default_image

2 years ago

June 17, 2024

नेपाल बंगलादेशसँग पराजित

1156 views

0 Bookmark

किंग्सटाउन (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । नेपाल बंगलादेशसँग आइतबार २१ रनले पराजित भएको हो ।

बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा समेटियो । हार बेहोरेसंगै नेपाल लगातार दुई खेलमा टेस्ट राष्ट्र विरुद्ध जित हासिल गर्नबाट चुकेको छ । बंगलादेश भने सुपर एटमा प्रवेश गरेको छ ।

१५ बलमा २२ रन चाहिएको अवस्थामा लगातार ११ वटा डट बलको सामना गर्दै नेपालले हार बेहोर्न पुग्यो । नेपालले सो ११ बलमा अन्तिम ४ विकेट गुमाएको थियो ।

अन्तिम तीन ओभरमा नेपाललाई जितका लागि २९ रन चाहिएकोमा नेपालले १८औं ओभरमा ७ रन ल्याउन सफल भयो । मुस्तफिजुर रहमानले १९औं ओभरमा विकेट मेडन गरे । सो ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरी ३१ बलमा २५ रन बनाएर आउट भए ।

अन्तिम ओभरको पहिलो बलमा शाकिब अल हसनले सोमपाल कामीलाई स्टम्प गराए । दोस्रो बलमा अविनाश बोहोरा पनि आउट भएपछि नेपालले हार बेहोर्न पुग्यो ।

ओपनर कुशल भुर्तेलको ब्याटिङ तर्फ खराब लय आजपनि जारी नै रह्यो । दोस्रो ओभरमा उनी तान्जिम हसन साकिबको फूल टस बलमा ४ रन बनाएर बोल्ड भए ।

अनिल साहको ब्याट आज भने चल्न सकेन । उनी तेस्रो ओभरमा शून्यमा तान्जिम कै बलमा क्याच आउट भए । कप्तान रोहित पौडेल १ रन बनाएर पाँचौं ओभरमा रिशाद होसेनद्वारा समातिए ।

केही आशालाग्दो सुरुवात पाएका आशिफ शेखलाई मुस्तफिजुर रहमानले आफ्नो शिकार बनाए । आशिफ १४ बलमा ४ चौका सहित १७ रन बनाएर शाकिबको हातबाट समातिए ।

आज टोलीमा आएका सन्दिप जोराले पनि सम्झनलायक ब्याटिङ गर्न सकेनन् । उनलाई तान्जिमले पोइन्टमा रिशादकै हातबाट क्याच आउट गराए ।

पाँचौं विकेटका लागि कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी मिलेर ५२ रनको साझेदारी गरेका थिए । २६-५ को अवस्थाबाट इनिङ उकासेका सो साझेदारी कुशल मल्ललाई आउट गर्दै मुस्तफिजुरले तोडेका थिए । कुशल मल्लले ४० बलमा १ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाएका थिए । तर सो विकेटपछि भने नेपालले सम्हालिन नसक्दा सबै विकेट गुमाउन पुग्यो ।

बंगलादेशका लागि तान्जिम हसन सकिबले ४ ओभरमा २ मेडन सहित ७ रन दिएर ४ विकेट लिए । मुस्तफिजुर रहमानले ४ ओभरमा १ मेडन सहित ७ रन नै दिएर ३ विकेट लिए । शाकिब अल हसनले २ विकेट लिए भने १ विकेट तास्किन अहमदको नाममा रह्यो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ६ रन बनाएपछि नेपालले सो लक्ष्य पाएको हो ।

दक्षिण अफ्रिका विरुद्ध १ रनको झिनो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ रहेको छ । नेपालले सुरुवात देखि नै बंगलादेशलाई दबाबमा राखेको थियो ।

इनिङको पहिलो बलमा नै सोमपाल कामीले नेपालका लागि पहिलो सफलता दिलाएका थिए । तान्जिद हसनको ब्याटमा एज लागेर सोमपालले नै क्याच गरेका थिए ।

दोस्रो सफलता दीपेन्द्र सिंह ऐरीले दोस्रो ओभरमा नाजमुल होसेन शान्टोको रूपमा लिए । शान्टो ४ रन बनाएर दीपेन्द्रद्वारा बोल्ड आउट भएका थिए ।

बंगलादेशका लागि केही आशलाग्दो सुरुवाती गरेका लिटन दास पाँचौं ओभरमा पेभेलियन फर्किए । १२ बलमा १० रन बनाएर उनी सोमपालको बलमा विकेटकिपर आशिफ शेखको हातबाट क्याच आउट भए ।

अर्को ओभरमा बलिङ गर्न आएका कप्तान रोहित पौडेलले पनि नेपालमा लागि सफलता दिलाए । ठूलो शट प्रहार गर्ने क्रममा टोहिद हृदोय ९ रन बनाएर सन्दिप लामिछानेको हातबाट समातिए ।

पाँचै विकेटका लागि शाकिब अल हसन र महमदुल्लाहले साझेदारी तोडिनु अघि २२ रनको साझेदारी गरे । महमदुल्लाह नवौं ओभरको अन्तिम बलमा १३ बलमा १३ रन बनाएर रनआउट भएका थिए ।

१२औं ओभरको चौथो बलमा शाकिब पनि पेभेलियन फर्किए । २२ बलमा १७ रन बनाएका उनलाई रोहित पौडेलले लेग बिफोर विकेटमा फसाएका थिए ।

१४औं ओभरमा सन्दिपको नाममा पहिलो विकेट रह्यो । तान्जिम हसन सकिबलाई उनले सुन्दर बल गर्दै बोल्ड गराए । १५औं ओभरमा सन्दिपले व्यक्तिगत दोस्रो विकेट लिए । २६ बलमा १२ रन बनाएका जाकेर अली पनि उनको बलमा बोल्ड भए । यो विकेट सन्दिपको एक सयौं टि-२०आई विकेट रहेको थियो ।

नवौं सफलता दीपेन्द्रले दिलाए । केही आक्रामक रहेका रिशाद होसेन ७ बलमा १३ रन बनाएर अनिलद्वारा लङ-अफमा क्याच आउट भएका थिए ।

अन्तिम विकेट अन्तिम ओभरमा नै रनआउटको रूपमा खस्यो । रोहित र दीपेन्द्रको साझेदारीमा मुस्तफिजुर रहमान ३ रन बनाएर रनआउट भएका थिए । बंगलादेशका तास्किन १५ बलमा १२ रन बनाएर अविजित रहे ।

नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दिप लामिछानेले समान २ विकेट लिए ।

कप्तान रोहितले ४ ओभरमा २० रन खर्चिए । सन्दिपले ४ ओभरको आफ्नो कोटा पुरा गर्दै १ मेडन सहित १७ रन दिए । यस्तै कुशल भुर्तेलले भने ४ ओभरमा २२ रन दिएर कुनै विकेट लिएनन् । १९औं ओभरमा पहिलो ओभर बलिङ गरेका अविनाश बोहोराले १ ओभरमा १० रन खर्चिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.