default_image

3 years ago

September 19, 2022

वर्षा र व्यवस्थापनले बिथोलेको क्रिकेट

321 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फ क्रिकेट प्रतियोगिता शुक्रबार काठमाडौंमा सम्पन्न भयो । पुलिसले फाइनलमा आर्मीलाई ८ विकेटले हराउँदै पहिलो पटक स्वर्ण जित्यो । तर निरन्तर वर्षा र कमजोर व्यवस्थापनका कारण प्रतियोगिता निकै खल्लो भयो ।

प्रतियोगिताभर मैदानभित्र खेल भन्दा बढी वर्षा नै भयो । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटमा कुल २९ खेल हुनुपर्ने थियो । ११ खेलको नतिजा आउँदा १८ खेल वर्षा र खेल्न योग्य मैदान नहुँदा रद्द भए । समूह चरणका २५ मध्य १५ खेल टस समेत हुन नपाइ रद्द भए, एक खेल टस भएर पनि पूरा हुन सकेन ।

प्रतियोगिता अवधिभर जम्मा ५ खेलमा पूरा २० ओभरका खेल भए । तीन खेल ८ ओभर भन्दा कम रह्यो । टस गरेर दुई खेल रद्द भए । एनआरएनए स्पोर्ट्स एकेडेमीले टियु मैदानमा नेपाल एपिएफ क्लबविरुद्ध १३.३ ओभरमा २ विकेट गुमाउँदै १ सय २० रन बनाएको अवस्थामा खेल वर्षाले रोकेको थियो ।

तेस्रो स्थानको लागि एनआरएनए र सुदूरपश्चिमबीचको खेल टस भएर पनि हुन सकेन । खेल नै हुन नसकेपछि मेडल निर्धारणका लागि भएको टसमा सुदूरपश्चिमले जित्यो । फाइनलमा पनि टसबाट नै स्वर्ण निर्धारण हुने अवस्थामा थियो । वर्षा रोकिएपछि हिलाम्मे मैदानमा बाउन्ड्री घटाएर राखेपले फाइनल गरायो । जुन मैदान यो स्तरको प्रतियोगिता गर्न योग्य थिएन । अघिल्लो दिन त्योभन्दा राम्रो अवस्थामा पनि मैदानको कारण देखाउँदै पहिलो सेमिफाइनल खेल रद्द भएको थियो ।

नेपाली क्रिकेटमा जिल्ला र प्रदेशमा खेलाडी छनोटमा राजनीति कुनै नौलो कुरा होईन । यस पटक प्रदेश खेलकुद विकास समिति र क्यानको प्रादेशिक संघका कारण विवाद अझ बढी रह्यो । हरेक प्रदेशमा खेलाडी छनोटमा चरम राजनीति स्पष्ट देखिन्छ । संघ र खेलकुदले एकअर्कालाई दोष देखाएका थिए ।

प्रतियोगिता भदौ २३ देखि सुरु हुने थियो । तर प्रदेशहरुले भदौ २१ सम्म छनोट सकेका थिएनन् । सुदूरपश्चिम र प्रदेश एकले दुई फरक नाम निकालेका थिए । त्यसैको कारण प्रदेश १ का कप्तान सिद्धान्त लोहनी प्रतियोगिता नै खेल्न आएनन् ।

कुनैपनि प्रतियोगिता सुरु हुन अघिल्लो दिन आयोजकले पत्रकार सम्मेलन गरेर सबै जानकारी दिन्छन् । अझ सबै कप्तानलाई राखेर उनीहरुको प्रतियोगितामा उनीहरुको भनाई राख्छन् । तर प्रतियोगिता हुनु अघिल्लो दिन सम्म हुने वा नहुने कुनै अत्तोपत्तो थिएन । प्रतियोगिताबारे कुनैपनि पत्रकार सम्मेलन र आधिकारीक जानकारी राखेपले दिएन ।

वाइड बलबाट सुरुवात

खेलकुद मन्त्री महेश्वरजंग गहतराजले ब्याटिङ र राखेप सदस्य सचिव टंकलाल घिसिङले बलिङ गर्दै प्रतियोगिता उद्धघाटन भएको थियो । उद्घाटनको पहिलो बल नै घिसिङले वाइड फ्याँके । सुरुवाती दुई बल वाइडपछि घिसिङको तेस्रो प्रयासमा फुलटस बल मन्त्री गहतराजको हातमा लागेको थियो ।

मन्त्री र सदस्य सचिवले उद्घाटन सत्रमा वाइड बलबाट सुरु गरेको प्रतियोगिता वर्षाका कारण आलोचनाले भरिपूर्ण रहयो । पहिलो खेल नै वर्षाको कारण प्रभावित बन्यो । सामान्यतया उक्त आउटफिल्डमा कुनैपनि खेलाडी खेल्न मान्दैनन् । तर सुदूरपश्चिम र एनरआएनए स्पोर्ट्स एकेडेमीबीच जवरजस्ती ६–६ ओभरको खेल भएको थियो ।

हिलाम्मे मैदानमा भएको खेलमा सुदूरपश्चिम १२ रनले पराजित भयो । समूह चरणको अन्त्यतिर कर्णाली र गण्डकीबीचको खेलमा पनि मैदान खेल्नयोग्य थिएन । उक्त खेल १३ ओभरको भएको थियो । सेमिफाइनल र फाइनल खेल्नै पर्ने खेल भए । आउटफिल्डको अवस्था अति दयनिय थियो ।

टियु मैदानमा पानी सुकाउने आधुनिक मेसिन छैन । दुई दशक अघिको पूरानो कपासले नै पानी सुकाउनु पर्छ । त्यसैले बुधबार राती पानी परेपनि विहीबार पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमबीचको खेल हुन सकेन । आर्मी समूह ए को विजेता बन्दै फाइनलमा पुगेको थियो ।

दोस्रो सेमिफाइनल खेलमा एनआरएनए स्पोर्ट्स एकेडेमीले पुलिससँग खेल्न आनाकानी गरेको थियो । साढे तीन बजेपछि सुरु भएको खेलमा पुलिसले ८ ओभरको खेलमा १ सय १० रन बनाउँदै १३ रनको जितको साथ सेमिफाइनलमा पुगेको थियो । फाइनलमा आर्मी र पुलिसबीचको खेल खेल्न योग्य नभएपनि ८–८ ओभर खेलाएको थियो ।

बाउन्ड्री निकै छोटो बनाइएको थियो । फिल्डर हिलै हिलोले भिजेका थिए । भेट्ने बलमा पनि खेलाडी डाइभ हान्न मान्दैन थिए । किनभने हिलोमा चिप्लिएर चोट लाग्ने जोखिम उच्च थियो । सिनियर टिमका खेलाडीको बाहुल्यता हुँदा त्यो जोखिम लिने कुरा पनि थिएन । अझ चोभार एण्डबाट देखिने डिप मिडविकेट र फाइन लेग त बल नै नगुड्ने अवस्थामा थियो ।

तर खेल भनेपछि खेलाडी खेल्नु बाहेक अन्य विकल्प थिएन । समूह चरणमा आर्मीसँग खेल्नेक्रममा नेपाल पुलिस क्लबका स्पिनर सागर ढकाल घाइते भएका थिए । त्यसपछि उनले बाँकी खेल गुमाउनु पर्यो ।

खेल नखेली आउट

यसअघि छैटौं, सातौं र आठौं खेलकुदमा लगातार तीन पटक क्रिकेटतर्फ स्वर्ण जितेको नेपाल एपिएफ क्लब यस पटक एक खेल पनि खेल्न नपाइ समूह चरणबाट नै बाहिरियो । समूह बी बाट एपिएफ र बागमतीले एक खेल पनि खेल्ने अवसर पाएनन् । खेल तालिका पुन: सार्न अन्य ९ टोली सहमत भएपनि आर्मीले फरक मत राख्दै नियम अनुसार प्रतियोगिता निरन्तर गर्न माग गरेको थियो । एनआरएनए भने उक्त बैठकमा उपस्थित नै भएन ।

समूह ए मा गण्डकी पनि ५ मध्य ४ खेल रद्द भए । मधेश प्रदेश, प्रदेश एक र लुम्बिनीले तीन तीन खेल रद्द भए । खेलाडीले खेल्न नपाइ बाहिरिनु पर्यो ।

कमजोर व्यवस्थापन

राखेपले गर्ने हरेक प्रतियोगिता र गतिविधिमा प्राय: कमजोर व्यवस्थापन हुन्छ । कमजोर व्यवस्थापन कुनै नौलो कुरा हुँदैन होईन । कतिसम्म भने खेलाडीलाई मैदानमा भोजन समेत थिएन । खेलाडीले बिहानै होटलमा खाएर आउनु पर्दथ्यो । कि बेलुका गएर खानु पर्दथ्यो । विहान पहिलो खेल ९:१५ मा हुँदा खेलाडी भोकै क्रिकेट खेलेका थिए ।

अधिकांश खेलाडीले नास्ता पनि नपाएको गुनासो गरेका थिए । राखेपले दैनिक भत्तास्वरूप दुई हजार रुपैयाँ दिएको थियो । त्यसबाट होटलमा खानेबस्ने व्यवस्था गर्नुपर्थ्यो । त्यो पैसामा काठमाडौंमा एउटा स्तरिय होटलमा बस्न कठिन पर्छ । राखेपले भत्ता भने खेलाडीलाई भने दिइसकेको भने छैन । पछिल्लो एक दशकयता कुनैपनि प्रतियोगितामा खेलाडीलाई खाना नदिएको सम्भवत पहिलो घटना थियो ।

टियु मैदानमा क्लब र कलेज स्तरीय प्रतियोगिताको व्यवस्थापन राखेपको भन्दा धेरै गुणा राम्रो हुन्छ । अहिले जिल्लामा हुने सामान्य प्रतियोगितामा पनि प्लेयर अफ द म्याच पाउनेलाई नगद पुरस्कार राखिएको हुन्छ । तर राखेपले प्लेयर अफ द म्याचलाई मात्र एउटा ट्रफी दियो । प्लेयर अफ द सिरिज, उत्कृष्ट ब्याटर र बलर त घोषणा पनि भएन । राखेपले राष्ट्रिय खेलकुदका सबै खेलमा एकैनास गर्दै आएकोमा कतिपय संघले आफैं व्यक्तिगत पुरस्कार थप्ने गरेका छन् । क्यानले यसमा तदारुकता देखाएन ।

मुलपानीमा सबै खेल रद्द

मुलपानी मैदान राष्ट्रिय प्रतियोगिताको लागि योग्य मानिदैन । एकदिन पानी पर्यो भने अरु दुई तीन दिन खेल्न मिल्दैन । तालिका अनुसार मुलपानीमा ११ खेल हुनुपर्ने थियो । तर पहिलो दिनदेखि वर्षा बाधक बन्द मुलपानीमा सबै हेल टस हुन नपाइ रद्द भए ।

बोल्ने माइक छैन

फाइनलपछि समापन समारोहमा विजेता खेलाडीलाई पदक दिने कार्यक्रममा एउटा माइक पनि थिएन । व्यवस्थापनको दयनीय अवस्था देखेर सुदूरपश्चिमका टिम व्यवस्थापक जगदिश पनेरुले आफ्नो खेलाडीहरुले पैसा काटेर माइक किन्न क्यानका मिडिया म्यानेजर भानु सिग्देललाई सुझाव दिएका थिए । एउटा माइक त क्यानले आफैंले पनि व्यवस्थापन गर्नुपर्ने हो ।

क्यानसँग छैन समन्वय

क्यानका उच्च पदाधिकारीले प्रतियोगिताको आयोजना राखेपले गरेको हुँदा आफूलाई कुनै जिम्मेवारी नभएको जवाफ दिए । राखेपले क्यानसँग समन्वय गर्दै आयोजना गर्नुपर्ने थियो । तर क्यानले खेलाडीको जर्सीका लागि मात्र समन्वय भएको जनायो ।

ओझेलमा युवा प्रतिभा

प्रतियोगितामा सम्भव भएका थोरै खेलबाट सिमित खेलाडीले राम्रो प्रदर्शन गर्न पाए । पुलिसका कुशल भुर्तेल, आरिफ शेख, सुनिल धमला, आर्मीका विनोद भण्डारी, सुशन भारी, पुलिसका ललितनारायण राजवंशी लगायतका केहि खेलाडीले प्रदर्शन देखाए । तर प्रदेशका अधिकांश खेलाडीले आफ्नो खेल नै देखाउन पाएनन् ।

यसैपनि नेपालमा घरेलु क्रिकेटको अवस्था दयनीय छ । बल्लतल्ल आयोजना भएको प्रतियोगितामा पनि खेल नभएपछि प्रदेशबाट आएका थुप्रै प्रतिभाले आफ्नो क्षमता देखाउन पाएनन् । सबैभन्दा ठूलो घाटा प्रदर्शन देखाउन चाहेका खेलाडी मारमा परे । प्रतियोगिताको दौरानमा नेपाल टि२० को ड्राफ्ट हुँदा धेरै खेलाडी र टोलीले प्रतियोगिताबाट ठूलो अपेक्षा राखेका थिए । तर वर्षाका कारण खेल सम्भव हुन सकेन ।

नेपाल टि२० को छायाँमा नवौं राष्ट्रिय क्रिकेट

राखेपले नवौं राष्ट्रिय खेलकुद आगमी असोज २८ देखि कार्तिक ३ सम्म पोखरामा आयोजना गर्दैछ । तर असोज ८ देखि कार्तिक ५ सम्म नेपाल टि२० लिग हुने भनेपछि क्यानले नै यस प्रतियोगिता अगाडि सार्न प्रस्ताव गरेको थियो । तर अन्तिम समयमा निर्वाचनको तयारी तथा सुरक्षाको कारण नेपाल टि२० लिग डिसेम्बरलाई अन्तिमलाई सारियो ।

न नेपाल टि२० लिग भयो, न त नवौंका क्रिकेट खेल राम्रोसँग हुन पाए । क्यानको तयारी हेर्दा भने एक महिना अघि नै नेपाल टि२० हुनेमा शंका थियो । यसका बाबजुद क्यानले समयमै हुने दावी गरेको थियो । तीन साताको समय बाँकी हुँदा मात्र फ्रेन्चाइज टोली सार्वजनिक र खेलाडी अनुबन्धले गर्नुले क्यानको कमजोर तयारी स्पष्ट देखिन्थ्यो । नेपाल टि२० ले नै नवौं क्रिकेटमा प्रत्यक्ष असर गर्यो ।

मैदानमा खेल्नुभन्दा सास्ती बढी

प्रतियोगिता वर्षाको समयमा हुँदा खेलाडी मैदानबाट होटल जाँदासम्म पानीले रुझेर निथ्रुक्क भएका थिए । मैदानमै अभ्यास गर्न सक्ने अवस्था थिएन । खेल नहुने भएपनि मैदानमा उपस्थिति जनाउनु पर्दा यसले लुगामात्र होईन क्रिकेट ब्याग, किट्स, ब्याट, बल लगायत खेल सामग्री भिज्ने समस्या थियो ।

पुलिस र आर्मीबीचको खेल चलिरहँदा बल बचाउने क्रममा सागर ढकाल घाइते भएपछि लुगा फेर्न आएका थिए । पेभेलिएनबाट दर्शकले उनलाई जिस्काउँदै अर्को लुगा नहुँदा हिलोबाट बचेर खेल्न भनेका थिए । फिल्डिङ गर्दा लुगा भिजेपछि सहकर्मी खेलाडीको एउटै नम्बरको जर्सी लगाएर खेलाडी मैदान पनि छिरेका थिए ।

प्रतियोगिता बिथोलिंदा राखेप र क्यानलाई खासै असर नपर्ला तर नेपाली क्रिकेटमा केहि गर्छु र प्रदर्शन देखाउँछु भन्ने खेलाडीको लागि भने यसले असर गर्छ । क्लबदेखि जिल्ला हुँदै प्रदेश टोलीबाट राष्ट्रिय क्रिकेटमा खेल्ने अवसर सहजै पाइन्न । त्यसैले कम्तिमा राष्ट्रिय स्तरको प्रतियोगिता गर्दा सम्बन्धित निकायले मौसम लगायत व्यवस्थापनको पक्षमा ध्यान पुर्याउनु आवश्यक देखिन्छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.