काठमाडौं (हाम्रो खेलकुद) – युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा आइतबारदेखि गोल्डेन गेट कलेज क्रिकेट लिग (सिसिएल) ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता टियु मैदानमा सुरु हुँदैछ ।

सुरुवाती दुई संस्करण युनिभर्सिटी क्रिकेट कपको नामले आयोजना गरिएकोमा प्रतियोगिता नाम परिवर्तन गर्दै कलेज क्रिकेट लिगको नाम राखिएको हो । प्रतियोगिताको मुख्य प्रायोजक गोल्डेन गेट इन्टरनेशनल कलेज रहेको छ । प्रतियोगिता राष्ट्रिय क्रिकेटरहरुको लागि पनि खुला राखिएको छ । कुनै पनि कलेजले आफ्नो टोलीमा जति पनि राष्ट्रिय खेलाडी समावेश गर्न अनुमति दिइएको छ ।
युनिभर्सिटी क्रिकेट क्लबका अध्यक्ष सुमन राज कार्कीले कलेज तहबाटै स्तरीय खेलाडीहरु जन्माउन प्रतियोगिता कोसेढुँगा साबित हुने बताए । ‘कलेज स्तरमा राम्रो प्रतियोगिता नियमित रुपमा गरौं भनेर हामीले प्रतियोगितालाई निरन्तरता दिएका हौं । नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरुकै संलग्नता रहेकोले युवा खेलाडीहरुले यसबाट राम्रो अनुभव बटुल्न सक्नेछन् । यो प्रतियोगितालाई आगामी वर्षमा थप परिस्कृत गर्दै व्यावसायिक रुपले आयोजना गराउनेछौं,” कार्कीले भने ।
८ दिने चल्ने प्रतियोगिताका सबै खेलहरु किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ । १२ कलेजहरुको सहभागित रहेको प्रतियोगितामा विजेताले २ लाख २२ हजार २ सय २२ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार राशी प्राप्त गर्नेछन् ।
यस्तै म्यान अफ द Zसिरिजले २५ हजार रुपैयाँ र प्रतियोगिताको उत्कृष्ट ब्याट्स्म्यान र बलरले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले एक्सटेपको प्रोयाजनमा रु ५ हजार बराबरको जुत्ता प्राप्त गर्नेछन् ।
सहभागि कलेजहरुलाई चार समुहमा बिभाजन गरिएको छ र राउण्ड रोबिन लिगपछि प्रत्येक समुहको प्रथम स्थान ओगट्ने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल चैत्र १६ गते हुनेछ भने फाइनल चैत्र १७ गतेका लागि तय गरिएको छ ।
समुह क मा अर्किड इन्टरनेशनल कलेज, कान्तिपुर सिटि कलेज (केसीसी) र ट्रिटन इन्टरनेशनल कलेज रहेका छन् भने समुह बी मा काठमाडौं युनिभर्सिटी, नेपाल बन कलेज र त्रि चन्द्र क्याम्पस रहेका छन् । यस्तै समुह सी मा नेपाल कमर्स क्याम्पस, हिमालय कलेज र शंकर देव क्याम्पस रहेका छन् । समुह डी मा गोल्डेन गेट इन्टरनेशनल कलेज, त्रिभुव बिश्वबिद्यालय र ओमेगा इन्टरनेशनल कलेज रहेका छन् ।
प्रतियोगिताको अनुमानित लागत ३० लाख रुपैयाँ रहेको छ । आइतबार हुने उद्घाटन खेलमा बिहान ९ बजेदेखि अर्किडले केसिसिको सामना गर्नेछ भने एक बजेदेखि हुने दोस्रो खेलमा काठमाडौं युनिभर्सिटीले नेपाल बन कलेजबिरुद्ध खेल्नेछ ।
प्रतियोगिताको उद्घाटन त्रिभुवन बिश्वबिद्यालयका उपकुलपति तिर्थ खनियाले गर्नेछन् । नेपाल कमर्स क्याम्पस र त्रिभुवन विश्वविद्यालयले प्रतियोगिताको सुरुवाती दुई संस्करण जितेका थिए ।