम बंगालको कोलकातामा भएको च्याम्पियनसिपमा न्युजेनका ७ खेलाडीले स्वर्ण पदक जितेका थिए। सम्मानित हुनेमा निजानन्द थापा, युस्मा स्याङतान, आयुष्मा चन्द, सम्राट सिंह,सक्षम दुलाल, श्रृष्टि स्याङ्बो र रक्षा मगरले स्वर्ण पदक जितेका थिए। उनीहरूका […]
December 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडीले पनि गर्ने भएको छ। च्याम्पियन्सिपको ब्रोडकास्टिङ पार्टनर हाम्रो खेलकुदले टेलिभिजनमा प्रत्यक्ष प्रसारणका लागि कान्तिपुर टेलिभिजनसँग शुक्रवार सम्झौता गरेको हो। कान्तिपुर टिभीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिशिर पछाई र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। डिजिटलमा हाम्रो […]