default_image

3 years ago

September 13, 2022

आर्मीको फरक मतले बागमती र एपिएफ बाहिरिए

667 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वर्षाले प्रभावित बनेको नवौं खेलकुद अन्तर्गत ३४ औं क्रिकेट प्रतियोगिताले हालकै खेल तालिका अनुसार निरन्तरता पाउने भएको छ ।

मंगलबार साँझ राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सहभागी टोलीका प्रशिक्षक, कप्तान र म्यानेजरबीचको वर्षाले प्रभावित प्रतियोगिताबारे छलफल गर्न बैठक बसेको थियो । बैठकमा त्रिभुवन आर्मी क्लबले फरक मत राखेपछि समूह बी बाट बागमती प्रदेश र नेपाल एपिएफ क्लब एक खेल पनि खेल्न नपाइ बाहिरिने भएका छन् ।

बैठकमा एनआरएनए नेपाल बाहेक अन्य सबै १० टोलीका प्रतिनिधिको उपस्थिति थियो । राखेप सदस्य सचिव टंकलाल घिसिङ बैठकमा उपस्थीति भने थिएनन् ।

आर्मी बाहेकका ९ टोलीले प्रतियोगिता मिति समायोजन गर्न सहमती देखाएको बुझिएको छ । तर आर्मीले भने आइसिसी र क्यानको नियम अनुसारनै प्रतियोगितालाई निरन्तरता दिन माग राखेको छ । यो सँगै प्रतियोगिता अहिलेकै तालिका अनुसार अघि बढ्ने भएको छ ।

‘आज बैठक भएको थियो । हाम्रो तर्फबाट कप्तान र म्यानेजर पठाएका थियौं । हामीले लगभग सबै खेल नभएको अवस्था र तीन टोलीले मैदान नै पस्न नपाइ बाहिरिनु परेको अवस्थामा यो प्रतियोगिता अर्थपूर्ण भएन, पुनर्विचार गरेर फेरि गरौं भन्ने कुरा भएको थियो’, बागमती प्रदेशका अध्यक्ष राजु बस्नेतले हाम्रो खेलकुदसँग भने ।

‘राखेप सदस्य सचिवले ११ वटै टोलीले मानेको खण्डमा हुन्छ भन्नु भएको थियो । एनआरएनएको प्रतिनिधि बैठकमा थिएनन् । १० वटा टोली मध्य ९ टोलीले मानेका थिए । तर नेपाल आर्मीले हामी मान्दैनौं भनेपछि जसरी प्रतियोगिता चलेको छ । त्यसरी नै लैजाने निर्णय भयो रे’, बस्नेतले हाम्रो खेलकुदसँग भने ।

‘हामी ९ वटा जिल्ला र क्लबले नेपाल सरकारको ठूलो खर्च भएको छ । खेलाडीले यस प्रतियोगिताको लागि धेरै मिहिनेत गरेका छन् । उनीहरुले खेल देखाउने ठाउँ पनि थियो । यसले गर्दा धेरै ठूलो घाटा लागेको छ । नेपाल सरकारको लगानी पनि पानीले बगाएको छ ।

यसरी हुँदैन, यसलाई व्यवस्थित तरिकाले लगेर जाउँ । नेपाल टि२० लिगले हुँदैन भने बरु त्यो भन्दा पछाडी गरौं । अलिकति भएपनि क्रिकेट खेलाडी क्रिकेटको विकास हुन्छ । सरकारको लगानी सहि ठाउँमा जान्छ भनेका थियौं । तर नेपाल आर्मीले नमानेको हुँदा अघि बढ्ने भयो,’ बस्नेतले भने ।

यता त्रिभुवन आर्मीको तर्फबाट कप्तान विनोद भण्डारी, प्रशिक्षक चन्द्र साउद र सेनानी हरिस चन्द बैठकमा गएका थिए । सेनानी हरिस चन्दले आइसिसीको नियम अनुसार नै अघि बढ्न माग गरेको बताए ।

‘हामीलाई प्रतियोगिता सार्न हुन्छ वा हुँदैन भनिएको थियो । हामीले हुँदैनौ भन्यौं । हामीले क्यान र आइसिसीको नियम अनुसार गर्न ठिक हुन्छ । भनेका थियौं । आर्मीले मान्यो वा मानेन भन्दापनि क्यानको नियम सबैले मान्नुपर्छ’, सेनानी चन्दले भने ।

‘आइसिसीको नियम मानौं भोली पर्सी अरुलाई पनि समस्या पर्छ । त्यही नियम अनुसार गएपछि सहज हुन्छ । हामी नियम अनुसार निरन्तरता दिन भन्यौं । बैठकमा आज सदस्य सचिव हुनुहुन्थ्यो । आइसिसीको नियम मान्ने भन्दै सबैले हस्ताक्षर गरेर बाहिरिएका थियौं’, सेनानी चन्दले भने ।

समूह ए मा मधेश प्रदेश, कर्णाली, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश छन् । समूह बी मा एनआरएनए नेपाल, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र नेपाल एपिएफ क्लब छन् ।

सेमिफाइनलको दाबेदार मानिएको बागमती प्रदेशले समूह बी मा चार खेलमा एक खेल पनि नखेली समूह चरणबाटै बाहिरिनु पर्यो । बागमतीको पहिलो खेल भदौ २३ मा बागमती र प्रदेश १ बीच टियु मैदानमा थियो । बागमतीका कप्तान ज्ञानेन्द्र मल्ल टसका लागि मैदान छिरेपनि वर्षाको कारण फर्कनु परेको थियो । दोस्रो खेलमा बागमती र सुदूरपश्चिमबीचको खेल टियु मैदानमा वर्षाको कारण हुन सकेन ।

आइतबार मुलपानीमा बागमतीले एनआरएनए नेपालसँग अंक बाँड्यो । अन्तिम खेलमा सोमबार बागमतीले एपिएफसँग पनि अंक बाँडेपछि बाहिरिनु परेको हो । समूह बी को अन्तिम खेलमा मुलपानीम सुदूरपश्चिम र एपिएफले वर्षाको अंक बाँडेका छन् । योसँगै एपिएफ पहिलो चरणबाटै बाहिरिएको छ ।

समूह बी मा एनआरएनए नेपाल ४ खेलमा १ मा जित र ३ खेलमा अंक बाँड्दै ५ अंक जोडेर शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनायो । समूह बी बाट एनआरएन नेपाल सेमिफाइनलमा पुग्ने पहिलो टोली हो । एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराउँदा अन्य सबै टोलीसँग अंक बाड्यो ।

दोस्रो खेलमा एनआरएनले एपिएफसँग १३.३ ओभरमा टियुमा २ विकेट गुमाउँदै १ सय २० रन बनाएको अवस्थामा खेल स्थगित भएको थियो । टस भएर पनि खेल हुन नसकेको यो मात्र एक खेल हो । सुदूरपश्चिम ४ खेलमा १ मा जित, १ मा हार र २ खेलमा अंक बाँड्दै दोस्रो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनायो । तीन टोली बागमती, सुदूरपश्चिम र एपिएफको समान ४ अंक भएपनि सर्वाधिक जितको कारण सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाएको हो ।

बागमती ४ खेलमा अंक बाड्दै ४ अंकका साथ तेस्रो स्थानमा रह्यो । एपिएफ ४ खेलमा चारनै अंक बाँडेर चौथो स्थानमा रह्यो । समूह बी का कुल १० खेल हुनुपर्ने भएपनि दुई खेलको मात्र नतिजा आयो । अन्य ८ खेलमा अंक बाड्नु पर्यो । पहिलो खेलमा एनआरएनएले सुदूरपश्चिमलाई ६–६ ओभरको खेलमा १२ रनले हराएको थियो । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश एकलाई १३ रनले हराएको थियो । अन्य कुनैपनि खेल हुन सकेको छैन ।

यता समूह ए मा नेपाल पुलिस क्लब ४ खेलमा २ मा जित र २ अंक बाँड्दै ६ अंकका साथ शीर्षस्थानमा छ । पुलिसले टियु मैदानमा कर्णालीलाई ९ विकेट र लुम्बिनी प्रदेशलाई ७६ रनले हराएको थियो । मुलपानीमा मधेश प्रदेश र गण्डकीसँग अंक बाड्यो । आज नै पहिलो खेलमा मुलपानीमा गण्डकी र पुलिसले अंक बाँडेका थिए ।

आर्मी ४ खेलमा २ मा जित र २ खेलमा अंक बाँड्दै ६ अंक जोडेर दोस्रो स्थानमा छ । आर्मीले कर्णाली र गण्डकीसँग अंक बाँडेको थियो । आर्मीले मधेश प्रदेशलाई ६ विकेटले हराएको थियो । आर्मीले लुम्बिनीलाई ९ विकेटले हराएको थियो । आर्मीले अन्तिम खेलमा बुधबार टियु मैदानमा खेल्नेछ ।

कर्णाली प्रदेश ४ खेलमा १ मा जित, १ मा हार र २ खेलमा अंक बाड्दै ४ अंकका साथ तेस्रो स्थानमा छ । कर्णालीले मधेश प्रदेशलाई तीन रनले हराएको थियो । पुलिससँग ९ विकेटले हारेको थियो । आर्मी र लुम्बिनीसँग भने वर्षाको कारण अंक बाड्नु परेको थियो । कर्णालीले बुधबार पहिलो खेलमा टियुमा गण्डकीसँग खेल्नेछ । कर्णालीले विशाल जित निकाल्दा र आर्मी पुलिससँग पराजित हुँदा भने आर्मी बाहिरिने सम्भावना रहन्छ ।

गण्डकी सबै ४ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ । लुम्बिनी ५ खेलमा ५ मा हार र तीनमा अंक बाँड्दै ३ अंक जोडेर पुछारमा रहेर बाहिरियो । मधेश प्रदेश ५ खेलमा २ मा हार र तीन खेलमा अंक बाँड्दै पाँचौं स्थानमा रहेर बाहिरियो ।

बुधबार टियु मैदानमा पहिलो खेलमा कर्णाली र गण्डकी तथा दोस्रो खेलमा नेपाल पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल भदौ ३० र फाइनल भदौ ३१ मा हुनेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.