default_image

2 years ago

October 21, 2023

सानदार जितसँगै नेपाल फाइनलमा

7622 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लगातार तेस्रो जित दर्ता गर्दै नेपाल त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा शनिबार भएको तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा स्थान पक्का गर्न सफल भयो ।

टस जितेर ब्याटिङ रोजेको नेपालले कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको आक्रामक अर्धशतकमा नेपालले २ सय १४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दा हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन मात्र जोड्न सक्यो ।

हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ रनको योगदान दिए । बाबर हायात २० र एजाज खानले २५ रन जोड्नुबाहेक अन्य खेलाडीले खासै ठूलो स्कोर बनाउन सकेनन् ।

नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो । यस जितसँगै नेपाल ६ अंक जोड्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो । अन्य टोलीले अंक जोडेका छैनन् ।

अब नेपालले आफ्नो अन्तिम खेल सोमबार यूएईसँग खेल्नेछ । अब यूएई र हङकङले आइतबार र बुधबार एक आपसमा खेल्नेछन् । फाइनल शुक्रबार हुनेछ ।

करण केसीले इनिङको दोस्रो बलमै मार्टिन कोट्जीलाई शून्यमा बोल्ड गरेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तेस्रो ओभरमा ललित राजवंशीले कप्तान निजाकत खानलाई २ रनमा क्याच आउट गराए ।

त्यसपछि बाबर हायात र अंशुमन रथले ४५ रनको साझेदारी गर्दै टोलीलाई उकासे । तर आठौं ओभरको अन्तिम बलमा सोमपाल कामीले बाबरलाई पेभेलियन फर्काए । उनले १५ बलमा ३ चौकासहित २० रन जोडे ।

अंशुमन र एजाजले चौथो विकेटका लागि ३३ रनको साझेदारी गरे । दीपेन्द्रको बलमा अंशुमन क्याच आउट भएका थिए । त्यसपछि हङकङले लगातार विकेट गुमाएपछि लक्ष्यसम्म पुग्न सकेन ।

नेपालका लागि सोमपाल कामी, करण केसी र ललित राजवंशीले २-२ विकेट लिए । दीपेन्द्र र डेब्यु गरिरहेका प्रतिशको नाममा १-१ विकेट रह्यो ।

त्यसअघि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन जोड्यो । औसत सुरुवात पाएको नेपालका लागि पाँचौ विकेटका लागि कुशल मल्ल र दीपेन्द्रले १ सय ४५ रनको साझेदारी गर्दै बलियो योगफलसम्म पुर्याएका थिए । यो टि२०आई क्रिकेटमा पाँचौ विकेटका लागि विश्व कीर्तिमानी साझेदारी समेत हो ।

कुशलले आफ्नो करिअरको दोस्रो अर्धशतक बनाउने क्रममा ९ छक्का सहित ९२ रनको आक्रामक इनिङ खेले । उनले ४१ बलको सामना गर्दै ३ चौका पनि प्रहार गरे । उनी ४१ रनमा हुँदा बाउन्ड्रीनजिक ड्रप भएका थिए । त्यसपछि उनले लगातार ठूलो सट खेल्दै नेपाललाई २ सय रन पार गराएका थिए ।

दीपेन्द्रले सातौं अर्धशतक जोड्ने क्रममा ५७ रनको इनिङ खेले । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । उनी १९ औं ओभरको अन्तिम बलमा विकेटकिपरको हातबाट क्याच आउट भएका थिए ।

नेपालले दोस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेललाई गुमाएको थियो । उनी २ रनमा हुँदा हारुन अर्षदको बलमा एलबीडब्लु आउट भए । त्यसपछि नेपालले असिफको साथ दिन सोमपाल कामीलाई पठाएको थियो ।

पाँचौ ओभरको पहिलो बलमा सोमपाल ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । एजाज खानको बलमा बाबर हायातको हातबाट क्याच आउट हुनुअघि उनले १२ बलमा ८ रन जोडे ।

आसिफ पनि छैटौं ओभरको अन्तिम बलमा आउट भए । आयुष शुक्लालाई लगातार दुई चौका प्रहार गरेपछि अर्को बलमा उनले क्याच आयुषकै हातमा फिर्ता दिएका थिए । उनले १३ बलमा ४ चौकासहित २० रन जोडे ।

रोहित नवौं ओभरको पहिलो बलमा बोल्ड भएपछि क्रिजमा दीपेन्द्र आएका थिए । रोहित १६ बलमा ११ रन जोड्दै मोहमद घजन्फ़रको बलमा बोल्ड भएका थिए ।

हङकङका लागि मोहमद घजन्फ़र र हरुन अर्षदले २ विकेट लिँदा आयुष शुक्ला र एजाज खानले १-१ विकेट प्राप्त गरे ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.