5 years ago
March 20, 2020
भूपेन्द्र जिसी, काठमाडौं
ब्याटिङ पक्ष नेपाली क्रिकेटको परम्परात समस्या हो । अन्तर्राष्ट्रिय स्तरमा नेपालले जतिपनि ठुला साना अवसर गुमाएको छ, लगभग सबै अवस्थामा कमजोर ब्याटिङ नै मुख्य कारक रहँदै आएको छ । विशेषगरी ओपनिङ पोजिसन ब्याट्सम्यानलाई निल्नु वा उकल्नु बनेको छ ।
निरन्तर खराब ओपनिङकै कारण केहि खेलाडीको करिअरनै अन्त्यको संघारमा छन् । ओपनिङ सुधारको लागि नेपालले पछिल्लो तीन वर्षमा एक दर्जन भन्दा बढी प्रयोग गरेको छ । तर कसैले पनि टोलीको आवश्यकता अनुसार ठुलो इनिङ खेल्न सकेका छैनन् । ओपनिङ पोजिसन अझैपनि खुल्ला छ ।
पछिल्लो तीन वर्षमा सुनिल धमला, नरेश बुढाएर, दीलिप नाथ, अनिल कुमार शाह, ईशान पाण्डे, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, विनोद भण्डारी, प्रदीप ऐरी, सागर पुन लगायत एक दर्जन भन्दा बढी ओपनर प्रयोग गरेको छ । तर स्थिति सुधार हुनुको सट्टा झनै बिग्रदै गएको छ । ओपनिङको समस्या सुल्झाउने धुनमा पूरा ब्याटिङ लाइनअप नै कमजोर र भद्रगोल बनेको छ । मैदान छिर्न नपाउँदै पेभेलिएन फर्किनु नेपाली ब्याट्सम्यानको लागि सामान्य बनेको छ ।
कमजोर भुुटानमाथि १३ औं दक्षिण एसियाली खेलकुद (साग) टि२० क्रिकेटमा पारस र ज्ञानेन्द्रले पहिलो विकेटका लागि १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । जुन पछिल्लो समय ओपनरले गरेको सर्वाधिक ठुलो साझेदारी हो । सन् २०१२ डिभिजन ४ मा अमेरिकाविरुद्ध ओपनरले १ सय ११ रनको साझेदारी गरेका थिए । उक्त खेलमा सुवास खकुरेल र अनिल कुमार मण्डल ओपनर थिए । अनिल १२ रनमा रिटायर्ट हर्ट भएपछि सुवासले ३० रनको अवस्थाबाट ज्ञानेन्द्रसँग १ सय ११ रनको साझेदारी गरे ।
अन्य खेल र प्रतियोगितामा नेपालको ओपनिङ बिरलै राम्रो देखिएको छ । प्रमुख ब्याट्सम्यान पारस, विनोद भण्डारी र ज्ञानेन्द्रलाई ओपनिङमा प्रयास गरेपनि सफल हुन सकेनन् । नेपालको ओपनिङ ब्याटिङ राम्रो हुन नसक्नु पछाडी टोली, कप्तानी, प्रशिक्षक र व्यवस्थापनको कमजोरी देखिन्छ । नेपालले जतिसुकै खेलाडी प्रयोग गरेपनि ओपनिङ ब्याटिङ समस्यामा सुधार हुन नसक्नुको प्रमुख ६ कारण यस प्रकार छन् ।
६. धैर्यताको कमी
कुनै पनि खेलाडी डेब्युमै तयार हुँदैनन्, राम्रो खेलाडी तब तयार हुन्छ उसले जब खेलको गल्ती गदै सुधार गर्छ । त्यो समयसम्म धैर्यता गर्न सक्नुपर्छ । नेपालले युवा खेलाडीलाई निरन्तर डेब्यु गराएपनि लामो समय धैर्यता गर्न सकेन । सुनिलले सन् २०१७ मार्चमा केन्यासँग डेब्यु गरेका थिए । यू१९ विश्वकपमा राम्रो प्रर्दशन गरेका सुनिललाई दीर्घकालीन ओपनर हेरिएको थियो । तर पहिलो खेलमा ३ र दोस्रो खेलमा १ रनमा आउट भए पछि पुन मौका पाएनन् ।
बायाँ हाते विकेटकिपर दीलिपले २०१७ मा युएईविरुद्ध डेब्यू गरे । तर उनले पनि लामो यात्रा गर्न सकेनन् । २०१८ मा जिम्बावेमा भएको एकदिवसिय विश्वकप छनोट यता स्थान बनाउन सकेनन् । दीलिप पछि अनिल शाह आए । यू१९ मा राम्रो प्रर्दशन गर्दै सिनियर टोलीमा डेब्यु गरेका अनिलले राम्रो सम्भावना देखाए । २ ओडीआई, ७ लिष्ट ए र १ टि ट्वान्टी पछि अनिलले पुन मौका पाएनन् ।
ईशानले गत सेप्टेम्बरमा सिंगापुरमा भएको त्रिकोणात्मक सिरिजमा जिम्बावेविरुद्ध डेब्यू गरे । जसमा ४ खेलमा क्रमश: ४, ५ , २२ र २ मा आउट भएसँगै उनी पनि पुन: अर्कोपटक मौका पाएनन् । कुशल भुर्तेललाई नेपालले बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स एसिया कपमा ३ खेल पछि पुन: मौका दिइएन । यी केहि उदाहरण मात्र हुन् ।
नेपाल नरेश बुढाएर, सुवास खकुरेल, प्रदीप ऐरी, पवन सर्राफ, विनोद भण्डारीलाई पनि प्रयोग गरेको थियो । नरेश त नेपाल छाडेर क्यानडामै क्रिकेट प्रशिक्षणमा व्यस्त छन् । यसबीचमा कसैले पनि लामो समय मौका पाएनन् । जसले गर्दा समस्या सुधार हुन सकेन ।
५. सुरक्षा र आत्माविश्वास नहुनु
एकै खेल र प्रतियोगिता आधारमा खेलाडीलाई टोलीमा राख्ने र निकाल्ने गर्दा आत्माविश्वास र सुरक्षाको अनुभुती हुँदैन । नेपालले एक दर्जन भन्दा बढी ओपनर प्रयोग गर्दा कसैले पनि लामो यात्रा गर्न सकेनन् । एक दुई खेल प्रर्दशनमा आधारमा धेरै खेलाडी बाहिरिएका छन् । एक खेल नराम्रो खेल्दैमा टोलीमा नपर्ने सम्भावना बढी हुँदा खेलाडीमा आत्माविश्वास आउँदैन । जसले गर्दा थप दबाब पर्छ र खराब सट खेल्दै आउट हुने डर हुन्छ ।
एक खेलमा खराब प्रर्दशन गर्दा अर्कोमा मौका नपाउने वातावरण भए खेलाडी टोलीको लागि भन्दा पनि आफ्नो स्थान सुरक्षित गर्नतर्फ (सेल्फिस) खेल्न थाल्छन् । युवालाई मौका दिँदा अनुभवी खेलाडीलाई पनि ध्यान दिनुपर्छ । अनुभवी र युवा भएमा मात्र टोली सन्तुलन हुन्छ । गत फेब्रुअरी अन्तिममा दक्षिण अफ्रिका ओपनर जानेमान मालन अष्ट्रेलियाविरुद्ध पहिलो ओडीआईमा डेब्यु खेलमा शुन्यमा आउट भएपनि दोस्रो खेलमा १ सय २९ रनको अविजित विजयी इनिङ खेलेका थिए । जसले खेलाडीमाथि विश्वास देखाउन आवश्यक छ भन्ने बताउँछ ।
४. डेब्युमा हतार
पछिल्लो समय ओपनरको रुपमा प्रयोग भएका सबै खेलाडीले फ्रेन्चाइज लिग वा उमेर समुहको प्रर्दशनको आधारमा सिनियर टोलीमा स्थान बनाए । टेष्ट टोलीका खेलाडी यु१९, घरेलु हुँदै प्रथम श्रेणी खेलेर मात्र टोलीमा पर्ने सम्भावना हुन्छ । ठूला टेस्ट राष्ट्रले त ‘ए’ टोली बनाएर सिरिज खेलेपछि मात्र मुख्य टोलीमा स्थान दिन्छन् । यसरि लगातार क्रिकेट खेलेर निखारिदा सिनियर टोलीमा उत्कृष्ट प्रर्दशन गर्छन् । तर नेपालमा ५० ओभरको प्रतियोगितानै बिरलै हुन्छ । नेपालमा लामो शैली अर्थात डे क्रिकेटका घरेलु प्रतियोगिता कागजमा नै सिमित रहँदै आएको छ ।
एक प्रतियोगितामै सबै खेलाडीले आफ्नो क्षमता अनुसारको प्रर्दशन गर्छन् भन्ने हुँदैन । पछिल्लो समय घरेलु र उमेर समुहमा कुनै पनि ओपनरले एक दुई खेल राम्रो खेलेमा सिनियर टोलीको सम्भावना रहन्छ । राष्ट्रिय टोलीमा सहजै स्थान बनाउने हुँदा जिम्मेवारी पनि कम उठाउन थालेका छन् । कुनै पनि खेलाडी परिपक्व नहुँदासम्म राम्रो प्रर्दशन गर्न सक्दैनन् । नेपालले युवा खेलाडीलाई डेब्यु गराउन अलि बढीनै हतार गर्दै आएको छ । घरेलु प्रतियोगितामा तयार नभई सिनियर टोलीमा पर्दा प्रर्दशन खराब रहँदै आएको छ ।
यर्थाथमा भन्ने हो भने ईशान पाण्डे प्रधानमन्त्री कपकै प्रर्दशनको आधारमा टोलीमा परेका थिए । उनको अन्य र उमेर समुहको प्रर्दशन राम्रो थिएन । हो, उमेर र घरेलु प्रतियोगितामा देखिएको सम्भावनालाई सिनियर टोलीको लागि तयार पार्दै लैजानुपर्छ । बेन्च बलियो पार्नुपर्छ । तर एक दुई खेल राम्रो खेल्दैमा र टोलीको आवश्यताको कारण डेब्यु गराउनु पक्कै राम्रो होइन ।
नेपालले ओपनरको रुपमा जतिपनि युवा खेलाडीलाई डेब्यु गरायो । ती घरेलु प्रतियोगितामा वर्षभर निरन्तर राम्रो प्रर्दशन गरेका बिरलै छन् । खेलाडीले शतक हान्नु भन्दा पनि उसले कस्तो बलरलाई, कुन बल र सट छनोटमा आत्माविश्वास थियो वा थिएन भन्ने कुरा महत्वपूर्ण हुन्छ । जुन कुरा हामीले कमै हेर्ने गर्दछौं ।
३. निरन्तर परिवर्तन जोडी
विपक्षीको प्रमुख बलरको सामना गर्न ओपनरलाई पक्कै सहज हुँदैन । नयाँ बल र उत्कृष्ट बलरसामु रन जोड्न क्षमता मात्र भएर हुँदैन दुई ओपनरबीच तालमेल पनि राम्रो हुनुपर्छ । एक तर्फबाट एउटा ब्याट्सम्यानले लगातार डट खादा अर्को खेलाडीलाई दबाब बढ्छ । अर्कोतर्फ टोलीमा खेलाडी परिवर्तन गर्दा त्यसको असर अर्को खेलाडीलाई पर्नसक्छ । तालमेल मिल्नुपर्छ । विश्व क्रिकेटमा जतिपनि सफल ओपनर छन् तीनको साझेदारी पनि लामो छ ।
वर्तमान क्रिकेटमा सफल ओपनर भारतीय शिखर धवन र रोहित शर्माले सन् २०१३ देखि गर्दै आएका छन् । सर्वाधिक सफल ओपनर भारतीय पूर्वकप्तान सचिन तेन्दुलकर र सौरभ गांगुली मानिन्छन् । यी दुबैले सन् १९९६ देखी २००७ सम्म ओपनिङ गदै १ सय ३६ इनिङमा २१ शतक र २३ अर्ध शतक सहित ६ हजार ६ सय ९ रन जोडेका छन् । निरन्तर परिवर्नत जोडीको कारण खेलाडीमा तालमेल मिल्न कठिन पर्छ । त्यसको असर प्रर्दशनमा पर्छ । नेपालले पनि फरक प्रतियोगितामा फरक ओपनर जोडी मैदान उतारेको छ । जसको कारण ओपनिङ कमजोर बनेको हो ।
२. विपरित पोजिसन
अन्तर्राष्ट्रिय स्तरमा प्रर्दशन गर्न घरेलु प्रतियोगितामा तयार हुनुपर्छ । घरेलु मैदानमा पुरानो र अन्तर्राष्ट्रिय खेलमा नयाँ बलको सामना गर्दा प्रर्दशन पनि फरक हुन्छ । पिएम कपमा इशानले तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए । तर उनलाई सिनियर टोलीमा ओपनिङको जिम्मेवारी दिँदा सफल हुन सकेनन् ।
ज्ञानेन्द्र, पारस, कुशल, पवनले पनि घरेलु प्रतियोगितामा ओपनिङ गदैनन् । ज्ञानेन्द्रलाई पोखरा प्रिमियर लिगमा अन्तर्राष्ट्रिय स्तरमा ओपनिङ गर्नुहुन्छ भने घरेलु प्रतियोगितामा पनि ओपनिङमै किन तयार हुनुहुन्न भन्ने प्रश्न गर्दा टोलीको आवश्यकता अनुसार गरेको जवाफ दिएका थिए । अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रर्दशन गर्न घरेलु प्रतियोगितामा उक्त पोजिसनमा तयार हुनुपर्छ । तर नेपालमा त्यो ठ्याक्कै उल्टो हुन थालेको छ । जसको नतिजा खराब छ ।
१. कमजोर रणनिती
अघिल्लो महिना आइसिसि विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपालले ओपनिङ ब्याटिङ सुधारको लागि शीर्षक्रमका पारस खड्कालाई र ज्ञानेन्द्रको जोडीको रुपमा मैदान उतार्ने योजना बनायो । पहिलो खेलमा ओमानविरुद्ध ओपनिङ गर्दै ज्ञानेन्द्र १ र पारस ३ रनमा आउट भए । तर दोस्रो खेलमा अमेरिकाविरुद्ध सुवास र ज्ञानेन्द्रले ओपनिङ गरे ।
पहिलो खेलमा सफल भइन्छ भन्ने हुँदैन । ओपनिङ ब्याटिङनै सुधार गर्ने योजना अर्थात रणनिती थियो भने कम्तिमा यी दुवैले त्रिकोणात्मक सिरिजभर ओपनिङ गर्नु पर्थ्यो। यसले टोलीको रणनिती र योजना कतिसम्म कमजोर छ दर्साछ, यो एक उदाहरण मात्र हो ।
नेपालले युवा खेलाडीलाई मौका दिनुअघि सिनियर टोलीमा राम्रो प्रर्दशन गरि रहेका अनिल कुमार मण्डल, महेश क्षेत्री र सुवास खकुरेल जस्ता अनुभवी खेलाडीलाई टोली बाहिर राखेको थियो । वास्तवमा भन्ने हो भने तुलनात्मक रुपमा अहिलेका खेलाडीको भन्दा यी तीन ओपनरको प्रर्दशन राम्रो थियो ।
अनुभवी खेलाडीलाई बाहिर राखेपछि निश्चित रणनिती र योजनाका साथ यो अवधीमा युवा खेलाडी तयार पार्न सक्र्नुपर्थ्यो। तर अहिले न युवा खेलाडी तयार भए । न ती खेलाडी नै सिनियर टोलीमा नियमित समेट्न सकिने अवस्था भयो । आगामी दिनको नेपालको ब्याटिङक्रमको योजना र रणनिती हाल शून्य जस्तै छ । कुन खेलाडीलाई कति मौका दिने भन्ने कुनै योजना छैन । एकले खराब प्रदर्शन गर्दा विकल्प मात्र खोज्यो तर दीर्घकालीन तयारी गर्न कहिले सोच भएन । सिधै डेब्युदेखि नियमित प्रदर्शन आशा गर्न भन्दा पनि निश्चित योजनाका साथ तयार पार्नतर्फ ध्यान दिनु आवश्यक देखिन्छ ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।