काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
बुधबार भएको खेलमा पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्दै पारस नेतृत्वको विराटनगरले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रियट्समाथि ६ रनको रोमाञ्चक जित दर्ता गर्न सफल भएको थियो ।
पोखरा वारियर्सले दिएको १ सय २३ रनको लक्ष्य विराटनगरले १९.४ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । विराटनगरका लागि अन्सुमान रथले ६० रनको अर्धशतकीय इनिङ्स खेले । बबर हायात २२ रनमा आउट भए ।
कप्तान पारस खड्का ११ रनमा आउट भएका थिए । प्रनित थापा मगर ९ र करन केसी २ रनमा अविजित रहे । पोखराका इसरुल्लाह र सुसन भारीले समान २ विकेट लिँदा सुनिल धमला र कप्तान शक्ति गौचनले समान १-१ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखरा राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनाउन सक्यो । पोखराका लागि राजेश पुलामी मगरले सर्वाधिक ३० रनको योगदान दिए ।
ओपनर इसरुल्लाह २१ रनमा कप्तान पारस खड्काको बलमा एलबिडब्लुको शिकार भएका थिए । ओपनर सुनिल धमला १८ रनमा आाउट भए । ताज वाली १८ र सौरभ खानल १६ रनमा नटआउट रहेका थिए । उनीहरुले सातौ विकेटको लागि ३३ रनको साझेदारी गर्दै इनिङस उकासेका थिए ।
शक्ति गौचन ५ र विनोद भण्डारी ४ रनमा आउट हुदा आसिफ अली १ रनमा पभेलियन फर्किए । विराटनगरका कप्तान पारस खड्काले ३ विकेट लिएका थिए । वसन्त रेग्मी, अविनास कर्ण र रामनरेश गिरीले समान १ विकेट लिए । दुवै टिमले मंगलबार जित हात पारेका थिए । पोखराले चितवन टाइगर्समाथि १० विकेटको शानदार जित दर्ता गरेको थियो ।