default_image

4 years ago

May 7, 2020

क्रिकेटको मेरुदण्ड बनेको ‘जय ट्रफी’

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट प्रतिस्पर्धात्मक युगमा प्रवेश गर्दा एक प्रतियोगिताको नाम नेपालका हरेक खेलाडीको लवजमा हुन्थ्यो, जय ट्रफी । वर्षेनी हुने राष्ट्रिय क्रिकेट प्रतियोगिताको रुपमा स्थापित यस प्रतियोगिता स्थानीय स्तरबाट क्लबको सहारा हुँदै राष्ट्रिय टोलीको ढोकासम्म पुग्ने बाटो थियो । हरेक खेलाडीको सपनाको सिढी बनेको यस प्रतियोगिता पछिल्लो समय भने गुमनाम छ । कुनै […]

107 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेट प्रतिस्पर्धात्मक युगमा प्रवेश गर्दा एक प्रतियोगिताको नाम नेपालका हरेक खेलाडीको लवजमा हुन्थ्यो, जय ट्रफी । वर्षेनी हुने राष्ट्रिय क्रिकेट प्रतियोगिताको रुपमा स्थापित यस प्रतियोगिता स्थानीय स्तरबाट क्लबको सहारा हुँदै राष्ट्रिय टोलीको ढोकासम्म पुग्ने बाटो थियो । हरेक खेलाडीको सपनाको सिढी बनेको यस प्रतियोगिता पछिल्लो समय भने गुमनाम छ ।

कुनै पनि देशको क्रिकेट विकाशको लागि घरेलु प्रतियोगिता निकै महत्वपुर्ण र आवश्यक रहन्छ । अझ ग्रासरुटको लगानी विना क्रिकेट विकासको आशा गर्नै सकिंदैन । ग्रास रुटमा लगानी शून्य छ भने फ्रेन्चाइज लिगमा लगायतका प्रतियोगितामा करोडौं लगानी गर्नु बालुवामा पानी हालेझैं हुन्छ । त्यसले देशको क्रिकेट विकासमा खासै प्रभाव पार्दैन ।

पछिल्लो समय नेपालमा तीन फ्रेन्चाइज लिगसँगै प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसिय प्रतियोगिता हुँदै आएको छ । फ्रेन्चाइज लिगको बढी निर्भरताले स्तर बढ्नुको सट्टा घट्दो छ । नेपाली क्रिकेटको इतिहास त्यति लामो छैन । ४० वर्षअघि नेपालमा क्रिकेट क्लब, टोल र केहि शहरमा सिमित थियो । क्लब र मैत्रीपुर्ण खेल सिमित स्थानमा हुन्थ्यो । यसरीनै क्रिकेट चलेको थियो । सन् १९६५ देखि २००१ सम्म नेपाल क्रिकेट संघ क्यानमा जयकुमार नाथ शाह अध्यक्ष र विनयराज पाण्डेले महासचिवको रुपमा रहेका थिए ।

भारतको प्रभावले गर्दा पनि तराइका केहि स्थानमा किकेट अलि बढी चहलपहल र लोकप्रिय थियो । क्यानका तत्कालिन महासचिव विनयराज पाण्डेले आफुहरुले पाँच टोली बनाउन सक्ने भनेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय प्रतियोगिता गर्ने भएको थियो । त्यो बेला अहिले जस्तो प्रतियोगितामा नगद पुरस्कार भन्ने हुँदैन थियो । प्रतियोगिता हुनु ठूलो थियो, अझ त्यसमा पाइने मेडल र ट्रफीको महत्त्व बेग्लै हुन्थ्यो ।

क्यानका तत्कालिन अध्यक्ष स्वर्गीय जय कुमार नाथ शाहको नामबाट वि.सं २०३७ सालमा काठमाडौंमा जय ट्रफी सुरु भएको थियो । जुन नेपालको पहिलो राष्ट्रिय प्रतियोगिता थियो । समयसँगै त्यहि जय ट्रफी नेपाली क्रिकेट विकासको मेरुदण्ड बन्यो ।

नेपालमा क्रिकेटको सुरुवात हुँदै थियो । त्यसअघि कुनै प्रतियोगिता हुँदैन थिए । जय ट्रफीमा ८–९ वटा अञ्चलले नियमीत सहभागिता जनाउँँथे । त्यसबेला राप्ती, धैलागिरी र कर्णालीले पछिसम्म सहभागिता नजनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका पहिलो कप्तान उत्तम कर्माचार्यलाई याद छ । कर्माचार्यका अनुसार महाकाली र सेती अञ्चलले कहिले खेल्थे भने कहिले खेल्दैन थिए । कोशी, सगरमाथा, जनकपुर, नारायणी, बागमती, लुम्बिनी, सेती, गण्डकी र भेरीले नियमित खेल्थे । जय ट्रफी खेल्ने सबै खेलाडीको सपना हुन्थ्यो ।

‘अहिले राष्ट्रिय प्रतियोगिता खेले पनि नखेले पनि पुरानो प्रदर्शनका आधारमा राष्ट्रिय टोलीमा पर्न सकिन्छ । तर त्यो बेला राष्ट्रिय टोलीमा पर्न जय ट्रफी अनिवार्य खेल्नु पर्थ्यो । खेलेर मात्र नहुने, प्रदर्शन पनि राम्रो गर्नुपर्थ्य’, पूर्वकप्तान पवन अग्रवाल सम्झन्छन्, ‘ टोली छनोट पनि यहि प्रर्दशनकै आधारमा हुन्थ्यो ।’

जय ट्रफीको प्रर्दशनकै आधारमा देशभरबाट खेलाडी छनोट गर्दै काठमाडौं–११ को टोली बनाईएको थियो । जुन काठमाडौं–११ को टोली २०४५ सालमा मैत्रीपुर्ण खेलको लागि थाईल्यान्डको बैंकक हुँदै बंगलदेश गएको थियो । २०५१ सालमा धनगढीदेखि जिल्लाबीच प्रतिस्पर्धा हुन थालेपछि जय ट्रफीको लोकप्रियता झनै बढ्यो । यसले देशका कुना काप्चामा रहेका प्रतिभा पनि समेट्न मदत गर्यो ।

पछिल्लो समय फ्रेन्चाइज टोलीको आधारमा खेलाडी छनोट भएको छन् । ट्यालेन्ट हन्ट भनिएपनि जिल्लाबाट नयाँ प्रतिभा निकै कम देखिन्छन् । ‘त्यो बेला जिल्लाबाट खेलाडी आउँथे । नयाँ प्रतिभा देखा पर्थे । जय ट्रफी खेल्ने प्रत्येक खेलाडीको एउटा आश हुन्थ्यो । किनभने अन्तर्राष्ट्रिय स्तरमा खेल्ने अवसरनै जय ट्रफी थियो । त्यसैले खेलाडीलै निकै मिहिनेत गर्दथे’, पूर्वकप्तान लेखबहादुर क्षेत्रीले भने ।

जय ट्रफीमा १२ जिल्लाको प्रतिस्पर्धा हुन्थ्यो । मोरङ, सप्तरी, धनुषा, बारा, पर्सा, ललितपुर, काठमाडौं, रुपन्देही, बाँके, कैलाली, कास्की लगायतका जिल्ला थिए । सन् २०५३ सालमा जय ट्रफी एकै वर्षमा दुई पटक भएको थियो । मलेसियामा हुने एसिसी ट्रफीको लागि खेलाडी छनोट गर्न दोस्रो पटक गर्नुपरेको थियो । नेपाली क्रिकेटको पहिलो औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगिता पनि त्यहि थियो । २०५३ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु अघि नेपाली क्रिकेट जय ट्रफीले धानेको थियो ।

नेपालमा पछिल्लो समय ठुला राष्ट्रिय प्रतियोगिता काठमाडौं केन्द्रित हुन्छन् । तर जय ट्रफी काठमाडौंसँगै अञ्चल र जिल्ला जिल्लामा हुन्थ्यो । त्यसैले क्रिकेटको लोकप्रियता बढेको थियो । जय ट्रफीको १८ औं संस्करण २०५८ सालमा काठमाडौंमा अन्तिम पटक भएको थियो । राखेपले राष्ट्रिय प्रतियोगिता विभुतीको नाममा मात्रै गर्नुपर्ने भनेपछि जय ट्रफीको अन्तिम संस्करण पनि त्यहि हुन पुग्यो । त्यसपछि राष्ट्रिय प्रतियोगिता विरेन्द्र स्मृती राष्ट्रिय क्रिकेट लिग प्रतियोगिताको नाममा भयो ।

वरिष्ठ खेलपत्रकार विनोद पाण्डेले जय ट्रफीदेखि विरेन्द्र स्मृतीको यात्रालाई नजिकबाट नियालेका थिए । ‘राष्ट्रिय क्रिकेट लिग प्रतियोगिता २०६२ सम्म भएको थियो ।  समय अनुसारको परिवर्तन पनि मान्नुपर्छ । पहिला जय ट्रफी भयो । हिजो विरेन्द्र स्मृती राष्ट्रिय लिग र आज प्रधानमन्त्री कप । आज प्रधानमन्त्री कप भनेको हिजोको जय ट्रफी र विरेन्द्र स्मृती जस्तै हो, पाण्डेले भने ।

पाण्डेले नेपाली घरेलु क्रिकेट प्रतियोगितामा ५० ओभरको खेल सधैं महत्वपुर्ण हुने बताउँछन् । ‘नेपालको अन्तर्राष्ट्रिय स्तरमा ५० ओभरको खेलमा ठुलो सम्भावना देखिन्छ । त्यसको लागि ५० ओभरको खेल हुनुपर्छ । जसबाट ५० ओभरको लागि चाहिँने खेलाडी उत्पादन हुन्छन्,’ उनले भने ।

क्यानले भने जय ट्रफी आयोजना नभएपनि अझ वृहत संरचनामा आधारित रहेर प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको सचिव अशोकनाथ प्याकुरेल बताउँछन् । ‘जय ट्रफी नभएर हामीले राष्ट्रिय प्रतियोगिता गर्ने तयारी गरिरहेका छौं । दुर्भाग्य कोरोना भाइरसको कारण प्रभावित बनेको छ । राष्ट्रिय प्रतियोगिताको लागि अब सुरुमा जिल्लामा रहेका क्लबबीच प्रतिस्पर्धा हुन्छ र जिल्लाको टोली बन्छ । जिल्ला जिल्लाको टोलीबाट प्रतिस्पर्धा हुँदै प्रदेश हुँदै राष्ट्रिय प्रतियोगिता खेल्न आउँछन् । जसबाट नयाँ प्रतिभाले अवसर पाउनेछन्’, क्यानका सचिव प्याकुरेलले भने ।

‘क्यान प्रतिबन्धमा रहँदा केहि समय जिल्लामा छनोट हुन सकेन । बन्द प्रशिक्षणमा २४–२५ खेलाडीमात्रै रहँदै आएका छन् । आउने दिनमा यो दायरा बढ्ने छ । हामी ग्रासरुट देखि परिवर्तन र लगानीका साथ अघि बढ्ने सोचमा छौं । राष्ट्रिय प्रतियागिता काठमाडौं बाहिर पनि हुने छ’, प्याकुरेलले थपे ।

दुई दशकअघि नेपालले अन्तर्राष्ट्रिय स्तरमा कमैमात्रमा सहभागिता जनाउँथ्यो । तर जय ट्रफीले नेपाली क्रिकेटलाई राम्रो उचाई दिएको थियो । त्यसैको प्रभावको कारण नेपाली क्रिकेटले एक दशक अघि सम्म राम्रो प्रर्दशन गर्न सफल भयो । पछिल्लो चार वर्षयता नेपाली राष्ट्रिय क्रिकेट टोलीको छनोट फ्रेन्चाइज लिगको प्रर्दशनको आधारमा हुँदै आएको छ । एक दिवसिय प्रतियोगिताको लागि होस् वा टि२० अन्तर्राष्ट्रियको को लागि छनोटको आधार क्यान निलम्बनसँग यहि हुँदै आएको छ

फ्रेन्चाइज लिगमा भरपर्दा ग्रासरुट निकै कमजोर देखिएको छ । निजि लगानीमा संचालित केहि क्रिकेट एकेडेमी बाहेक क्यानको संरचनाले क्रिकेट विकासका कार्यक्रम अगाडी बढाउन सकेका छैनन् । स्तरीय प्रतियोगिता र ग्रासरुट विकास नहुने हो भने फ्रेन्चाइज लिगको भरमा क्रिकेट विकासको सपना देख्नु सहि हुन्न । जसको लागि ५० ओभर र डे क्रिकेटको निकै आवश्यक देखिन्छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानहरुको संस्मरण समेट्ने क्रममा हाम्रो खेलकुदले सबै कप्तानहरुको खेल जीवन प्रतिविम्बित गर्ने प्रयास गरेको छ । कप्तानहरुको संस्मरण पढ्न यहाँ थिच्नुहोस ।

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

April 24, 2024

वेस्ट इन्डिज ‘ए’ आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा […]

Success

Thank you for your time.