default_image

2 months ago

June 4, 2024

अर्को कोसेढुंगाको संघारमा नेपाली क्रिकेट

1352 views

0 Bookmark

प्रकाश तिमल्सिना, डालास

झण्डै ३ दशक लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपाली क्रिकेट टोलीले समर्थकहरुलाई पटक पटक खुसी दिएको छ । सफलता र खुसीमा सपना पनि जोडिने गर्छ । एउटा सफलताले अर्को सफलताको आशा दिलाउँछ । नेपाली क्रिकेट त्यस्तै अवस्थामा छ । हरेक पटक समर्थक टोलीको सफलता हेर्न आतुर हुन्छन् ।

क्रिकेट टोली होस् वा अन्य खेलले दिलाउने सफलताले आम जनमानसमा त्यो खेलप्रतिको चासो बढाउँछ । त्यसैले विस्तारै समर्थकको दायरालाई पनि फराकिलो बनाउँदै लग्छ । नेपाली क्रिकेट टोलीले दिलाएको सफलताको इतिहासलाई हेर्ने हो भने त्यसले समर्थकको घेरासँगै खेलको लोकप्रियतालाई पनि बढाउँदै लगेको छ ।

नेपाली टोलीले डिभिजन ५ देखि डिजिभन २ सम्मको यात्रा गर्दा होस् वा सन् २०१४ टि ट्वान्टी विश्व कप खेल्दा होस् । २०१८ मा एक दिवसिय मान्यता प्राप्त राष्ट्र बन्दा होस् वा गत वर्ष एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै वर्ष एसिया कप खेल्ने सपना पूरा गर्दा होस्, समर्थक टोली भन्दा बढी उत्साहित हुने गर्छन् ।

नेपाली टोलीले एकपछि अर्को खुड्किलो चढ्दै गर्दा युवादेखि पाका उमेरकालाई आफ्नो समर्थक बनाएको छ । क्रिकेट नै नबुझ्नेका लागि पनि अहिले यो खेल चासोको विषय बनेको छ । मैदानभित्र टोलीको प्रदर्शनका कारण मात्र होइन समर्थकहरुको कारण पनि नेपाली क्रिकेटको चर्चा विश्व क्रिकेटमा हुने गरेको छ ।

अझ कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाली टोली उत्रँदा थामिनसक्नु दर्शकको उपस्थितिले कसलाई पो लोभ्याउदैन होला ? विश्व क्रिकेटमा नेपालको परिचयमा टोलीको प्रदर्शन महत्वपूर्ण त छ नै त्योसँगै दर्शकको पनि त्यति नै ठूलो भूमिका छ । नेपालका लागि क्रिकेट अब खेल मात्र होइन त्यो भन्दा बढी राष्ट्रिय भावनासँग जोडिएको खेल भइसकेको छ ।

देशबाहिर रहेका नेपालीले पनि क्रिकेट टोलीहरुले उनीहरुको प्रदर्शनलाई नजिकबाट नियाल्ने गरेका छन् । विदेशी भूमीमा नेपाली टोलीले खेल्दा हुने गरेको बाक्लो उपस्थितिले पनि क्रिकेटको लोकप्रियतालाई मापन गर्द सकिन्छ । अहिले अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना भइरहेको टि ट्वान्टी विश्व कपमा २० राष्ट्रमध्ये नेपाल पनि छ ।

क्रिकेटले पनि विश्वका थुप्रै देशमा आफ्नो उपस्थितिलाई बढाउँदै लगेको छ । जसले गर्दौ टि ट्वान्टी विश्व कप खेल्ने टोलीको संख्या पनि बढ्दो छ । यसैपटक अमेरिका, क्यानाडा र युगान्डा पहिलो पटक टि ट्वान्टी विश्व कप खेल्दैछन् । नेपालको यो दोस्रो सहभागिता हो ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा हाल नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काको भनाई मान्ने हो भने २०१४ को विश्वकपमा नेपालको सहभागितापछि क्रिकेट जनस्तरमा पुगेको थियो । काठमाडौंसहितका शहरमा चोक चोक र गल्लीमा विश्वकपमा नेपालको खेललाई ठूला स्क्रिन राखेर हेरिएको थियो । त्यो माहोलले क्रिकेटको लोकप्रियताले नेपालमा थप उचाई लिएको थियो ।

नेपाली क्रिकेट फेरि अर्को कोसेढुंगाको संघारमा आइपुगेको छ । विश्वकपमा अब नेपाली टोलीको उपस्थिति मात्र होइन प्रदर्शनको पनि अपेक्षा हुन थालेको छ । जुन स्वभाविक पनि हो । नेपाली टोलीको क्षमता हर्दा अब टोली नियमित विश्वकपको हिस्सा हुनुपर्ने देखिन्छ । तर, त्यसका लागि टोलीले प्रदर्शनमा एकरुपता देखाउन जरुरी छ ।

कुनै समय यू १९ विश्व कपको नियमति टोली हुने गरेको नेपालले टेस्ट मान्यता न्यूजिल्यान्ड, दक्षिण अफ्रिका जस्ता टोलीलाई पनि निराश पारेको इतिहास छ । अब सिनियर टोलीले पनि त्यस्तै अप्रत्यासित नतिजा निकालेर विश्व क्रिकेटलाई सन्देश दिने समय आइसकेको छ । त्यसका लागि टि ट्वान्टी विश्व कप सबैभन्दा उपयुक्त थलो हो ।

विश्व क्रिकेटमा कागजमा ठूलो भनिएका टोलीलाई साना टोलीले स्तब्ध पारेका उदाहरण छन् । अब त्यो उदाहरणमा नेपाली टोलीले आफूलाई उभ्याउनु पर्नेछ । यसपटकको विश्वकपको समूह डीमा नेपाल ३ टेस्ट मान्यता प्राप्त श्रीलंका, बंगलादेश, दक्षिण अफ्रिकासहित एसोसिएट राष्ट्र नेदरल्यान्ड्स रहेको छ ।

ड्यालसको ग्रान्ड प्रेरि क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले यसपटकको विश्व कपको यात्रा सुरु गर्नेछ । वरियतालाई हेर्ने हो भने टि ट्वान्टीमा नेदरल्यान्ड्स १५ औं र नेपाल १७ औं स्थानमा छ । नेपालले अघिल्लो चरणमा जाने सम्भावना बनाउन होस् वा विश्व कपलाई यादगार बनाउनका लागि होस् जितबाट यात्रा सुरु गर्न आवश्यक छ । लामो तयारी र केहि अभ्यास खेलपछि नेपाली टोली विश्व कपको सुरुवातको पर्खाइमा छ ।

धेरैले जस्तै नेपाली टोलीका कप्तान रोहित पौडेलले भन्ने गरेका छन् टि ट्वान्टी त्यस्तो खेल हो यसपमा जसले पनि जित्न सक्छन् । नेपाली समर्थक त्यस्तै नतिजाको अपेक्षासहित मध्यरातमा टेलिभिजनको स्क्रिन अगाडि हुनेछन् । २०१४ को विश्व कपको प्रत्यक्ष प्रसारण हेर्दै हुर्किएको पुस्ताले यसपटक नेपालको प्रतिनिधित्व गर्दैछ । सोमपाल कामी एकमात्र खेलाडी हुन् जसले दुवै विश्व कपको माहोललाई मैदानमा खेलेर आत्मसात गर्नेछन् । त्यति बेला युवा सामपाल अहिले टोलीको सिनियर खेलाडी हुन् ।

यता ग्रान्ड प्रेरी पनि त्रिवि मैदानको झल्को दिने अपेक्षा गरिएको छ । १५ हजार दर्शक क्षमतामा भएको स्टेडियममा ८० प्रतिशत बढी नेपालीको उपस्थिति हुने अनुमान गरिएको छ । कप्तान रोहितले केहि दिन अघि भनेका थिए, ‘कीर्तिपुरपछि हाम्रो लागि ग्रान्ड प्रेरी दोस्रो होम ग्रान्ड हुन सक्छ भन्ने सुनेको छु ।’

कीर्तिपुरमा असम्भव लाग्ने गरेका कतिपय खेलको नतिजा उल्टाएको नेपाली टोलीले ग्रान्ड प्रेरीमा पनि त्यस्तै छवि बनाउन सकोस् । शुभकामना ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.