4 years ago
February 5, 2022
भुपेन्द्र जिसी, काठमाडौं
नेपाली क्रिकेटको सबैभन्दा ठूलो लक्ष्य अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने छ । ओमानमा अर्को महिना हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को फाइनलमा पुग्ने दुई टोली अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुनेछन् ।

नेपाल सन् २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्न चाहन्छ । यसपटक नेपाललाई विश्वकप पुग्ने स्वर्णीम अवसर हो । नेपालको परिपेक्षमा टि२० विश्वकप ग्लोबल छनोट आइसिसीले इतिहासकै सहज शैलीमा गराउँदै छ । तीन खेलमा जित निकाल्न सकेमात्र विश्वकपमा स्थान बनाउन सक्ने छनोट प्रक्रिया छ । यति सहज शैलीमा टि२० ग्लोबल छनोट यसअघि कहिल्यै भएको थिएन । ग्लोबल छनोट ए मा नेपाल, ओमान, आयरल्यान्ड, युएई, जमर्नी, बहराईन, क्यानडा र फिलिपिन्स छन् ।
यस अन्तर्गत नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी मा छन् । समूह ए मा आयरल्यान्ड, बहराइन, जमर्नी र युएई छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । आयरल्यान्ड, ओमान, नेपाल र युएई प्रमुख दाबेदार हुन् । क्यानडा सबैलाई सरप्राइज दिँदै विश्वकपमा पुग्ने सोचमा हुनेछ । अन्य तीन टोली तुलनात्मक रुपमा धेरै कमजोर छन् ।
सुधार भएको आक्रामक ब्याटिङ र युवा खेलाडीको बाहुल्यताले नेपालको विश्वकप आशा र सम्भावना उच्च बनाएको छ । तर निश्चित योजना अनुसार लगानी र तयारी नगर्दा विश्वकप छनोटमा नेपालका केहि कमजोरी पनि छन् । उक्त कमजोरीले विश्वकप सपनामा निराशा ल्याउन सक्छ । टि२० विश्वकप छनोटमा नेपाली क्रिकेटका प्रमुख पाँच कमजोरी यस प्रकार छन् ।
५. कमजोर तयारी
नेपालले टि२० विश्वकप तयारीमा डेढ महिना मात्र खर्चेको छ । पुष १९ देखि पहिलो चरणमा ३० खेलाडी बोलाएर बन्द प्रशिक्षण थालेको थियो । पुष २६ देखि प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सुरु भयो । ६ दिनको अभ्यासपछि १४ खेलाडीलाई राखेर फुकुवा गरेको थियो । प्रधानमन्त्री कपको समयमा पुबुदुले १४ खेलाडीलाई प्रशिक्षण दिएका थिए ।

माघ पहिलो साता नेपालले बन्द प्रशिक्षण अन्तिम टोली बोलाएर पुन: प्रशिक्षण सुरु गरेको थियो । नेपालले माघ २८ मा ओमान, माघ २९ मा युएई र फागुन २ मा आयरल्यान्डसँग खेल्नेछ । यी तीन खेलसँगै नेपालको विश्वकप टि२० तयारी पूरा हुनेछ । नेपालले विश्वकप तयारीको लागि ४२ दिन खर्चेको छ ।
नेपालले अन्तर्राष्ट्रिय टि२० नखेलेको झन्डै १० महिना भइसकेको छ । क्यानले टि२० विश्वकप तयारीलाई खासै प्राथमिकतामा राखेन । सिधै बन्द प्रशिक्षण बोलाएको हुँदा कुनै खेलाडीको प्रदर्शन त्यस समयमा अपेक्षा अनुसार नहुँदा पनि अन्य विकल्प हुने छैन ।
नेपालले लामो समय तयारीमा खर्चिदै निरन्तर आफू भन्दा उच्च स्तरका देशसँग सिरिज खेल्नुपर्ने थियो । कमजोरी पत्ता लगाउन साना नभएर ठूला टोलीसँग खेल्नुपर्छ । जितमा भन्दा हारमा बढी कमजोरी देखिन्छ । अन्य टोलीको तयारी राम्रो छ । ओमानले गत अक्टोबरमा घरेलु मैदानमा टि२० विश्वकपसँगै निरन्तर अन्तर्राष्ट्रिय खेलमा व्यस्त हुँदै आएको छ ।
ओमानको टोलीबाट भारत र पाकिस्तानी खेलाडीको बाहुल्यता छ । क्यानडाले गत नोभेम्बरमा अमेरिका क्षेत्र छनोट खेलेको थियो । क्यानडाका खेलाडी टि२० क्यानडा र क्वारेवियन टि२० फ्रेन्चाइज लिगबाट निखारिएका छन् । टेस्ट टोली तथा उपाधिको प्रमुख दाबेदार आयरल्यान्डले ठूला देशसँग निरन्तर खेल्दै आएको छ । युएईको घरेलु संरचना धेरै राम्रो छ ।
४. कप्तानमा अन्तर्राष्ट्रिय नेतृत्व अनुभवको कमी

क्यानले अनुशासन कारण देखाउँदै कारवाही गर्ने क्रममा मंसिर २९ मा ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै सन्दीपलाई नियुक्त गरेको थियो । सन्दीपसँग विश्वकप अघि तीन अन्तर्राष्ट्रिय खेलको कप्तानीको अनुभव हुनेछ । क्रिकेटमा अनुभवले निकै महत्वपूर्ण अर्थ राख्छ । कठिन समयमा कप्तानले सहि निर्णय लिन नसकेमा जितेको खेल हारमा परिणत हुनसक्छ ।
सन्दीपले फ्रेन्चाइज लिग, घरेलु क्रिकेट र यू–१९ टोलीको नेतृत्व सम्हालेका छन् । तर देश र घरेलुका नेतृत्व धेरै फरक छ । सन्दीपले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग निरन्तर खेल्दै आएका छन् । तर अरुको कप्तानीमा खेल्नु र कप्तानी जिम्मेवारीका साथ खेल्नुमा धेरै अन्तर छ ।
कठिन समयमा फिल्डिङ, बलर परिवर्तन, ब्याटिङमा कसलाई पठाउने अनुभवमा निर्भर रहन्छ । कठिन चुनौतीको समना गरिसकेकालाई अनुभवले धेरै सिकाउछ । कुनै खेलमा कठिन अवस्था आएमा त्यो सामना गर्ने सन्दीपसँग अनुभव हुनेछैन । कप्तान अनुसार रणनीति फरक हुन्छ । कप्तान अनुसार आ–आफ्नो रणनीति हुन्छ । खेलाडीले पनि खेल्ने शैलीमा केहि परिवर्तन गर्नुपर्ने हुनसक्छ । त्यसको लागि खेलाडीलाई केहि समय चाहिन्छ । बिग ब्यास लिग र कोरोनाले गर्दा बन्द प्रशिक्षणमा पनि जोडिन पाएका छैनन् ।
३. कमजोर बलिङ आक्रामण

बलिङ नेपालको इतिहास देखिनै प्रमुख हतियार हो । पछिल्लो समय नेपालको बलिङ विरासतमा ओरालो लागेको छ । सन्दीपबाहेक हेर्दा बलिङ धारिलो देखिदैन । सन्दीप सधैं चल्छन् र जिताउँछन् भन्ने हुँदैन । उनी नचल्दा थप समस्यामा पर्नसक्छ । प्रमुख स्पिनरमा सन्दीप र साहब आलम हुन् ।
साहबले गत वैशाखमा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए । उक्त त्रिकोणात्मक सिरिजमा ३ खेलमा २ विकेट लिए । कमजोर प्रदर्शनपछि उनलाई बेन्चमा राख्दै कमलसिंह ऐरीलाई डेब्यू दिएको थियो । स्पिनरमा शरद भेषावकर, दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल पार्टटाइम स्पिनर हुन् । साहबले खराब प्रदर्शन गर्दा नेपालसँग अर्को विकल्प हुनेछैन । प्रमुख बलर जस्तो पार्टटाइम हुँदैन । ओमान भ्रमणमा तीव्र गतिका बलरमा कमलसिंह ऐरी, जितेन्द्र मुखिया, करण केसी र अभिनाश बोहरा छन् ।
कमलले २ खेलमा ५ विकेट लिएका छन् । अभिनाशले ४ ओभरमा २ विकेट लिएका थिए । जितेन्द्र २०१५ पछि नेपाली टोलीबाट पहिलो पटक खेल्दै छन् । अभिनाश डेथ ओभर स्पेलिष्ट हुन् । डेथ ओभरमा अभिनाशलाई साथ दिने राम्रो बलर देखिदैन । अभिनाश वा जितेन्द्रको प्रदर्शन खराब रहेमा अर्को विकल्प छैन । करण र कमल पावर प्लेका लागि चिनिन्छन् । जितेन्द्र लामो समयपछि फर्किएका छन् । त्यसैले यसै भन्न सकिदैन । सन्दीप बाहेक अन्य म्याच विनर बलरको कमी देखिन्छ ।
नेदरल्यान्ड्सले नेपालले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य १९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । ओमानले आइसिसी विश्वकप लिग २ अन्तर्गत टियु मैदानमा २०२० फेब्रुअरीमा नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य ४७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । टियुका यी दुई नतिजा खस्किदो बलिङको उदाहरण हुन् ।
२. दायाँ बायाँ (दाहिने र देब्रे) हाते सन्तुलनको कमी

आधुनिक क्रिकेटमा दायाँ बायाँ हाते ब्याटर र बलरले धेरै फरक पारेको छ । नेपालसँग बायाँ हाते ब्याटरको रुपमा कुशल मल्लमात्र छन् । उनको ब्याटिङ रोल स्पष्ट छैन । उनी तल्लोक्रममा खेल्ने निश्चित छ । शीर्ष पाँचमा कुनैपनि बायाँ हाते ब्याटर छैनन् । आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, शरद भेषावकर, लोकेश बम सबै दायाँ हाते ब्याटर हुन् ।
ओमानसँग बायाँ हाते तीव्र गतिका बलर बिलाल खान र स्पिनर जिशान मकसुद जस्ता स्टार खेलाडी छन् । क्यानडामा पाकिस्तानी मुलका बायाँ हाते तीव्र गतिका बलर कलिम सना र ऋषिभ जोशी छन् । स्निपर साद बिन जफर पनि बायाँ हाते बलर हुन् । यदि सेमिफाइनलमा आयरल्यान्डसँग खेल्नु पर्ने बायाँ हाते तीव्र गतिका बलर जोश लिटिल छन् । दायाँ हाते नेपाली ब्याटरलाई बायाँ हाते बलरको सामना गर्न कठिन पर्नसक्छ ।
नेपालसँग तीव्र गतिका बलर बायाँ हाते बलर छैनन् । कुशल र साहब बायाँ हाते बलर हुन् । रणनीति अनुसार साहबलाई प्लेइङ ११ मा पर्ननै मुश्किल देखिन्छ । कुशलले पार्टटाइमा एक दुई ओभर गर्नेछन् । ओमान र क्यानडा दुवैमा बायाँ हाते ब्याटर छन् । जसले गर्दा नेपालको दायाँ र बायाँ हाते सन्तुलनको कमी छ ।
भारतको टि२० विश्वकपमा पाकिस्तान र न्युजिल्यान्डसँग लज्जास्पद हारको एक कारण यो थियो । भारतले शीर्षक्रममा सुरुवाती दुई खेलमा बायाँ हाते ब्याटर ईशान किशनलाई खेलाएन । पन्त र जडेजा तल्लोक्रममा थिए । त्यसले भरपूर्ण फाइदा शाहिन शाह अफ्रिदी र न्युजिल्यान्डका ट्रेन्ट बोल्टले उठाए ।
बलिङमा तीव्र गतिका बलर नहुँदा बुमराह, शामी र भुवनेश्वरको प्रदर्शनमा समेत असर परेको थियो । दायाँ बायाँ हाते बलर र ब्याटरको सन्तुलन टि२० विश्वकपबाट थप प्रष्ट हुन्छ । अष्ट्रेलिया टि२० विश्वकप च्याम्पियन बन्यो । त्यसमा बायाँ हाते ब्याटर डेविड वार्नर प्लेयर अफ द टुनामेन्ट चुनिए ।
१. अन्तर्राष्ट्रिय एक्सपोजरको कमी

नेपालले टि२० विश्वकप खेल्ने आशानै पछिल्लो समय युवा खेलाडीको प्रदर्शन हो । कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, विवेक यादव, कमल, अभिनाश , कुशल मल्ल र साहब लगायतका युवा खेलाडीको प्रदर्शनमा नतिज निर्भर रहनेछ । कुशल मल्ल र अभिनाश बाहेक अन्यले ५ भन्दामाथि टि२० आई खेलेका छैनन् ।
भुर्तेलले ५ टि२० आई खेलमा २ सय ७८ र आसिफले समान खेलमा १ सय ४७ बनाएका छन् । साहबले ३ र कमलले २ खेल खेलेका छन् । लोकेश र विवेक टोलीमै पहिलो पटक परेका हुन् । कुशल मल्लले १० टि२० आई खेलेका छन् । कुशल, आसिफ, साहब र कमलले नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक सिरिज खेलेका थिए । नेदरल्यान्ड्सले दोस्रो रोजाईको टोली पठाएको थियो भने मलेसिया नेपाल भन्दा कमजोर टोली हो । घरेलु मैदान र विदेशी भूमिको प्रर्दशन त्यसै पनि फरक पर्छ ।
दबाब र खराब समयमा युवा खेलाडी सम्हालिन कठिन पर्छ । किनभने अनुभवको धेरै कमी छ । दबाबको खेलमा क्षमता नभएर अनुभवको आवश्यकता पर्दछ । खेलाडीसँग गल्ती गरेपछि सिक्ने समय छैन । खेलाडीलाई गल्ती सुधार गर्न धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय खेलको अनुभव दिनुपर्छ ।
खेलाडीले सिक्ने नै गल्तीबाट हो । तर गल्ती गर्दा विश्वकप सम्भावनानै सकिनेछ । अनुभवको कमी टि२० विश्वकपमा भारतका स्पिनर वरुण चक्रवर्ती र ब्याटर सूर्यकुमार यादव राम्रा उदाहरण हुन् । असोजमा नेपाली टोलीमा परेका गुलशन झा अर्का उदाहरण हुन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]