काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेज र विभागीय नेपाल पुलिस क्लब नेपाली बास्केटबल इतिहासकै सबैभन्दा लामो र ठूलो प्रतियोगिता क्विक्स नेपाल बास्केटबल लिग (एनबीएल) को च्याम्पियन बनेका छन् । टाइम्स पुरुषतर्फ र पुलिस महिला तर्फ च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वस्थित कभर्डहलमा शनिबार भएको फाइनलमा टाइम्सले साविकको उपविजेता समेत रहेको विभागीय त्रिभुवन आर्मी क्लबलाई ८८–७२ को अन्तरमा पराजित गर्दै च्याम्पियन बनेको हो । पहिलो संस्करणमा आर्मी गोल्डेनगेट कलजेसँग पराजित भएको थियो ।
पहिलो क्वाटरमा १९–१२ र दोस्रो क्वाटरमा २१–१२ को अग्रता लिदा टाइम्सले ४०–२४ को अग्रता लिदै जिततर्फ अघि बढेको थियो । त्यसपछिको दुवै सेट प्रतिस्पर्धात्मक बनेपनि अघिल्लो दुइ क्वाटरमा लिएको फराकिलो अग्रता टाइम्सको जितको आधार बन्यो । तेस्रो क्वाटरमा टाइम्सले २७–२६ को अग्रता बनाएको थियो । चौथो क्वाटरमा आर्मीले २२–२१ को अग्रता लिएपनि हार टार्न नसक्दा लगातार दोस्रो वर्ष उपविजेतामा सीमित बन्न पुग्यो । टाइम्सको जितमा कप्तान सदिश प्रधानले उच्च खेल पस्के । उनी प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर समेत भए ।

महिलातर्फ पुलिसले लिग चरणको दुवै खेलमा बेहोरेको हारको बदला लिदै भाटभटेनी समृद्धि गोल्लिाजलाई ६५–५२ ले पाजित गर्दै च्याम्पियन बन्न सफल भयो । पुलिस पहिलो क्वाटरमा ८–१२ ले पछि परेपनि बाँकी तीनै क्वाटरमा अग्रता लिदै च्याम्पियन बन्न सफल भयो । दोस्रो क्वाटरमा पुलिसले १९–१७, तेस्रो क्वाटरमा २२–१३ र चौथो क्वाटरमा १६–१० को अग्रता लिदै जित निकाल्न सफल भयो । महिलातर्फ अनुषा मल्ल मोस्ट भ्यालुएबल प्लेयर भइन् ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा गत १४ बैशाखबाट शुरु भएको प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ४ टोलीले होम एण्ड अवे लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए ।
पुरुषतर्फ ४ टोलीले प्ले अफमा स्थान सुरक्षित गरेका थिए । प्ले अफ बेस्ट अफ थ्री को आधारमा भएको थियो । महिलामा शीर्ष दुई टोलीले सिधै फाइनलमा स्थान बनाएका थिए ।
च्याम्पियन बनेसँगै टाइम्सले २ लाख रुपैयाँ र शिल्ड हात पार्यो । दोस्रो भएको आर्मीले रुपैयाँ चित्त बुझायो । महिलातर्फ पुलिसले ५० हजार र समृद्धिले २५ हजार रुपैयाँ हात पारे । पुरुषतर्फको लिग गत १४ बैशाखबाट तथा महिला लिग २० जेठबाट शुरु भएको थियो ।