default_image

8 months ago

December 5, 2023

सिनियर टोलीको छायाँमा कमजोर घरेलु क्रिकेट संरचना, खेलाडी विदेश पलायनको डर

6555 views

0 Bookmark

भुपेन्द्र जि.सी.,काठमाडौं

नेपाली क्रिकेटका लागि पछिल्लो ९ महिना इतिहासकै उत्कृष्ट समय रह्यो । ओडिआई मान्यता निरन्तरता, एसिया कपमा सहभागिता र टि२० विश्वकप २०२४ का लागि छनोट हुनु नेपालका प्रमुख उपलब्धि हुन् । त्यसैले नेपाली क्रिकेटका लागि स्वर्णिम वर्ष भएको पनि मान्न सकिन्छ ।

गत फागुन यता नेपाल आइसिसी विश्वकप लिग–२ का अन्तिम १२ खेल, एसिसी प्रिमियर कपको उपाधि, एकदिवसीय विश्वकप छनोट जिम्बावे, एसिया कप, १९ औं एसियाली खेलकुद, एसिसी इमर्जिङ टिम्स एसिया कप, आइसिसी टि२० विश्वकप छनोटसँगै श्रीलंका र राजस्थानमा प्रशिक्षण क्याम्पमा व्यस्त रह्यो ।

नेपाली राष्ट्रिय टोलीका खेलाडी यति धेरै व्यस्त सायदै यसअघि भएका थिए । एकपछि अर्को ठूलो सफलताले नेपाली क्रिकेटको लोकप्रियता र स्तर ह्वात्तै बढाएको छ । तर घरेलु क्रिकेटको अवस्था भने ठ्याक्कै विपरित छ । प्रशिक्षक मोन्टी देशाइको आगमनयता नेपालमा कुनै घरेलु क्रिकेट प्रतियोगिता नै भएको छैन ।

पछिल्लो फागुन यता नेपालको सिनियर टोलीमा १५ देखि २० खेलाडी मात्रै सिमित छन् । नेपालले २० खेलाडी भित्रबाट हरेक प्रतियोगितामा एक वा दुई मात्रै परिवर्तन गर्दै आएको छ । नयाँ खेलाडी टोलीमा बोलाउन घरेलु क्रिकेट नै भएको छैन । बाध्यताले २० खेलाडीबाट लगातार टिम निर्माण गर्नु परेको छ ।

क्यानको तलब, भत्ता, म्याच फि र सरकारको पुरस्कारले फागुन यता खेलाडीहरुले कम्तिमा २० लाख भन्दा बढी कमाइसकेका छन् । तर घरेलु क्रिकेट खेल्ने खेलाडीको अवस्था दयनीय छ । आम्दानीको कुरा त धेरै टाढा हो खेलको अवस्था नै शून्य छ । त्यसैको कारण नेपाली क्रिकेट टोलीबाट खेलिसकेका खेलाडी नै विदेश जान लागेका छन् ।

समग्र नेपाली क्रिकेट सिनियर टोलीको सफलताको वेगमा पर्दा घरेलु खेल्ने खेलाडी ठूलो मर्कामा परेका छन् । तीव्र गतिको बलिङमा निकै आशा गरिएका नन्दन यादव गत वर्ष नै अष्ट्रेलिया लागेका थिए । राष्ट्रिय टोलीका जर्सी लगाएका युवा बलर किशोर महतो र सुशन भारीसँगै विक्रम सोब अष्ट्रेलिया पुगिसकेका छन् ।

खेलाडीको विदेश रोजाई यतिकैमा रोकिने छनक देखिएको छैन । नेपाली स्पिनमा भविष्य मानिएका एक अर्का स्पिनर पनि अष्ट्रेलिया जाँदैछन् । केहि प्रदेशका कप्तानले नै विदेश जान प्रक्रिया अघि बढाएका छन् । सुरुमा केहि समयको लागि भनेर गएपनि त्यहाँ पुगेपछि फर्किने गरेका छैनन् । अभिनाश बोहरा पनि घरेलु क्रिकेट नहुँदा गत वर्ष अष्ट्रेलिया नै गएर फर्किएका थिए ।

पछिल्लो समय नेपाली खेलाडीमा भारतमा आफ्नो व्यक्तिगत खर्चमै गएर क्रिकेट सिक्न थालेका छन् । तर सिकेको कुरा देखाउने ठाउँ नै पाउन सकेका छैनन् ।

त्यसको मुख्य कारण घरेलु क्रिकेट र आर्थिक अभाव हो । सिनियर टोलीका खेलाडी मालामाल हुँदा घरेलु खेल्नेको अवस्था दयनीयछ । अझ घरेलु क्रिकेट नै नभएको एक वर्षभन्दा बढी भएको छ । नेपालको प्रमुख घरेलु प्रतियोगिता प्रधानमन्त्री कप पछिल्लो पटक २०२२ नोभेम्बरमा भएको थियो ।

क्रिकेटले अन्तर्राष्ट्रिय सफलता पाएपनि घरेलु क्रिकेट शून्य हुँदा पलायनको बाटो रोज्नुपरेको एक खेलाडीले हाम्रो खेलकुदसँग भने ।

‘अब के गर्नु । नेपालमा घरेलु खेल्ने खेलाडीलाई यस्तै हो । सधैं वर्षमा १-२ खेल खेलेर बस्नुपर्ने अवस्था छ । उक्त प्रतियोगितामा राम्रो गरेपनि फेरि भुल्छन् । अब विदेश पनि खेल्न नै जाने हो’, उनले भने ।

शेर मल्ल नेपाली क्रिकेटमा अर्को सम्भावना बोकेका युवा खेलाडी हुन् । भारतको दिल्लीमा प्रशिक्षण गरिरहेका शेर घरेलु क्रिकेट नहुँदा आफूले सिकेको कुरा देखाउने ठाउँ नपाएको बताउँछन् ।

‘हामीहरुलाई घरेलु क्रिकेट निकै महत्त्वपूर्ण हुन्छ । हामीले घरेलु क्रिकेट भएन भने यहाँ आएर सिकेको कुरा देखाउने ठाउँ पनि हुँदैन । आफ्नो प्रदर्शन देखाउने ठाउँ भएन भने अभ्यास जति गरेर फाइदा हुँदैन । हामी सबै कुरा छाडेर क्रिकेटमा लागेका छौं । खेल भयो भने कम्तिमा आफ्नो क्रिकेटको खर्च त चल्थ्यो’, शेरले भने ।

सिनियर र घरेलु खेल्ने खेलाडीबीच खेलको अनुभवमा आकाश पातलको दुरी छ । सिनियर टोलीले भारत, पाकिस्तान, वेस्टइन्डिज जस्ता देशका विश्वस्टारसँग खेल्ने स्तरमा पुग्दा घरेलु क्रिकेट खेलाडीमा खेल शून्य छ । फागुन यता नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ३० भन्दा बढी खेलेको छ ।

यसले आगामी दिनमा नेपाली क्रिकेटमा टिम निर्माणमा ठूलो असर पर्न सक्छ । प्रमुख खेलाडी घाइते हुँदा पुर्ति गर्न मुश्किल पर्न थालेको छ । नेपाली क्रिकेटमा प्रतिभाको कुनै कमी छैन । केपी ओली कपमा मधेश प्रदेशले सिनियर टोलीको बाहुल्याता भएको विभागीय टोलीलाई पछि पार्दै उपाधि जित्यो । घरेलु क्रिकेट खेलाडीको लागि कति आवश्यक छ केपी ओली कप राम्रो उदाहरण हो ।

अघिल्लो महिना दीपेन्द्रसिंह ऐरी टि२० विश्वकपको समयमा खुट्टामा चोट लाग्दा घाइते भए । पेन किलरको सेवन गर्दै आफ्नो करिअरनै जोखिममा राखेर दीपेन्द्रले युएईविरुद्ध सेमिफाइनल खेलेका थिए । उनको सहि विकल्प टोलीमा भएको भए त्यो जोखिम लिन पर्ने थिएन । टोलीबाट बाहिर हुने खेलाडीले पनि पूनरागमन गर्ने अवसर पाउन सकेका छैनन् ।

घरेलु क्रिकेट अभावमा सिनियर टोली छनोट गर्न कप्तान, प्रशिक्षक र छनोटकर्तालाई पनि कठिन पर्दै आएको छ । पवन सर्राफ राम्रो सम्भावना बोकेका युवा अलराउन्डर हुन् । तर सिनियर टोलीमा मौका पाएपनि आफूलाई प्रमाणित गर्न सकेका छैनन् । त्यसैले उनले मौका पाउँदा आलोचनामा पनि पर्दै आएका छन् । गत जुलाईमा एसिसी इमर्जिङ टिम्स एसिया कपमा पवनले भारतको एकेडेमीमा राम्रो गरेको हुँदा मौका दिएको मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीले भनेका थिए ।

‘पवन अभ्यास गर्न भारत गएको थियो । हामी त्यहाँको एकेडेमीको प्रशिक्षकसँग टचमा थियौं । त्यहाँबाट पवनको राम्रो जवाफ आएको थियो । हामीसँग घरेलु क्रिकेट नहुँदा उताको एकेडेमीको प्रशिक्षकको कुरा पनि सुन्नुपर्छ’, त्यो समय चौधरीले हाम्रो खेलकुदसँग भनेका थिए ।

कर्णालीका कप्तान रविन्द्रजंग शाही घरेलु क्रिकेट नहुँदा सिनियर टोलीसम्म पुग्ने बाटो नभएको बताउँछन् । ‘सबै खेलाडीको सपना नेपालबाट खेल्ने हुन्छ । त्यो माथिको स्तरको खेल्न चाहिँ घरेलु नहुँदा गाह्रो भएको छ । घरेलु क्रिकेट जति हुनुपर्ने त्यो भएको नै छैन । वर्षमा चार खेल मात्रै हुन्छन् । फ्रेन्चाइज क्रिकेटमा सबै घरेलु खेलाडी पनि हुँदैनन् । घरेलु वर्षमा एउटा मात्रै हुँदा धेरै गाह्रो भएको छ’, रविन्द्रले भने ।

कप्तान रोहित पौडेल पनि घरेलु क्रिकेट अति आवश्यक बताउँछन् । ‘घरेलु क्रिकेट एकदमै महत्वपूर्ण छ । पछिल्लो ८ महिनामा हामी १५-२० खेलाडी मात्रै निरन्तर क्रिकेट खेलेका छौं । अरु त्यो बाहेक क्रिकेट छैन । यस प्रतियोगितापछि हामी पारस दाई र क्यानका सबै जनासँग बसेर छलफल गर्न एकदम जरुरी छ । हामी राम्रोसँग छलफल पनि गर्ने छौं’, रोहितले अघिल्लो महिना भनेका थिए ।

घरेलु प्रतियोगिता नहुँदा खेलाडी छनोट गर्न कठिन समेत भएको उनले बताएका थिए । ‘घरेलु क्रिकेट नहुँदा खेलाडी छनोट गर्न पनि गाह्रो हुन्छ । त्यहिँ १५/२० जना टियु नजिक छन् । तिनीहरुलाई मात्रै छनोट गर्न मिल्छ । घरेलु भयो भने कसले प्रदर्शन गरेको छ सोहि अनुसार छनोट गर्न मिल्थ्यो’, रोहितले भने ।

नेपाली क्रिकेटमा अहिले सबैभन्दा ठूलो आशा भनेकै पारस खड्का हुन् । नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस क्यान सचिवमा आएपछि घरेलु क्रिकेटमा ठूलो परिवर्तन र विकासको अपेक्षा गरिएको छ । पारसले आफू सचिवमा निर्वाचित भएसँगै दुई महिना अघि पहिलो बोर्ड बैठकमै प्रधानमन्त्री कप लिगमा गर्ने निर्णय गरेका थिए । प्रधानमन्त्री कप आगामी जनवरीमा हुनेछ ।

पारस विदेश जाने खेलाडीहरुको निर्णय व्यक्तिगत भएको बताउँछन् । ‘हामी बढी भन्दा बढी खेलहरु आयोजना गर्ने सोच बनाएका छौं । कोही खेलाडी विदेश जान्छ भने त्यो व्यक्तिगत निर्णय हो । को खेलाडी बाहिर गएका छन् भन्ने हो । खेलेर आफ्नो भविष्य नदेखेर गएका होलान् । खेलाडी विदेश जानु राम्रो त होईन । आफ्नो ठाउँ नेदेखी विदेश जानु खेलाडीको व्यक्तिगत इच्छा हो । नेपाली गोल्डेन क्रिकेट समयमा कोहि विदेश जान्छ भने त्यो आफ्नो स्थान नपाएरमै भन्छु म’, पारसले भने ।

घरेलु क्रिकेट परिवर्तन हुन समय लाग्ने उनी बताउँछन् । ‘फेरबदल भनेको हामी भर्खर आएका छौं । परिवर्तन अचानक हुँदैन । त्यसको लागि समय लाग्छ । हामी बढी भन्दा बढी खेल गराउने सोचमा छौं’, पारसले भने ।

त्यसैमा उनले थपे, ‘क्यानले अन्तर्राष्ट्रिय स्तरबाट जतिपनि आर्जन गर्छ त्योसँगै सरकारबाट पनि साथ गर्दै प्रदेश र जिल्लामा लागेका खेलाडीलाई पनि बाच्ने आधार त गराउनु पर्छ । तर मैले फेरि पनि भने यो अचानक आजको भोली हुने होइन । यो गराउनै पर्नेछ । घरेलुमा नै भविष्य देखाउन योजना गरिरहेको छु । हामीलाई अलिकति समय दिएपछि सार्वजनिक गरिहाल्छौं ।’

घरेलु क्रिकेट नहुनुको मुख्य कारण आर्थिक अभाव, पर्याप्त मैदान नहुनु र सिनियर टोलीमा मात्रै ध्यान दिनु हो । अर्कोतर्फ सिनियर खेलको कारण घरेलु क्रिकेट रोकिनु हुँदैन । विश्व क्रिकेटमा हेर्ने हो भने विश्वकपमा पनि घरेलु प्रतियोगिता पनि निरन्तर चलेका हुन्छन् ।

घरेलु क्रिकेट विकास विना दीर्घकालिन सफलता हुँदैन । पारसको आगमनले क्यानमा ठूला प्रायोजक भित्रिन थालेका छन् । एउटा खेलाडी र देशको क्रिकेट विकास गर्न घरेलु क्रिकेट कतिको महत्वपूर्ण हुन्छ पारसलाई राम्रोसँग थाहा छ । हरेक घरेलु खेल्ने खेलाडीको अन्तिम आशा पनि अब पारस नै हुन् ।

दीर्घकालिन विकास र अर्को स्तरमा पुग्न सिनियरसँगै घरेलु क्रिकेटमा पनि त्यतिनै ध्यान दिनुपर्छ । अब कुनै पनि बहानामा घरेलु क्रिकेट रोकिनु हुँदैन । घरेलु क्रिकेट मात्रै होईन नेपाल ए टिम निर्माण र नेसनल क्रिकेट एकेडेमी सञ्चालनमा ल्याउन अति आवश्यक छ । अबको चार वर्षमा नेपाली क्रिकेट कहाँ जान्छ घरेलु क्रिकेटमाथि हुने लगानीले निर्धारण हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.