7 years ago
April 13, 2019
भुपेन्द्र जिसी, काठमाडौं
नेपाली क्रिकेटको लागि वि.सं. २०७५ ऐतिहासिक र कीर्तिमानले भरिपूर्ण रहयो । यो वर्ष नेपाली क्रिकेटमा धेरै सफलता, थोरै असफलता र केहि निराशा रह्यो । एमसीसी र नेदरल्यान्डसँग त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्दै २०७५ वर्षको सुरुवात गरेको नेपालले गत माघमा यूएईसँग समान टी ट्वान्टी र वान डे सिरिज जित्दै यो वर्ष समाप्त गर्यो ।

लर्ड्समा त्रिकोणात्मक सिरिज खेल्न पाउनु, पहिलो वान डे र टी ट्वान्टी सिरिज जित्नु, आईसीसी एसिया टी-ट्वान्टी क्वालिफायर ‘बी’ को च्याम्पियन बन्नु यो वर्षमा नेपाली क्रिकेटले हात पारेका ठूला सफलता हुन् । वान डे मा पारसको पहिलो शतक, रोहितले वान डे र सन्दीप जोराले टी२० क्रिकेटमा बनाएको विश्व कीर्तिमानी अर्धशतक, सोमपालको वान डेमा पहिलो पाँच विकेट, सन्दीप लामिछानेले निरन्तर अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा गरेको उच्च प्रर्दशनले नेपाली क्रिकेटलाई अविस्मरणीय बनायो ।
एसिया कप छनोटमा खराब प्रर्दशनसँगै क्रिकेटका पावर हाउस भारत र पाकिस्तानसँग खेल्ने अवसर गुमाउनु र नेदरल्यान्डसँग पहिलो खेलमा खराव ब्याटिङको कारण पराजित हुँदै पहिलो खेलमै जित र सिरिज जित्ने अवसर गुमाउनु यस वर्षका असफलता हुन् । सधैं टाउको दुखाईको विषय बन्ने गरेको ब्याटिङ समस्या युवा खेलाडीको आगमनले केहि सुधारको संकेत दिएको छ । तर, नेपालले यो वर्ष पनि दीर्घकालीन प्रशिक्षक पाउन सकेन ।
२१ खेल : १३ जित,६ मा हार र २ नतिजा विहिन
यस वर्ष नेपालले कुल २१ अन्तर्राष्ट्रिय खेल खेल्यो । लर्ड्समा एमसीसीलाई ९ विकेटले हराउँदै सुरु भएको नेपालको यात्रा नेदरल्यान्डसँगको खेलमा वर्षा बाधक बन्दा खेल रद्ध हुन पुग्यो । लगत्तै नेदरल्यान्डसँग दुई वान डे सिरिज १–१ को बराबरीमा सकायो । एसिया कप छनोटमा खराब प्रर्दशन गर्दै ५ खेलमा ३ मा हार र २ मा जित निकालेपछि समुह चरणबाटै बाहिरियो ।
आईसीसी एसिया टी२० छनोट ‘बी’ मा कुल ६ खेलमा ५ मा जित निकाल्दा सिंगापुरसँगको खेल वर्षाको कारण नतिजा विहिन बन्यो । त्यस्तै यूएईसँगको वान डे र टी ट्वान्टी सिरिज नेपालले समान ३–१ ले जित्यो । यूएईसँगको अन्तिम टी ट्वान्टी खेलनै यो वर्षको अन्तिम अन्तर्राष्ट्रिय खेल रह्यो ।

महिला क्रिकेट : २ प्रतियोगिता, १२ खेल, दुवैमा थाईल्यान्ड तगारो
यसवर्ष महिला टोलीले २ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो । माघमा थाईल्यान्ड सम्पन्न महिला टि ट्वान्टी स्मासको समुह चरणमा यूएई, मलेसिया, चीन र थाइल्यान्ड ‘ए’ लाई सहजै पराजित गर्यो । सेमिफाइनलमा इन्डोनिसियालाई हराउँदै फाईनल पुगेको नेपालले थाईल्यान्डसँग ७० रनले पराजित हुँदै उपविजेतामा चित्त बुझायो ।
त्यस्तै फागुनमा आईसीसी महिला विश्वकप छनोटअन्तर्गत यूएई, मलेसिया, हङकङ, चीन र कुवेतलाई पराजित गरेपनि थाईल्यान्डसँग पुन: ५७ रनले पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना पूरा हुन सकेन । महिला टोलीले यो वर्ष कुल १२ अन्तर्राष्ट्रिय खेल खेल्दा १० जित र २ पराजयको नतिजा आत्मसात गरे ।
फ्रेन्चाईज लिगमा निर्भर
यसवर्ष घरेलु क्रिकेटमा पोखरा प्रिमियर लिग (पीपीएल) थपियो । जसले खेलाडीलाई अझ व्यस्त बनायो । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग(ईपीएल) मा दक्षिण अफ्रिका, आयरल्यान्डजस्ता देशका खेलाडी पनि खेले । जसले नेपाली युवा र सिनियर खेलाडीलाई थप अनुवभ बटुल्ने मौका पाए । यद्यपी ईपीएलको व्यवस्थापन प्रति भने खेलाडी रुष्ट देखिए ।
धनगढी प्रिमियर लिग (डीपीएल) ले पनि तेस्रो संस्करणमा सफल तरिकाले सम्पन्न गर्यो । डीपीएलमा काठमाडौं गोल्डेन्सले खेल बहिस्कार गर्ने निर्णणले घरेलु क्रिकेटमा गलत नजिर बसाल्यो । यी तीन फ्रेन्चाइज लिगको प्रर्दशनलाई नै मुख्य आधार मान्दै नेपालले हरेक प्रतियोगिता र सिरिजको लागि युवा खेलाडीलाई मौका दियो । यी तीन लिगले धेरै खेलाडीको जीविकोपार्जनमा निकै सहयोग पुग्यो ।

क्यानको निलम्वन यथावत
नेपाल क्रिकेट संघ (क्यान) वि.सं २०७३ वैशाखदेखि आईसीसीको निलम्बनमा छ । यसवर्ष पनि निलम्बन फुकुवा हुन सकेन । क्यानको विवाद समाधान गर्नको लागि ५ सदस्यीय स्वतन्त्र टोली गठन भयो । अदालतमा परेको मुद्धा फिर्ता लिने सहमतिबाहेक अन्य कुनै उपलब्धि हुन सकेन ।
घरेलु मैदानमा खेल छैन !
यो वर्ष नेपालले खेलेका कुल २१ अन्तर्राष्ट्रिय खेल सबै विदेशी भूमिमा थियो । ओडीआई मान्यता पाएको अवस्थामा घरेलु मैदानमा वान डे खेल हेर्ने समर्थकहरु आतुर थिए । तर क्यान नभएको अवस्थामा त्यो पुरा हुन सकेन । जुन नेपाली क्रिकेटकै दुभाग्य मान्नुपर्छ ।
महिला क्रिकेट लिग
यो वर्ष नेपालमा दुई महिला फ्रेन्चाइज लिग घोषणा भए । एनसीएल वुमन्स र वुमन्स च्याम्पियन्स टी ट्वान्टी लिग । दुवै प्रतियोगिता आगमी जेठमा हुँदै छन् । एनसीएल वुमन्स टी २० अन्तर्गत महिला क्रिकेटमा सम्भवत: विश्वकै पहिलो अक्सनमा सम्पन्न भइसकेको छ । नेपाली महिला क्रिकेटमा अन्तर्राष्ट्रिय खेल बिरलै हुने गर्छ । घरेलु क्रिकेट शून्यको स्थितिमा छ । यी दुई लिगको घोषणाले नेपाली महिला क्रिकेटरलाई उत्साहित बनाएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा
वान डे मान्यता भएको देशमा एउटा पनि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नभएको अवस्थामा यो वर्ष धुमुर्स सुुन्तली फाउन्डेसनले रंगशाला बनाउने घोषणा गर्यो । आगामी दुई वर्षभित्र सक्ने गरि बहुउपयोगि अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला बनाउने घोषणा फाउन्डेसनले गरेको छ । १७ वर्षदेखि निमार्णधीन मुलपानी क्रिकेट मैदानले यो वर्ष पनि पूर्णता पाउन सकेन । नेपाली क्रिकेटमा अन्य पुर्वधार विकासमा केहि उपलब्धी भएको देखिएन ।
२ वर्षपछि तलब
नेपाली राष्ट्रिय पुरुष टोलीले दुई वर्षदेखि रोकिएको तलब एक महिनाअघि पाए । राष्ट्रिय खेलकुद परिषदको (राखेप) को पहलमा आईसीसीले दुई वर्षदेखि रोकिएको तलब निकासा गरेको थियो ।
युवा टोलीबाट आशा
यू१९ क्रिकेट टोली हाल मलेसियामा जारी आईसीसी एकदिवसिय विश्वकप छनोट एसिया खेलिरहेको छ । शुक्रबार सिंगापुरलाई पराजित गर्दै सानदार सुरुवात गरेको नेपाल शनिबार यूएई,सँग पराजित भयो । अब मलेसिया, कुवेत र ओमानलाई हराउन सके र अन्य नतिजा अनुकुल भएमा नेपालले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने एकदिवसिय यू-१९ विश्वकप खेल्नेछ ।

अब नेपालको भविष्य ?
नेपाली क्रिकेटको भविष्य सुन्दर देखिन्छ । युवा खेलाडीको प्रर्दशनबाट निकै आशा जागेको छ । आगमी वर्ष अष्ट्रेलियामा हुने टी २० विश्वकप खेल्नु नेपालको प्रमुख लक्ष्य र चुनौती हो । जसको लागि नेपालले एसिया र ग्लोवल छनोट पार गर्नुपर्छ । वान डे मान्यता हुँदा अन्य देशसँग पनि सहकार्य गरेर सिरिज खेल्न सक्छ तर आगमी मे ३० देखी जुलाई १४ सम्म वान डे विश्वकप हुँदा यो अवधिमा नेपालले अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना न्यून छ ।
नेपालले अब टी ट्वान्टी विश्वकप र सन् २०२३ मा हुने वान डे विश्वकप हुँदै १०-१५ वर्षमा टेस्ट मान्यता प्राप्त गर्ने लक्ष्य राखेको छ । जुन पुरा गर्ने प्रतिभा र क्षमता नेपाली खेलाडीमा छ । तर तयारी थाल्न भने ढिलाई भैरहँदा दीर्घकालीन समयमा नेपाली क्रिकेटलाई ठूलो घाटा हुने निश्चित छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]