default_image

4 years ago

May 30, 2022

उद्वेग कविताको विश्वकप र विदेशी लिग खेल्ने सपना

517 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

कविता कुँवर नेपाली महिला क्रिकेटमा देखिएकी सम्भवत हालसम्मकै सर्वाधिक तीव्र गतिमा बलिङ गर्ने क्षमता भएकी खेलाडी हुन् । अघिल्लो साता नेपाली महिला टोलीले युगान्डासँग पाँच महिला टि२० आई सिरिज खेल्दा कविताले आफ्नो गतिको वेगमा सानदार प्रदर्शन गरिन् । कविता सिरिजमा ७ विकेट लिँदै सर्वाधिक विकेट लिने सूचिमा दोस्रो स्थानमा रहिन् ।

तीव्र गती (उद्वेग) कविताको धेरै खेलाडीलाई चाल पाउन कठिन पर्छ । सुरुवाती दुवै खेलमा कविताले पहिलो ओभरमै विकेट लिएकी थिइन् । उनको जस्तो बलिङ गती एसोसियट महिला क्रिकेटरमा कमै पाइन्छ । कविता उमेरले भर्खर १८ वर्ष हुँदा उनको गती र बलिङ स्तर आगमी दिनमा बढ्ने सम्भावना छ ।

निरन्तर राम्रो प्रदर्शनकै आधारमा कलिलो उमेरमै उनले सिनियर टोलीमा पहिलो रोजाईमा स्थान बनाउन सफल भएकी छिन् । नेपाली खेलाडीको फिल्डिङ र फिटनेसको निकै आलोचना हुँदा कविता भने त्यो सुचीमा टाढा थिइन् ।

कविता यो सबै मिहिनेतले सम्भव भएको बताउँछिन् । ‘मिहिनेत गरेपछि प्रदर्शन भइहाल्छ । मैले धेरै मिहिनेत गरेर यहाँसम्म आएको छु’, कविताले भनिन् ।

कविताको उत्कृष्ट प्रदर्शनको सहयोगमा सुदूरपश्चिम प्रदेशले दुवै संस्करणको ललितपुर मेयर्स वुमन्स टि२० च्याम्पियनसिपमा फाइनल खेल खेल्यो । ‘घरेलु क्रिकेटमा धेरैलाई चासो हुन्छ । म जब सम्म टोलीमा छु । त्यो समय सम्म राम्रो गराउन चाहन्छु । अन्तर्राष्ट्रियमा पनि अब हामी युवाले अझ धेरै जिम्मेवारी लिनुपर्ने समय आएको छ’, उनले भनिन् ।

महिला टोलीको सिनियर टोलीमा परेका युवा खेलाडीको प्रदर्शन पनि अपेक्षा अनुसार छैन । तर कविता २०१९ मा डेब्यूपछि लगातार टोलीमा छिन् । कविता नेपालसँगै विदेशी लिग पनि खेल्ने सपना देखेकी छिन् । ‘नेपाली टोली त छँदै छ । मैले विदेशी लिगहरु पनि खेल्ने सोचेको छु । विदेशी खेलाडीको पेश र लाइनमा धेरै ध्यान दिनुपर्छ । मैले त्यसै अनुसार ध्यान दिएको छु’, आफ्नो सपना सुनाइन् ।

कविताले सिनियर टोलीमा ओपनिङ देखि फिनिसर सम्म ब्याटिङ गरेकी छिन् । सन् २०१९ मा कविताले धनगढीमा भएको मुख्यमन्त्री कपमा गण्डकी प्रदेशविरुद्ध आक्रामक शतक प्रहार गरेकी थिइन् । त्यसै वर्ष वुमन्स च्याम्पियनसिप टि२० लिग (डब्लूसिएल) मा पोखरा पल्टनबाट ललितपुर फाल्कन्सविरुद्ध उत्कृष्ट अर्धशतक जोडिन् ।

घरेलु क्रिकेटमा अवसर पाएको समयमा ब्याटिङमा पनि अब्बल सावित गरेकी छिन् । ब्याटिङमा भूमिका भने स्थिर छैन । ‘सिनियर टोलीमा ब्याटिङ पाउन गाह्रो छ । किनभने सिनियर दिदीहरु नै म भन्दा राम्रो खेल्नुहुन्छ । मैले मौका पाएको बेला देखाउने हो । विस्तारै ब्याटिङक्रममा उक्लन खोज्ने छु’, ब्याटिङ क्रमबारे भनिन् ।

कविताले सिनियर र घरेलु क्रिकेट दुवैमा राम्रो जोडी पाउन सकेकी छैनिन् । त्यसको असर व्यक्तिगत प्रदर्शनमा देखिन्छ । राम्रो जोडी नहुँदा उनको प्रदर्शनमा केहि असर परेको देखिन्छ । कविताले पनि त्यो अनुभव गरेकी छिन् । ‘आफूले राम्रो गर्यो । तर अर्को एन्डबाट रन खर्चियो भने पक्कै गाह्रो हुन्छ । अर्को तर्फबाट पनि साथ दिनुपर्छ । मैले डट खेलाएँ भने अर्कोले विकेट लिन्छ । अर्कोले रन दियो भने विपक्षीलाई दबाब हुँदैन र खुलेर खेल्न पाउँछन् । साथ नपाउँदा असर पर्छ नै’, उनले भनिन् ।

नेपालका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरी कविता हाल उत्कृष्ट बलर रहेको बताउँछन् । ‘कविता नेपालमा प्रशिक्षणमा रहेको सबैभन्दा राम्रो बलर हो । अरु दुई वर्ष मिहिनेत गर्यो भने पेश पनि बढ्छ । आगमी दिनमा नेपालबाट विदेशी खेलाडी खेल्ने पहिलो रोजाईको खेलाडी हुनसक्छ’, चौधरीले भने ।

‘उनमा ब्याटिङको पनि क्षमता छ । उनले सिएमकपमा शतक पनि हानेकी थिइन् । राम्रो क्षमता भएको एसोसिएट स्तरको खेलाडी हो । उसलाई ट्रेनिङहरु अझै चाहिन्छ । हामीले भारतमा पठाउन पायौं भने झनै राम्रो हुन्छ’, चौधरीले भने ।

‘भविष्य राम्रो छ । फ्रेयर ब्रेक जस्ता प्रतियोगिता भएमा नेपालको लागि पहिलो रोजाईको खेलाडी हुनेछ । मैले एसोसिएट क्रिकेटलाई पछिल्लो समय हेर्दै आएको छु । उ भन्दा तीव्र गतिको बलर एसोसियट टोलीमध्य एसियामा नहोला’, उनले भने ।

कविताले सीताको कप्तानीमा डब्लुसीएल खेलेकी थिइन् । एपिएफको कप्तानी सम्हाल्दै आएकी नेपालकी सर्वाधिक अनुभवी अलराउन्डर सीता धेरै राम्रो गर्न सक्ने बलर भएको बताउँछिन् । ‘कविता एकदमै राम्रो खेलाडी हो । उ धेरै राम्रो हुनसक्छ । डब्लूसिएलमा पनि मैले पहिलो बलरमा रोजेको थिए । उसले अनुशासन र कडा मिहिनेत गरेर गयो भने धेरै राम्रो हुनसक्छ’, सीताले भनिन् ।

‘विभागमा त उसले अहिले पनि स्थान बनाउन सक्छ । म त अहिले विभागीय टोलीमा नआएको राम्रो देख्छु । घरमा आर्थिक समस्या छैन भने बाहिरबाट खेल्दा नै राम्रो हुन्छ जस्तो लाग्छ मलाई’, सीताले भनिन् ।

‘कविताले फास्ट बलिङ कोचको निर्देशनमा काम गर्ने हो भने अझ गती र परिपक्वता आउने थियो । ब्याटरहरुले चार्ज गर्न लाग्यो भने हडबडाउछ । नेपालमा भएको सबैभन्दा तीव्र गतिको बलर होला । परिपक्व हुँदा झनै राम्रो हुनेछ’, उनले भनिन् ।

को हुन् कविता कुँवर ?

कविता कुँवरको जन्म अछामको साँफेबगरमा भएको हो । बुबा गणेश र आमा पावर्ती कुँवरको तेस्रो सन्तानको रुपमा जन्मिएकी उनको बाल्यकाल काठमाडौंमा बित्यो । उनका दुई दिदी र एक भाइ छन् । बुबा नेपाल आर्मी हुँदा एक वर्षको उमेर मै काठमाडौं आएकी थिइन् ।

बाल्यकालमा कवितालाई घर परिवारबाट क्रिकेटमा लाग्न राम्रो साथ र सहयोग रह्यो । त्यसैले उनी सानैदेखि क्रिकेटमा लाग्न पाइन् । उनले क्रिकेट खेल्न सुरु गरेको ११–१२ वर्षको उमेर देखि हो । कविता ९–१० वर्षको हुँदा राजधानीबाट धनगढी फर्केका थिए । उनी आन्टी निता खत्रीको कारण क्रिकेटमा लाग्न बढी प्रेरित भएको बताउँछिन् । २०७३ मा भएको सातौं राष्ट्रिय खेलकुदपछि कविताले सबै घरेलु क्रिकेट खेल्दै आएकी छिन् ।

कविता २०१९ मा थाईल्यान्ड वुमन्स टि२० साम्स मार्फत नेपाली महिला क्रिकेटले डब्लूटि२० आईमा डेब्यू गर्दा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेकी थिइन् । कवितालाई डब्लूसिएलमा टोलीको खराब प्रदर्शन हालसम्मको सबै भन्दा दुःख लागेको क्षणमा पर्दछ । कविता सम्मिलित पोखरा पाँच टोली सम्मिलित प्रतियोगितामा चौथो स्थानमा रहँदै बाहिरिएको थियो ।

‘हामीले सुरु देखि हारेका थियौं । मैले अन्तिममा अर्धशतक हानेर कुनै काम भएन । त्यसैले खुसी पनि लागेन । किनकी टिम राम्रो थियो । सीता दिदी देखि सिनियर खेलाडी थियौं । ब्याक इन्जुरीले मेरो बलिङ पनि राम्रो हुन सकेको थिएन’, कविताले भनिन् ।

कविताको सपना नेपाललाई विश्वकप पुर्याउने देखि बिग ब्यास तथा महिला आइपिएल जस्ता लिग खेल्ने छ । त्यसको लागि उनले आफ्नो प्रदर्शनलाई अझैं निखारतमा ल्याउनुपर्छ । उनको गती र क्षमता देख्दा विदेशी लिगको ढोका टाढा देखिदैन । तीव्र गतिको बलर भएकाले कविताले फिटनेसमा ध्यान दिँदै चोटबाट बच्न भने आवश्यक देखिन्छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.