default_image

4 years ago

February 2, 2022

आइपिएलमा पैसाको वर्षात हुनसक्ने १० खेलाडी

192 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै सर्वाधिक लोकप्रिय र धनी फ्रेन्चाइज क्रिकेट लिग हो । आइपिएलमा खेलाडीले नाम र दाम निकै राम्रो पाउँछन् । त्यसैले आइपिएल खेल्ने धेरैको चाहना र सपना हुन्छ । एसोसिएट खेलाडीको लागि आइपिएल आफ्नो देशपछि सर्वाधिक ठूलो सपना रहने गर्दछ ।

पाकिस्तान बाहेक अन्य विश्वका स्टार खेलाडीको संगम आइपिएलमा हुने गर्दछ । आइपिएलले एक रातमै खेलाडीलाई करोडपति बनाएको उदाहरण छ । कुनैपनि टोलीको लागि आइपिएल मेगा अक्सन निकै महत्त्वपूर्ण हुन्छ । मेगा अक्सनको आधारमा रहेर खेलाडीले उक्त टोलीबाट कम्तिमा तीन संस्करण खेल्नुपर्ने हुन्छ ।

हरेक फ्रेन्चाइज टोली स्टार र म्याच विनर खेलाडी टोलीमा अनबुन्ध गर्न कडा प्रतिस्पर्धा गर्दछन् । तर स्टार खेलाडीलाई अनुबन्ध गरेर मात्र हुँदैन । टिम सन्तुलनको लागि हरेक पक्षमा ध्यान दिनुपर्ने हुन्छ । अक्सनमा लिने खेलाडीले फ्रेन्चाइज टोलीको उपाधि यात्रा निर्धारण गर्नसक्छ ।

नाम, क्षमता, प्रदर्शन, लय र युवा प्रतिभा हेरेर फ्रेन्चाइज टोली अक्सनमा खेलाडीमाथि बोली लगाउने गर्दछन् । पछिल्लो संस्करण, एक वर्षयता खेलाडीको लय र अन्तर्राष्ट्रिय प्रदर्शन महत्वपूर्ण हुन्छ । आइपिएल मेगा अक्सन फ्रेब्रुअरी १२ र १३ मा बेंगलोरमा हुँदैछ । आइपिएलमा यस सिजनदेखि १० फ्रेन्चाइज टोली हुनेछन् ।

सबै फ्रेन्चाइज टोलीले नयाँ टिम निर्माण गर्नु पर्ने हुँदा म्याच विनर स्टार खेलाडीलाई धेरै टोलीले भित्र्याउन खोज्नेछन् । तर एक टोलीले अक्सनमा ९० करोड भारु भन्दा खर्चिन पाउँदैन । त्यसैले आफ्नो बजेटलाई हेर्दै पूरा टिम निर्माण गर्नुपर्ने हुन्छ । एउटा टोलीले बढीमा २५ खेलाडी अनुबन्ध गर्न सक्छन् । ८ विदेशी खेलाडी एक टोलीमा रहनसक्छन् ।

आइपिएल २०२२ को मेगा अक्सनमा कुल ५ सय ९० खेलाडी सहभागी हुनेछन् । ३ सय ७० भारतीय र २ सय २० विदेशी खेलाडी अक्सनमा सहभागी हुनेछन् । अक्सनमा सबै स्टार खेलाडी महँगो मूल्यमा विक्छन् भन्ने हुँदैन । त्यो खेलाडी फ्रेन्चाइज टोलीको आवश्यकमा निर्भर हुनसक्छ । आइपिएल मेगा अक्सन २०२२ मा पैसाको वर्षा हुन सक्ने १० स्टार खेलाडी यस प्रकार छन् ।

१०. रविचन्द्रन आश्विन (भारत)

भारतीय सर्वाधिक अनुभवी स्पिनर रविचन्द्रन आश्विन महँगो मूल्यमा विक्न सक्ने सम्भावित खेलाडी हुन् । उनी स्पिनसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्नेगर्दछन् । उनलाई दिल्ली क्यापिटल्सले फुकुवा गरेको थियो । उनीसँग दिल्ली, चेन्नई, पन्जाब र पुणेबाट खेलेको अनुभव छ ।
अनुभवी खेलाडी हुँदा पनि फ्रेन्चाइज टोली अनुबन्ध गर्न बढी रुचाउने गर्दछन् ।

दबाबमा अनुभव निर्णायक बन्नसक्छ । अर्कोतर्फ आश्विनले अन्तर्राष्ट्रिय र आइपिएल दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । आश्विनले १ सय ६७ आइपिएलमा १ सय ४५ विकेट लिएक छन् । आश्विन भारतीय स्पिन अलराउन्डरमा पहिलो रोजाईका अक्सनका खेलाडी हुँदा महँगो मूल्यमा विक्न सक्ने अनुमान गरिएको छ । आश्विनले अक्सनमा २ करोड न्यूनतम मूल्य तोकेका छन् ।

९. वानिन्दु हसरंगा (श्रीलंका)

श्रीलंका स्पिन अलराउन्डर वानिन्दु हसरंगा अक्सनमा उपलब्ध उत्कृष्ट म्याच विनर खेलाडी हुन् । वानिन्दु वर्तमान समयका उत्कृष्ट लेगस्पिनरमा पर्दछन् । तल्लोक्रममा त्यतिनै राम्रो ब्याटिङको क्षमता उनीमा छ । वानिन्दुले श्रीलंकाबाट निरन्तर सानदार प्रदर्शन गर्दै आएका छन् । वानिन्दु वर्तमान टि२० आइसिसी विश्व वरियता शीर्षस्थानका बलर हुन् । अलराउन्डरतर्फ चौथो स्थानमा छन् ।

वानिन्दुले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार म्याच विनिङ प्रदर्शन गर्दै आएका छन् । हरेक फ्रेन्चाइज टोली उनलाई अनुबन्ध गर्न खोज्ने देखिन्छ । भारतका अधिकाम्स पिचहरु स्पिनरलाई अत्याधिक फाइदा पुग्ने छन् । वानिन्दुले ८३ टि२० खेलमा तीन अर्धशतक सहित ९ सय ७९ रन बनाउनुको साथैं १ सय १० विकेट लिएका छन् ।

वानिन्दु गतवर्ष स्पिनर एडम जाम्पाको स्थानमा बंगलोरबाट दोस्रो सिजनको खेल खेलेका थिए । यस सिजनमा उनले महँगो मूल्य पाउने अनुमान गरिएको छ । उनले न्यूनतम मूल्य १ करोड राखेका छन् ।

८. मिचेल मार्श (अष्ट्रेलिया)

अष्ट्रेलियाले २०२१ मा टि२० विश्वकप जित्दा मार्श फाइनलका नायक थिए । टि२० क्रिकेटमा उनले प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । उनी मध्यगतिका राम्रो बलर हुन् । मार्शले टि२० विश्वकप फाइनलमा न्युजिल्यान्डविरुद्ध ५० बलमा ७ चौका र ४ छक्कासहित ७७ रनको अविजित इनिङका साथ प्लेयर अफ द फाइनल चुनिएका थिए ।

यसै साता सम्पन्न बिग ब्यास लिगमा पर्थ स्कोचर्सलाई च्याम्पियन बनाउन उनको योगदान महत्वपूर्ण थियो । मार्शले होबार्ट हरिकेन्सविरुद्ध १ सय रनको अविजित इनिङ खेलेका थिए । उच्च लयमा रहेका मार्शले बिग ब्यासमा ८ खेलमा ३ सय ४७ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । मार्शले सनराइजर्स हैदराबाद, राइजिङ पुणे सुपरजाइन्ट र डेक्कन चार्जसबाट आइपिएल खेलि सकेका छन् ।

शीर्षक्रमका भरपर्दा ब्याटर मार्श टिमको आवश्यक अनुसार आक्रामक र संयमित दुबै शैलीमा खेल्न सक्ने खेलाडी हुन् । उच्च लय, म्याच विनर अलराउन्डर र अनुभवी खेलाडी हुँदा अक्सनमा महँगो मूल्य पाउन सक्ने अनुमान गरिएको छ । मार्शले २ करोड आफ्नो न्यूनतम मूल्य तोकेका छन् ।

७. ईशान किशन (भारत)

विकेटकिपर ब्याटर ईशान किशन भारतका उत्कृष्ट आक्रामक ब्याटर हुन् । बायाँ हाते ब्याटर किशन ब्याटिङसँगै विकेटकिपर हुन् । फ्रेन्चाइज टोली किशनलाई दीर्घकालिन कप्तानको रुपमा सोच्न सक्छन् । पन्जाब किंग्स, कोलकता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलोर कप्तानको खोजीमा छन् । चेन्नई पनि यससिजनपछि कप्तानको खोजिमा हुनेछ । धोनीपछि चेन्नई किशनलाई दीर्घकालिन कप्तान बनाउन सक्छ ।

किशन टि२० का भारतीय विशेष पर्दछन् । मुम्बईलाई २०२० को उपाधि जिताउन ईशानले १४ खेलमा ५ सय १६ रनका साथ उत्कृष्ट प्रदर्शन गरेका थिए । किशन ओपनिङ र मध्यक्रम दुबैमा राम्रो ब्याटिङ गर्नेगर्दछन् । आक्रामक र ठूला सटका लागि निकै माहिर छन् । किशनले टि२० आईमा इंग्ल्यान्ड र ओडिआईमा श्रीलंकाविरुद्ध डेब्यूमै अर्धशतक बनाएका थिए ।

किशन ओडिआई र टि२० आई डेब्यूमै अर्धशतक प्रहार गर्ने पहिलो भारतीय खेलाडी हुन् । किशनले १ सय १० टि२० खेलमा २ शतक र १५ अर्धशतक सहित २ हजार ७ सय २६ रन बनाएका छन् ।

२०१६ मा किशनको कप्तानीमा भारतले यू१९ विश्वकपमा फाइनल यात्रा गरेको थियो । किशन आक्रामक ब्याटर, विकेटकिपर, उत्कृष्ट लय र कप्तानको सम्भावना हुँदा महँगो मूल्य पाउन सक्छन् । किशनले २ करोड न्यूनतम मूल्य राखेका छन् ।

६. प्याट कमिन्स (अष्ट्रेलिया)

अष्ट्रलिया तीव्र गतिका बलर तथा टेस्ट कप्तान प्याट कमिन्सलाई कोलकता नाइट राइडर्सले फुकुवा गरेको थियो । २०२० को अक्सनमा कमिन्सलाई कोलकताले कीर्तिमानी मूल्य १५ करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो । त्यस समय लिलामीमा पाएको सर्वाधिक मूल्य थियो ।

तर २०२१ मा उक्त कीर्तिमान क्रिस मोरिसले १६ करोड २५ लाख भारुमा राजस्थान रोयल्समा अनुबन्ध भएको थियो । कमिन्सको अनुशान लाइन एण्ड लेन्थमा बलिङ गर्नुको साथै उनको बलमा स्विङ हुने गर्दछ । तल्लोक्रममा कमिन्सले ठूलो सटको क्षमता पनि राख्छन् । कमिन्सलाई यस सिजनमा पनि महँगो मूल्यमा अनुबन्ध गर्ने अनुमान गरिएको छ । २ करोड कमिन्सको अक्सनमा न्यूनतम मूल्यको रुपमा छ ।

५.युजभेन्द्र चहल (भारत)

भारतीय लेगस्पिनर युजभेन्द्र चहल आइपिएलमा महँगो मूल्यमा विक्न सक्ने खेलाडी हुन् । बेंगलोरले सबैलाई आश्चर्य पार्दै चहललाई फुकुवा गरेको थियो । चहल म्याच विनर स्पिनर हुन् । उनले मध्यक्रममा विकेट लिँदै विपक्षलाई धराशायी बनाउने गर्दछन् ।

२०१८ मा चहललाई किन्न पन्जाब, मुम्बई, राजस्थान हुँदै अन्तिममा बेंगलोरले ६ करोड भारुमा अनुबन्ध गरेको थियो । चहलले २०१३ मा मुम्बईबाट कोलकाताविरुद्ध डेब्यू गरेका थिए । चहलले आइपिएलमा हालसम्म १ सय १४ खेलमा १ सय ३९ विकेट लिएका छन् । चहलले अक्सनमा २ करोड भारु न्यूनतम मूल्य तोकेका छन् । महँगो मूल्यमा विक्ने अनुमान गरिएको छ ।

४. लियाम लिभिङस्टोन (इंग्ल्यान्ड)

इंग्ल्यान्डका शीर्षक्रमका ब्याटर लियाम लिभिङस्टोन आक्रामक ब्याटिङको लागि माहिर छन् । अग्ला कदका लिभिङस्टोन ठूला ठूलाको क्षमता राख्छन् । पार्टटाइम बलरमा उनले लेगस्पिनर र अफ स्पिन दुबै गर्दछन् ।

गत जुलाईमा उनले पाकिस्तानविरुद्ध पहिलो टि२० आई खेलमा पाँचौं नम्बरमा ब्याटिङ गर्दै ४३ बलमा ६ चौका र ९ छक्कासहित १ सय ३ रनको उत्कृष्ट इनिङ खेलेका थिए । टि२० विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनी मध्यक्रमका भरपर्दा ब्याटर हुन् । विष्फोटक ब्याटिङ शैली र बलिङमा भेराइटी हँुदा उनलाई फ्रेन्चाइज लिगले पैसाको वर्षा गराउन सक्छन् । उनले १ करोड न्यूनतम मूल्य तोकेका छन् ।

३. श्रेयस ऐर (भारत)

श्रेयस ऐर भारतीय उत्कृष्ट मध्यक्रमका ब्याटर हुन् । ऐरले एक फ्रेन्चाइज टोलीको कप्तानी गर्ने उच्च सम्भावना छ । उनीसँग नेतृत्वको राम्रो अनुभव र क्षमता छ । ऐरको कप्तानीमा दिल्ली क्यापिटल्स २०२० मा पहिलो पटक फाइनलमा पुगेको थियो । २०१८ मा गौतम गम्भीरले कप्तानी छाडेपछि दिल्लीले ऐरलाई कप्तानी दिएको थियो ।

घरेलु क्रिकेटमा मुम्बईको नेतृत्व गर्ने गर्दछन् । ऐरले मध्यक्रममा जिम्मेवारीका साथ परिपक्क प्रदर्शन गर्दछन् । आफ्नो उत्कृष्ट प्रदर्शनमा टोलीलाई राम्रो योगफलमा पुर्याउन सक्छन् । २०२१ को सुरुवातमा चोटका कारण आइपिएल गुमाएपछि दिल्लीको नेतृत्व विकेटकिपर ऋषभ पन्तले गरेका थिए । १० टोलीलाईनै मध्यक्रमका एक भरपर्दो ब्याटर आवश्यक पर्दछ । सबै टोलीको नजर ऐरमाथि हुनेछ ।

पन्जाब, बेंगलोर र कोलकता कप्तानको रुपमा उनलाई भित्र्याउन चाहन्छन् । चेन्नईपनि धोनीपछिको कप्तानको रुपमा हेर्न सक्छ । मध्यक्रमका एक भरपर्दा ब्याटर र कप्तानी गुण हुँदा ऐर महँगो मूल्यमा विक्ने देखिन्छ । २०१५ देखि दिल्लीबाट अइपिएल खेल्दै आएका ऐरले ८७ खेलमा १६ अर्धशतक सहित २ हजार ३ सय ७५ रन बनाएका छन् । ऐरले न्यूनतम मूल्य २ करोड राखेका छन् ।

२. डेविड वार्नर (अष्ट्रेलिया)

अष्ट्रेलिया बायाँ हाते ओपनर डेविड वार्नर वर्तमान समयका एक उत्कृष्ट ओपनर हुन् । २००९ देखिनै आइपिएल खेल्दै आएका वार्नरले २०१५ देखि २०२१ सम्म सनराइजर्स हैदराबादको नेतृत्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । वार्नरको कप्तानीमा २०१६ मा हैदराबादले उपाधि जितेको थियो । आइपिएलमा तीन ओरेन्ज क्याप जित्ने वार्नर एक्लो खेलाडी हुन् ।

वार्नरले २०१५, २०१७ र २०१९ मा सर्वाधिक रनका साथ ओरेन्ज क्याप जितेका थिए । वार्नर लयमा आएपछि विशाल इनिङ खेल्ने गर्दछन् । आक्रामक सुरुवाता दिलाउछन् । वार्नर एक्लै खेल जिताउन सक्ने आक्रामक ब्याटर हुन् । वार्नरले १ सय ५० आइपिएल खेलमा ४ शतक र ५० अर्धशतक सहित कुल ५ हजार ४ सय ४९ रन बनाएका छन् । आइपिएल इतिहासकै सर्वाधिक रन बनाउने ब्याटरमा पाँचौं स्थानमा छन् । विदेशीतर्फ शीर्षस्थानमा छन् ।

२०२१ मा वार्नरको प्रदर्शन सम्झन लायक रहेन । त्यसपछि वार्नरलाई हटाउँदै केन विलियम्सनलाई कप्तानी दिएको थियो । त्यसैको कारण वार्नरले हैदराबादसँगको यात्रा अन्त्य गर्दै नयाँ टोली जाने निर्णय लिएका हुन् । हैदराबादमा वार्नरले १२ करोड ५० लाख भारु पारिश्रमिक पाउँदै आएका थिए । वार्नर लयमा फर्किएका छन् ।

कमजोर मानिएको अष्ट्रेलियालाई टि२० विश्वकप २०२१ को उपाधि जिताउन वार्नरले प्लेयर अफ द टुनामेन्ट प्रदर्शन गरेक थिए । सबै फ्रेन्चाइज टोली वार्नरलाई भित्र्याउन चाहन्छन् । विशेषगरि कप्तानको खोजीमा रहेका फ्रेन्चाइज टोलीहरुमा वार्नर पहिलो रोजाईमा हुनेछन् । वार्नरले २ करोड भारु न्यूनतम मूल्य तोकेका छन् ।

१. कागिसो रबाडा (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिका तीव्र गतिका कागिसो रबाडा आइपिल अक्सनमा सर्वाधिक महँगो मूल्यमा विक्न सक्ने सम्भावित खेलाडी हुन् । रबाडा तीव्र गति, योर्कर र म्याच विनर बलर हुन् । रबाडाले आइपिएलमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । दिल्लीले सबैलाई आश्चर्य पार्दै रबाडालाई फुकुवा गरेको थियो ।

रबाडा लगातार १ सय ५० प्रतिघण्टा किलोमिटरको रफ्तारमा बलिङ गर्नसक्ने खुबी भएका खेलाडी हुन् । रबाडा डेथ ओभरका विश्वकै घातक बलरमा पर्दछन् । डेथ ओभरमात्र होईन नयाँ बल र मध्यक्रममा पनि त्यतिनै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । २०२० मा दिल्लीलाई पहिलो पटक फाइनलमा पुर्याउन रबाडाले १७ खेलमा ३० विकेट लिँदै पर्पल क्याप जितेका थिए ।

rabada

रबाडाले २०१९ मा १२ खेलमा २५ विकेट लिँदै सानदार प्रदर्शन गरे । दिल्लीले २०१८ मा ४ करोड २० लाखमा अनुबन्ध गरेको थियो । सबै फ्रेन्चाइज टोली रबाडालाई लिन खोज्नेछन् । किनभने उनी अक्सनमा उपलब्ध मध्यका सर्वोत्कृष्ट तीव्र गतिका बलर हुन् । तल्लोक्रममा ठूला सटको क्षमता पनि राख्छन् । तल्लोक्रममा ब्याटिङमा पनि योगदान दिनसक्छन् ।

रबाडा आफ्नो उत्कृष्ट बलिङमा जित सहज बनाउन सक्ने खुबी भएका खेलाडी हुन् । प्रतिस्पर्धा उच्च हुँदा मूल्य निकै महँगो पाउन सक्छन् । रबाडाले अक्सनमा आफ्नो न्यूनतम मूल्य २ करोड भारु राखेका छन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.