default_image

2 years ago

February 12, 2024

क्यानडा सिरिजमा बेन्च स्ट्रेन्थको सफल परिक्षण

6604 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप गर्यो । क्यानडा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी भएपनि नेपालले यो सिरिज सिनियर टोलीको लिग-२ यात्राको तयारी र आफ्नो बेन्च स्ट्रेन्थ मापनको लागि प्रयोग गरेको थियो । मैदानमा खेलाडीले गरेको प्रदर्शन, सिरिजको नतिजा र वैकल्पिक खेलाडीको प्रयोग हेर्दा सिरिज पूर्ण रुपमा सफल भएको मान्न सकिन्छ ।

प्रशिक्षक मोन्टि देशाइले सिरिजका लागि टोली घोषणा गर्ने समयमा नै टोलीका तीन नियमित खेलाडीलाई विश्राम दिएका थिए । अलराउन्डर दीपेन्द्रसिंह ऐरी र गुलशन झासँगै तीव्र गतिका बलर करण केसीलाई क्यानडा सिरिजका लागि तयार राख्न विश्राम दिइयो । दीपेन्द्र क्यानडा सिरिज चल्दैगर्दा यूएईको आईएलटि२० मा सहभागिता जनाउन लागे । सम्भवत दीपेन्द्रको सम्भावित प्रस्थान थाहा भएर टोलीले यो निर्णय लिएको थियो ।

यू१९ विश्वकपमा लगातार क्रिकेट खेलेका गुलशनलाई पनि विश्राम दिइयो । विश्वकपमा बलिङमा राम्रो प्रदर्शन गरेका गुलशनको ब्याट भने चलेन । त्यसैले उनलाई मानसिक रुपमा तयार हुन पनि विश्राम दिने निर्णय लिइएको थियो । यता प्रधानमन्त्री कपमा लगातार खेलेका करणलाई आगामी सिरिजमा उनको आवश्यकता हेर्दै विश्राम दिइयो ।

यसबाहेक क्यानडा सिरिजको ३ खेलमा भीम सार्की र कप्तान रोहित पौडेलबाहेक सबै खेलाडीले कम्तिमा एक खेल विश्राम गरे । सुरुवाती २ खेलमा अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ द म्याच घोषित रोहितले अन्तिम खेलमा आफूलाई न बलिङमा प्रयोग गरे न ब्याटिङ नै गर्नुपर्यो ।

यता भीमले प्रधानमन्त्री कपमा खासै जम्न नसकेका कारण उनलाई ३ खेलमै मौका दिइयो । सुरुवाती २ खेलमा सुरुवात पाएपनि त्यसलाई अन्त्य गर्न नसकेका भीमलाई तेस्रो नम्बरमा बढुवा गरियो । र त्यस विश्वासमा उनले न्याय गरे । अनिल शाहसँग कीर्तिमानी साझेदारी गर्ने क्रममा उनले करिअरकै पहिलो शतक पनि बनाए ।

ब्याटिङमा कुशल भुर्तेलले आक्रामक सुरुवात दिलाउने आफ्नो छवीलाई कायम राखे । आसिफले सुरुवाती २ खेलमा राम्रो सुरुवात दिन नसक्दा तेस्रो खेलमा विश्राम दिइयो । अनिलले लगातार दुई इनिङ खेलेसँगै उनीमाथि दबाब छ । तर अहिले नै कुशल र आसिफको जोडी तोड्ने सम्भावना कम छ । नेपाल ए लाई ध्यानमा राख्दै अनिल लिग-२ को लागि वैकल्पिक सूचीमा रहेकाले पनि आसिफसँग लिग-२ मा आफ्नो स्थान प्रमाणित गर्ने अवसर छ ।

नम्बर ३ मा रोहित पौडेल नै उत्रने बलियो सम्भावना छ । यसबाहेक भीम सार्की र आरिफ शेखलाई देव खनालले मध्यक्रममा प्रतिस्पर्धा दिएका छन् । कुशल मल्ल बायाँ हाते स्पिनरको विकल्पसँगै मध्यक्रम ब्याटिङमा उभिन सक्छन् । दीपेन्द्रसिंह ऐरीको आगमनपछि भने टोलीमा बलर वा ब्याटर थप्ने विकल्पमा देशाइलाई सन्तुलन बनाउन केही सहजता हुनेछ ।

पवन सर्राफले पाएको अवसरलाई नतिजामा बदल्न सकेनन् । उनलाई हालको अवस्थामा दीपेन्द्रको सिधा परिवर्तनको रुपमा नै हेर्न सकिन्छ । रोहित पौडेल र कुशल भुर्तेलले पार्ट टाइम बलिङ गर्दै दीपेन्द्रलाई केहि सहयोग गर्न सक्छन् । तर विपक्षीमा बायाँ हाते ब्याटर धेरै हुँदा पवनलाई अतिरिक्त स्पिन अलराउन्डरको रुपमा खेलाउने विकल्प भने छ ।

डेब्यु पाएका सूर्यले घरेलु क्रिकेटको लयलाई क्यानडाविरुद्ध निरन्तरता दिन सकेनन् । बायाँ हाते ब्याटरविरुद्ध नै बलिङ गर्दा पहिलो खेलमा उनी जम्न सकेनन् । दोस्रो खेलमा केही लय समाएपनि उनको विकेट लिने क्षमता भने प्रस्फुटन हुन सकेन । सिनियर टोलीले बनाएको फिल्डीङको बेन्चमार्कमा उनी केहि संघर्ष गरिरहेको देखिन्थे । क्यानडा सिरिजलाई आधार मान्ने हो भने हाललाई ललित र कुशल मल्ल नै बायाँ हाते विकल्प देखिन्छन् ।

युवा बलरत्रय रिजन ढकाल, आकाश चन्द र हेमन्त धामी तीनैले पाएको अवसरमा राम्रो गरे । प्रतिशको स्थानमा बायाँ हाते बलरको स्थान लिएका रिजन लिग-२ को टोलीमा समावेश छन् । आकाश र हेमन्तले पनि यू१९ मा बनाएको छाप सिनियर टोलीमा कायम राखे । आकाश र हेमन्त दुवै नेपाल ए को मुख्य बलरको रुपमा उत्रने सम्भावना छ । करण र सोमपाललाई विश्राम चाहिँदा यी खेलाडी तयार भएको मान्न सकिन्छ ।

क्यानडा सिरिजमा उच्च प्रदर्शन गरेका देव खनाल र अनिल शाहलाई सिरिज सुरु हुनुअघि नै लिग-२ को विकल्पमा राखिएको थियो । नेपाल ए र क्यानडाको टोलीले लिग-२ चलिरहँदा एकदिवसीय सिरिज खेल्ने हुनाले यी दुईलाई विकल्पमा राखिएको थियो । लिग-२ टोलीमा राख्दा बेन्चमा मात्र बस्नुपर्ने अवस्था देशाइ हेर्न चाहदैन थिए ।

आकाश चन्द र हेमन्त धामीले पनि नेपाल ए बाट क्यानडाविरुद्ध खेल्नेछन् । यस्तै प्रधानमन्त्री कपमा प्रभाव छाडेका नामहरु पनि त्यो सुचिमा हुनेछन् । क्यानडाविरुद्ध उच्च प्रदर्शन गरेर यी खेलाडीले सिनियर टोलीलाई आवश्यक पर्दा आफूहरु खेल्न तयार रहेको प्रमाणित गरेका छन् ।

क्यानडा सिरिजले प्रशिक्षक देशाईलाई बेन्च स्ट्रेन्थ हेरेर केही सन्तोषको सास फेर्ने अवसर दिएको छ । सँगसँगै सिनियर टोलीमा रहेका खेलाडीलाई प्रदर्शन गर्न नसके विकल्पमा खेलाडी तयार रहेको संदेश पनि छोडेको छ । यसले टोलीभित्र आन्तरिक प्रतिस्पर्धा बढाएर टोलीलाई अझ बलियो बनाएको छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.