default_image

3 years ago

February 10, 2023

नेपाली क्रिकेट टोलीमा पूनरागमन गरेका चार खेलाडीको जानकारी

401 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदान टियुमा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया र स्कटल्यान्डविरुद्ध खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ ।

मंगलबार देखि सुरु हुने सिरिजमा स्वास्थ्य अवस्था फिट नहुँदा आरिफ शेख परेका छैनन् । रोहित पौडेलको कप्तानीमा घोषणा टोलीमा बायाँ हाते युवा स्पिनरसूर्य तामाङ पहिलो पटक नेपाली टोलीमा पर्दा चार खेलाडीले पूनरागमन गरेका छन् । मुख्य प्रशिक्षक मोन्टी देशाईको आगमनसँगै केहि युवा ब्याटरले टोलीमा मौका पाएका हुन् । नेपालले फागुन २ मा नामिबियासँग खेल्दै सुरुवात गर्नेछ ।

नेपालले पछिल्लो समय घरेलु क्रिकेट र बन्द प्रशिक्षणको प्रदर्शनलाई आधार मान्दै खेलाडी छनोट गरेको छ । तीव्र गतिका बलर कमलसिंह ऐरी र किशोर महतो भने अन्तिम १८ बाट बाहिरिएका छन् । नेपाली क्रिकेट टोलीमा पूनरागमन गरेका चार खेलाडीको जानकारी यस प्रकार छ ।

४.भीम सार्की– ब्याटर

युवा ब्याटर भीम सार्की अवसर पाउन नसकेका युवा ब्याटर हुन् । २०१९ मै युएई भ्रमणको लागि नेपाली टोलीमा परेपनि डेब्यू गतवर्ष मार्चमा परेका थिए । भीमले दुबईमा पपुवा न्युगिनीविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए ।

भीम पछिल्लो पटक युएईसँग तीन ओडिआई खेलको सिरिजमा गत नोभेम्बरमा घरेलु मैदानमा भएको सिरिजमा टोलीमा भएपनि खेल्ने अवसर पाउन सकेनन् । त्यसपछि नेपालले आइसिसी विश्वकप लिग–२ को लागि स्कटल्यान्ड भ्रमण गर्दा टोलीमा थिएनन् ।

भीमले नेपाली टोलीमा गत नोभेम्बरपछि पूनरागमन गरेका हुन् । भीम मध्यक्रममा ब्याटिङसँगै, स्पिन बलिङ र उत्कृष्ट फिल्डिङका लागि चिनिन्छन् । आरिफ शेख फिट नहुँदा उनको स्थानमा भीमले खेल्ने सम्भावना छ । भीम सार्कीले ३ ओडिआईमा ४३ रन बनाएका छन् ।

३.सन्दीप जोरा – ब्याटर

युवा ब्याटर सन्दीप जोरा लामो समयपछि सिनियर टोलीमा फर्किएका छन् । जोरा अन्तिम पटक नेपाली टोलीमा २०२१ को अप्रिलमा टियु मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिजमा थिए । त्यस सिरिजमा खेल्ने मौका भने पाएका थिएनन् । तर त्यसपछि भने उनी टोलीमा थिएनन् ।

जोराले २०१९ मा युएईविरुद्ध टि२० आई खेलमा डेब्यू गर्दै अर्धशतक बनाएका थिए । त्यसपछि ओमानमा भएको पाँच देश सम्मिलित टि२० सिरिज पछि खेल्ने मौका पाएनन् । २०१९ मा युएईविरुद्ध एकमात्रै ओडिआई खेल खेलेका थिए ।

एपिएफबाट घरेलु क्रिकेट खेल्ने जोराले राम्रो प्रदर्शन गर्दै आएका छन् । प्रधानमन्त्री कपमा एपिएफलाई उपाधि जिताउन सन्दीपले ६ खेलमा एक अर्धशतकसहित १ सय रन बनाएका थिए । नेपाल टि२० लिगमा जनकपुर रोयल्सबाट राम्रो प्रदर्शन गर्दै ११ खेलमा २ अर्धशतकसहित २ सय ५८ रन बनाएका थिएका थिए । सन्दीप जोराले नेपालबाट १ ओडिआई खेलमा १९ रन र ६ टि२० आई खेलमा एक अर्धशतकसहित १ सय १ रन बनाएका छन् ।

२. कुशल मल्ल–अलराउन्डर

युवा अलराउन्डर कुशल मल्लले गतवर्ष अप्रिलमा पपुवा न्युगिनी र मलेसियासँग टियु मैदानमा भएको त्रिकोणात्मक टि२० आई सिरिजपछि टोलीमा पूनरागमन गरेका छन् । नेपाली क्रिकेटका भविष्य मानिदै आएका कुशल खराब लयका कारण पछिल्लो समय टोलीमा थिएनन् ।

बायाँ हाते ब्याटर कुशल टि२० आई र ओडिआई दुबै क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने विश्वका कान्छा खेलाडी हुन् । कुशल बायाँ हाते स्पिनसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । कुशल आक्रामक ब्याटिङ र ठूला सटका लागि चर्चित युवा ब्याटर हुन् । कुशलले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सबाट खेल्दै राम्रो प्रदर्शन गरेपछि सिनियर टोलीमा फर्किएका हुन् ।

कुशलले नेपालबाट ८ ओडिआईमा एक अर्धशतकसहित ८५ रन र ७ विकेट लिएका छन् । १५ टि२० आई खेलमा १ अर्धशतकसहित १ सय ८३ रन बनाउनुको साथै ६ विकेट लिएका छन् ।

१.सन्दीप लामिछाने–स्पिनर

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने गत भदौपछि नेपाली टोलीमा फर्किएका हुन् । क्यानले बलात्कार आरोपपछि सन्दीपलाई असोजमा निलम्बन गरेको थियो । दुई साताअघि क्यानले उनीमाथि लगाएको निलम्बन फुकुवापछि सिनियर टोलीमा फर्किएका छन् ।

बलात्कार आरोप लागेका क्रिकेटरलाई टिममा फर्काएको भन्दै सन्दीपको आलोचना पनि हुँदै आएको छ । तर केहि समर्थकहरु भने खेल्न हुने तर्क राख्दै आएका छन् । सन्दीपमाथि लागेको बलात्कार आरोपको मुद्धा भने जिल्ला अदालत काठमाडौंमा यथावत छ । अदालतले सन्दीप दोषी हो वा होईन कुनै फैसला गरेको छैन ।

सन्दीपले माघ २० देखि सिनियर टोलीसँग प्रशिक्षण थालेका थिए । सन्दीपको फिटनेश ठिक भएको भन्दै क्यानले उनलाई टोलीमा राखेको छ । गत भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन ।

असोज २० मा पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन कात्तिक १८ मा आदेश दिएको थियो । सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाटनले सन्दीपलाई विदेश जाने भने रोक लगाएको थियो। तर क्रिकेट खेल्न पाउने वा नपाउने कुनै जानकारी दिएको थिएन । सन्दीपले नेपालबाट ३० ओडिआईमा ६९ र ४४ टि२० आई खेलमा ८५ विकेट लिएका छन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.