6 years ago
January 11, 2020
भूपेन्द्र जिसी, सुनसरी
‘सपनामै छु जस्तो लागिरहेको छ । विश्वास नै गर्न सकिरहेको छैन ।’
युवा ब्याट्सम्यान लोकेश बमले पहिलो पटक सिनियर राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेपछि कस्तो लागिरहेको छ भनेर सोध्दा यहि जवाफ दिए । आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज बन्द प्रशिक्षणको लागि शुक्रबार घोषणा गरिएको सुरुवाती २४ खेलाडीमा परेपछि युवा ब्याट्सम्यान लोकेशले हाम्रो खेलकुदसँग कुराकानी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

दुई साताअघि मात्र पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सबाट खेल्दै फ्रेन्चाइज लिगमा डेब्यू गरेका उनले राम्रो प्रदर्शन गरे । उमेर समूहको क्रिकेटमा औसत प्रदर्शन गरेका उनले पीपीएलमा राम्रो छाप छाडेपछि पहिलो पटक सिनियर टोलीको बन्द प्रशिक्षणमा परेका हुन् ।
त्यसो त शुक्रबार राष्ट्रिय टोलीमा पर्नुअघि नै उनले अर्को सुखद समाचार सुन्न पाएका थिए । पीपीएलको प्रदर्शनले उनलाई घरेलु लिगको उत्कृष्ट इपिएल खेल्ने अवसर जुराएको थियो । पोखरा राइनोजले पछिल्लो संस्करणमा सन्न्यास लिएका शक्ति गौचनको स्थानमा लोकेशलाई टोलीमा समेटेको खबरले उनलाई उत्साहित बनाएको थियो ।
सुनसरीमा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशबाट खेल्न शुक्रबारमात्र उनी काठमाडौंबाट इनरुवा आईपुगेका हुन् । यहाँ आएलगत्तै इपिएल खेल्ने खबर पाएका उनले सिनियर टोलीमा परेको खबर सुरुमा पत्याउनै गाह्रो भएको बताए ।

‘बाहिरबाट कोठामा आउँदै थिएँ । साथी शेर मल्लले सिनियर टोलीमा परेको भनेर भन्यो । सुरुमा हाँसो ठट्टा गरेको होला भन्ने लाग्यो । तर पछि साँच्चै रहेछ । सोचेको पनि थिइन यस्तो होला भनेर । खुसी को सिमा नै रहेन’ , उनले भने ।
पहिलो फ्रेन्चाइज लिगका रुपमा दुई साताअघि सम्पन्न पोखरा प्रिमियर लिग खेलेका लोकेशले सिनियर टोलीको बन्द प्रशिक्षणमा पर्ने तत्काल कल्पना पनि नगरेको बताउँछन् । ‘टि ट्वान्टी भएको भए आशा लाग्थ्यो होला । एक दिवसिय खेल भएको हुँदा साँच्चै भन्नुपर्दा मैले कुनै आशा गरेको थिईन,’ उनले भने ।
पाएको यस अवसरलाई लोकेश अब बन्द प्रशिक्षणमा राम्रो सदुपयोग गर्ने प्रयास गर्ने बताउँछन् । ‘सिनियर टोलीमा पर्दा निकै खुसी छु । अब यो अवसरलाई भरपुर सदुपयोग गर्नेछु । बन्द प्रशिक्षणमा राम्रो गरेमात्र टोलीमा स्थान बनाउन सकिन्छ । लगातार मिहिनेत गर्छु र आफ्नो लयलाई निरन्तरता दिने प्रयास हुनेछ,’ उनले भने ।

धनगढी क्रिकेट एकेडेमीबाट हुर्किएका १७ वर्षिय ब्याट्सम्यान लोकेशले यू१९ उमेर समूह हुँदै छोटो समयमै घरेलु क्रिकेटमा राम्रो छाप छाडेका छन् । पीपीएल लिग चरणमा पारस खड्का कप्तान रहेको चितवन राइनोजविरुद्ध ३६ बलमा ५ चौका र ५ छक्का सहित ६२ रनको उत्कृष्ट इनिङ खेल्दै सबैको मन जित्न सफल भएका थिए । लोकेश पीपीएलमा मोस्ट भ्यालुएवल खेलाडी घोषित भएका थिए । आक्रामक शैलीमा ब्याटिङ गर्ने लोकेश टोलीलाई राम्रो सुरुवात दिने गर्दछन् ।
गतवर्ष भारतको लखनउमा यू१९ मा डेब्यू गरेका लोकेशले असारमा मलेसियामा भएको एसीसी यू१९ इस्टर्न रिजनको उपाधि जित्दा उनी टोलीमा थिए । दुई महिना अघि मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल भ्रमणका क्रममा नेपाली यू-१९ क्रिकेट टोलीसँग मैत्रीपूर्ण एकदिवसीय खेलमा पनि लोकेशले राम्रो सुरुवात दिलाएका थिए । लोकेशले ओपनिङ, शीर्षक्रम र तल्लोक्रम सबैमा ब्याटिङ गर्ने क्षमता राख्छन् । लोकेश वैकल्पिक विकेटकीपर समेत हुन् । लोकेश इनरुवामा जारी एमएम कपपछि बन्द प्रशिक्षणको लागि पोखरा जाने छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]