default_image

2 years ago

January 18, 2023

बुबाको पथ पछ्याउँदै अमृतको च्याम्पियन यात्रा

297 views

0 Bookmark

भूपेन्द्र जि.सी.,पोखरा

हिरा थापामगरले नेपाली स्क्वासको एक युग नै राज गरे । डेढ दशकभन्दा बढी समय च्याम्पियनको रुपमा बिताएपछि उनले करिअरबाट बिदा लिए । हिराले खेलाडीको रुपमा करिअरलाई बिट मारेपनि उनको घरमा भित्रिने उपाधिमा भने पूर्णविराम लागेन । फरक यति मात्रै रह्यो । पहिला आफूले जित्थे, अहिले उनकै प्रशिक्षणमा छोरा अमृत थापामगरले जित्छन् ।

तीन महिना पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष एकलतर्फ अमृतले स्वर्ण जिते । राष्ट्रिय प्रतियोगितामा यो अमृतको ह्याट्रिक स्वर्ण थियो । ५५ वर्षीय बुबाको बिरासतलाई २६ वर्षीय छोरा अमृतले निरन्तरता दिएका छन् । बुबाले खेल्दै आएको खेललाई निरन्तरता दिनु नयाँ कुरा होइन । तर सोहि सफलताको सिलसिलालाई निरन्तरता दिने बिरलै हुन्छन् ।

सन् २०१६ मा भारतको गुहावटीमा भएको १२ औं सागपछि हिराले स्क्वासबाट सन्न्यास लिए । त्यसअघि उनले चार वर्ष छोरासँगै खेले । बुबालाई हराउँदै अमृत सन् २०१२ मा पहिलो पटक च्याम्पियन बने । त्यसपछि बुबाले छोरालाई हराउन मुश्किल पर्न थाल्यो । पाँचौं र छैटौं राष्ट्रियमा हिराले स्क्वासको स्वर्ण जिते ।

त्यसअघि स्क्वास राष्ट्रिय खेलकुदमा सहभागी थिएन । त्यसपछि अमृतले सातौं, आठौं र नवौंमा स्वर्ण जितेका छन् । अमृतले यसलाई ठूलो उपलब्धी मानेका छन् । ‘म यसलाई मेरो ठूलो उपलब्धी मान्छु । किनभने मैले बीचको समयमा केहि प्रतियोगितामा जित निकाल्न सकेको थिइनँ । जित्ने बानी हराएको जस्तो भएको थियो । तर राष्ट्रियमा लगातार तीन पटक उपाधि जित्नु सामान्य कुरा होईन’, स्वर्ण जितेपछि अमृतले भने ।

बुबा हिरा अहिलेको अवस्थामा जोकोही पनि च्याम्पियन बन्न सक्ने बताउँछन् । ‘मलाई लाग्छ जोकोही पनि च्याम्पियन बन्न सक्छन् । मेरो छोरा च्याम्पियन भयो । उ भोली पनि हुन्छ भन्ने हुँदैन । त्यसको लागि उसले मिहिनेत गर्नुपर्छ नै । अहिले स्वर्ण जित्न धेरै मिहिनेत गरेको छ । यहाँ आउने सबै मेरा विद्यार्थी हुन् । सबै मेरा लागि समान हुन्’, उनले भने ।

नवौं राष्ट्रिय खेलकुदमा हिरा स्क्वासका मुख्य प्रशिक्षक थिए । उनले सक्रिय खेलाडी जीवन बिताउँदा अन्तर्राष्ट्रिय सहभागिता जनाउने अवसर निकै कम पाउँथे । सन् १९९४ देखि २०११ सम्म नेपालमा उनी लगातार च्याम्पियन बने । त्यो समय उनको एकछत्र राज थियो । सन् २०१२ पछि उनी आफ्नै छोरा अमृतसँग पराजित हुन थाले ।

स्क्वासबारे नेपालमा धेरैलाई थाहा नहुँदा प्रतिस्पर्धा पनि कम हुने हिराको बुझाइ छ । ‘स्क्वास खेल बारे नेपालमा धेरैलाई थाहा छैन । थाहा भएपनि खेल्न मिल्ने कोर्ट विरलै भेटिन्छन् । जसले गर्दा प्रतिस्पर्धा निकै कम छ,’ उनले भने ।

‘एक समय थियो स्क्वास ठूलाबडाले खेल्ने भन्ने । तर खेलको हिसाबले स्क्वास धेरै सस्तो हो । यो माथि आउन नसक्नुको कारण यसको संरचना बनाउन नसक्नु हो । खेलस्थल बनाउन भने महँगो पर्छ’, हिराले भने ।

अमृत बुबासँग खेल्न पाउँदा र प्रशिक्षण गर्न पाउँदा झनै खुशी छन् । उनले सबै कुरा बुबालाई खुलेर भन्न सक्छन् । बुबाले छोराको समस्या सजिलै बुझ्न सक्छन् । ‘बुबासँगै खेल्न र सिक्न पाउँदा धेरै खुशी लाग्छ । कोर्ट भित्र पसेपछि त प्रतिस्पर्धी नै हो । परिवार र नाता भन्ने हुँदैन । तर जसले सिकायो उसैसँग खेल्न पाउँदा धेरै खुशी लाग्छ’, अमृतले भने ।

‘मलाई सिक्न धेरै सहज भयो । अरुलाई त स्क्वास जाउ भन्नुपर्छ । कतिपयका बुबा आमालाई नै यो खेल बारे थाहा हुन्न । स्क्वास हाम्रो देशमा मुख्यता धेरैलाई नै थाहा छैन । थाहा भएकोले लिएपनि खासै रुचि हुँदैन । बुबाले खेलेको सानैदेखि हेर्दै सिकें । त्यो समय भर्खर युट्युब आएको हुँदा अझ प्रभावित भए’, अमृतले भने ।

नेपालमा फुटबल, क्रिकेट र भलिबलमा बढी लोकप्रिय भएका खेल हुन् । नाम र दाम दुबै हुँदा क्रिकेट र फुटबलमा धेरै आर्कषित हुन्छन् । तर अमृत स्क्वासमा लागे । सुरुमा उनी स्कुलमा फुटबल खेल्थे । स्कुल सकेर १२ पढ्न थालेपछि उनले स्क्वास रोजेका थिए । अन्य खेलमा भन्दा यसमा छिटो ठूलो उपलब्धी हात पार्नसक्ने सम्भावना देखेर लागेको बताउँछन् ।

‘स्क्वासमा खेलाडी थोरै छन् । ठूला उपलब्धि हासिल गर्न सजिलो हुन्छ । त्यसैले यता लागेको हुँ । स्कुलमा त फुटबलको कप्तान थिए । फुटबलमा पनि अवसर आएको थियो’, अमृतले विगत सुनाए । अमृत आफ्नो बुबाबाट स्क्वासको लागि दिएको त्याग र निरन्तरता सबैभन्दा प्रभावित भएको कुरा बताउँछन् ।

हिराले बत्तिसपुतली स्क्वास क्लबबाट सिकेका हुन् । निजी क्लबमा सामान्य जागिरको क्रममा उनले स्क्वास सुरु गरेका थिए । उनको घर भने गोरखा हो । जागिरका क्रममा अभ्यास गर्दै गए । त्यसपछि उनलाई एकदमै राम्रो लाग्यो । अनि निरन्तरता दिए । उनले २०१८ इन्डोनएसिया र २०१९ को सागमा नेपाली टोलीको प्रशिक्षक बनेर काम गरे ।

सन् २०१२ पछि उनले आफ्नै छोरासँग हार्नुपर्यो । चार वर्षसम्म छोरासँग पराजित हुँदै दोस्रोमा चित्त बुझाउनु पर्यो । उनी आफ्नो भन्दा छोराको फिटनेश स्तर राम्रो हुँदा पराजित भएको बताउँछन् ।

‘बुबालाई हराएको नभएर आफैंले जितेको हो । बुबालाई हराउँदा समय धेरै खुसी लाग्यो । कतिपछि जितेको थिए । बाहिरबाट मलाई धेरै समर्थन र हुटिङ पनि आएको थिए’, अमृतले बुबालाई हउँदाको क्षण सुनाए ।

छोराछोरी हरेक बुबाआमाको सपना हुन् । त्यसैले बुबाआमा सधैं छोराछोरीको खुशीमा रमाउँछन् । बुबाहरु छोराछोरीबाट आफूले पूरा गर्न नसकेको सपना पूरा गर्देउन् भन्ने पनि चाहन्छन् । हिरा उनी आफैं स्क्वासमै रहेको हुँदा छोरा पनि यसैमा खेलोस् भन्ने लागेको बताउँछन् ।

‘म खेलाडी र प्रशिक्षक भएको नाताले नै स्क्वासमा लागेको थियो होला । म नभएको भए किन लाग्थ्यो होला र’, उनले भने । बुबाको म न हो । कहिलेकाहीँ छोराको लागि हार्दिन्छु जस्तो लाग्थ्यो वा लाग्दैन थियो होला । धेरैको मनमा यो कौतुहलता हुनसक्छ । हिरा खेलमा त्यस्तो सोच नआउने बताउँछन् ।

‘भित्र पसेपछि प्रतिद्वन्द्वी हो । धेरै पटक खेल्यौं । भित्र छिरेपछि बाबुछोरा र दाइभाइ भन्ने नै हुँदैन । उसको क्षमता राम्रो छ । अव राज्यले लगानी गर्नुपर्छ,’ उनले थपे ।

‘राज्यलाई कुन खेललाई कस्तो सेवा सुविधा र संरचना चाहिन्छ । त्यसै अनुसार लगानी गरेमात्रै माथि आउँछ । हामीले छोराको लागि सबै किन्नुपर्ने अवस्था छ । नेपालीमा खेलकुदमै लागेर करिअर बनाएका थोरै होलान् । अरु त आफूले आफ्नै खर्चमा गरेका छन्’, हिराले भने ।

हिरा छोरा अमृतबाट ठूला उपाधि चाहन्छन् । ‘खेलकुदमा लागेपछि राष्ट्रिय, साग, एसियन हुँदै ओलम्पिक ठूला उपाधि हुन् । ओलम्किपमा त छैन । तर सकेसम्म ठूला उपाधि जितोस् भन्ने हुन्छ’, हिराले भने ।

अमृतले बुबाका लागि आफूले अझ मिहिनेत गरिरहेको बताए । ‘बुबाको लागि जिताउन पर्ने धेरै उपाधि छन् । स्क्वासमा प्रोफेस्नल स्क्वास युएसए हुन्छ । एकदमै प्रोफेस्नल हुन्छ, त्यो जित्न पाए हुन्थ्यो भन्ने छ’, अमृतले भने ।

नेपालमा मुख्यतया राजनीति वातावरण र राज्यले लगानी नगर्नु समस्या रहेको अमृतको बुझाइ छ । जुन बेला प्रतियोगिता आउँछ त्यो वेला मात्रै तातिनुले यो भन्दा माथि आउन मुश्किल पर्ने अमृत बताउँछन् ।

पाचौं राष्ट्रिय खेलुदमा अमृत सानो थिए । तर पनि खेलेका थिए । अमृतले आफ्नो अगाडी नै बुबाले स्वर्ण जितेको देखे । त्यो उनको लागि एक उत्कृष्ट क्षण हो । छैटौं राष्ट्रियमा भने एसएलसी दिनु पर्ने हुँदा होस्टेलमा थिए ।

अन्तर्राष्ट्रिय खेल खेल्न नपाउँदा अमृतले आफ्नो स्तरमा सुधार गर्न पाएका छैनन् । उनी आफ्नो स्तर पनि मापन गर्न कठिन परेको छ । ‘अन्तर्राष्ट्रिय खेल नहुँदा धेरै असर पर्छ । किनभने नेपालमा एउटा सानो समुदाय छ । सबैलाई एक अर्काको खेल राम्रोसँग थाहा छ । कसले कस्तो खेल्छ र कुन खेलाडीको स्तर के हो सबै थाहा हुन्छ । विदेशमा कहिल्यै भेटेको हुँदैन । दुई तीन महिनामा त्यसैपनि खेल परिवर्तन भएको हुन्छ । अन्तर्राष्ट्रिय खेल खेल्न नपाउँदा धेरै पछि परेका छौं’, अमृतले टुंग्याए ।

June 15, 2025

विपना र अरहान्तलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताकी विपना ब्लोन र शीर्ष वरीयता प्राप्त अरहान्त केशर सिंहले १३औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिपको उपाधि जितेका छन् । विपना र अरहान्तले गत साता सम्पन्न भएकाे प्रथम बागमती प्रेसिडेण्ट स्क्वास कप २०८२ को पनि उपाधि जितेका थिए । नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा शनिबार […]

June 14, 2025

दक्षिण अफ्रिका वर्ल्ड टेस्ट च्याम्पियन

एजेन्सी – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। दक्षिण अफ्रिकाले लामो समयदेखि प्रतीक्षित अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा गरेको छ। दक्षिण अफ्रिकाको सिनियर क्रिकेट टोलीले सन् १९९८ पछि पहिलो पटक आइसिसी उपाधि जितेको हो। दक्षिण अफ्रिकाले जितको लागि दोस्रो इनिङ्समा २ सय ८२ रनको लक्ष्य पाएको थियो। चौथो […]

June 10, 2025

राष्ट्रिय स्क्वासमा बागमतीको दोहारो जित

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशले १३ औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिपको पुरुष टिम इभेन्टमा दोहोरो जित हासिल गरेको छ । सातदोबाटोस्थिति नेपाल स्क्वास संघको एकेडमी हलमा भएको पहिलो दिन मंगलवार बागमतीले कर्णाली प्रदेश र कोशी प्रदेशलाई सहजै हराएको हो । बागमतीका अरहन्त के सिम्ह र पासाङ ब्लोनको जोडीले सहज निकाले । नेपालका नम्बर एक स्क्वास […]

Success

Thank you for your time.