default_image

3 years ago

March 4, 2023

जगत गुरु – नेपाली क्रिकेटका ‘लक्की चार्म’

475 views

0 Bookmark

भुपेन्द्र जिसी, दुबई

नेपालले अन्तिम पटक यू-१९ विश्वकप २०१६ मा बंगलादेशमा खेल्दै सानदार प्रदर्शन गरेको थियो । घरेलु टोली बंगलादेशसँग क्वाटरफाइनलमा पराजित भएपछि पहिलो पटक सेमिफाइनलमा पुग्ने अवसर गुमेको थियो । त्यसैबेला नेपालसामु सन् २०१८ मा न्युजिल्यान्डमा हुने विश्वकपमा स्थान बनाउन अवसर पनि थियो । तर त्यसमा नेपाल सफल हुन सकेन ।

सन् २०१८ को विश्वकपमा पुग्न नेपालले नामिबियालाई हराउनुपर्ने हुन्थ्यो । तर माइकल भान लिंगेनले ५८ रनको साथ ४ विकेट लिँदै अलराउन्ड प्रदर्शन गरेपछि नेपालले पुन: छनोट खेल्नुपर्ने भएको थियो । नामिबियासँग त्यो हारपछि नेपालले सोझै विश्वकपमा स्थान बनाउन सकेन । र लगातार छनोटमा असफल भएपछि अर्को विश्वकप खेल्न ८ वर्ष प्रतिक्षा गर्नुपर्यो ।

सन् २०१६ मा नेपालले विश्वकप खेल्दा जगत टमाटा टोलीका मुख्य प्रशिक्षक थिए । उनी ७ वर्षपछि यू-१९ भूमिका फर्किए । नेपालको विश्वकप खडेरी तोड्न सफल भए । टमाटाको मुख्य प्रशिक्षकमा नेपालले विहीबार आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली युएईमाथि ७ रनको अविश्वसनीय जितका साथ विश्वकपमा स्थान पक्का गर्यो ।

नेपाल क्रिकेट संघ (क्यान) आइसिसीको निलम्बनमा परेपछि टमाटाले यू१९ छोडेर सिनियर टोलीको जिम्मेवारी सम्हालेका थिए । सिनियर टोलीका पूर्व कप्तान तथा क्यानका वर्तमान क्रिकेट म्यानेजर विनोद दासले त्यसबेला यू१९ टोलीको प्रशिक्षण सम्हालेका थिए । विनोदको मुख्य प्रशिक्षणमा नेपालले दुई विश्वकप छनोट खेल्यो । तर दुवै अवसरमा विश्वकप पुग्न सकेन ।

सन् २०१७ को एसिया क्षेत्र छनोटमा नेपाल अफगानिस्तानसँग पराजित हुँदै बाहिरियो । अफगानिस्तानले २०१८ मा टेस्ट मान्यता प्राप्त गरेपछि छनोट खेल्नु परेन । २०१९ मा मलेसियामा भएको यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल प्रमुख दाबेदार थियो । तर नेपाल निर्णायक खेलमा वर्षाले साथ नदिँदा डीएल मेथडमा एक रनले स्तब्ध भयो ।

नेपालले दिएको २ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको युएईले ३० ओभरमा १२२/३ को अवस्थामा वर्षाको कारण खेल रोकिएपछि एक रनले पराजित भएको थियो । त्यो एक रनको कारण नेपालले २०२० को विश्वकप खेल्न पाएन । २०२१ मा एसिया क्षेत्र छनोट नभएपछि पछिल्ला पाँच छनोटको प्रदर्शनमा युएई विश्वकप २०२२ खेल्यो । त्यही एक रन युएईलाई निर्णायक बनेको थियो । सन् २०१९ मा क्यान आएपछि विनोद दास क्रिकेट म्यानेजर बने ।

टमाटाको मुख्य प्रशिक्षकमा नेपालले पहिलो पटक २०१८ मा ऐतिहासिक ओडिआई मान्यता प्राप्त गर्यो । त्यसै वर्ष नेपालले आइसिसी विश्व टि२० एसिया रिजन क्षेत्र छनोट बी को उपाधि पनि जित्यो । डिभिजन २ मा करणले उक्त अविश्वसनीय इनिङ खेल्दा सिनियर टोलीमा उनी नै मुख्य प्रशिक्षक थिए । २०१८ को ओडिआई मान्यता होस् वा यस पटकको यू१९ विश्वकप दुवै नेपालले हारेको खेल जित्यो । २०१९ मा उमेश पटवाल आएपछि टमाटा मुख्य प्रशिक्षकबाट बाहिर भएका थिए ।

भनिन्छ क्रिकेटमा निरन्तर मिहिनेतसँगै भाग्य पनि चाहिन्छ । उत्कृष्ट टोलीले मात्रै जित निकाल्न सक्दैन । कहिलेकाहिँ भाग्यले पनि साथ दिनुपर्छ । २०१९ को एसिया क्षेत्र छनोट क्रिकेटमा भाग्य कति आवश्यक पर्छ नेपाललाई राम्रो उदाहरण हो ।

त्यसबेला यू१९ छनोट खेलेका १० खेलाडी (पवन सरार्फ, आसिफ शेख, कप्तान रोहित पौडेल, सन्दीप जोरा, भीम सार्की, प्रतिश जि.सी, राशिद खान, कुशल मल्ल, कमलसिंह ऐरी र सागर ढकाल) ले नेपालको सिनियर टोलीबाटै खेलिसकेका छन् । तत्कालिन कप्तान रोहित सिनियरको कप्तान बनिसकेका छन् । उक्त यू१९ टोलीबाट सिनियर टोलीमा खेल्न अब रित गौतम, हरि चौहान, सूर्य तामाङ र अभिषेक बस्नेत बाँकी छन् । अघिल्लो साता स्कटल्यान्ड र नामिबियाविरुद्ध घरेलु मैदानमा भएको सिरिजमा सूर्य टोलीमा परेपनि खेल्न भने पाएनन् ।

इतिहासकै उत्कृष्ट मानिएको यू-१९ टोलीले विश्वकप खेल्न पाएन । त्यसैपनि एक रनको हार धेरै पिडादायी हुन्छ । अझ त्यसमा उत्कृष्ट टोली हुँदा पनि खेल्न नपाउनुको पिडा घाउमा नुन छर्किनु जस्तै हो ।

उक्त एक रनको हारपछि नेपाल फर्किदा तत्कालिन प्रशिक्षक विनोद दासले भनेका थिए, ‘यूएईसँगको खेलमा हाम्रा पनि साना साना गल्ती थिए । हरेक दिन पानी परेपनि १०-१५ मिनेटमै सुक्थ्यो । त्यो दिन नै होला सायद पानी परेपछि सुकेन । हामीलाई भाग्ले नराम्रोसँग धोका दियो । राम्रो खेलेर मात्र पुग्दो रहेनछ । भाग्यले पनि साथ दिनु पर्नेरहेछ ।’

यसपटक विश्वकपमा छनोट भएपछि टमाटा नेपाली क्रिकेटको लागि लक्की चार्म रहेको प्रमाणित भएको छ । यूएईविरुद्ध खेलको दिन अजमानमा रहेको इर्डेन गार्डेन ओभलमा एक समय पनि पर्लाजस्तो पनि भएको थियो । विहानको समयमा आकाश पुरै कालो बादलले घेरिएको थियो । एक समय हल्का वर्षा पनि भयो । मौसम पूर्वानुमानका अनुसार दिउँसो वर्षा हुने देखाएको थियो ।

यदि पानी परेर खेल नभएको भए नेपाल पुन: विश्वकप पुग्नबाट बन्चित हुन सक्थ्यो । किनभने अंक तालिकामा समान अंक रहेपनि नेट रन रेटमा युएईमाथि थियो । नेपालको इनिङ ३५ ओभरमा चलिरहँदा सामान्य वर्षा भएको थियो । सुरुवात १९-३ को स्थितिमा गरेको नेपाललाई जति ओभर घट्छ त्यतिनै घाटा हुन सक्थ्यो । तर कालो बादल धेरै समय टिकेन । नेपालको दोस्रो इनिङसँगै कालो बादल पनि आकाशबाट हट्यो ।

युएईसँग बदला लिएपछि टमाटाले त्यो सन् २०१९ को टोली इतिहासकै उत्कृष्ट बताए । ‘मलाई अझै याद छ । २०१९ को कुरा हो । त्यो अहिले सम्मकै बलियो यू-१९ टोली हो । सन् २०१६ को विश्वकप खेलेको टोली औसत थियो । यिनीहरु पनि औसत नै छन् । तर हामीले यसपटक उपलब्ध खेलाडीबीच सन्तुलन बनाएका छौं । कसको के भूमिका छ भन्ने खेलाडीलाई थाहा छ ‘, टमाटाले भने ।

‘हामीले इतिहास फेरि रचेका छौं । सबै नेपालीको लागि खुसीको कुरा हो । मैले सुरुमै भनेको थिए । यो जित भनेको नेपाली समर्थकहरुको लागि हो भनेर । त्यसको लागि सबैलाई सर्वप्रथम धन्यवाद छ’’, टमाटाले जितपछि भने ।

कप्तान देव खनालले सुरुवात देखिनै टमाटा नेपाली क्रिकेटको लागि लक्की चार्म रहेको बताएका थिए । नभन्दै विश्वकपमा छनोट हुँदै उनी भाग्यमानी सावित भए । नेपालले एक समय खेल हार्ने देखिएको थियो । तर स्पिनर दीपेश कँडेल फिल्मी शैलीमा हिरो बने । जितको लागि १५ बलमा ८ रन चाहिँदा युएईका तीन लगातार विकेट लिँदै अविश्वसनीय रुपमा जित दिलाए । नेपाललाई भाग्यले पनि धेरै राम्रो साथ दियो । तीनै बल टर्न भए । त्यसैको कारण दुई बोल्ड र एक क्याच आउट भयो ।

‘बोर्डमा प्रतिस्पर्धात्मक स्कोर थियो । मलाई विश्वास थियो । खेलाडीहरुलाई पनि मैले त्यहिँ भनेको थिए । विश्वास सबैभन्दा ठूलो कुरा हो । लास्टमा आएर कँडेलले जुन म्याजिक (जादुमय) बल फ्याँल्यो । त्यो उत्कृष्ट थियो’’, टमाटाले भने ।

इनिङको तीन ओभर बाँकी थियो । कप्तान देव खनाल दीपेशलाई बलिङ दिने वा नदिने भन्ने दुविधामा थिए । बलिङ कसलाई दिने निर्णय लिन लामो समय लगाएका थिए । टमाटाले बाहिरबाट दीपेशलाई नै दिन आग्रह गरेपछि उनलाई थप सहज भयो ।

‘मैले आफ्नो अनुभव प्रयोग गरेको हुँ । तीव्र गतिका बलरलाई अलिकति लाग्यो पनि रन आउन सक्छ । तर स्पिनर जोखिम लियौं । विकेट पायो भने त पायो । भाग्यले तीन बल नै टर्न भयो । उसले ठाउँमा राख्यो । उसको कन्फिडेन्सलाई (आत्माविश्वास) सलाम गर्छु । तीन वटानै जादुमयी बल भयो’, दीपेशको अन्तिम ओभरबारे टमाटाले भने ।

जितपछि देवको जवाफ त्यहि नै थियो । ‘विश्वकपमा पुग्दा सर्वप्रथम मलाई विश्वास नै भएको छैन । जसरी हामीले क्रिकेट खेल्यौं । विश्वकपमा पुग्नी भनेर एउटा लक्ष्य लिएर आएका थियौं । विश्वकपमा नपुगेको ८ वर्ष भई सकेको थियो । जगत टमाटा गुरु हामीसँग हुनुन्थ्यो । वहाँ नेपाली क्रिकेटको लक्की चार्म हुनुहुन्छ । यसअघि मैले धेरै पटक भनेको छु’, उनले भने ।

देवले जितको सबै श्रेय प्रशिक्षक टमाटालाई दिए । ‘सबै खेलाडीले आफ्नो जिम्मेवारीमा गएर प्रदर्शन गरे । विशेष धन्यावाद जगत गुरु । वहाँलाई त म मिस गर्न सक्दिन । सुरुवात देखिनै वहाँले हामीलाई सुरुदेखि अन्तिम सम्म ब्याक गर्नु भयो । जगत गुरु आफैंमा मिराकल हुनुन्छ । नेपालको लागि धेरै गर्नु भएको छ । आज पनि वहाँको मिहिनेत काम लाग्यो र हामीले फेरि विश्वकप खेल्न पायौं’, उनले भने

टमाटाको शक्ति र इनर्जिलाई देखेर देवले झनै प्रंसशा गरे । ‘यो उमेरमा आएर वहाँको जुन इनर्जि लेभल छ । त्यो उत्कृष्ट छ । यो उमेरमा आएर वहाँजस्तो कसैले गर्न सक्दैन जस्तो लाग्छ मलाई । जसरी वहाँले हामीलाई ब्याक गर्नुहुन्छ । सबै कुरा एकदमै मिलाएर राख्नु भएको छ । सकै कुरा श्रेय जगत गुरुलाई जान्छ’, देवले भने ।

टमाटाको लागि विश्वकप नौलो कुरा होइन् । सन् २०१२ मा उनकै प्रशिक्षकमा यू१९ ले विश्वकप खेलेको थियो । उनैले पुन: नेपाललाई विश्वकपमा फर्काएका छन् । गत असोजमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मुख्य प्रशिक्षकबाट टमाटाले अनिवार्य अवकाश लिए । त्यसैबेला उनले राखेपबाट अवकाश लिएपनि आफू क्रिकेटमै रहने बताएका थिए ।

टमाटालाई यू१९ टोलीको जिम्मेवारी दिँदा प्रश्न पनि उठेका थिए । तर टमाटाले टोलीलाई विश्वकपमा पुर्याउँदै सबैको आलोनचा गर्नेको मुख बन्द गर्दिए । ‘अब मैले के भन्छु भने । मैले भन्दा पनि तपाईंहरुले हेर्नुभएको छ । दर्शक, क्यान र मिडियाहरुले जगत टमाटाको के योगदान गरेको छ भन्ने तपाईहरुले प्रमाणित गरेको छ । त्यसको लागि म धन्यवाद दिन चाहन्छु’, उनले भने ।

टमाटा नेपाली क्रिकेटमा स्वेदशी प्रशिक्षकमा सर्वाधिक सफलमा पर्दछन् । ऐतिहासिक ओडिआई मान्यता देखि तीन यू१९ विश्वकप जस्ता ठूला सफलता हात पारेका छन् । नेपाल विदेशी प्रशिक्षक विहीन हुँदा सिनियर टोली सम्हाल्ने पनि टमाटा नै हुन् । तीन दशक लामो समयदेखि नेपाली क्रिकेटमा प्रशिक्षकको रुपमा उनले जुन योगदान दिएका छन् । त्यो अतुलनीय छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.