default_image

6 years ago

April 24, 2020

राजु खड्का – ‘कप्तान भएर पनि भिसा नलाग्नु दुखद’

431 views

0 Bookmark

कप्तान कथन

राजु खड्का (नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान)

घर मेरो भैरहवा हो । १३ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेको थिएँ । स्कुलको मैदानमा आफ्नो उमेरका साथीहरुसँग खेलिन्थ्यो । जहाँ सिनियर दाईहरु पनि त्यहि मैदानमा अभ्यास गर्न आउथे । सिनियर दाई त्यति बेला वसन्त शाही, शंकर राना लगायतका थिए । अभ्यास गर्न आउँदा विकेटकिपरले कहिले काहिँ छाडेको बल मैले पछाडीबाट फाल्दिन्थे ।

म लगातार त्यहि गर्दा दाईले मलाई पहिलादेखि नै नियाल्नु भएको रहेछ । एक दिन दाईले बोलाएर तलाई क्रिकेट खेल्न मन लागेको छ भनेर सोधेपछि बलिङ गरे । तेरो एक्सन राम्रो रहेछ भोली देखि नियमित अभ्यास गर्न आउनु भन्नु भयो । अनि मेरो क्रिकेट यात्रा सुरुवात भयो । उहाँहरुले मलाई सिकाउन थाल्नुभयो । एक दुई वर्षमा धेरै सिके ।

राम्रो गर्न थालेपछि दाईहरुको तिरुपती क्रिकेट क्लबबाट खेल्न पाएँ । तिरुपतीबाट मैले धेरै प्रतियोगिता खेले । भैरहवाबाट बोर्डर नजिक भएको हुँदा धेरै त भारतमा खेल्थ्यौं । भारतमा धेरै राम्रा क्लब आउने हुँदा धेरै सिक्न पाइयो । अनि म रुपन्देहीबाट खेल्न थाले । २०५१ औं सालमा धनगढीमा भएको जय ट्रफी मैले पहिलो राष्ट्रिय प्रतियोगिताको रुपमा खेले । त्यसअघि क्लबमा मैले धेरै खेल खेलेको थिएँ । धेरै राम्रो पनि गरे ।

त्यतिबेला जय ट्रफीलाई नेशनल (राष्ट्रिय) प्रतियोगिताको रुपमा चिनिन्थ्यो । जुन प्रतियोगितामा रुपन्देहीले उपाधि जितेको थियो । त्यो बेला सायद  कप्तान जंगबहादुर थापा हुनुन्थ्यो । त्यसपछि निरन्तर राष्ट्रिय र घरेलु प्रतियोगिता खेलें । खेल्दै जाँदा म म्यान अफ द म्याच र सिरिज धेरै भएँ । व्यक्तिगत प्रर्दशन धेरै राम्रो भएको थियो । मैले धेरै अर्धशतक हाने । धेरै कीर्तिमान बनाएँ ।

२०५२ सालमा विरगन्जमा भएको राष्ट्रिय प्रतियोगितामा मैले सञ्जम रेग्मीलाई एकै ओभरमा पाँच छक्का प्रहार गरेको थिएँ । जनु एकै ओभरमा सर्वाधिक रन हान्ने राष्ट्रिय कीर्तिमान पर्दछ । त्यहि प्रतियोगितामा म कप्तान रहँदा कलैयाविरुद्ध १२ छक्का सहित १ सय ५७ रनको शतकीय इनिङ खेलेको थिएँ । जुन बेला राष्ट्रिय प्रतियोगितामा कीर्तिमान भएको थियो । त्यसपछि राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाईयो ।

प्रशिक्षणमा अलराउन्डरको रुपमा म सन् १९९६ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा मलेसियामा एसिसी ट्रफि खेल्दा टोलीमा परे । म टोलीको प्रमुख बलर हुँदा ब्याटिङमा तल्लोक्रममा हिटरको भुमिका निर्वाह गरे । त्यसैले पनि ब्याटिङमा धेरै पालो आउदैन थियो । बलिङमा बंगलादेशविरुद्ध २ विकेट लिएका थिए । पप्पुवा न्युगिनीसँग पनि राम्रो गरे । समग्र प्रतियोगितामा धेरै राम्रो गरेको थिएँ ।

दुई वर्षपछि नेपालमा भएको एसिसी ट्रफिमा मलाई अप्रत्यासित रुपमा ओपनिङ पठाईएको थियो । नेपालले ओपनर खोजिरहेको थियो । त्यसमा ओपनर ब्याट्सम्यान कमजोर भएको हुँदा त्यति बेला अष्ट्रेलियन प्रशिक्षक थिए । उनले मलाई र गणेश शाहीलाई अभ्यासमा ओपनिङ गराए । अभ्यासमा गणेशले शतक हान्दा मैले जम्मा ३२ जति रन हानेको थिएँ । त्यसपछि गणेश शाही ओपनर पक्का भएका थिए ।

गणेशलाई तयार पारेपछि खेलमा त मलाई पो अप्रत्याशित रुपमा ओपनर पठाए । म मानसिक रुपमै तयार थिएन । त्यसैले रन बनाउन सक्ने कुरा पनि भएन । मैले मध्यक्रममा ब्याटिङ गर्थे । बलिङमा भने राम्रो गरे । त्यो प्रतियोगितामा हामीले सोचे जस्तो प्रर्दशन गर्न सकेनौं । ब्याटिङ राम्रो भएन । जुन आजसम्म पनि नेपाली टोलीको प्रमुख समस्या छ ।

सन् २००२ मा सिंगापुरमा भएको एसिसी ट्रफीमा म कप्तान भएँ । सबैभन्दा महत्त्वपूर्ण पक्ष त्यसबेला एसिया कपमा छनोट भयौं । फाइनलमा यूएईसँग हारेपनि एसिया कपको टिकट काटियो । हामी धेरै खुसी भयौं । तर भारत र पाकिस्तानको युद्धको कारण त्योबेला एसिया कप नै भएन । एसिया कप खेल्ने सपना पूरा हुन सकेन । अहिलेसम्म नेपाल एसिया कपमा छनोट हुन सकेको छैन । त्यो नेपाली क्रिकेटको कालो दिन मान्छु । धेरै मिहिनेत गरेर त्यहाँसम्म पुगेका थियौं । त्यो बेला अनुभवी खेलाडी हुने कुरा भएन । मैले अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा एसिसी ट्रफी र तीन दिवसिय खेल नै बढी खेले ।

उतिबेला सेवा सुविधा पनि हुँदैन थियो । नेपालको लागि खेल्नुपर्छ भनेर सधैं मन लगाएर  खेलियो । आजको जस्तो मनि माइन्डेड (पैसाको लागि) भएर खेलिदैन थियो । एसिया कप खेल्न नपाएपछि हामी एसिसी ट्रफीमै सिमित रह्यौं । हामी तीन दिवसिय खेल खेल्यौं । यूएईमा हामी बराबर हुँदा नेपालमा जित्यौं । मलेसिया पनि नेपाल खेल्न आएको थियो र हामीले जित्यौं ।

नेपालमै इमर्जिङ नेशन प्रतियोगिताको नाम भएको खेलमा सन् २००३ मा भुटान र माल्दिभ्ससँग खेलेका थियौं । जुन हामीले जित्यौं । त्यहि क्रममा मैले भुटानविरुद्ध नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय शतक हाने । त्यो शतक मैले ५० बल जतिमा हानेको थिएँ होला । त्यसबेला पछिल्लो ५० रन मात्र १३ बलमा अर्धशतक पुरा गरेको थिएँ । सन् २००४ सम्म खेले । त्यसपछि भने खेलिन । हालसम्म मैले औपचारिक सन्न्यास चाहिँ लिएको छैन । अहिले प्रशिक्षकको रुपमा छु । सम्रगमा क्रिकेट करिअरमा अलराउन्ड प्रर्दशन गरें।

सुरुमा हाम्रो शीर्षक्रमका ब्याट्सम्यान ३२–३५ ओभर सम्म खेल्ने तर रन नै नबनाउने । स्कोर बोर्डमा १ सय रनको हाराहारीमा योगफल मात्र बन्ने । त्यो अवस्थामा रनरेट बढाउनु पर्ने दबाब हुन्थ्यो । मैले आक्रामक रुपमा रन जोड्नु पर्ने हुन्थ्यो । धेरै जसो अवस्थामा ३०–४० रन हानेर फर्किन्थे । टोलीले सम्मानजक योगफलसम्म पुग्थ्यो ।

एसिया कप छनोट हुनुनै मेरो कप्तानीको उत्कृष्ट क्षण र ठूलो सफलता मान्छु । एसिया कप खेल्न नपाउनु मेरो कप्तानीको अधुरो सपना पनि रह्यो । २०६० सालमा काठमाडौंमा भएको विरेन्द्र मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगिता भएको थियो । करीअरमा मैले यति एरअरलाइन्स, महाबीर क्लब र तिरुपति क्लबाट क्रिकेट खेले ।

सन् २००१ म नेपालले आइसिसीको पहिलो प्रतियोगिताको रुपमा क्वालिफायरको लागि मेरो कप्तानीमा टोली घोषणा भएको थियो । तर पनि भिसा नपाएको कारण क्यानडा जान पाइन । मसहित कुश गुरुङ, राजकुमार प्रधान र विरेन्द्र शाह भिसा नपाएर क्यानडा जान पाएका चार जना खेलाडी थियौं । यसमा संघको गल्ती थियो । हाम्रो थिएन ।

आइसिसिको पहिलो प्रतियोगिता त्यो पनि कप्तानलेनै भिसा नपाएर खेल्न नपाउनु । त्यति बेला साह्रै नरमाइलो लाग्यो । गल्ती के भएको थियो र भिसा किन पाइएन भन्ने कसैले भनेनन् । सबै भन्दा दुखद कुरा यहि पर्छ । त्यो बेला भारतको दिल्ली पुगेर भिसा लगाउनु पर्थ्यो । संघले हामीलाई सर्वसाधरणलाई जस्तै दिल्ली पठाएको थियो ।

नेपाली क्रिकेटमा अहिले पनि मलाई सम्मानजनक नामले हेर्छन् । क्रिकेट खेलेर आफ्नो रहर पुरा गरे । जहाँ जान्छु त्यहाँ पूर्वकप्तान भनेर मान सम्मान गर्छन् । मैले क्रिकेटबाट पाएको कुरा यहिनै हो । त्यो बेला क्रिकेटमा खासै लगानी हुदैन थियो । त्यो बेला हामी आफैले सबै कुराको व्यवस्था गर्नुपर्ने थियो । त्यो बेला हामी पैसाको लागि खेलिने थिएन । खेलेर पैसा कमाउने भन्ने परको सोच थियो । हामी देशको लागि खेल्थ्यौं ।

नेपाली क्रिकेटलाई माथि पुर्याउने नै एकमात्र सपना रहन्थ्यो । अहिले राम्रो गरे भविष्यमा राम्रो प्रतियोगिता खेल्न पाइन्छ भनेर मनैदेखि देशलाई सम्झेर खेलियो । खेलमा सधैं रमाईयो । अहिले राम्रो गर्न सक्यौं भने पछि टेष्ट टोलीसँग खेल्न पाइन्छ भन्ने सपना हुन्थ्यो । म जतिपनि खेलें देशलाई सम्झेर खेलें  त्यो समयमा नै ओडिआई मान्यताको सपना देखेर खेलेको थियौैं ।

पछिल्लो समय खेलाडीमा मनोमानी धेरै बढ्न थालेको छ । यस्तो देख्दा दुख लाग्छ । घरेलु प्रतियोगिता शुन्य जस्तै छ । त्यसैले अब माथिल्लो स्तरमा पुग्न हामीलाई गाह्रो हुन्छ । सन्दीप लामिछाने चितवनबाट निस्कियो । घरेलु प्रतियोगिता नभएपछि सन्दीप लामिछाने जस्ता अन्य प्रतिभा अब भएपनि माथि आउन सक्दैनन् । हुन त सपना ठूलो नै देख्नुपर्छ, तर अहिले मेरो विचारमा हामीले टेष्ट सपना देख्ने समय होइन । हामी ओडीआईमा कसरी राम्रो गर्ने भनेर ध्यान दिनुपर्छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानहरुको संस्मरण समेट्ने क्रममा हाम्रो खेलकुदले सबै कप्तानहरुको खेल जीवन प्रतिविम्बित गर्ने प्रयास गर्नेछ । यो लेख हाम्रो खेलकुदका भुपेन्द्र जिसीले कुराकानीका आधारमा तयार पारेका हुन् । यसअघि अन्य कप्तानहरुको संस्मरण पढ्न यहाँ थिच्नुहोस ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.