5 years ago
April 26, 2020
कप्तान कथन
विनोद दास (राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान)
मैले क्रिकेट खेल्न सुरुवात गर्दा अहिलेको जस्तो अवस्था थिएन । समय बिताउने बाटोको रुपमा हेरिन्थ्यो । क्रिकेटसँगै मार्सल आर्ट्स र फुटबलमा पनि रुचि थियो । सिजन अनुसार खेल्थ्यौं । वर्षाको समयमा पानी पर्ने हुँदा फुटबल खेलिन्थ्यो । अरु बेलामा
बिहान मार्सल आर्ट्स र बेलुका क्रिकेट ।
म २–३ कक्षा पढ्दा देखि नै क्रिकेट खेल्थें । दाईहरुको पछि–पछि लागेर जान्थें । कक्षा ८ मा पढ्दा म कलैया क्रिकेट क्लबबाट यू१९ प्रतियोगितामा सहभागि हुने मौका पाएँ । त्यसपछि अरु खेल खेलिन । कलैया त्यस समयमा नेपालमै एक सर्वाधिक क्रिकेट प्रतियोगिता गर्ने क्लबको रुपमा परिचित थियो ।
हरेक दिन अभ्यास, नेट, ब्याटिङ, बलिङ लगाएत सबै क्लबमै हुन्थ्यो । सुशील चौलागाईं र दिनेश अग्रवाल लगायतका दाईहरुको रुचिले गर्दा क्लब चलेको थियो । उहाँहरुले आफ्नो गोजाबाट (व्यक्तिगत) पैसा हाल्नुहुन्थ्यो । ब्याट बल उहाँहरुले नै दिनुहुन्थ्यो । हामीहरु गएर खेल्दिए हुने । अहिले जस्तो पैसा तिरेर सिक्ने चलन त्यो बेला थिएन ।
कलैया क्रिकेट क्लबको ए, बी र सी टिम थियो । हामी विभिन्न स्तरमा एक अर्कासँग खेलिनै रहन्थ्यौं । म पहिलो राष्ट्रिय प्रतियोगिता खेल्न लहान गएको थिएँ । त्यो बैला मैले अझैं एस.एल.सी पनि दिएको थिइन । २०५२–५३ सालतिर हुनुपर्छ । लहानमा म कलैैया क्रिकेट क्लबबाट खेल्न गएको थिएँ । म १३ वर्षको थिए होला । त्यो बेला भारतबाट पनि टोली आउँथे । भैरहवाको टोलीमा राजु खड्का दाईहरु आउनु भएको थियो ।
सन् १९९७ मा कक्षा ८ को जिल्ला स्तरिय परिक्षा भर्खर दिएर बसेको थिएँ । यु१९ राष्ट्रिय छनोट कलैया र विरगन्जमा भएको थियो । जिल्लाको कप्तान म थिएँ । पछि राष्ट्रिय टोलीमा नै छनोट भएँ । विरगन्जमा १५–२० दिनको बन्द प्रशिक्षण पछि राष्ट्रिय यु१९ टोली घोषणा भयो । म उपकप्तान थिएँ । सन् १९९७ डिसेम्बरमा हङकङमा एसिया कप खेल्न गयौं । प्लेट फाइनलमा हङकङसँग हार्यौं । हाम्रो पहिलो भ्रमण थियो । मलेसिया र थाईल्यान्डलाई हराएपनि अन्य टोलीसँग हार्यौं । त्यो बेला पप्पुवा न्युगिनी पनि हाम्रो क्षेत्रबाट खेल्थ्यो ।
१९९९ मा सिंगापुरमा यू१९ एसिया कप भएको थियो । जसमा मैले पहिलो पटक यु१९ नेपाली टोलीको कप्तानी गरेको थिएँ । जुन विश्वकपको क्वालिफायर पनि थियो । हामी सेमिफाइनलमा मलेसियालाई हराएर फाइनलमा पुग्यौं । फाइनलमा हामी बंगलादेशसँग पराजित भएपनि अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा छनोट भयौं । मैले ८ विकेट लिएको थिएँ ।
मेरो कप्तानीमा २००० मा विश्वकप खेल्न श्रीलंका गयौं । जुन विश्वकप भारतले जितेको थियो र युवराज सिंह म्यान अफ द सिरिज चुनिएका थिए । हामी केन्यालाई हराएर सुपर ८ मा पुगेका थियौं । सुपर ८ मा भारत, श्रीलंका र इंग्ल्यान्डसँग पराजित हुन पुग्यौं । यो विश्वकपमा ९ विकेट सहित नेपालबाट सर्वाधिक विकेट लिने खेलाडी म बने । यु१९ विश्वकप खेलेर फर्केपछि मैले त्यसै वर्ष एसिसी ट्रफिमा घरेलु टोली युएईविरुद्ध ‘डेब्यु’ गरे । सिनियर टोलीमा पर्दा म १७ वर्षको मात्र थिएँ । यु१९ नै खेल्न बाँकी थियो ।
२००२ न्युजिल्यान्डमा भएको विश्वकपमा पनि मैलेनै नेपाली यु१९ टोलीको नेतृत्व गरे । दोस्रो विश्वकपमा हामीले उत्कृष्ट क्रिकेट खेल्यौं । हामीले खेलेको ८ मध्य ६ खेल जित्यौं । पहिलो खेलमा इंग्ल्यान्ड र प्लेट फाइनलमा जिम्बावेसँग हार्दा बाहेक अन्य सबै खेल जित्यौं । त्यो बेला स्कटल्यान्ड, आयरल्यान्ड, पाकिस्तान, बंगलादेश लगाएतका टोलीलाई हराएका थियौं । म नेपालबाट सर्वाधिक विकेट लिने खेलाडी बने । मैले ११ विकेट लिएँ । सम्भवत दुवै विश्वकपमा नेपालबाट सर्वाधिक विकेट लिन म थिएँ होला । यो विश्वकपमा यी दुई प्रतियोगिताले सिनियर टोलीमा मेरो स्थान बलियो बनायो ।
सिनियर टोलीमा यूएईविरुद्ध डेब्यु खेलमा २ हो की ३ विकेट लिएको थिएँ । सन् २००१ म क्यानडामा भएको आइसिसी ट्रफी पनि खेलें । हाम्रो समयमा थ्री डे र एसिसी ट्रफी बढी हुन्थ्यो । मलेसियामा सन् २००५ पहिलो पटक वर्ल्ड क्रिकेट लिग खेल्दादेखि राष्ट्रिय टोलीको कप्तानी गरेको हुँ । पहिलो प्रतियोगितामै सेमिफाइनलमा फिजीसँग ३ रनले हार्न पुग्यौं ।
फिजीले दिएको १ सय ३४–३५ रनको लक्ष्य पछ्याउँदा ३५ रनको हाराहारीमा हाम्रो ९ विकेट गुम्यो । अन्तिम विकेटका लागि मैले र राजकुमार दाईले ९४ रनको साझेदारी गरेका थियौं । दुर्भाग्य ३ रन आवश्यक हुँदा म आउट हुन पुगे । म ४६ रन जतिमा आउट भएको थिएँ । मलाई यो खेल धेरै याद आउँछ । आफ्नो तर्फबाट प्रयास गर्दै अन्तिमसम्म फाइट गरेको हुँदा पनि र अर्को जितसम्म पुग्न नसकेको हुनाले पनि ।
मैले पहिलो कप्तानीमै राम्रो प्रर्दशन गरेको हुँदा कुनै गाह्रो भएन । त्यो बेला हामीले युएई, हङकङ, मलेसियासँग थ्री डे खेल्थ्यौं । जसलाई एसिसी प्रिमियर लिग भनिन्थ्यो । यो प्रतिस्पर्धामा हामीले सधैं राम्रो गयौं । अहिलेको होम अवे हुन्छ नी हो त्यस्तै त्यो बेला एक अर्का देशमा गएर खेल्नुपर्थ्यो । तीन दिने प्रतियोगिता, टेष्ट जस्तै । एक पटक उपाधि जित्यौं । एक पटक उप विजेता । भुटान र माल्दिभ्ससँग खेल्यौं र जित्यौं पनि ।
मलेसियासँग पहिलो इनिङमा ५ विकेट र दोस्रोमा ४ गरि ९ विकेट लिएको थिएँ । युएईसँग पनि तीन दीने(थ्री डे) खेलेमा मैले ५ विकेट हल लिएको छु । २००० देखि २०१२ सम्म राम्रो खेले । नियमित टोलीमा परें । सन् २०१० मा डिभिजन ५ मा खेल्न योग्य हुँदा हुँदै पनि प्रर्दशनको कारण म घरेलु मैदानमै अमेरिकासँग लिगको खेलमा प्लेइङ ११ बाहिर रहें । जुन मैले खेलेदेखि पहिलो पटक प्रर्दशनको कारण बाहिर हुनु परेको हो । त्यहि खेलमा ढुङ्गा मुढा भएको थियो ।
फाइनलमा भने राम्रै खेले । उपाधि जित्यौं । मैले २००८ सम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गरे । अनि पारस खड्का कप्तान भए । मैले २००८ मा एसिसी ट्रफिमा अन्तिम कप्तानी गरेको थिएँ । पारसको कप्तानीमा पहिलो प्रतियोगिता सन् २००९ मा एसिसी टि२० युएईमा खेले ।
विश्वकप खेल्ने मेरो ठुलो सपना थियो । विश्वकप खेल्ने सपना दुई पटक पुरा हुन सकेन । एउटा फिजिसँग ३ रनले सेमिफाइनलमा हारेर तुहिएको थियो । त्यस प्रतियोगितामा पप्पुवा न्युगिनीले जितेर क्वालिफायर खेलेको थियो । अर्को २०१२ मा नेपालको टि२० क्वालिफायर टोलीमै परिन । बन्द प्रशिक्षणमा देशभरबाट ५० खेलाडी बोलाएर चार टोली बनाइएको थियो । सबैले तीन–तीन खेल्न पाउँथे ।
म तीन खेलमा ९ विकेट लिँदै सर्वाधिक विकेट लिने बलर बने । एक खेलमा ब्याटिङ गर्ने मौका पाएँ । त्यसमा पनि १० बलमा २६ रन जति हानेको थिएँ । तर टोलीमा परिन । आफ्नो तर्फबाट राम्रो गर्दा गर्दै पनि टोली व्यवस्थापनले नयाँ टि२० टिम र युवालाई मौका दिने सोचका साथ आएको हुँदा म टोलीमा पर्न सकिन । पछि त्यहि टोलीले विश्वकप खेल्यो ।
२०१२ मलेसियामा भएको डिभिजन ४ को उपाधि जित्दा म टोलीमा थिएँ । सबै खेल खेलें र प्रर्दशन पनि राम्रै थियो । त्यसपछि फर्केर हामी लगत्तै युएई एसिसी ट्रफि खेल्न गएका थियौं । त्यहि क्रममा अभ्यासमा फिल्डिङ गर्ने क्रममा घुँडामा चोट लाग्यो । त्यसपछि टोलीमा पुनरागमन गर्न सकिन । टोलीमा पुनरागमन गर्ने वातावरण पनि भएन । अर्को आफूले पनि त्यो स्तरमा खेल ल्याउन सकिन । क्रिकेट करियरमा यहि पक्ष अलि नराम्रो लाग्छ । म र अमृत भट्टराई दुवै घाइते भएका थियौं । तर पनि नेपाल फाइनलमा पुगेर संयुक्त विजेता बनेको थियो ।
मैले सबै कुरा क्रिकेटबाट पाएको छु । जिन्दगिमा जे जतिपनि कुरा सिकेको छु, सबै क्रिकेटलेनै सिकाएको छ । चाँहे लड्न होस् वा धैर्य गर्न । जीवनमा कसरी सकारात्मक रुपमा लिने भनेर सबै क्रिकेटले नै सिकायो । मैले जति पनि नाम पाएको छु सबै क्रिकेटले नै हो । अहिले जतिपनि काम गरेको छु त्यो सबै क्रिकेटसँग सम्बन्धित छ । पढाई पनि क्रिकेटले नै पढायो । ह्वाइट हाउसबाट ब्याचलर देखि एमबिए पढे । सबै छात्रवृत्तिमा । त्यो क्रिकेटकै कारणले पाएको हुँ ।
सबै कुरा क्रिकेटले दियो । क्रिकेटले गर्दा नै यहाँ सम्म छु । क्रिकेटले जे दिएको छ त्यो अहिले बिस्तारै फर्काउन खोजिरहेको छु । त्यो बेला क्रिकेट प्यासनको रुपमा बढी परिचित थियो । अहिले व्यावसायिक भएको छ । अहिले करियरको रुपमा हेर्छन् । मैले २०१२ सम्म क्रिकेट खेल्दा कहिले पनि करियर र कामको रुपमा हेरिन । सधैं प्यासनले खेले । हाम्रो बेला राम्रो के थियो भने खेलाडीबीच निकटताले एउटा परिवार जस्तो अनुभव हुन्थ्यो ।
हेर्नुस् अहिले म सिनियर टोलीको त्यति नजिक छैन । त्यसैले त्यहाँको कुरा भन्न अलि सक्दैन । म अहिले यु१९ प्रशिक्षकमा छु । जुनियर केटाहरुलाई सकेसम्म एकले अर्कालाई सहयोग गर्ने, सँगै लिएर हिँड्ने अर्थात क्रिकेट संस्कारको अनुभव विकास गराउन खोजिरहेको छु । तर यसो भन्दैमा प्रशिक्षक भईसकेपछि सबै आफ्नो नियन्त्रणमा हुँदैन ।
हामीले सक्ने भनेको सम्झाउन र सिकाउन मात्रै हो । एउटा कुरा सिकायो । खेलाडीले अर्को तरिकाले गर्न सक्छ । सबै कुराले गर्दा पनि खेलाडीमा भन्दा पनि प्रशिक्षकमा फ्रस्टेसन आउछ । मैले राष्ट्रिय यू१९ टोलीलाई मात्र होइन पुरा देशमा जतिपनि यू१९ मुनिका क्रिकेट खेल्ने खेलाडी खेल्छन् ती सबैलाई सकेसम्म खेल्ने अवसर तयार गर्न खोज्छु ।
यू१९ एसिया कपमा २०१७ मा भारतलाई हराउनु प्रशिक्षक करियरको एक उत्कृष्ट क्षण हो । राम्रो नतिजा आयो भने खेलाडीको चर्चा हुन्छ । र हुनुपनि पर्छ । आएन भने गाली खाने प्रशिक्षकले नै हो । जबसम्म खेलाडी टिमको रुपमा खेल्दैन तव व्यक्तिगत सफलता क्षणिक मात्र हुन्छ, यो कुरा उसले कहिल्यै भुल्नु हुँदैन । च्याम्पियन बन्न टोली एकजुट हुनुपर्छ ।
जिम्मेवार निकाय क्यान नहुँदा चार वर्षसम्म हामीले क्रिकेट खेल्यौैं मात्र । विकासका काम केहि भएनन् । त्यसैले अबको चार वर्ष दोब्बर काम गर्न सक्नुपर्छ । निद्राबाट उठ्नै पर्छ । भौतिक संरचना मात्र होइन दक्ष अम्पायरदेखि सबै म्यानपावर तयार गर्न सक्नुपर्छ । बाहिरबाट खेलाडी खेलेन, शून्यमा आउट भयो भन्न सजिलो छ । तर हामीले गर्नुपर्ने कामनै गरेका छैनौं । टालटुल र काम चलाउ हिसाबमा अघि बढेको छौं । अब यसरी अघि बढ्न सकिदैन । सबै कुरामा परिवर्तन हुन आवश्यक छ । क्रिकेटमा सबै एकजुट भएर एउटै बाटोमा हिडेनौं र दश जना १० बाटोमा हिड्ने हो भने सफलता पाउन सकिँदैन । च्याम्पियन बन्न टोली एक हुनैपर्छ ।
क्रिकेट खेलि रहनुभएको छ भने जित र हारको बीचमा राखेर मात्र नर्हेनुस् । क्याच छोप्दाको रमाईलो । दौडिएर बल समात्दाको रमाईलो । ब्याटिङ गर्दा ब्याटको बीचमा ठोकिनुको रमाईलो । बलिङ गर्दा बिट हुँदा होस् वा स्टम्पमा लाग्दाको रमाईलो । यी कुरामा रमाउनुहोस् । यदि तपाईले यस्तो गर्नुभयो भने पक्का पनि तपाईले लामो समय सम्म क्रिकेट खेल्न सक्नुहुन्छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानहरुको संस्मरण समेट्ने क्रममा हाम्रो खेलकुदले सबै कप्तानहरुको खेल जीवन प्रतिविम्बित गर्ने प्रयास गर्नेछ । यो लेख हाम्रो खेलकुदका भुपेन्द्र जिसीले कुराकानीका आधारमा तयार पारेका हुन् । यसअघि अन्य कप्तानहरुको संस्मरण पढ्न यहाँ थिच्नुहोस ।
November 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग ( एनपिएल) मा सहभागी टिम लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। आज आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे। यो सम्झौता एक वर्षको लागि भएको हो भने दुवै पक्षले रकमबारे खुलाउन चाहेनन्। सम्झौता पत्रमा हस्ताक्षर गरेपछि […]
November 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा राइफरलाई भित्र्याएको हो। ३१ वर्षीय राइफर अलराउन्डर हुन्। उनले टि ट्वान्टी मा ९३ खेल खेलेका छन्। १ हजार १ सय २४ रन बनाएका उनले ६६ विकेट लिएका छन्। राइफरलाई […]
November 11, 2024
एजेन्सी – पाहुना टोली इङ्ग्ल्याण्डले वेस्ट इण्डिजमाथि लगातार दोस्रो टि ट्वान्टी आई खेलमा जित हासिल गरेको छ । इङ्ग्ल्यान्डले घरेलु टोलीलाई सोमवार बिहान सकिएको खेलमा ७ विकेटले हरायो । इङ्ग्ल्यान्डले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ । १ सय ५९ रनको लक्ष्य इङ्ग्ल्याण्डले १४.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । टोलीका कप्तान […]