default_image

4 years ago

September 23, 2020

महिला क्रिकेटमा सम्झौता : पहिलो गासमै ढुंगा

133 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार बसेको बोर्ड बैठकबाट पहिलो पटक महिला खेलाडीहरुलाई केन्द्रीय सम्झौतामा राख्दै मासिक तलब दिने गर्ने निर्णय गर्यो । महिला क्रिकेट विकासका लागि चालिएको यो महत्त्वपूर्ण कदमको स्वागत गरिएपनि कार्यान्वयन पक्षमा भने क्यानले खेलाडीमाथि गरेको निर्णयको आलोचना सुरु भएको छ ।

महिला क्रिकेट नेपालमा प्रचुर सम्भावना हुँदाहुँदै पनि उपेक्षित क्षेत्र हो । अन्तर्राष्ट्रिय सहभागितामा नतिजामुखी हिसाबमा पनि महिला टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ । कम तयारी र लगभग निष्क्रियजस्तो घरेलु संरचनाका बाबजुद पनि महिला क्रिकेटले स्तर भने कायम नै राखेको छ । क्यानले पनि लगातार महिला क्रिकेटलाई अब प्राथमिकतामा राख्ने बताउँदै आएको छ ।

यसै क्रममा क्यानले महिला क्रिकेटरलाई पनि केन्द्रीय सम्झौता दिएर नयाँ सुरुवात गर्यो ।यो कदम पक्कैपनि स्वागत योग्य छ । कम्तिमा पनि डेढ दर्जन खेलाडीले नियमित रुपमा तलब प्राप्त गर्दाति खेलाडी मात्र नभएर क्रिकेटमा करिअर बनाउने सोचका साथ अगाडि बढेका खेलाडीलाई उर्जा पुग्छ । तर क्यानले पहिलो पटक चलेको कदमको कार्यान्वयनमा भने गल्ति गरेको छ । कार्यन्वयनका क्रममा भएको गल्तीले पहिलो गासमा नै ढुंगा जस्तो भएको छ ।

खेलाडी छनोटमा भएको निर्णयले छनोटकर्तामाथि उनीहरुको योग्यतामा नै प्रश्न उठाउने ठाउँ सिर्जना गरिदिएको छ । खेलाडीको ग्रेड विभाजनमा केहि विवाद हुनु सामान्य मान्न सकिन्छ, तर खेलाडी छनोटमा गरिएका केहि निर्णय हेर्दा क्यानले महिला क्रिकेटबारे कति जानकारी राखेको छ भन्ने बुझ्न सकिन्छ । नियमित खेलिरहेका खेलाडीलाई ग्रेड विभाजन गर्दा असन्तुष्टि राख्ने ठाउँ हुन्छ, तर अन्य खेलाडीको नाम सोहि ग्रेड वा भनौं माथिल्लो ग्रेडमा रहँदा अपमानित नै महसुस गर्ने अवस्था सिर्जना भएको छ ।

१३ औं सागको क्रिकेट टोली

राष्ट्रिय टोलीमा खेल्दै नखेलेका, छनोटमै नपरेका र घरेलु क्रिकेटबाट नै बिदा लिएका खेलाडीले सम्झौता पाउँदा विगत तीन वर्षयता लगातार राष्ट्रिय टोलीमा खेलेका खेलाडीको नाम सुचिमा नै छैन । अझ ग्रेड विभाजनमा लिइएको केहि निर्णयले हौसला अभिवृद्धि नभएर योगदानको अपमान नै भएको छ ।

हालसम्म राष्ट्रिय टोलीमा नखेलेकी कविता जोशीको नाम ग्रेड ‘बी’मा समावेश हुँदा पछिल्लो दुई वर्षयता टोलीमा रहेकी ममता चौधरीले भने सम्झौता नै पाएकी छैनन् । ममतासँगै गतवर्ष नेपालमा नै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टोलीमा रहेकी सरस्वती चौधरी र सुमन खतिवडा पनि सम्झौता सुचिमा रहेका छैनन् ।

ममता चौधरी

यस्तै झन्डै दशकअघि यू-१९ टोलीमा रहेर हालसम्म राष्ट्रिय टोलीमा समेत नरहेकी अनुराधा चौधरीलाई सम्झौता दिइएको छ । विगत दुई वर्षयता राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा नै नपरेकी शोभा आलेको नाम पनि सम्झौतामा छ ।राष्ट्रिय टोलीमा पर्ने सम्भावना नरहेका खेलाडीलाई सम्झौता दिँदै हाल टोलीका नियमित सदस्यलाई सम्झौतामा नराख्दा क्यानको नियतमै प्रश्न उब्जिएको छ ।

खेलाडी वर्गीकरणमा पनि न्याय नभएको उदाहरण प्रष्ट देख्न सकिन्छ । सागमा विश्व कीर्तिमान कायम गरेकी बलर अन्जली चन्दलाई’सी’ग्रेडमा राखिएको छ । उनीसँगै राष्ट्रिय टोलीमा लामो समयदेखि निरन्तर खेलिरहेकी सोनु खड्का पनि’सी’ग्रेडमा नै छिन् । तर राष्ट्रिय टोलीमै नपरेकी कविता जोशीसँगै गत वर्ष एक प्रतियोगिता खेलेकी विन्दु रावल भने’बी’श्रेणीमा छिन् ।

कविता जोशी

बन्द प्रशिक्षणमा परेपनि पछिल्लो दुई प्रतियोगितामा राष्ट्रिय टोलीमा अटाउन नसकेकी ज्योति पाण्डे’बी’श्रेणीमा छिन् । तर नेपाली क्रिकेटकै भविष्यकि रुपमा हेरिएकी र नियमित पहिलो रोजाईमा खेल्दै आएकी कविता कुँवरलाई भने’सी’ग्रेडमा राखिएको छ ।

राष्ट्रिय टोलीमा हालसम्म स्थान बनाउन नसकेकी कविता जोशी र झन्डै एक दशकयता टोलीमा नियमित रहेकी सरिता मगरलाई एकै श्रेणीमा राखिएको छ । यस्तै टोलीको प्रमुख ब्याट्सवुमनको रुपमा रहेकी विकेटकिपर काजल श्रेष्ठ पनि सोहि श्रेणीमा रहेकी छिन् । राष्ट्रिय टोलीबाट विगत दुई वर्षयता बाहिर रहेकी ऋतु कनौजिया पनि’बी’ग्रेडमा नै रहेकी छिन् ।

सरस्वती चौधरी

खेलाडी छनोटमा नै समस्या रहेको यस निर्णयको ग्रेड विभाजनमा क्यानले पुनर्विचार गर्नु आवश्यक छ । खेलाडी वर्गीकरण मात्र तलब थाप्नका लागि नभएर खेलाडीको स्तर मापनको आधार पनि हो । खेलाडीको प्रदर्शन र योगदानको कदर गर्ने महत्त्वपूर्ण पाटोमा क्यान चुकेको छ । नेपाल क्रिकेटका शीर्ष १८ खेलाडीले दिइने सम्झौतामा हाल राष्ट्रिय टोलीमा रहेका १५ खेलाडीमध्ये तीन जनाको नाम नै नहुनुले धेरैलाई आश्चार्यमा पारेको छ ।

त्यसो त महिला क्रिकेटमा योगदान दिएकै हिसाबमा क्यानले यो निर्णय लिएको विचार पनि राख्न सकिन्छ । तर लामो समय योगदान दिएकै भरमा सम्झौतामा राख्न भने उचित हुँदैन । त्यसका लागि क्यानले विशेष सम्मानको व्यवस्था गर्न सक्छ । क्यानले दिने वार्षिक सम्झौता खेलाडीको पछिल्लो प्रदर्शन र टोलीमा आबद्धताका लागि दिइने हो । यसमा क्यानले प्रष्ट खाका तयार गर्नु आवश्यक छ ।

क्यानले खेलाडीको २०२० को पारिश्रमिक र ग्रेड निर्धारण गर्न कोषाअध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा केन्द्रिय सदस्य दुर्गाराज पाठक र अमितविर पान्डेको समिति गठन गरेको थियो । समितिले गतवर्ष माघ नै यसको प्रक्रिया सुरु गरेर आवश्यक गृहकार्य गरेको थियो । तर समितिको निर्णय अनुमोदन गर्नका लागि बोर्ड बैठक बस्न नसक्दा झन्डै ६-७ महिना समय लागेको सदस्य पाठकले बताए ।

पाठकका अनुसार महिलातर्फ खेलाडी छनोटका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता निकै कम भएकाले घरेलु प्रतियोगितालाई पनि आधार मानिएको छ । ‘महिलाहरुको अन्तर्राष्ट्रिय प्रतियोगिता निकै कम छ । त्यसैले पनि हामीले घरेलु क्रिकेटको प्रदर्शनलाई पनि आधार मानेका छौं । राष्ट्रिय टोलीमा पर्नेबाहेक खेलाडीले घरेलु क्रिकेटमा गरेको प्रदर्शनका आधारमा नाम लिइएको हो,’ उनले भने ।

बोर्ड सदस्य दुर्गाराज पाठक

पाठकले महिला क्रिकेटमा पहिलो पटक सम्झौता दिँदा केहि पुराना खेलाडीलाई पनि समेटिएको प्रष्ट पारे । ‘ हामीले पहिलो पटक यो कदम चालेका हौं । महिला क्रिकेटमा लामो योगदान दिएर आजसम्म पनि क्रिकेट खेलिरहेका खेलाडीलाई पनि समेटेका छौं ,’ पाठकले थपे,’पहिलो पटक भएको हुनाले केहि कमी कमजोरी हुन सक्छ, यसलाई हामीले आउने दिनमा सकारात्मक रुपमा लिएका छौं।’

समितिले २४ खेलाडीको नामावली तयार गरेकोमा पछि १८ जनामात्र समावेश हुने निर्णय भएकाले पनि केहि खेलाडी छुटेको हुन सक्ने पाठकको तर्क छ । ‘ समितिले सुरुवातमा २४ खेलाडीको नाम तयार पारेको थियो । तर धेरै खेलाडीको नाम राख्नुभन्दा सिमित खेलाडी राखेर आर्थिक पाटो सबाल बनाउने तर्क आयो । त्यसैले १८ खेलाडीको नाम राखेका हौं । आवश्यक परेको खण्डमा बोर्डबाट खेलाडी थप गर्ने विकल्प हुनसक्छ,’ उनले प्रष्ट पारे ।

क्यानले मंगलबार बोर्डबाट महिलातर्फ पहिलोपटक तीन ग्रेडमा खेलाडी वर्गीकरण गर्दा पुरुषतर्फ भने प्रत्येक ग्रेडको पारिश्रमिकमा १५ हजारले वृद्धि गरेको छ । नयाँ सम्झौताअनुसार पुरुष खेलाडीको ए ग्रेडका खेलाडीले ५० हजार, बी ग्रेडका खेलाडीले ४० हजार र सी ग्रेडका खेलाडीले ३० हजार प्राप्त गर्ने छन् । यसै वर्षदेखि समावेश गरिएको महिलातर्फ ए ग्रेडमा रहेका खेलाडीले मासिक १५ बी ले १२ हजार र सी ग्रेडका खेलाडीले १० हजार प्राप्त गर्ने छन् ।

क्यानले सार्वजनिक गरेको यस निर्णयलाई लिएर नेपाली महिला क्रिकेटको अभियन्ताका रुपमा रहेका पूर्व कप्तान एलबी क्षेत्रीले भने स्वागतयोग्य कदम भएपनि समानताबारे भने प्रश्न गरे । ‘पुरुष खेलाडीसँगको तलबलाई तुलना गर्दा महिला क्रिकेटलाई त सम्झौता गर्यौं भनेर समेट्न मात्र खोजिएको देखिन्छ । यसअघि महिलाले केहि पाएकै थिएनन् ,’ पूर्व कप्तान क्षेत्रीले भने,’हामीले सुरु गर्यौ । केहि दिएमा पनि खुसी भइहाल्छन् र चुप लागिहाल्छन् भन्ने सोच क्यानले सार्वजनिक गरेको ग्रेडमा देखिन्छ ।’

पूर्वकप्तान एलबी क्षेत्री

क्षेत्री महिला टोलीलाई सुरुवात देखिनै अन्याय भएको बताउँछन् । ‘उनीहरुलाई सुरु देखिनै अन्याय भएको छ । सन् २००७ देखि २०११ सम्म त महिला क्रिकेटरले गौरवपूर्ण सफलता हात पारेका थिए । सन् २०११ पछि त क्यानलेनै कार्यक्रम नल्याएर महिला क्रिकेटलाई भित्तामा पुर्याएको हो,’ उनले थपे, ‘क्यानको महिला क्रिकेटप्रति कुनै दीर्घकालीन सोच र योजना नहुँदा आज यो अवस्थामा आएका हौं । थाईल्यान्ड विश्वकप खेल्दा हामी यो अवस्थामा छौं । यसको जिम्मेवारी खेलाडी होईन क्यान नेतृत्व हो ।’

एकातर्फ क्यानले महिला क्रिकेटमा पनि सम्झौता गर्ने प्रक्रियाको थालनी गरेकोमा जस दिने ठाउँ छ । तर त्यसको सहि कार्यान्वयन नहुने हो भने यसले फाइदा भन्दा बढी समस्या निम्त्याउनेमा दुइमत रहन्न । अब महिला क्रिकेटमा प्राथमिकता दिने भन्ने क्यानको नारालाई विभिन्न प्रतियोगिता र कार्यक्रम गरेर थप उजागर गर्न जरूरी छ । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचुर सम्भावना बोकेको महिला क्रिकेटलाई विगतझैं फेरीपनि बेवास्ता गर्ने हो भने आउने पिढीको यसतर्फ उत्साह घट्ने डर उत्तिकै छ ।

महिला ग्रेड :

ग्रेड ए : रुविना क्षेत्री (बेलबासे), नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी

बी ग्रेड : ज्योती पान्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, ऋतु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर

सी ग्रेड : कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले

यो पनि पढ्नुहोस : ग्रेड विभाजनमा क्यानको गम्भिर लापरवाही

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

Success

Thank you for your time.