default_image

3 years ago

March 1, 2023

जो जिल्ला र प्रदेशमा परेनन्, तर राष्ट्रिय टोलीबाट खेले

416 views

0 Bookmark

भुपेन्द्र जि.सी, दुबई

घरेलु क्रिकेटमा जिल्ला र प्रदेशभित्र खेलाडी छनोटमा हुने फोहोर राजनीति नौलो कुरा होइन । धेरैजसो जिल्ला र प्रदेशमा टिम घोषणा भएपछि प्रदर्शनका आधारमा टोली छनोट नभएको भन्दै असन्तुष्टि देखिन्छ । यसले प्रतिभावान खेलाडीको भविष्यमा प्रत्यक्ष असर परेको छ । राजनीति यतिसम्म छ कि छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी पनि टोलीमा पर्दैनन् । जिल्ला र प्रदेश टोलीमा नपरेपनि फ्रेन्चाइज टोलीको अवसरलाई सदुपयोग गर्दै केही खेलाडी राष्ट्रिय टोलीमा परेका छन् ।

नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर प्रतिश जि.सी, गुलशन झा, यू-१९ अलराउन्डर दीपेश कँडेल, दीपक बोहरा, कमल खत्री र विशाल विक्रम केसी जस्ता युवा खेलाडी पछिल्लो समय जिल्ला र प्रदेश छनोटको शिकार बनेपनि माथि उठेका गतिला उदाहरण हुन् । यी सबैले जिल्ला र प्रदेशमा सही भूमिका नपाएपनि आफूलाई उपल्लो स्तरमा भने प्रमाणित गरेका छन् ।

यूएईको अजमानमा जारी आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालका दीपेश कँडेलको प्रदर्शन महत्त्वपूर्ण रहेको छ । मलेसियालाई ७२ रनमा रोक्दै १० विकेटले हराउँदा दीपेश घातक बलिङ गर्दै १० ओभरमा ४ मेडनसहित ११ रन खर्चेर ४ विकेटका साथ खेलको प्लेयर अफ द म्याच चुनिए । उनले बलिङ गरेको ६० बल मध्य ५३ बलमा विपक्षीले रन जोड्न सकेनन्। ५३ बल डट आफैंमा अद्भुत प्रदर्शन हो ।

तर दीपेश गतवर्ष कार्तिकमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा प्रदेश एकको टोलीमै परेका थिएनन् । उनलाई टोलीमा नराख्न प्रदेश एकले ठुलै अस्वभाविक बाहना रच्यो । मोरङबाट घरेलु क्रिकेट खेल्ने दीपेश तिहार बनाउन घर सुर्खेत गएका थिए । तिहारकै भोलिपल्ट फिटनेस परिक्षण राख्दै दीपेश र कमल खत्री जस्ता खेलाडीलाई बाहिर राखेको थियो । जबकी गाडीको यात्रा गर्दा सुर्खेतबाट विराटनगर पुग्न नै एकदिन लाग्छ । तिहारको दिन यसै यातयात बन्द हुन्छ । भोलिपल्ट हिँडेर पुगिदैन ।

बायाँ तीव्र गतिको बलिङमा भविष्य मानिएका कमल खत्री तिहार मनाउन काठमाडौं आएका थिए । कमल पनि यातायातकै समस्याले फिटनेस टेस्टआ पुग्न सकेका थिएनन् । कमलले हवाइ यात्राबाटै जान खोजेपनि सफल हुन सकेका थिएनन् । बरु प्रदेश एकले टेस्ट एकदुई दिनपछि गर्न सक्थ्यो । अरु समय कुम्भकरण जसरी सुतेर बस्ने प्रदेश एक खेलाडी छनोटमा फिटनेश परिक्षणको नाटकमा दुई उत्कृष्ट खेलाडीलाई नै टिममा राखेन ।

कमल खत्री पछिल्लो समय नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीको नेट बलरको रुपमा रहँदै आएका छन् । अग्ला कदका कमललाई यसअघिका मुख्य प्रशिक्षक मनोज प्रभाकरले सिनियर टोलीको बन्द प्रशिक्षणमै समावेश गर्न खोजेका थिए । तर कमल प्रदेश एकमा मौका पाउन सकेका छैनन् ।

प्लेयर अफ द म्याच पछि दीपेशले आफ्नो कडा मिहिनेतमा मात्रै ध्यान दिएको बताए । ‘ठिकै छ । त्यो समय आफ्नो पक्षको थिएन । वहाँहरुले विश्वास गर्नु भएन । अहिले राम्रै भयो भनौं । केहि थिएन’, मलेसियाको खेलपछि दीपेशले भने ।

दीपेश बलिङ मात्रै होईन तल्लोक्रममा राम्रो ब्याटिङ गरेका छन् । थुप्रै पटक सिनियर टोलीबाट खेल्दा प्रदेश एकलाई आफ्नो ब्याटिङबाट जित दिलाएका छन् । प्रदेश एकको शीर्ष तीन खेलाडीमा उनी स्वत पर्दछन् । सुर्खेतमा घर भएका दीपेश बुबाको रोजगारको कारण १२ वर्षकै उमेरमा नेपालगञ्ज हुँदै विराटनगर पुगेका थिए । त्यसपछि उनले त्यहिँबाट सबै घरेलु क्रिकेट खेल्दै आएका छन् ।

दीपेश प्रदेश एकको खेलाडी नभएको कारण फ्याँकेको भन्ने आँकलन धेरैको थियो । तर लामो समयदेखि प्रदेश १ बाट खेल्दै आएका उनले अन्तत: खेल्ने त नेपालको लागि नै हो । दीपेशले हङकङविरुद्ध १० ओभरमा ३ मेडनसहित ५१ बल डट राख्दै १७ रन खर्चेर १ विकेट लिएका थिए । कुवेतविरुद्ध दीपेशले ८ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए ।

प्रदेश एक मात्रै होईन नेपालका सबै प्रदेशमा खेलाडी छनोटमा राजनीति छ । फरक यतिमात्रै हो धेरै र थोरै । दुई वर्षअघि तीव्र गतिका बलर प्रतिश जि.सी. काठमाडौं जिल्लाको टोलीमै परेनन् । प्यूठानमा जन्मिएका बायाँ हाते तीव्र गतिका बलर प्रतिशले नेपालको यू१६ र यू१९ राष्ट्रिय टोलीबाट लगातार राम्रो गर्दै आएका थिए ।

प्रधानमन्त्री कपको पछिल्लो संस्करणका लागि भएको छनोटमा काठमाडौं जिल्लाकै टिममा नपरेका प्रतिशले सोमबार पपुवा न्युगिनीविरुद्ध सिनियर राष्ट्रिय टोलीमै डेब्यू गरे । त्यसैपनि नेपाली क्रिकेटमा बायाँ हाते तीव्र गतिका बलर कमै पाइन्छ । तीव्र गतिसँगै तल्लोक्रममा राम्रो क्षमता भएका प्रतिश आगमी नेपालका अलराउन्डरको रुपमा हेरिएको छ । तर काठमाडौं जिल्लाबाट नै बाहिर राखेपछि बागमती प्रदेशले चाहेर पनि उनलाई टोलीमा राख्न पाएन ।

सुदूरपश्चिम र मधेश प्रदेश नेपाली घरेलु क्रिकेटमा सबैभन्दा बढी राजनीति हुने प्रदेश हुन् । दुई वर्षअघि नेपालका तीव्र गतिका बलर गुलशन झा प्रधानमन्त्री कप २०२० मा मधेशको टोलीमा परेनन् । मधेशको टोलीमा नपरेपछि उनले मुलपानीमा भएको एक अभ्यास खेलमा नेपाल पुलिस क्लबविरुद्ध राम्रो प्रदर्शन गरे । त्यसैको कारण पुलिसले काठमाडौं मेयर्स कपमा उनलाई टोलीमा समेट्यो ।

गुलशनले काठमाडौं मेयर्सविरुद्ध आफ्नो पहिलो खेलमै घरेलु क्रिकेटमा सनसनी मच्चाए । दुई घरेलु खेलपछि सिनियर राष्ट्रिय टोलीमै परे । गुलशन मधेशको टोलीमा नपरेको देखेर आफु पनि अचम्म परेको तत्कालिन नेपाल पुलिसका कप्तान मञ्जित श्रेष्ठले बताएका थिए ।

‘हामीले हेर्ने बितिक्कै पुलिसको टोलीमा राख्यौं । एक पटक हेर्दा वितिक्कै खेलाडीको क्षमता कति छ भन्ने थाहा हुन्छ । त्यो देखेर नै टोलीमा राखेका हौं । एक पटक हेरौं । उ मधेशमै हराउन सक्थ्यो । उसमा केहि गर्न सक्ने क्षमता छ । फिटनेस बढाएमा नेपालको एक उत्कृष्ट तीव्र गतिको बलर हुनेछ’, काठमाडौं मेयर्स कपमा पहिलो खेलपछि मञ्जितले भनेका थिए ।

नेपालको जिल्ला र प्रदेशको खेलाडी छनोट कोटा स्टिममा चल्दै आएको छ । कुन जिल्लाले कति कोटा पाउने त्यहि अनुसार खेलाडी छनोट हुन्छ । त्यसैले राम्रो प्रदर्शन गर्ने खेलाडी टोलीमा पर्न मुश्किल छ । धेरैले सुरुवातमै आफ्नो करिअर जिल्लामै सकाउनु पर्ने बाध्यता छ । घरेलु क्रिकेटमा बिरलै १-२ प्रतियोगिता हुन्छ । एक दुई खेलमा राम्रो प्रदर्शन गर्न नसके एक वर्ष त्यतिकै जान्छ ।

नेपालले ओडिआई मान्यता पाएको पाँच वर्ष हुँदासम्म पनि घरेलु ढाँचा फेरिएको छैन । क्लब क्रिकेटको अवधारणा क्यानले सोच्न पनि सकेको छैन ।

२०२१ को यू१९ राष्ट्रिय प्रतियोगितामा दीपक बोहरा बागमतीको टोलीमा परेनन् । बागमतीको टोलीमा नपरेपछि उनलाई नेपाल एपिएफ क्लबले टोलीमा राख्यो । एपिएफबाट अलराउन्डरको रुपमा लगातार राम्रो प्रदर्शन गरे । अहिले नेपाली यू१९ टोलीबाट खेलेका छन् । मलेसियाविरुद्ध २९ बलमा ८ चौकासहित ३८ रनको आक्रामक इनिङ खेले ।

त्यो समय दीपक किन टोलीमा परेनन् भन्ने पश्नमा बागमती प्रदेशका एक पदाधिकारीको जवाफ थियो, ‘हामीलाई त थाहा नै भएन । अम्पायरले दीपक राम्रो खेलेको नै भनेनन् । त्यसैले नपरेका हुन् । दीपक भएको भए हामीले राम्रो गर्ने रहेछौं ।’

यसपटक भने दीपकले सुदूरपश्चिमबाट यू१९ प्रतियोगिता खेल्दै नेपाली टोलीसम्म परेका हुन् । दीपकले पहिलो खेलमै डडेलधुराबाट बैतडीविरुद्ध १ सय ४ बलमा १८ चौका र १० छक्कासहित १ सय ६१ रनको विष्फोटक शतकीय इनिङ खेल्दै प्रदेशको टोलीमा स्थान पक्का गराएका थिए ।

अम्पायरले खेलाडी छनोट गर्ने भए छनोट समितिको अर्थ के छ । हो रन हान्दैमा र विकेट लिँदैमा उत्कृष्ट खेलाडी नहुन सक्छ । सबै प्रतिभावान् खेलाडीले राम्रो प्रदर्शन नगर्न सक्छन् । कहिले पिच त कहिले म्याटमा हुने छनोटमा आफ्नो क्षमता अनुसारको प्रदर्शन नआउन सक्छ । त्यसमा खेलाडीलाई सबै दोष दिनपनि मिल्दैन । तर खेल नहेरेर स्कोरकार्डकै आधारमा टोली छनोट गर्नु सहि निर्णय होइन ।

नेपाली क्रिकेटका भविष्य मानिएका विशाल पनि २०२० को प्रधानमन्त्री कपमा लुम्बिनीको टोलीमा थिएनन् । गतवर्ष उनलाई नेपालले यू१९ टोलीमा राखेन । लुम्बिनीबाट यू१९ राष्ट्रिय फाइनलमा उनले सुदूरविरुद्ध खेलेका दुई छक्का साँच्चै विश्वस्तरिय ब्याटरको झल्को दिने थियो । तर उनलाई त अहिले सानै उमेरको हुँदा फेरि खेल्ने मौका पाउँछस् भनेर टोली बाहिर राख्यो ।

विशालले यू१६ देखि हालसम्म लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । त्यस्तै नेपालको यू-१९ टोली हुँदै नियमित रुपमा फ्रेन्चाइज लिग खेल्दै आएका खडक बोहरा यसपटक सुदूरको टोलीमा परेनन् । यी त केहि उदाहरण मात्रै हुन् । हरेक वर्ष खेलाडी छनोटमा यसरी नै राजनीति हुँदै आएको छ । कुनैपनि जिल्ला र प्रदेश त्यसबाट अछुतो छैनन् । त्यसको पिडा राम्रो गरेर नपर्ने खेलाडीलाई मात्रै थाहा हुन्छ ।

निष्पक्ष खेलाडी छनोट वर्तमान समयमा नेपालमा फलामको चिउरा चपाउनु जस्तै हो । जिल्लामा अहिले कुन एकेडेमी र क्लबको खेलाडीलाई पार्ने त्यसमा राजनीति बढी हुँदै आएको छ । जिल्लालाई पावर भएका एकेडेमी र क्लबलाई कोटा नदिँदा चुनावमा भोट नपाउने डर हुन्छ । प्रदेशमा पनि सोही समस्या छ । जिल्लालाई कोटा नदिए चुनावमा भोट नदिने डरले कोहि बोल्न सक्दैन । त्यसैले पनि यो सबैबाट मुक्त हुन क्लब प्रणालीमा गैर व्यावसायिक क्रिकेट प्रवर्द्धन गर्नु अबको आवश्यकता देखिन्छ ।

जिल्ला र प्रदेशले भोटिङको चरम दुरुपयोग गरेका छन् । क्यान पनि लाचार बनेर रमिता हेर्दै आएको छ । क्रिकेट विकास नै गरौं भन्ने सोच र योजना भएका निकाय नेपालमा निकै कम छन् । जोसँग त्यो योजना छ त्यसले नेतृत्वमा अवसर पाउँदैन ।

क्यानकै केहि पदाधिकारी र कर्माचारीले सिनियर टोलमै खेलाडी छनोटमा राजनीति गर्ने आरोप पनि समय समयमा लाग्दै आएको छ । जिल्ला र प्रदेशको खेलाडी छनोटमा राजनीति अन्त्य गर्नसके मात्रै नेपाल अर्को स्तरमा पुग्न सक्छ । जसले राम्रो गर्छ त्यसैले टोलीमा मौका पाउनु पर्छ । चाहे त्यो एउटै जिल्लाको किन नहोस् ।

यदि कसैले राजनीति र पावरको आधारमा पर्न खोज्न भने त्यस्ते खेलाडीलाई प्रतिबन्ध नै लगाउनुपर्छ । खेलाडीको काम राम्रो खेल्ने हो। स्वच्छ प्रतिस्पर्धामार्फत खेलाडी छनोट हुँदा मात्र क्रिकेट विकास हुने हो । राम्रो गरेर पनि टोलीमा नपरेपछि कुनैपनि खेलाडीको मनोबल घट्छ ।

नेपालको घरेलु क्रिकेटमा जिल्ला र प्रदेशबाट खेलेर बाच्न सक्ने वातावरण छैन । यी निकाय आफैं बजेट नहुँदा नियमित प्रशिक्षण सम्म गर्न नसक्ने अवस्थामा छन् । यस्तो अवस्थामा क्लब क्रिकेट निकै आवश्यक बनिसकेको छ । यसले व्यावसायिकता सँगै खेलाडी छनोटको राजनीतिबाट पनि प्रभावकारी निकास दिनसक्छ । कम्तिमा राम्रो खेलाडीले क्लबबाट खेल्ने र आफ्नो प्रदर्शन देखाउने अवसर पाउँछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.