default_image

2 years ago

January 29, 2023

को हुन् नेपालका नयाँ मुख्य प्रशिक्षक मोन्टी देशाई ?

238 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकको रुपमा भारतीय मोन्टी देशाईलाई पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विश्व क्रिकेटका उत्कृष्ट ब्याटिङ प्रशिक्षक मानिने मोन्टी देशाईलाई नेपालको मुख्य प्रशिक्षकमा ल्याएको छ ।

नेपाली क्रिकेट टोलीका नयाँ मुख्य प्रशिक्षक मोन्टी देशाई शनिबार नेपाल आइपुगेका छन् । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नियुक्तिको लागि अनुमति नदिँदा क्यानले हालसम्म औपचारिक रुपमा सार्वजनिक भने गर्न सकेको छैन ।

क्यानले पाँच जना सर्टलिष्टबाट मोन्टीलाई नियुक्त गर्ने निर्णय लिएको हो । अघिल्लो महिना भारतीय प्रशिक्षक मनोज प्रभाकरलाई हटाएपछि रिक्त रहेको पदमा क्यानले खुल्ला आवेदन मागेको थियो ।

कुल २४ जनाले आवेदन दिँदा पाँच जनाको नाम सर्टलिष्टमा परेको थियो । क्यानले सर्ट लिष्टमा परेका भारतीय मोन्टी देशाई, पूर्व मुख्य प्रशिक्षक डेभ ह्वाटमोर, श्रीलंका तीव्र गतिका बलर धाम्मिका प्रसाद, दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्यान्ड टी–२० टोलीका पूर्वप्रमुख प्रशिक्षक ग्लेन पोकनलसँग बुधबार अन्तरवार्ता लिएको थियो ।

ब्याटिङमा लगातार खराब प्रदर्शन गरेपछि नेपालले आइपिएलदेखि टेस्ट टोलीसम्म निकै राम्रो अनुभव बोकेका मोन्टीलाई ल्याउने निर्णय लिएको हो । नेपालले यसअघि लगातार मोन्टी देशाई ल्याउन खोजेपनि उनको कार्य व्यस्तताका कारण अन्तिम समयमा सफल हुन सकेको थिएन । मोन्टीको प्रशिक्षणमा नेपाली यू-१९ टोलीले भारतलाई हराउँदै इतिहास रचिसकेको छ ।

डेभ ह्वाटमोर र पुबुदु दासानायकेलाई नियुक्त गर्नुअघि नेपालको प्राथमिकतामा मोन्टी नै थिए । तर मोन्टीले इन्डियन प्रिमियर लिग (आइपिएल) हेर्न बढी समय मागेपछि क्यानले अन्यलाई नियुक्त गरेको थियो । डेढ वर्षको अन्तरमा तीन विदेशी प्रशिक्षक परिवर्तन पछि देशाईलाई नियुक्त गरेको हो ।

मोन्टीलाई ल्याउँदा नेपालको ब्याटिङमा सुधार, अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शनमा फरक, भाषामा समस्या नहुने र भारतीय घरेलु क्रिकेटको धेरै फाइदा उठाउन सक्ने अनुमान गरिएको छ ।

२०२२ डिसेम्बर अन्तिमसँगै मोन्टीले वेस्टइन्डिज ब्याटिङ प्रशिक्षकको रुपमा तीन वर्ष यात्रा सकाएका थिए । खराब ब्याटिङ समाधानको लागि उनी राम्रा विकल्प हुन् । विशेषगरि उनी युवा प्रतिभा पहिचान र ब्याटिङमा सुधारका लागि चिनिन्छन् ।

मोन्टीले वेस्टइन्डिज, नेपाल, अफगानिस्तान, युएई, क्यानडा, आइपिएलमा गुजरात लायन्यस, राजस्थान रोयल्स, पन्जाब किंग्स, भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेशको प्रशिक्षकको रुपमा काम गरि सकेका छन् । नेपाली क्रिकेटलाई धेरै नजिकबाट हेर्दै आएका आएका छन् ।

नेपालको ऐतिहासिक जितका पर्दा पछाडिका हिरो

सन् २०१७ मा नेपालले एसिसी यू-१९ एसिया कपमा भारतलाई १९ रनले हराउँदै इतिहास रचेको थियो । जुन क्रिकेट इतिहासमा नेपालले भारतलाई हराएको पहिलो खेल थियो । नेपालले भारतलाई हराउँदा मोन्टी नेपालका ब्याटिङ सल्लाहकार थिए । नेपाली यू-१९ टोलीले खराब प्रदर्शन गरेपछि मोन्टीलाई ब्याटिङ सल्लाहकारको रुपमा ल्याएको थियो । नेपालले त्यो प्रतियोगितामा सानदार प्रदर्शन पनि गर्यो ।

मोन्टीले नै यू-१९ मा प्रशिक्षण दिएका त्यस बेलाका दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र रोहित पोडैल अहिले सिनियर टोलीका प्रमुख ब्याटर हुन् । उक्त टोलीका अनिल शाह, भीम सार्की, पवन सरार्फ, कमलसिंह ऐरी, किशोर महतो, साहब आलम लगायत धेरै खेलाडी अहिले सिनियर टोलीमा छन् ।

नेपालले २०१४ मा बंगलादेशमा भएको आइसिसी टि२० विश्वकप पहिलो पटक खेल्दा उनी टोलीमै थिए । २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्व ट्वान्टी–२० छनोटमा देशाई नेपाली टोलीसँग रहेका थिए । पछिल्लो एक दशकदेखि उनले नेपाली खेलाडीलाई निकै नजिकबाट हेरेका छन् ।

मोन्टीको प्रशिक्षण अनुभव

मोन्टीले २०१९ देखि २०२२ डिसेम्बर सम्म वेस्टइन्डिजको ब्याटिङ प्रशिक्षकको रुपमा काम गरे । मोन्टीको प्रक्षिशकमा युवा ब्याटर निकोलस पुरन र शिम्रन हेटमायरले सानदार प्रदर्शन गरे । त्यस्तै डेब्यू टेस्टमै दोहोरो शतक हान्ने काइल मेयर्स पनि मोन्टीको प्रशिक्षणबाट निखारिएका हुन् । उनको प्रशिक्षणमा विशेषगरि टेस्टमा वेस्टइन्डिजले थुप्रै ब्याटर पाएको छ ।

पछिल्लो समय वेस्टइन्डिजको अन्तर्राष्ट्रिय प्रदर्शन त्यति राम्रो छैन । त्यो प्रशिक्षण भन्दा पनि आन्तरिक राजनीतिको कारण बताइन्छ । मोन्टी २०१९ मा वेस्टइन्डिज जानुअघि युएईको ब्याटिङ प्रशिक्षक थिए । टि२० विश्वकप छनोटपछि भने उनी युएई छाडेर वेस्टइन्डिज गएका थिए । मोन्टी २०१८ देखि २०१९ जुलाई सम्म क्यानडाको मुख्य प्रशिक्षक थिए ।

२०१८ को एकदिवसीय विश्वकप छनोटमा मोन्टी नै अफगानिस्तका ब्याटिङ प्रशिक्षक थिए । अफगानिस्तानले फाइनलमा वेस्टइन्डिजलाई हराउँदै उपाधि जितेको थियो । मोन्टीले २०१६ र २०१७ को आइपिएलमा गुजरात लायन्सको टोली पर्फर्मेन्स कोचको रुपमा हेरेका थिए । मोन्टीले २००८ देखि २०१५ सम्म आइपिएलमा राजस्थान रोयल्सको साहयक प्रशिक्षकको रुपमा काम गरेका थिए । राजस्थानले २००८ को पहिलो संस्करणमै उपाधि जितेको थियो ।

मोन्टी यसअघि नै नेपालमा काम गर्न चाहन्थे । उनी पहिलादेखिनै नेपाली क्रिकेटलाई आफूले केहि गर्न चाहेको र अन्य देशमा भन्दा कम सेवा सुविधामा काम गर्न तयार भएको समेत बताएका थिए । तर क्यान आइसिसीको निलम्बनमा हुँदा त्यो सम्भव हुन सकेन । क्यान आएपछि नेपालले लगातार प्रस्ताव गरेपनि आइपिएलको कार्य व्यस्तताका कारण उनी आएनन् ।

मोन्टीको प्रशिक्षणमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल अर्को महिना आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु मैदान टियुमा नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ । नेपालले पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ ।

दोस्रो खेल फागुन ५ (फेब्रुअरी १७) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले फागुन ६ (फेब्रुअरी १८) मा नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९(फेब्रअरी २१) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले २८ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । मोन्टीले त्यसबाट अन्तिम टोली घोषणा गर्नेछन् ।

नेपाल २४ खेलमा ८ मा जितसहित १८ अंक जोड्दै छैटौं स्थानमा छ । नेपालले अब विश्वकप लिग २ मा १२ खेल खेल्न बाँकी छ । शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन कम्तिमा ९ खेल जित्नु पर्ने हुन्छ । 

September 10, 2024

यु १९ महिला टि ट्वान्टी विश्वकप छनोट युएईमा हुने

काठमाडौं( हाम्रो खेलकुद) – अर्को बर्ष हुने आइसिसी यु १९ महिला टि ट्वान्टी विश्वकपको एसिया छनोट युएईमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार विश्वकप एसिया छनोटको खेल तालिका जारी गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । खेलतालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसॅंग र दोस्रो खेलमा […]

September 10, 2024

क्रिकेट टोलीमा फरक‌ भूमिकासहित टमाटाको पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेटका सफल प्रशिक्षक जगत टमाटा राष्ट्रिय क्रिकेट टोलीमा फरक‌ भूमिकामा फर्किएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी दिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ कार्यक्रममा मंगलवार क्यानका सचिव पारस खड्काले टमाटालाई विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा हुने दुई सिरिजको लागि जिम्मेवारी दिएको बताए। क्रिकेट टोली […]

September 10, 2024

क्रिकेट टोली आज क्यानडा जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ(क्यान) ले क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मंगलवार बिदाइ गरेको छ । टोली आज साँझ क्यानडा तर्फ जानेछ। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० […]

Success

Thank you for your time.