default_image

8 months ago

September 10, 2023

खेलाडीले त देखाए, अब पालो क्यान र सरकारको

भूपेन्द्र जि.सी., काठमाडौं नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीले गत साता इतिहासमै पहिलो पटक भारत र पाकिस्तानसँग खेल्ने अवसर पायो । दुवै टोलीसँग फराकिलो हारका बाबजुद नेपाली टोलीले चौतर्फी प्रंशसा बटुल्यो । त्यसको मुख्य कारण हो विश्व क्रिकेटकै महारथी भारत र पाकिस्तानविरुद्ध खेलमा देखाएको साहस र क्षमता । पाकिस्तानको मुल्तानमा भएको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग […]

1949 views

0 Bookmark

भूपेन्द्र जि.सी., काठमाडौं

नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीले गत साता इतिहासमै पहिलो पटक भारत र पाकिस्तानसँग खेल्ने अवसर पायो । दुवै टोलीसँग फराकिलो हारका बाबजुद नेपाली टोलीले चौतर्फी प्रंशसा बटुल्यो । त्यसको मुख्य कारण हो विश्व क्रिकेटकै महारथी भारत र पाकिस्तानविरुद्ध खेलमा देखाएको साहस र क्षमता ।

पाकिस्तानको मुल्तानमा भएको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग २ सय ३८ रनले पराजित भयो । विश्वका नम्बर १ तथा टोलीका कप्तान बाबर आजमले उक्त खेलमा १ सय ५१ रनको सानदार शतकीय इनिङ खेलेका थिए । पाकिस्तानले प्रस्तुत गरेको ३ सय ४३ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल १ सय ४ रनमा समेटियो ।

वर्तमान समयका विश्वकै उत्कृष्ट तीव्र गतिको बलिङ आक्रमण भएको पाकिस्तानविरुद्ध उक्त प्रदर्शन स्तर अनुसार कमजोर थिएन । शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफको बलिङको डटेर सामना गर्नु सकारात्मक पक्ष थियो । यसैपनि पाकिस्तानको बलिङसामु विश्व स्टार खेलाडी संघर्ष गर्दै आएका छन् ।

मुल्तानबाट नेपाली टोली भारतविरुद्ध खेल्न श्रीलंकाको क्यान्डीमा पुग्यो । नेपालले अपेक्षा गरेको भन्दा धेरै राम्रो क्रिकेट भारतविरुद्ध खेल्यो । ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि १० ओभरमा ६५ रनको साझेदारी गरेका थिए । पावर प्लेमा भारतविरुद्ध उक्त प्रदर्शन सामान्य थिएन । विश्वका प्रमुख टोलीलाई पनि उक्त गतिमा रन बनाउन मुश्किल पर्ने गर्दछ ।

नेपालको उत्कृष्ट सुरुवातकै कारण भारतीय खेलाडीमा एउटा निराशा आएको थियो । विराट कोहली र रोहित शर्माको शारीरिक हाउभाउले पनि नेपालको प्रदर्शनको प्रभाव प्रष्ट पारको थियो । एक समय भारत दबाबमा पर्न थालेको थियो । तीव्र गतिका बलर मोहम्मद शिराजले आफ्नो हर्कत देखाउन थालेका थिए ।

भारतले सुरुवातमा नेपाललाई कमजोर रुपमा लिएको थियो । आसिफले १ र कुशल भुर्तेलले २ रनमा हुँदा जीवनदान पाएका थिए । त्यो गल्ती भारतलाई भारी परेको थियो । त्यसैको कारण भारतीय खेलाडी एकअर्काबाट खुसी थिएनन् । तर रविन्द्र जडेजाले आफ्नो अनुभवको फाइदा उठाउँदै तीन प्रमुख विकेट लिँदै भारतलाई खेलमा फर्काए ।

आसिफले धैर्यताका साथ ५८ रन बनाए । कुशल आक्रामक ३८ रन बनाउँदै आउट भए । सोमपालले तल्लोक्रममा उत्कृष्ट ४८ रन जोडेका थिए । दीपेन्द्रसिंह ऐरी र गुलशन झाको प्रदर्शन पनि प्रशंसनीय थियो ।

पछिल्लो दशक यताकै उत्कृष्ट ओपनर मानिने रोहित शर्मालाई पहिलो ओभर करणले केसीले निकै दबाबमा राखेका थिए । उनको इनस्वींगमा कमजोरीको करणले भरपूर फाइदा उठाए । तर लगत्तै अर्को ओभरमा गिलले सोमपालविरुद्ध लगातार चौका प्रहार गर्दै मोमेन्टम भारतको पक्षमा ल्याए । त्यसपछि वर्षाको कारण खेल प्रभावित भयो ।

नेपालले भारतविरुद्ध ४८.२ ओभरमा २ सय ३० रन बनाएको थियो । भारत जस्तो देशसँग झण्डै पूरै ५० ओभर खेल्नु र २ सय माथि रन बनाउनु नेपालको लागि जित सरह हो ।

वर्षाको कारण भारतले २३ ओभरमा जितको लागि १ सय ४५ रनको विजयी पाएको थियो । भारतले २०.१ ओभरमा उक्त लक्ष्य पूरा गर्यो । नेपालले बलिङ पनि राम्रो गरेको थियो ।

सधैं टिभीको पर्दामा देख्ने बाबर, अफ्रिदी, कोहली र रोहित शर्मा जस्ता खेलाडीसँग खेल्न पाउनु नेपाली खेलाडीको एउटा ठूलो सपना पूरा हुनु हो । यी दुई देशसँग खेलेपछि नेपाल धेरै कुरा सिकेर फर्किएको छ । नेपालको लागि यो सुरुवात मात्रै हो । आगमी दिनमा नेपाल गर्नुपर्ने उपलब्धि धेरै बाँकी छन् ।

नेपालले भारत र पाकिस्तानविरुद्ध सानदार प्रदर्शन गर्यो । तर उनीहरुको घरेलु प्रतियोगिता र संरचनासँग तुलना गर्न मिल्दैन । हरेक पक्षमा आकाश पातालको फरक छ । नेपाली क्रिकेटमा संरचना र घरेलु क्रिकेटको अवस्था निकै दयनीय छ । तर पनि सबै कुरा भुलेर खेलाडीहरु विश्व क्रिकेटका पावरहाउस विरुद्ध उच्च प्रदर्शन गरे ।

पुष यता नेपालमा कुनैपनि घरेलु पुरुषको क्रिकेट प्रतियोगिता भएको छैन । घरेलु क्रिकेटको नाममा एउटा मात्रै प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता हुँदै आएको छ । त्यसमा पनि जिल्लाको छनोट ट्यालेन्ट हन्टबाट हुँदै आएको छ । प्रदेशमा छनोट हुने गर्दछ । तर स्थानीय स्तरको छनोट अपारदर्शी र बेथितिले गाँजिएको छ । जिल्ला र प्रदेशमा क्रिकेट बुझ्ने भन्दा शक्ति संघर्ष धेरै हुँदा राम्रो क्षमता भएका खेलाडीले मौका नपाएको धेरै उदाहरण छन् ।

पिएमकपमा १० टोलीलाई २ समूहमा विभाजन गरिन्छ । समूह चरणमा एउटा वा दुईवटा खेल खेलेर आफ्नो प्रतिभा देखानुपर्ने हुन्छ । त्यहाँ चुकेको खण्डमा एक वर्ष बाहिर बस्नुपर्ने हुन्छ । नेपालमा टियु क्रिकेट मैदान स्तरिय छ । पछिल्लो समय मुलपानी मैदानले ओडिआई मान्यता पाएको थियो । तर यी दुई बाहेक अन्य मैदानको अवस्था दयनीय छ । मैदान थुप्रै छन् । तर राम्रो व्यवस्थापन हुन नसक्दा राष्ट्रिय स्तरका प्रतियोगिता खेल्न मिल्ने छैनन् ।

सस्तो लोकप्रियताको दौडमा राजनीतिज्ञ

नेपालले अलिकति राम्रो खेल्नुपर्छ, नेपालका राजनीतिज्ञहरु सामाजिक सञ्जालमा बधाई दिन हतार गर्दछन् । क्रिकेटको क नजानेपनि उनीहरुलाई नै बधाई दिन हतार हुन्छ । क्रिकेट विकास थप कसरी गर्न सकिन्छ उनीहरु कहिल्यै खेलाडी र सम्बिन्धित निकायसँग छलफल गर्दैनन् ।

प्रधानमन्त्री, राष्ट्रपति वा कुनै नेताले जानेको भनेको बधाई दिन र बिदाई गर्न मात्रै छ । मैदान बनाउने, युवा खेलाडीलाई क्रिकेटमा आर्कषित गर्न, घरेलु क्रिकेट बढाउन, विदेशमा विशेष प्रशिक्षण पहल जस्ता कुरामा चुक्दै आएका छन् ।

भारत नेपालको सबैभन्दा नजिकको छिमेकी टोली हो । विश्व क्रिकेटको पावर हाउस । नेपालले भारतबाट क्रिकेटमा जुन लाभ लिनुपर्ने हो त्यो लिन सकेको छैन । नेपाली खेलाडीले भारतीय घरेलु क्रिकेट रणजी ट्रफी( प्रथम श्रेणी), शैद मुश्ताक अली ट्रफी(टि२०) र विजय हजारे ट्रफी(५०ओभरको ) निरन्तर खेल्न पाए भनेपनि नेपालले विश्वमा छिटो फड्को मार्न सक्छ ।

भारतमा घरेलु क्रिकेट प्रतियोगिता गणना गरेर साध्य छैन । प्रदेश र जिल्लास्तरिय प्रतियोगिता त भारतमा दैनिक रुपमा चलिरहेका हुन्छन् । भारतमा घरेलु क्रिकेट खेल्न नेपालको राजनीतिक उच्च तहबाट नै पहल हुनुपर्छ । अनि मात्रै सम्भव देखिन्छ । नेपाली राजनीतिज्ञमा त्यो कुनै ज्ञान छैन ।

राम्रो नतिजामा उधारो पुरस्कार रकम घोषणा अर्को फेसन बनेको छ । एउटा खेलाडीलाई पुरस्कार रकम दिन भन्दा पनि हजारौं खेलाडी त्यो स्तरमा पुग्ने काम गर्नुपर्छ । स्थानीय तहले आफ्ना गाउँका एक खेलाडीलाई सम्मान गर्न भन्दा थुप्रै युवा प्रतिभा माथि आउने काम गर्न आवश्यक छ । खेलाडीलाई लगातार खेल्ने वातावरण मिलाउन सके नेपालको नाम चिनाउने खेलाडी आफैं उत्पादन हुन्छन् ।

काम गर्न नजानेको क्यान, पदाधिकारी र कर्माचारी

नेपालले जुन सफलता हात पारेको छ त्यो अनुसार क्यानले लाभ लिन सकेको छैन । क्यानले गर्न सक्ने हो भने नेपालले टेस्ट टोलीलाई पनि चुनौती दिन सक्छ । त्यस्को लागि ग्रासरुट, उमेर समूह, स्कुलस्तरिय, कलेज, क्लब क्रिकेट, एकेडेमी, नेपाल ए, बी, सी, निरन्तर राष्ट्रिय प्रतियोगिता, प्रमुख घरेलु प्रतियोगिता लिग, जिल्ला र प्रदेश स्तरिय क्रिकेट, मैदान निर्माणको लागि सरकारसँग पहल, खेलाडीलाई आर्थिक आम्दानीको लागि टि२० फ्रेन्चाइज लिग गर्नुपर्ने हो ।

यी सबै गर्न बलियो आर्थिक अवस्था हुनुपर्छ । आइसिसीले दिने आर्थिक सहयोगमा निर्भर क्यानको आन्तरिक श्रोत शुन्य जस्तै छ । आइसिसीले वार्षिक झण्डै १८ करोड नेपाललाई अनुदान दिन्छ । त्यहि अनुदानमा रमाएको छ । विभिन्न संस्थासँग सम्झौता र सहकार्य गर्नुपर्ने पदका कर्माचारीलाई अकर्मण्यताकै कारण निकाल्नुपर्ने अवस्था छ । २ वर्ष पदमा बसेर कसैले तलब खाने काम मात्रै गरेका छन् ।

सिमित केहि बाहेक अधिकांश जिल्ला र प्रदेश चुनाव आउँदा वा राष्ट्रिय प्रतियोगिता आउँदा मात्रै सक्रिय हुन्छन् । क्यानका प्रमुख पदाधिकारीलाई पद बाहेक अन्य सोच देखिदैन । क्यानका पदाधिकारी र कर्माचारी आइसिसीको अनुदानबाट आउने रकमबाट मात्रै काम गरेका छन् । आफ्नै आर्थिक स्रोत मजबुत बनाउन सकेका छैनन् ।

नेपालले हात पारेको सबै सफलताा खेलाडीको ठूलो योगदान छ । त्यस्तै योगदान क्यान कर्माचारी र पदाधिकारीले दिने हो भने नेपाल अर्कोस्तरमा पुग्न सक्छ ।

शून्य घरेलु प्रतियोगिता

नेपालले माघ यता लगातार अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता र सिरिज खेल्दै आएकोछ । विडम्बना घरेलु क्रिकेट शून्य जस्तैछ । घरेलु क्रिकेट खेल्ने खेलाडीहरु ठूलो मारमा परेका छन् ।

घरेलु क्रिकेट नै नभएपछि नयाँ प्रतिभा आउन कठिन पर्दछ । सिनियर टोलीमा पर्न धेरै ठूलो सपना हो । सिनियर टोलीमा खेल्ने र नखेल्ने खेलाडीबीचको दुरी धेरै टाढा छ । यसले तत्काल कुनै असर नगर्ला । तर आगमी दिनमा नेपालले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ ।

घरेलु प्रतियोगिता नहुँदा युवा खेलाडीहरु आफूलाई विकशित गर्न सक्दैनन् । घरेलु क्रिकेट खेलेर सिधैं सिनियर टोलीमा ल्याउनुपर्छ भन्ने छैन । उनीहरुलाई निरन्तर विकास गर्नुपर्ने हुन्छ । सिनियर टोलीमा कुनै खेलाडी घाइते भएमा उक्त भूमिका पूरा गर्न सहज हुन्छ । खेलाडी नेटमा खेलेर मात्रै केहि हुँदैन ।

मैदानमा खेल खेल्नुपर्ने हुन्छ । क्रिकेट आफैंमा अली खर्चिलो खेल हो । सिनियर टोलीमा पर्ने बाहेक अन्यले आर्थिक आर्जन गर्ने कुनै आधार छैन ।

नेपाली क्रिकेटमा फेरि माहोल फर्कियो, बचाउन चुनौती

२०१४ को टि२० विश्वकप खेल्नु र २०१८ मा ओडिआई मान्यता प्राप्त गर्नु नेपाली क्रिकेटको कोशेढुंगा हुन् । यी दुई सफलताले नै नेपालमा क्रिकेटको क्रेज बढेको थियो । तर दुवै ठूला अवसरलाई खेल विकासको पथमा नेपालले सोचेजस्तो सदुपयोग गर्न सकेन । नेपालले पुन: त्यस्तै अर्को क्रिकेट माहोल पाएको छ । तर यसलाई सदुपयोग गर्न त्यो भन्दा बढी चुनौती छ ।

भारत र पाकिस्तानसँग नेपालले अब कहिले खेल्छ भन्न सकिंदैन । यी दुई देशसँग खेल्न नेपाललाई दुई मात्रै अवसर छन् । एउटा हो एसिया कप र अर्को हो विश्वकप । दुवै सफलता हासिल गर्न यो समय कठिन देखिन्छ । यस पटक प्रिमियर कप नेपालमा हुँदा धेरै फाइदा भएको थियो । युएई र ओमानले यस सफलताको लागि ठूलो लगानी गर्दै आएका छन् ।

नेपाली क्रिकेटमा एउटा माहोल फर्किएको छ । २०१९ देखि २०२३ को सुरुवात सम्म नेपाली क्रिकेटमा निराशा बाहेक केहि रहेन । तर २०२३ को सुरुवातसँगै नेपालले आइसिसी विश्वकप लिग २, प्रिमियर कप हुँदै एसिया कपले ठूलो माहोल फर्काएको छ । यसलाई सदुपयोग गर्न सक्नुपर्छ । त्यसको लागि घरेलु प्रतियोगिता, संरचना र ग्रास रुटमा लगानी गर्नुको विकल्प छैन ।

दयनीय घरेलु संरचना र प्रतियोगिताका बाबजुद नेपालले राम्रो क्रिकेट खेलेको छ । ती सुविधा र विकास हुने हो भने नेपाली क्रिकेटको विकासको गतीलाई रोक्न कुनै कठिन देखिदैन । यसको लागि क्यान र सरकार मिलेर काम गर्नुपर्छ । खेलाडीले त आफ्नो क्षमता विश्व क्रिकेटलाई देखाएर प्रचुर सम्भावना रहेको प्रमाणित गरिसके । अब सहि कदम चाल्ने पालो सरकार र क्यानको ।

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

April 28, 2024

नेपाललाई वेस्ट इन्डिज ‘ए’ को मध्यम लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टि२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ६१ रनको लक्ष्य पेश गरेको छ ।  वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित […]

April 28, 2024

वेस्ट इन्डिज ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिज ए बीच दोस्रो टि२० खेल आज हुँदैछ । वेस्ट इन्डिजले टस जितेर पहिलो ब्याटिङ गर्दैछ । नेपालले पहिलो फिल्ड गर्नेछ । नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गरेको छ । लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकालले आज खेल्दैछन् । […]

Success

Thank you for your time.