default_image

4 years ago

February 3, 2022

आइपिएल अक्सन : यी हुन् एसोसिएट राष्ट्रका ७ खेलाडी

217 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा हुँदैछ । विश्वभरका ५ सय ९० खेलाडीबाट १० फ्रेन्चाइज टोलीले आफ्नो पूर्ण टोली निर्माण गर्ने छन् । ३ सय ७० भारतीय र २ सय २० विदेशी खेलाडी छन् ।

एसोसिएट देशबाट ७ खेलाडीले मेगा अक्सनको लागि छनोट भएका छन् । एक फ्रेन्चाइज टोलीमा बढीमा २५ खेलाडी राख्न पाइन्छ । त्यसमा ८ भन्दा बढी विदेशी खेलाडी राख्न पाइदैन । एसोसिएट खेलाडीलाई आइपिएल खेल्नु सबैभन्दा ठूलो सपना हो । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सहित ४ एसोसिएट देशबाट ७ खेलाडी अक्सनका लागि छनोट भएका छन् । ७ मध्य दुई खेलाडीले आइपिएल खेलिसकेका छन् । चार खेलाडी पहिलो पटक आइपिएलको हिस्सा हुन खोज्नेछन् ।

यसअघि एसोसिएटबाट कुल ४१ खेलाडीले नाम दर्ता गराएपनि ७ खेलाडीमात्र सर्ट लिष्टमा परेका हुन् । नाम दर्ता नेपालबाट १५, अमेरिकाबाट १४, नामिबियाबाट ५, ओमानबाट ३, भुटान, नेदरल्यान्ड्स, स्कटल्यान्ड र युएईबाट १–१ खेलाडीले नाम दर्ता गराएका थिए । सर्टलिष्टमा भने स्कटल्यान्डबाट दुई खेलाडी अटाएका छन् । दुई मध्य एक खेलाडी फ्रेन्चाइज टोलीको आग्रहमा राखिएको हो ।

नाम दर्ता गराउँदा छुटेका खेलाडी फ्रेन्चाइज टोली लिन चाहेको खण्डमा आग्रहमा राख्न सक्छन् । २०१८ मा सन्दीपलाई पनि दिल्लीको आग्रहमा पछि राखिएको थियो । त्यसैले दुई मध्य एक बिक्ने सम्भावना छ । अक्टोबर नोभेम्बरमा युएईमा भएको टि२० विश्वकपमा सानदार प्रदर्शन गर्ने स्कटल्यान्डबाट दुई र नामिबियाबाट तीन खेलाडी छन् ।

नेपाल र अमेरिकाबाट एक एक खेलाडी छन् । एसोसिएटबाट स्पिनरको रुपमा स्थान बनाउने सन्दीप मात्र हुन् । चार प्रमुख तीन गतिका बलर र दुई अलराउन्डरको रुपमा छन् । आइपिएल अक्सन २०२२ को मेगा अक्सनमा परेका ७ एसोसिएट खेलाडी र उनको बारे जानकारी यस प्रकार छ ।

७. सफ्यान शरिफ (स्कटल्यान्ड)

स्कटल्यान्डका तीव्र गतिका बलर सफ्यान शरिफले आइपिएलमा न्यूनतम मूल्य २० लाखमा राखेका छन् । ३० वर्षिय शरिफले टि२० विश्वकपमा स्कटल्यान्डलाई सुपर १२ सम्म पुर्याउन महत्त्वपूर्ण प्रदर्शन गरेका थिए ।

अनुशासित लाइन एण्ड लेन्थ उनको प्रमुख खुबी हो । योर्करसँगै तल्लोक्रममा ब्याटिङको क्षमता पनि राख्छन् । पहिलो चरणमा उनले ओमान र अफगानिस्तानविरुद्ध २–२ विकेट लिएका थिए । नामिबियाविरुद्ध १ विकेट लिए । टि२० विश्वकपको फाइनलसम्म पुगेको न्युजिल्यान्डविरुद्ध शरिफले सुपर १२ चरणमा ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिएका थिए ।

स्कटल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा उनले डर्याल मिचेललाई १३ रनमा एलबीडब्लू र कप्तान केन विलियम्सनलाई शून्यमा क्याच गराउँदै उत्कृष्ट प्रभाव छाडेका थिए । उनले स्कटल्यान्डबाट ४८ ओडिआई खेलमा ६८ र ५३ टि२० आईमा ६१ विकेट लिएका थिए । शरिफ तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता पनि राख्छन् ।

२०१८ को एकदिवसिय विश्वकप छनोटमा स्कटल्यान्डले वेस्टइन्डिजलाई १ सय ९८ रनमा अल आउट गर्न शरिफले ९ ओभरमा १ मेडन सहित २७ रन खर्चेर ३ विकेट लिएका थिए । उनले विश्व क्रिकेटका विष्फोटक ब्याटर क्रिस गेललाई गोल्डेन डक, शाई होपलाई डक र रोभम्यान पावेललाई १५ रनमा बोल्ड गर्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।

६. जेजे स्मिट (नामिबिया)

अलराउन्डर स्मिट नामिबियाका प्रमुख खेलाडी हुन् । नामिबियालाई पहिलो पटक टि२० विश्वकपमा पुर्याउन स्मिटले उत्कृष्ट अलराउन्ड योगदान दिएका थिए । स्मिटले मध्यगतिमा बलिङ गर्नुको साथै तल्लोक्रममा आक्रामक सट र राम्रो ब्याटिङको क्षमता राख्छन् ।

स्मिटले अक्सनमा २० लाख भारु न्यूनतम मूल्य अक्सनमा राखेका छन् । गत नोभेम्बरमा युएईसँगको पहिलो ओडिआई खेलमा स्मिटले कप्तानी गर्दै ५६ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । स्मिटसँग ग्लोबल टि२० क्यानडा खेलेको अनुभव छ । उनी विदेशी टि२० फ्रेन्चाइज लिग खेल्ने पहिलो नामिबिया खेलाडी समेत हुन् ।

५. रुबेन ट्रम्पलम्यान (नामिबिया)

नामिबियाले टि२० विश्वकप २०२१ मा सानदार प्रदर्शन गर्दा बायाँ हाते तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानको प्रदर्शन र योगदान निकै महत्वपूर्ण थियो । २४ वर्षिय रुबेनको गति र स्विङका लागि माहिर युवा बलर हुन् । उनले प्रतिघण्टा १ सय ४० माथिको तीव्र गतिमा बलिङ गर्न सक्छन् । पावर प्लेमा नयाँ बलका साथ स्विङका साथ विकेट लिने गर्दछन् ।

रुबेनले टि२० विश्वकपमा स्टकल्यान्डविरुद्ध पहिलो ओभरमै तीन विकेट लिँदै विश्व कीर्तिमान राखेका थिए । टि२० आईको पहिलो ओभरमै तीन विकेट लिने उनी पहिलो खेलाडी हुन् । उनले आफ्नो स्विङ र गतिमा विपक्ष ब्याटरलाई धरासयी बनाउने गर्दछन् । नामिबियाले स्कटल्यान्डलाई हराउन उनले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

विश्वस्तरिय ब्याटरले भरिभराउ भारत, पाकिस्तान र न्युजिल्यान्डविरुद्ध विकेटलिन नसकेपनि उनले पावर प्लेमा गरेको उत्कृष्ट प्रदर्शन तारिफ योग्य थियो । ओमानविरुद्ध गत नोभेम्बरमा दोस्रो ओडिआईमा ५ विकेट लिएका थिए । पावर प्लेमा उत्कृष्ट बलिङ गर्ने खुबी राख्ने उनलाई मूल्य लाग्न सक्ने सम्भावना छ ।

४. ब्राड ह्वील (स्कटल्यान्ड)

तीव्र गतिका बलर ब्राड ह्वीलको उत्कृष्ट बलिङको सहयोगमा स्कटल्यान्डले टि२० विश्वकपमा बंगलादेशलाई ६ रनले हराउँदै सुपर १२ को यात्रा सहज बनाएको थियो । ह्वीलले पावर प्ले र डेथ ओभर दुबैमा उत्कृष्ट प्रदर्शन गर्दछन् ।

२५ वर्षिय ह्वील सटिक योर्करका लागि माहिर छन् । बंगलादेशविरुद्ध उनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिएका थिए । न्युजिल्यान्ड र भारतविरुद्ध पनि राम्रो प्रभाव छाडेका थिए । उनले इंग्ल्यान्डको चर्चित घरेलु प्रतियोगिता काउन्टी र द हन्ड्रेड क्रिकेट लिग खेलिसकेका छन् । ह्वीलले अक्सनमा आफ्नो न्यूनतम मूल्य ५० लाख भारु तोकेका छन् । ह्वील र शरिफ मध्य एक अक्सनमा विक्ने सम्भावना उच्च देखिन्छ ।

३. अलि खान (अमेरिका)

अमेरिका तीव्र गतिका बलर अलि खान आइपिएल बाहेक अन्य ठूला फ्रेन्चाइज लिग खेलिसकेका छन् । खानले अक्सनमा ४० लाख भारु न्यूनतम मूल्य तोकेका छन् । अलिले क्यारेवियन प्रिमियर लिग, ग्लोबल टि२० क्यानडा, टि१० लिग, पाकिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग ठूला लिग खेलिसकेका छन् ।

२०२० मा कोलकता नाइट राइर्डसले ह्यारी गर्नी चोटका कारण बाहिरिएपछि अलि खानलाई उनको स्थानमा अनुबन्ध गरेको थियो । तर खेल्ने मौका भने पाएनन् । अलि डेथ ओभर बलरको रुपमा चिनिन्छन् ।

२. सन्दीप लामिछाने (नेपाल)

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई २०१८ मा दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो । तीन सिजन दिल्लीमा रहँदै सन्दीपले ९ खेलमा १३ विकेट लिएका थिए । सन्दीपले २०१८ मा तीन खेलमा ५ र २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए ।

२०२० मा पुरै बेन्चमा बसेका सन्दीपलाई २०२१ मा दिल्लीले फुकुवा गरेको थियो । २०२१ मा न्यूनतम ४० लाख राखेपनि कुनैपनि टोलीले किनेनन् । अहिले पनि सन्दीपले ४० लाख भारु न्यूनतम मूल्य राखेका छन् । सन्दीपले आइपिएल देखि बिग ब्यास लिग सम्म खेलेका छन् । सन्दीपको सबै फ्रेन्चाइज लिगमा प्रदर्शन औसत छ । लेगस्पिन र गुगली सन्दीपको प्रमुख बलिङ हतियार हो । सन्दीपले नेपालबाट १६ ओेडिआईमा ४१ र २६ टि२० आई खेलमा ४७ विकेट लिएका छन् ।

१. डेविड विसे (नामिबिया)

२०२१ मा नामिबियाले डेब्यू टि२० विश्वकपमा सानदार प्रदर्शन गर्दा त्यसका नायक डेविड विसे थिए । दक्षिण अफ्रिका पूर्व अलराउन्डर समेत रहेका उनले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे । उनी तीव्र गति र तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । दक्षिण अफ्रिका छाडेर यो वर्षदेखि नामिबियाबाट विश्वकप खेलेका डेविडले आइपिएल खेलिसकेका छन् । अन्य फ्रेन्चाइज लिगमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

उनले न्यूनतम मूल्य ५० लाख भारु राखेका छन् । ३६ वर्षिय अग्ला कदका डेविडले २०१५ मा बेंगलोरबाट मुम्बईविरुद्ध डेब्यू खेलमै ४ विकेट लिँदै सनसनी मच्चाएका थिए । ब्याटिङमा उनले २५ बलमा ६ चौका र २ छक्कासहित ४७ रन जोडेपनि बेंगलोर १८ रनले पराजित भएको थियो । १५ आइपिएल खेलमा १६ विकेट लिएका छन् । २०१६ पछि भने उनी आइपिएल खेलेका छैनन् ।

आयरल्यान्डलाई ८ विकेटले हराउँदै सुपर १२ मा स्थान बनाउन उनले २ विकेट लिनुको साथै १४ बलमा १ चौका र २ छक्कासहित २८ रन जोडेका थिए । नेदरल्यान्ड्सविरुद्ध ६६ रनको अविजित इनिङ खेल्नुको साथै १ विकेटका साथ प्लेयर अफ द म्याच चुनिए । पाकिस्तानविरुद्ध उनले ४३ रनको अविजित इनिङ खेलेका थिए ।

आइसिसीको टि२० विश्वकपको उत्कृष्ट ११ खेलाडीमा डेविड विसे थिए । उनले विश्वकपमा ८ खेलमा २ सय २७ रन बनाउनुको साथै ६ विकेट लिएका थिए । विसेले हाल लाहोर कलन्दर्सबाट पिएसएल खेलि राखेका छन् । अनुभवी र राम्रो लयमा रहेका विसेले आइपिएलमा पाँच वर्षपछि विक्न सक्छन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.