default_image

4 years ago

January 18, 2021

‘भलिबल त साँच्चिकै पो लोकप्रिय नै रैछ’

529 views

0 Bookmark

क्रियटिभ भ्वाइस

टीएस ठकुरी

‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ, पोखरा त साँच्चिकै पो पोखरा नै रैछ’ – रुकुममा जन्मिएर नेपालगन्जलाई कर्मथलो बनाएका सुप्रसिद्ध गायक प्रेमप्रकाश मल्लले कुनैबेला पोखराको महिमागान यसैगरी गाएका थिए ।

प्राकृतिक सौन्दर्यताको वरदान पाएको पोखरा वास्तवमा धेरै हिसाबले जोकोहीको मनमुटुमा बस्न सफल छ, जसरी नेपालको राष्ट्रिय खेल भलिबल आम नेपालीको मनमस्तिष्कमा बसेको छ । यी वाक्यांशमा कतिपयको सहमति वा विमति पनि होला, राख्न पाइन्छ । तर पोखराले जसरी लोभ्याएको छ, भलिबलले नेपाली खेलकुदको फराकिलो क्षितिजमा आफुलाई लोकप्रियताको शिखर चुमेर प्रमाणित गरिदिएको छ ।

भनौं, एकदशक यता भलिबल लोकप्रियताको सर्वोच्च शिखरमा उभिएको छ । शिखर चढ्न जति कठिन छ, त्यही उभिरहन त्योभन्दा कठिन छ । भलिबल अनवरत लोकप्रिय छ । पल्सर स्पोर्ट्स अवार्डका सम्बन्धमा मतैक्यता नहोला । कतिपय कुण्ठित आत्मा पनि छन्, जसले प्रशंसाका शब्द खर्चिन कन्जुस्याईं गर्छन् । तर, सत्य यही हो कि सिंगो नेपाली खेलकुदले गर्व गर्ने प्रतिष्ठित कार्यक्रम पल्सर स्पोर्ट्स अवार्ड मात्र हो ।

रिलका हिरोहरुका लागि दर्जनौं अवार्ड छन् नेपालमा, तर रियल हिरो(खेलाडी)का लागि पल्सर स्पोर्ट्स अवार्ड एकमात्र हो । त्यसैले यस अवार्डमा मनोनयन मात्र हुनु पनि खेलाडीका लागि गौरवको बिषय बन्ने गर्छ । यसबर्ष पनि अवार्ड पोल्टामा पार्न नसकेपनि बास्केटबल क्विन सदिना श्रेष्ठले फेसबुक वालमा लेखिन्–‘मेरा लागि मनोनयनमा पर्नु नै ठुलो कुरा थियो, जित्ने सबैलाई बधाई ।’

सदिना खेल पत्रकारमाझ रुचाइएकी पात्र हुन् । सदिनाको खेल प्रतिभा प्रमुख कारण नै हो, यसका अलावा उनको खेल संस्कार, बोली, भाषा, शैली र व्यवहार पनि अन्य कारण हुन् । आफ्नो पराजयमा पनि खेलकुदको भावना पोख्ने गज्जबको शैली देखिन्छ । सदिना मात्र हैन, गौरिका सिंह, आयशा शाक्य, सन्तोषी श्रेष्ठ, मण्डेकाजी श्रेष्ठ लगायत सबै स्टार खेलाडीहरुका लागि पल्सर स्पोर्ट्स अवार्ड जहिल्यै व्यग्र प्रतिक्षाको घडी बन्ने गर्दछ ।

यी सबै स्टार खेलाडीका लागि एउटा भव्य र साझा मञ्च हो, पल्सर स्पोर्ट्स अवार्ड । त्यही अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्ड विधा छ । जसको नाम केही अघिसम्म पपुलर प्लेयर(लोकप्रिय) अवार्ड थियो । लोकप्रियताको कसी मापन गर्ने सम्बन्धमा केही जनगुनासो देखिएपछि सम्भवतः पिपुल च्वाईस(नागरिक छनोट) अवार्ड नामाकरण गरिएको हो ।

वास्तवमै नागरिकको भोटले जित्ने अवार्ड नै पिपल्स च्वाइस अवार्ड । यसमा पछिल्लो समय केही परिमार्जित गरिएको छ । यस अवार्डमा भलिबलले ६ पटक बाजी मारिसकेको छ । संयोग भलिबलको कोर्ट(प्लेइङ सेट)मा पनि ६ जना खेलाडी हुन्छन् । भलिबल यति भाग्यमानी बनिसकेको छ, कोर्टमा उत्रने जुनसुकै पोजिसनका ६ जना खेलाडी यो उपाधिबाट बिभुषित भइसके ।

त्यसैले त भन्न सकिन्छ, भलिबल वास्तवमै रैथाने खेल हो । शुद्ध अर्गानिक । नेपालको भुबनोट हेर्दा नेपालको माटो सुहाउँदो खेल भलिबल हो । हिमाल, पहाड, तराई जुनसुकै भुभागमा खेल्न सकिने भएकै कारण यो नेपालका लागि प्राथमिकीकरण गरिएको खेल हो । नेपाली माटोको सुगन्ध पाइन्छ भलिबलमा ।

नेपाली खेलकुद इतिहासका सर्वाधिक सफल मानिने सदस्यसचिव शरदचन्द्र शाहले सामाजिक एकता र सामुहिकताको भावना जागृत गर्न भलिबलमै जोड दिएका थिए । उनले सिमित खेलमा फोकस गरेका थिए, त्यसमा सामुहिक खेल भलिबल थियो । भलै त्यतिबेला नेपालले भलिबलमा उल्लेख्य प्रगति गर्न चुक्यो । कारण नेतृत्व तहको भरोसा गुम्दै गयो । भलिबलमा सन्नाटा छायो, ठुलै आँधी हुरी आउनुअघिको जस्तै ।

पुर्वजहरुले रोपेको बिउ फल्न यसरी सुरु गर्यो, हुरहुरी देखिन थाल्यो । पछिल्लो समय नेपालको महिला भलिबलले लय समात्यो । मनोरञ्जनरमण शर्माको नेतृत्वमा याम गुरुङ, निरोज मास्के, रञ्जन खड्का, जितेन्द्रबहादुर चन्दलगायत सक्रिय भलिबलकर्मीको उर्जामा भलिबलले छलाङ मारिदियो । दश बर्षे ‘माओवादी विद्रोह’का बेला हिमाल र पहाडका कुना कन्दरा तथा तराईका समतल फाँटका बस्तीहरुमा युद्धका कथा बुन्दै हिंडेका दलजित श्रीपाइली प्रशान्तले भलिबललाई जति नजिकबाट नियालेका थिए, सदस्यसचिव केशव बिष्ट उत्तिकै जानकार थिए ।

युवा तथा खेलकुदमन्त्री श्रीपाइलीको राष्ट्रिय खेल निर्क्यौल गर्ने प्रस्ताव तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदबाट सदर गराइदिए । यसले भलिबल परिवार यति उत्साहित बन्यो, उनीहरुले भलिबललाई गति दिने सवालमा कुनै कसर बाँकी राखेनन् । हरेक देशको आफ्नो राष्ट्रिय खेल हुन्छ, नेपालको थिएन । मन्त्री श्रीपाइली यसमानेमा सम्झिइने नाम बन्यो, जसले राष्ट्रिय खेल आधिकारिता दिलाए । त्यसैको नरिन्तरताका रुपमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा भलिबललाई राष्ट्रिय खेलकुदका रुपमा समावेश गरिनु भलिबल परिवारको सम्मानका रुपमा लिनुपर्दछ ।

यो सत्य हो की एक समय भलिबल नेपालको सबै भन्दा लोकप्रिय खेल थियो । सानो ठाँउमा खेल्न सकिने, सबैले बुझ्ने र कम खर्चिलो भएकै कारण पनि भलिबल लोकप्रिय थियो भन्ने बुझ्न गाह्रो छैन । भौगोलिक बनोट वा विकटता पनि भलिबल लोकप्रिय हुनुको अर्को कारण थियो । त्यसैले पनि होला भलिबललाई नेपालको माटो सुहाउँदो खेलको रुपमा व्यख्या गरिन्थ्यो, जुन ब्याख्या सहि थियो पनि ।

दक्षिण एशियाली खेलकुद(साग)को डेब्यु संस्करण(आठौं साग २०५६ नेपाल)मै कास्य पदकको स्वाद चाखेको नेपाली भलिबलको वास्तविक सुगन्ध क्रमिक रुपमा बाँड्ने काम महिला भलिबलले नै गरेको हो । एकातिर सफलताको पहाड उकालिदो भयो, अर्कोतर्फ नागरिक सम्मान प्राप्त हुने क्रम बढिरह्यो ।

नागरिकका हरेक सवालमा पत्रकारहरु वकालत गर्छन् कलममार्फत । तसर्थ पत्रकारको सम्मान नागरिक सम्मान हो । आम मानिसहरुले दिनेगरी मञ्चले पपुलर प्लेयर अफ दि इयर अवार्ड सुरुवात गर्यो । यो विधा समावेश भएको पहिले बर्ष मञ्जु गुरुङले उपाधि जितिन् । दोस्रो बर्ष अर्थात २०६७मा सिपोरा गुरुङले घलेकमैं यो अवार्ड ग्रहण गरिन् । तेस्रो बर्ष परिक्षा गुरुङको पालो थियो । पोखरा ह्याट्रिक गर्ने तयारीमा थियो । त्यतिबेला परिक्षा उच्च फर्ममा थिइन् । पोखरेली टिमका खास आकर्षण परिक्षाले आफुतर्फ खिचिसकेकी थिइन् । विडम्बना परिक्षाले यो परिक्षा दिन पाइनन् ।

यो अवार्ड लगातार पोखरा जाओस भन्नेमा आयोजक चाहन्थेन । गुरुङ मगरको बाहुल्य रहेको गण्डकी प्रदेश, सबै जातजातिको आपसी एकता, पोखरेली मन र परिक्षाको अब्बल प्रदर्शन जितका लागि पल्ला भारी थियो । डायस्पोराको माया उत्तिकै हुने निश्चितप्राय थियो । नेपाल खेलकुद पत्रकार मञ्च कम्तीमा यो अवार्ड देशभरि फैलियोस भन्ने चाहन्थ्यो । लोकप्रियताको मापनमा पोखरा त्यसबर्ष छुट्यो ।

पोखरा समग्र गण्डकी प्रदेशको ऐना हो । जहाँ बिभिन्न जातजातिको बसोबास छ । एकता र सदभावको उच्च कोटिको नमुना छ । पोखराले कसैलाई भेदभाव गर्दैन । सबैको सम्मान गर्छ । खेलाडीलाई औधी माया गर्छ, खेलकुदलाई उठाउन कुनै कसर बाँकी राख्दैन । पोखराको खास बिशेषता यही हो । त्यसैले त सहारा क्लबको आहा रारा गोल्ड कपको लयलाई रोक्ने तागत कसैसँग छैन । सफल पोखरा म्याराथन एउटा उच्चकोटिको ब्रान्ड बनिसकेको छ ।

भलिबल त पोखराको पर्यायवाची भइगयो । मञ्जु, सिपोरा, परिक्षा, सञ्जु, मान्ती आले लगायत धेरैलाई पोखराले जन्मायो । राष्ट्रिय मञ्चमा चिनायो । ज्ञानुबाबा स्कुलले ठुलो भरोसा दियो, शुभकन्या(गुरुङ) म्याडमको सामिप्यतामा हुर्कने अवसर प्राप्त गरे मञ्जु, परिक्षा र अरुणाहरुले । सायद यतिबेला शुभकन्या म्याडमको छाती गर्वले ढक्क फुल्दो हो ।

चौघेराभित्रको ज्ञानुबाबाले मञ्जु, परिक्षा र अरुणा जस्ता खेलाडी यो देशलाई दियो । फिस्टेलले सिपोरा दियो । टप्सको पनि उत्तिकै योगदान रह्यो । पोखराको बिशेषता यो पनि हो । सम्बन्धित निकायले फेरिपनि ज्ञानुबाबा, फिस्टेल र टप्सलाई आकर्षित गर्ने योजना तर्जुमा गर्दा मञ्जु, सिपोरा र अरुणा पक्कै जन्मिनेछन् ।

खेलकुद लिजेन्ड खड्ग (रानाभाट) दाइ र तेज (गुरुङ) दाइहरुले भुतपुर्व खेलाडी मञ्च जन्माएर सुरु गरेको सफल पोखरा म्याराथनले डेढ दशकको यात्रा पुरा गर्नु पक्कै चानचुने हैन । बसन्त थकाली दाइ, विक्रम थकाली दाइ, वीरभद्र दाइ र केशव थापा दाईहरुले डोराएको सहारा क्लब र आहा रारा गोल्डकप त देशकै उत्कृष्ट दृष्टान्त बनिसक्यो ।

दुई दशकको यात्रा पक्कै सहज थिएन, सहाराले देखाइदियो । अनाथहरुका लागि खोलिएको सहारा एकेडेमी छिर्दा जोसुकैको शिर झुक्छ । यसमा जति प्रशंसा गरेपनि कमै हुन्छ । किनकी यसको संस्थागत विकास वास्तवमा अनुकरणीय छ, लोभलाग्दो छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गरेका व्यक्तित्वहरुको एकता नै पोखराको बिशेषता हो । माछापुच्छ्रे हिमालको काखमा क्रिकेट खेलिरहेको दृष्य कैद गरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)बाट पुरस्कृत चर्चित फोटोपत्रकार सुदर्शन रञ्जित खेलाडीलाई कसरी सेलिब्रिटी बनाउने अभियानमा निरन्तर साधनारत छन् ।

उनको योगदानलाई कहिल्यै कम आँक्न सकिन्न । उनी खेलाडीको फोटो मात्र खिच्दैनन्, खेलाडीलाई सही मार्ग देखाउने काम गर्छन् । चाहे मञ्जु होस, चाहे सिपोरा वा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ । यी सब पोखरेलीका खास गुण हुन्, पोखरेलीका परिचय हुन् ।

भलिबल खेलाडीलाई देशकै प्रतिष्ठित अवार्ड दिलाउन पोखराले पक्कै योगदान दियो, त्यो भन्दा वेशी अर्कोतर्फ भलिबलको लोकप्रियता हो । यसका केही आधार छन् । यस अवार्डका लागि पोखरेली खेलाडी मात्र रोजाइमा परेनन्, काठमाडौंको नैकापस्थित सपना बोकेको र दृढ लक्ष्यका साथ अघि बढेको भौगोलिक क्षेत्रफलका हिसाबले साँघुरो चौघेराभित्र रहेको न्यु डायमन्ड स्कुलमा जन्मिएकी रमिला तण्डुकार पनि लोकप्रिय खेलाडी अवार्डका लागि योग्य बनिन् । उनले नेवारी पोशाकमा ट्रफी उचाल्दा माहोल बेग्लै थियो ।

कुमार राई र सुनकेसरी मालीहरुले रोपेको र गोडमेल गरेको न्यु डायमन्ड नेपाली भलिबलमा सर्वाधिक रुचाइएको टिम बनिसकेको छ । त्यसपछि कैलालीमा जन्मिएकी सरस्वती चौधरीले थारु पोशाकमै यो चर्चित विधाको अवार्ड लिइरहँदा समग्र तराईले गर्व गरेको हुनुपर्छ । सरस्वती पनि तीन नै खेलाडी हुन्, जसले पोरखाबाटै भलिबलमा आफ्नो क्षमता प्रस्तुत गरिन् ।

यसले भलिबल तराईमा पनि उत्तिकै लोकप्रिय रहेको सावित गरिदियो । गत संस्करणमा यो अवार्डका लागि काठमाडौंकै रेश्मा भण्डारीले बाजी मारिन् । टिमका हिसाबले पोखराका मञ्जु र सिपोरा, न्यु डायमण्डका रमिला र एपीएफ क्लबका सरस्वती र रेश्मा पिपल्स च्वाइस(नागरिक छनोट) अवार्डबाट बिभुषित भए ।

यसबर्ष नेपाली भलिबल राष्ट्रिय टिमकी कप्तान अरुणा मनोनयनमा पर्नासाथ धेरैका आआफ्नै अनुमान थिए । तर ती कतिपय अनुमान गलत सावित भए । अन्ततः अरुणा नै पिपल्ल च्वाईस अवार्डको असली हकदार बनिन् । अरुणाले भलिबल इतिहासमै सुनौलो अक्षरले नाम लेखाइसकेकी छिन् ।

नेपालले सेन्ट्रल जोन भलिबलको उपाधि जित्दा वा दक्षिण एशियाली खेलकुद(साग) इतिहासमा रजत पदक जित्दाको कप्तानी भुमिकाले अरुणाको नाम लामो समयसम्म स्मरण गर्नुपर्ने हुनसक्छ । किनकी नेपाली भलिबलका जानकारहरुकै भनाइमा यत्तिको उपलब्धि प्राप्त गर्न अब केही बर्ष उति सजिलो छैन ।

म्याग्दी स्थायी घर भएकी अरुणाको खेल कौशल भने पोखरामै निखारिएको थियो । उनी निकै अनुशासित खेलाडी हुन् । उनको खेल्ने आफ्नो शैली छ । यद्यपी स्टाइलिस खेलाडीको पंक्तिमा उनी देखिन्नन् । त्यसैले धेरैले उनको लोकप्रियतामाथि शंका गर्नु स्वभाविक थियो । यद्यपी उनको साथ समग्र पोखराको थियो, गण्डकी प्रदेशको थियो । अझ भनौं नेपाल र नेपालीको साथ थियो ।

बधाई छ अरुणा । पोखरेलीको मात्र हैन, नेपाल र नेपालीको माया पायौ । यसका लागि पनि पोखराले न्यानो साथ दियो, आड र भरोसा दियो ।

त्यसैले भन्न मन लाग्छ, पोखरा त साँच्चिकै पोखरा नै रैछ, अरुणा साँच्चिकै सर्वप्रिय रैछ । अझ भनौं भलिबल त साँच्चिकै लोकप्रिय रैछ ।

October 30, 2024

टिप‌ टप न्यु डायमण्डले आफनो खेलाडीलाई मासिक पारिश्रमिक दिने

काठमाडौं (हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबले आफ्ना खेलाडी र प्रशिक्षकलाई मासिक पारिश्रमिक दिने भएको छ। न्यु डायमण्डले दीपावली र छठको शुभकामना दिन बुधवार पुरानो नैकापस्थित आफ्नै एकेडेमीमा आयोजना गरेको कार्यक्रममा खेलाडीलाई पारिश्रमिक दिने घोषणा गरिएको हो । मासिक पारिश्रमिक मुख्य प्रशिक्षक कुमार राई ३० हजार, सहायक प्रशिक्षक ललिता नाथले २० हजार […]

October 29, 2024

बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका स्वस्तिका तिरुवा र नोर्बु थेन्डुप शेर्पाले आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा मंगलबार स्वर्ण पदक जितेका छन् । स्वस्तिका र नोर्बु दुवैले ब्राजिलका खेलाडीलाई फाइनलमा पराजित गरे । बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ४-१ ले पराजित गरिन् । सेमिफाइनलमा स्वस्तिकाले ब्राजिलकै बारोस फरेरा मार्सेलो […]

October 29, 2024

तलबभत्ता मात्र खाने प्रशिक्षकलाई राजीनामा दिन सदस्य सचिव बस्नेतको आग्रह

हिमाल खरेल, बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले सरकारी तलब भत्ता खाएर काम नगर्ने प्रशिक्षक र कर्मचारीलाई राजीनामा दिन आग्रह गरेका छन् । झापा जिल्ला खेलकुद विकास समितिले भद्रपुरमा संयोजन गरेको बस्नेतको निरीक्षण कार्यक्रममा सोमवार उनले भने, ‘काममा मन नलागे राजीनामा दिए हुन्छ, नयाँ तालिमप्राप्त प्रशिक्षक आउँछन् ।’ जिल्लाका अधिकांश प्रशिक्षकहरु […]

Success

Thank you for your time.