2 years ago
July 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी एसिसी इमर्जिङ कप प्रतियोगितामा नेपाल बाहेक अन्य सबै टोलीले आफ्नो ए टोली पठाएका छन् । इमर्जिङ कपको कुनैपनि खेलले ओडिआई मान्यता पाउने छैनन् । इमर्जिङ कप प्रतियोगिता समूह ए मा नेपाल, युएई ए, भारत ए र पाकिस्तान ए छन् ।

नेपाली क्रिकेट टोली पछिल्लो ६ महिनामा आइसिसी विश्वकप लिग २, एसिसी प्रिमियर कप र विश्वकप छनोटमा व्यस्त रह्यो । नेपालको डेथ ओभर बलिङ कमजोरीको रुपमा देखिएको थियो । अर्कोतर्फ दुई युवा तीव्र गतिका बलर किशोर महतो र कमलसिंह ऐरी नेपालको १८ सदस्य टोलीमा भएपनि अन्तिम टोलीमा स्थान बनाउन संघर्ष गरे ।
किशोर महतो विश्वकप छनोटदेखि नेपालको टोलीमा छन् । नेपालले इमर्जिङ कपमा करण केसी र ज्ञानेन्द्र मल्ललाई विश्राम दिएको छ । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी ग्लोबल टि२० क्यानडाको कारण टोलीमा छैनन् । इमर्जिङ टिम्स कपमा त्यसैले नेपालले तीव्र गतिका बलर कमलसिंह ऐरीलाई मौका दिने अनुमान गरिएको थियो । उनी आफ्नो प्रदर्शन देखाउने एउटा राम्रो अवसरको पर्खाइमा छन् ।
इमर्जिङ कपमा मौका पाउनु पर्ने पहिलो दाबेदार खेलाडीमा कमल थिए । अझ ओमान र युएईले आफ्नो पहिलो रोजाईको टोली नै पठाएका छैनन् । दोस्रो र तेस्रो रोजाईका खेलाडी पठाएका छन् । यो प्रतियोगिता आफ्नो बेन्चमा रहेका खेलाडीलाई मौका दिने सबैभन्दा राम्रो अवसर हो । हार्दा पनि कुनै फरक पर्दैन र नेपालले केहि गुमाउनु पर्ने छैन ।

२०२२ अप्रिलमा मलेसियाविरुद्ध टियु क्रिकेट मैदानमा घाइते भएका कमल ब्युटीबोनको शल्यक्रियापछि घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । गतवर्ष प्रधानमन्त्री कपको उपाधि एपिएफ क्लबलाई जिताउन कमल र किशोरको जोडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
कमलले नेपाली क्रिकेट टोलीमा आफ्नो प्रभाव छाडिसकेका छन् । २०२२ मा ओमानमा भएको आइसिसी विश्वकप टि२० छनोटमा कमलले नेपालको टोलीबाट सानदार प्रदर्शन गरेका थिए । सोमपाल कामी र करण केसी दुबै विश्वकप छनोट टोलीमा नहुँदा उनी पहिलो रोजाईको तीव्र गतिको बलरको रुपमा खेलेका थिए । प्रदर्शन पनि उत्कृष्ट थियो ।
तर मलेसियासँगको घाइते भएपछि पनि उनले मौका पाउन सकेनन् । पछिल्लो समय लगातार टोलीको प्रशिक्षणमा रहेपनि मौका नपाएका हुन् । नेपालले सोमपाल कामीलाई विश्राम दिँदै कमललाई मौका दिनुपर्ने थियो । तर पनि नेपालले सोमपाललाई नै निरन्तरता दिएपछि कमलले पुन आफ्नो प्रदर्शन देखाउन पाएनन् ।
नेपाली क्रिकेट टोलीका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीले लाइक टु लाइक रिप्लेसमेन्ट (एउटै भूमिका भएको प्रतिस्थापन) को कारण कमलले मौका नपाएको बताउँछन् । ‘कमललाई मौका भन्दा पनि लाइक टु लाइक रिप्लेसमेन्ट छ । कमल भनेको हामीले सोमपाल रिप्लेसमेन्टमा हेरेका हौं । टोलीमा सोमपाल छ । किशोर भने करणको रिप्लेसमेन्ट हो । त्यसैले मौका नपाएको हो’, छनोटकर्ता चौधरीले हाम्रो खेलकुदसँग भने ।

सोमपाल विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेविरुद्ध घाइते हुन पुगेका थिए । सोमपालले विश्वकप छनोटमा खेल नखेलेको हुँदा इमर्जिङ कपमा मौका दिएको उनले बताए । ‘सोमपाल घाइते हुँदा त्यहाँ खेल नै खेलेन । हामी यसलाई एसिया कपको तयारीको रुपमा लिएका थियौं । सोमपालले पर्याप्त बलिङ गरेको भए हुन्थ्यो । त्यसले गर्दा पनि उनलाई टिममा राख्नु पर्यो’, उनले भने ।
सोमपालले नेपालको एक दशकदेखि खेल्दै आएका छन् । उनी नेपालको पहिलो रोजाईका तीव्र गतिका बलर हुन् । यसमा कुनै शंका छैन । तर एउटा प्रतियोगिता नखेल्दैमा सोमपाललाई इमर्जिङ कपमा मौका दिनुपर्छ र भन्ने प्रश्नको जवाफमा उनले सोमपाललाई खेल समय चाहिएको बताए ।
‘सोमपालको स्थानमा मौका दिन सकिन्थ्यो । तर त्यहाँ बलनै फालेको छैन । सबै प्रशिक्षकसँग मिलेर गर्ने हो । मैले एक्लै गर्ने पनि होईन । प्रशिक्षकले पनि उसले गरेको छैन, एसिया कपको तयारीको लागि पनि उता बलिङ गर्नुपर्यो ।’
‘कमललाई क्याम्पमा राखेको छ । जहिल्यै वैकल्पिकमा हुन्छ । म हरेक दिन क्याम्पमा हुँदैन । उसको हरेक दिनको सुधार मैले कोचबाट नै लिनुपर्छ । हामीले कोचसँग सल्लाह गरेर नै सोमपाललाई मौका दिएका हौं । कमलको बारे हामीले धेरै सोच्यौं, तर अन्तिममा हामी सोमपालमै गयौं’, चौधरीले भने ।
आरिफ शेखले पारिवारिक कारण इमर्जिङ कप नखेल्ने निर्णय लिए । तर नेपालले कमललाई होईन पवन सरार्फलाई मौका दियो । पछिल्लो समय युवा खेलाडीमा सर्वाधिक मौका पाउँदा पनि राम्रो गर्न नसकेर पवन गतवर्ष भदौंमा केन्या भ्रमणपछि नेपाली टोलीबाट बाहिरिएका थिए । पछिल्लो समय उनी बन्द प्रशिक्षणमा समेत छैनन् ।

लगातार फ्लप भएर बाहिरिएका पवनलाई नै मौका दिएपछि पुन प्रश्न उठेको छ । पवन केहि क्यान पदाधिकारी र कर्माचारीसँग राम्रो सम्बन्ध हुँदा खराब प्रदर्शनका बाबजुद लगातार मौका पाउने आरोप समेत लाग्ने गर्दछ । गतवर्ष भदौंमा नेपालले कुशल भुर्तेललाई टोलीबाट बाहिरि गरेर केन्या भ्रमणमा पवनलाई ओपनिङमा खेलाउने प्रयास समेत गरेको थियो । त्यहाँपनि उनी फ्लप भएपछि टोलीबाट बाहिरिनु परेको थियो ।
इमर्जिङ कपमा सोमपाल, प्रतिश जि.सी, किशोर महतो र गुलशन झा तीव्र गतिका बलरको रुपमा छन् । ५ तीव्र गतिका बलर पठाउन टोलीमा उपयुक्त नहुने छनोटकर्ता दीपेन्द्र चौधरीको जवाफ छ ।
‘चार जना तीव्र गतिका बलर टोलीमा छन् । अफ स्पिनर थिएन । त्यसैले पठाएको हो । पवन हाम्रो सेटअपमै थियो । क्यानले हामीलाई २८/३० जना दिदैन । खर्चको हिसाबले होला । पवन जहिल्यै हाम्रो ३० जनाको सेटअपमा थियो । पवन भारतमा अभ्यास गर्न गएको थियो । त्यहाँबाट पनि सुधारको राम्रो कुरा आएको थियो । उ आउने बितिक्कै उसले निधि कपमा राम्रो प्रदर्शन गर्यो । दीपेन्द्र नभएसँगै हामी सन्दीप जोरासँग गयौं । आरिफ नभएपछि पवनलाई ल्याउने राम्रो विकल्प भयो’, उनले भने ।

पवनको प्रदर्शन मात्रै होईन उनको टोलीमा भूमिका अहिलेसम्म स्पष्ट छैन । कहिले ओपनिङ त कहिले मध्यक्रममा खेल्ने गर्दछन् । पहिलो खेलमा पाकिस्तानविरुद्ध मध्यक्रममा खेल्दा उनी लयमा देखिएनन् । १० महिनापछि टोलीमा फर्किएका उनी एक रनमै आउट भए । बलिङमा दुई विकेट लिएका थिए ।
‘पवन लाइक टु लाइक रिप्लेसमेन्ट एक हिसाबले दीपेन्द्रको हो । यी दुबैले अफ स्पिन फाल्छन् । दिप्पीले पनि ब्याटिङ गर्छ । उसले पनि ब्याटिङ गर्छ । दिप्पीले प्रदर्शन गरोस् वा नगरोस् उ हाम्रो टप फाइभ खेलाडी हो । उसले कतै न कतैबाट टोलीलाई योगदान दिएको हुन्छ’, उनले भने ।
पवनलाई नेपालले धेरै मौका दिएको छ । तर उनले कहिल्यै आफूलाई प्रमाणित गर्न सकेका छैनन् । फेरि उनलाई मौका किन भन्ने प्रश्नम उनले अफस्पिनरमा अन्य खेलाडी नभएको बताउँछन् ।
‘कसैलाई निकाल्न भन्दा पहिला त्यसको रिप्लेमेन्ट त खोज्नु पर्यो नि । पवन छैन भने हामीसँग अफस्पिनर को त ? शेर मल्ल र यू१९ सुवास भण्डारी छन् । शेर मल्ललाई पनि हामीले हेरि राखेका छौं । प्रधानमन्त्री कपमै विकेट लिनुपर्छ भन्ने छैन । पिएम कपको प्रदर्शनले ओडिआईमा सफल हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन’, उनले भने ।
यो पनि : भारतको दादागिरीले नेपाललाई दुःख!
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]