default_image

3 years ago

February 16, 2021

भलिबल खेलाडीका क्रिकेटर छोरा

भुपेन्द्र जिसी, काठमाडौं विरेन्द्र यादव सप्तरीतिर २०४० को मध्यदशकमा भलिबल खेलाडीका रुपमा चर्चित नाम थिए । घरेलु भलिबलमा उनले पुर्वान्चलबाट झन्डै दर्जन प्रतियोगिता खेले । कम उचाइका कारण राष्ट्रिय टोलीको यात्रा भने तय गर्न सकेनन् । आफ्नो चाहना पूरा हुन नसकेपछि छोरा विवेकलाई भलिबलको राष्ट्रिय खेलाडी बनाउने इख उनले राखेका थिए । तर विवेक सानो उमेरदेखि नै भलिबल भन्दा क्रिकेटमा बढी […]

23288 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

विरेन्द्र यादव सप्तरीतिर २०४० को मध्यदशकमा भलिबल खेलाडीका रुपमा चर्चित नाम थिए । घरेलु भलिबलमा उनले पुर्वान्चलबाट झन्डै दर्जन प्रतियोगिता खेले । कम उचाइका कारण राष्ट्रिय टोलीको यात्रा भने तय गर्न सकेनन् । आफ्नो चाहना पूरा हुन नसकेपछि छोरा विवेकलाई भलिबलको राष्ट्रिय खेलाडी बनाउने इख उनले राखेका थिए । तर विवेक सानो उमेरदेखि नै भलिबल भन्दा क्रिकेटमा बढी रुची राख्न थाले ।

स्थानीय स्तरमा छोराले क्रिकेट खेल्दा विरेन्द्रले खासै ध्यान दिएनन् । तर जब उनको नाम यू१९ प्रतियोगिता खेलेर राष्ट्रिय पत्रपत्रिकामा आउन थाल्यो, विरेन्द्रको मन बदलियो । यसैपनि क्रिकेटको बढ्दो क्रेज, र छोरामा प्रतिभा देखेपछि उनले भलिबल छोडेर क्रिकेटमा नै लाग्न हौसला बढाउन थाले ।

उमेर समूहको राष्ट्रिय टोलीको बन्द प्रशिक्षण हुँदै प्रदेश टोलीमा परेका विवेक अघिल्लो महिना क्रिकेटको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परे । भलिबलमा बुबाले देखेको सपना क्रिकेटमा पूरा गर्नबाट एक कदम टाढा रहेका विवेक दोस्रो चरण प्रशिक्षणमा भने परेनन् । तर यसपटकको बन्द प्रशिक्षण उनको लागि सिक्ने अवसर थियो । उनले अपेक्षा गरेअनुसार धेरै सिक्न पाएको बताए ।

प्रधानमन्त्री कपले फेरेको भाग्य

दुई साता अघि काठमाडौैंमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश–२ जित विहिन हुँदै बाहिरियो । समूह बी मा रहेको प्रदेश–२ पहिलो पटक जित विहिन हुँदा १७ वर्षिय युवा अलराउन्डर विवेक यादवले दुई लगातार उत्कृष्ट अर्धशतकका साथ धेरैको ध्यान आफूतिर केन्द्रित गरे ।

पहिलो खेलमा प्रदेश २ लुम्बिनीसँग ७७ रनले पराजित भयो । टियु क्रिकेट मैदानमा भएको उक्त खेलमा विवेक यादवले तल्लोक्रममा आठौं नम्बरमा ब्याटिङ गर्दै ४९ बलमा ३ चौका र ३ छक्का सहित ५१ रन जोड्दै आउट भएका थिए । विवेकले मुलपानीमा नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटा र ईशान पान्डे सम्मिलित बागमतीविरुद्ध ६६ रनको उत्कृष्ट इनिङ खेले । नवौं नम्बरमा ब्याटिङ गर्दै विवेकले ७४ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।

उत्कृष्ट लयलाई निरन्तरता दिंदै विवेकले सुदूरपश्चिमविरुद्ध ४१ रनको इनिङ खेले । छनोट समितिले कतारमा हुने भनिएको तीन खेलको टि२० सिरिजको लागि विवेकलाई नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाउने निर्णय लिएको थियो । समूह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबसँग विवेक ९ रनमा आउट हुँदा बलिङमा तीन प्रमुख विकेट लिएका थिए ।

समग्रमा उनले ४ खेलमा १ सय ६७ रन जोड्दै प्रतियोगिता उदीयमान खेलाडी घोषित भए । कतार भ्रमण स्थगित भएपनि ओमान भ्रमणको लागि विवेक बन्द प्रशिक्षणमा परे । कतार भ्रमण अभ्यास सुरु हुन नपाउँदै स्थगित हुँदा ओमान भ्रमण भने एक हप्ता अभ्यास गरिसकेपछि स्थगित भयो ।

१७ वर्षिय विवेकलाई प्रधानमन्त्री कप अघि नेपाली क्रिकेटमा धेरैले तीव्र गतिका बलरको रुपमा चिन्थे । निडर स्वभाव, आक्रामक शैली र तीव्र गतिमा बलिङ उनको खुबी हो । प्रधानमन्त्री कपको प्रर्दशन विवेक आफ्नो लागि भने खासै नौलो थिएन ।

तराईमा हुने प्रतियोगिता विवेकको प्रर्दशन र शैली यहि थियो । यो भन्दा उत्कृष्ट प्रर्दशन गर्दै सहज जित टोलीलाई जिताउँथे । यो भन्दा अझ आक्रामक ब्याटिङका लागि परिचित छन् । गृहजिल्ला सप्तरी लगायतका तराईका जिल्लामा उनको भिन्दै क्रेज पाइन्छ । म्याटको खेलमा उनलाई आउट गर्न जो कोहिलाई कठिन पर्छ ।

तराईमा हुने प्रतियोगितामा लगातार उत्कृष्ट प्रर्दशन गरेका विवेकबाट राष्ट्रिय प्रतियोगितामा त्यस्तो प्रर्दशन हुन सकेको थिएन । विवेक त्यसैले पनि यो पटक प्रधानमन्त्री कप क्रिकेटमा कम्तीमा एउटा अर्धशतक हान्न चाहान्थे । नभन्दै प्रर्दशन पनि सोचे अनुसारनै भयो ।

‘मलाई ठूलो इनिङ खेल्ने इच्छा छ । तराईमा जतिपनि प्रतियोगिता हुन्छन् त्यहाँ राम्रो रन बनिराख्थ्यो । तर सबैलाई देखाउन भने काठमाडौंमा गर्नुपर्थ्यो । काठमाडौं प्रर्दशन देखाउने मुख्य ठाउँ हो । यहाँ राम्रो प्रर्दशन गर्न सकेमात्र सबैले चिन्छन् । एउटा अर्धशतक हानेपनि सबैको नजरमा आउँछु जस्तो लागेको थियो’, विवेकले हाम्रो खेलकुदसँग कुरा गर्दै भने ।

विवेकले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेको जानकारी घरबाट बुबा आमाले दिएका थिए । ‘म काठमाडौंमा थिए । कतार भ्रमणमा पनि नाम निस्केको थियो । खुसी थिएँ । त्यो टि२० हुँदा सम्भावना पनि बढी थियो । तर स्थगित हुन पुग्यो । ओमान भ्रमण ५० ओभरको हुँदा टोलीमा गाह्रो नै देखेको थिए’, उनले भने ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा आएपछि धेरै कुरा सिक्न पाएको विवेक बताउँछन् । ‘प्रशिक्षणमा प्रधानमन्त्री कप भन्दा अझ धेरै राम्रो प्रर्दशन गर्न पाएँ । धेरै कुरा सिकियो । मलाई जहाँ कठिन लाग्थ्यो त्यहाँ प्रशिक्षक डेभ ह्वाटमोरलाई सोध्दै सुधार गरेको छु । जहाँ गल्ती र कमजोरी थियो त्यसलाई सुधार्न सल्लाह दिनुभयो’, उनले प्रशिक्षणको अनुभव सुनाए ।

‘काठमाडौंमा रन बनेमा मात्र सबैले देख्छन् र नेपाली क्रिकेट टोलीसम्म पुग्छु भन्ने लागेको थियो । मौका पनि त्यति धेरै पाएको थिएन । मलाई बलरको रुपमा हेरिंदै आएको थियो । तर मलाई सानैदेखि ब्याटिङ गर्न मनपर्थ्यो । म ब्याट्सम्यानको रुपमा आफूलाई चिनाउन चाहन्थे । त्यसैले बलिङमा त्यतिधेरै ध्यान दिएको पनि थिइनँ’, उनले भने ।

विवेक सकेसम्म अविजित (नटआउट) रहन चाहान्थे । दुर्भाग्य सबै खेलमा उनी विकेट गुमाउन पुगे । विवेकले आफूले अझै त्यो भन्दा पनि राम्रो प्रर्दशन गर्न सक्ने बताउँछन् । सुरुको दुई खेलमा राम्रो भएपनि त्यसपछि भने खासै राम्रो हुन उनी बताउँछन् ।

विवेकको क्रिकेट यात्रा

विवेकको जन्म विं सं २०६० असोज २० मा बुबा विरेन्द्र यादव र आमा बिनाको कोखबाट दोस्रो सन्तानको रुपमा सप्तरीको विष्णुपुर गाउँपालिका भएको हो । उनका एक दिदी र बहिनी छन् । पूर्व भलिबल खेलाडी समेत रहेका बुबाको कृषि विकास बैंकमा जागिरे हुन् । राज रंगशाला बालमन्दिर उनी स्कुलबाट खेल हेर्न जान्थे ।

त्यो बेला उक्त रंगशालामा नेपाली क्रिकेटका चर्चित अलराउन्डर महबुब आलम, मुकुन्द यादव, मयानन्द चौधरी, कालिचरण यादव, रोहित सिंह जस्ता चर्चित खेलाडी उक्त रंगशालामा खेल्थे । उनीहरुको खेल हेर्न दिनहुँ जाने गर्दथे । म कक्षा ५ मा पढ्थे । त्यति बेला सम्म भने म क्रिकेट खेल्दैन थिए । कक्षा ६ मा गएपछि खेल्न थाले ।

‘त्यति बेला ब्याटिङ र बलिङ खासै केहि आउदैन थियो’, उनले विगत सम्झदै भन्छन्,’कक्षा ६ मा पढ्दा स्कुलबाट उनले एउटा प्रतियोगिता खेलेका थिए । फिल्डिङ राम्रो हुँदा टोलीमा परें । महबुब दाईहरुलाई देखेर क्रिकेटमा रुचि बढ्दै गयो र खेल्न थालें ।’

‘सुरुमा बलिङ थ्रो गर्थे । ब्याटिङ गर्न सक्दैन थिए । मलाई खेल्न नजानेको भनेर जिस्काउथें । त्यहि इखले हात घुमाएर फाल्न थाले । कहिँलेकाहिँ स्कुल छोडेर खेल्न जान्थें । एक वर्ष त्यतिकैमा कहिँले कहाँ कहिले कहाँ गरेर बित्यो । मैले ७ कक्षामा पढ्दा भुकम्प गएको थियो । त्यो दुई तीन महिनाबीचमा धेरै क्रिकेट खेलें ।’

‘राजविराजको अनिल यादव दाई हुनुन्थ्यो । वहाँ दाई त्यो समयमा सिनियर टोलीको बन्द प्रशिक्षणमा पुर्न भएको थियो । वहाँसँग भुकम्पको समयमा धेरै खेले । राम्रो खेल्ने देखेर नै मलाई एकेडेमी लानुभयो । दाईसँगै राजदेबी राइजिङ क्रिकेट एकेडेमी जान थाले । त्यो मेरो पहिलो एकेडेमी थियो,’ विवेकले सुनाए ।

‘सुरुमा एकेडेमीमा नयाँ खेलाडीलाई त्यतिधेरै ध्यान दिइदैन थियो । विवेकले बलिङ र ब्याटिङ केहि पाउदैन थिए । फिल्डिङ र नेटमा बल थ्रो डाउन फाल्थे । क्रिकेट खेल्ने रुचिका साथ एकेडेमी पुगेका उनी नजाने निर्णय लिए । तर अनिल आएर लगिहाल्थे । त्यसरीनै तीन चार महिना वितेको थियो ।’

झापामा यू१९ प्रतियोगिता भयो । जुन क्यानले गराएको अन्तिम प्रतियोगिता थियो । विवेक पुर्वाञ्चलको टोलीमा परे । तर खेल्ने अवसर भने पाएनन् । विवेकले कक्षा आठमा पढ्दा सातौं राष्ट्रिय प्रतियोगिता विराटनगरमा भयो । जिल्ला छनोटमा राम्रो गरेपछि बन्द प्रशिक्षण हुँदै पुर्वाञ्चलको टोलीमा परे । उनको त्यो पहिलो राष्ट्रिय प्रतियोगिता थियो ।

मध्यमाअञ्चलविरुद्ध राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेका थिए । टोली ५ रनले पराजित हुन पुगेको थियो । विवेकले डेब्यू खेलमा १७ रन जोड्न सफल भएका थिए । त्यसपछि पश्चिमअञ्चलबाट अन्तिम खेल खेलेको थिए । त्यसमा २ विकेट लिनुको साथै १९ रन बनाए थिए ।

नौ कक्षामा पढ्दा अन्तरविद्यालय राष्ट्रपति कप पुर्वाञ्चलको कप्तानी विवेकले गरेका थिए । पुर्वाञ्चल पश्चिमअञ्चलसँग फाइनलमा पराजित भएको थियो । पश्चिमअञ्चलबाट वर्तमान समयका युवा अलराउन्डर कुशल मल्ल खेलेका थिए । त्यसपछि उनी नेपालको यू१६ को प्रशिक्षणमा परे ।

क्रिकेट छोड्ने निर्णयमा पुगेको त्यो क्षण…

विवेकले यू१६ प्रशिक्षणमा राम्रो गरेका थिए । तर उनलाई वैकल्पिक सूचिमा राखियो । उनका लागि सबैभन्दा खराब क्षण त्यहि थियो । ‘म रुँदै घर गएँ । अनि क्रिकेट नखेल्ने निर्णय लिएँ । टोलीमा नपरेपछि मैले बाबालाई पनि क्रिकेट छोडेको बताए । दुई तीन महिना जति खेल्दिन नै भनेर बसेको थिएँ । राम्रोसँग ध्यान दिएर पढ्छु भन्ने सोचें । तर मयानन्द मामाले आएर सम्झाउनु भयो ।’

‘यस्तो क्षण आउछ नछोड । तिम्रो खेल धेरै राम्रो छ भन्नु भयो । तर मनले मानि रहेको थिएन । नखेल्ने सोच बनिसकेको थियो । त्यसबीच घरमा स्थायिन खेल भयो । त्यहाँ लगातार तीन खेलमा म्यान अफ द म्याच हुँदै सिरिज भए । अनि फेरि क्रिकेट खेल्न थालें’, विवेकले भने ।

विवेकले यू१६ मा किन नराखेको भन्ने प्रश्नमा उनलाई अगाडि यू१९ लाई राखेको जवाफ दिएका थिए । कक्षा १० पढ्दा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय प्रतियोगिता विवेकले प्रदेश २ बाट खेलेपनि खासै राम्रो मौका पाउन सकेनन् ।

त्यसवर्ष यू१९ विश्वकप छनोटको लागि उनी बन्द प्रशिक्षणमा परे । विनोद दास प्रशिक्षक थिए । तर उनी अन्तिम टोलीमा पर्न सकेनन् । एसिया कप छनोटमा पनि बन्द प्रशिक्षणमा राम्रो प्रर्दशन गर्दै बाहिरिए । २०७६ वैशाखमा भएको मनमोहन मेमोरियल यू१६ प्रतियोगितामा विवेक सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । उक्त प्रतियोगितामा प्रदेश–२ सुदूरपश्चिमसँग पराजित भएको थियो ।

नेपाली यू१९ क्रिकेटमा डेब्यू

सन् २०१९ नोभेम्बरमा उनी पहिलो पटक नेपाली यू१९ टोलीमा परे । जुन उनको तेस्रो प्रयास थियो । रितको कप्तानीमा नेपालले भारतको हैदराबादमा यू१९ एकदिवसिय च्यालेन्जर ट्रफि खेलेको थियो । उक्त प्रतियोगितामा नेपालसँगै भारत, ए, बी र सी टोली थिए । सुरुवाती सबै खेलमा बेन्चमा बसेका उनले १७ नोभेम्बरमा भारतीय सीविरुद्ध डेब्यू गरेका थिए । उक्त खेलमा २१ बल खेलेर ६ रनमा आउट हुँदा विवेकले ७ ओभरमा ४६ रन खर्चेर एक विकेट लिएका थिए । नेपाल १ सय ५५ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

विवेकले ओपनर अर्जुन अजादका विकेट लिएका थिए । तेस्रो संस्करणमा प्रधानमन्त्री कप प्रदेश २ बाट खेल्दै विवेकले खासै राम्रो प्रभाव देखाउन सकेनन् । आर्मीविरुद्ध पहिलो खेल खेलेका उनले कुशल मल्ललाई बोल्ड आउट गरेका थिए । ब्याटिङमा ५ रन जोड्दै क्याच आउट भएका थिए । विवेकलाई कुशल मल्ललेनै सुशन भारीबाट क्याच आउट गराए ।

कर्णालीविरुद्ध एक ओभर बलिङ गर्दा ८ रन खर्चेका थिए । ब्याटिङमा मौका पाएनन् । प्रदेश १ सँग ४ रनमा आउट भएका थिए । त्यसपछि उनले इनरुवामा भएको मनमोहन मेमोरियल प्रतियोगिता खेलेका थिए । एमएम कपमा दुई खेलमा मौका पाएपनि प्रर्दशन त्यति राम्रो हुन सकेको थिएन ।

विवेकको लक्ष्य

सुरुवातमा क्रिकेटमा लाग्न कठिनाई भएपनि अहिले परिवारले पनि उनलाई सहयोग गर्दै आएको छ । बुवा आफैं पनि उनको खेल हेर्न सम्भव भएसम्म जान्छन् ।

‘बाबाले प्रधानमन्त्री कपमा अझै ठूलो इनिङ खेल्न सक्ने बताउनु भएको थियो । बन्द प्रशिक्षणमा प्रधानमन्त्री कपमा भन्दा राम्रो गर भनेर सुझाब दिएका थिए । डेभ ह्वाटमोरसँग धेरै कुरा सिक भन्नु भएको थियो । बुबाले मनोबल र हौसला उच्च राखिदिनु हुन्छ’, विवेकले भने ।

विवेक कक्षा १० पासपछि क्रिकेट र पढाई दुवैमा भविष्य बनाउन ११ पढ्न काठमाडौं छिरेका थिए । उनले हाल हिमालयन ह्वाइट हाउस तिनकुनेमा कक्षा १२ मा अध्यनरत छन् । काठमाडौं आएसँगै उनले ग्रेट हिमालय क्रिकेट एकेडेमीमा सिक्दै आएका छन् । विवेकको अबको लक्ष्य नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने छ । त्यसपछि इन्डियन प्रिमियर लिग आइपिएल हुँदै विश्वका ठूला फ्रेन्चाइज लिग खेल्ने सपना देखेका छन् ।

नेपालका पारस खड्का र दक्षिण अफ्रिका दक्षिण अफ्रिका एबी डी भिलियर्स उनका सर्वाधिक मनपर्ने खेलाडी हुन् । विवेकले लकडाउनको राम्रो सदुपयोग गरे । लकडाउनमा पूर्व क्रिकेटर दीपेन्द्र चौधरीको राम्रो साथ पाएपछि उनले आफ्नो ब्याटिङमा झनै सुधार गरेको बताउँछन् ।

विवेकले प्रधानमन्त्री कप जुन प्रर्दशन गरे त्यसले नेपाली क्रिकेटमा राम्रो अलराउन्डरको सम्भावना देखाएका छन् । तर सोमपाल कामी, कुशल मल्ल, करण केसी लगायतका अलराउन्डर टोलीमा हुँदा स्थान बनाउन सहज छैन । उमेरले १७ वर्षको हुँदा उनले अझै दुई वर्ष यू१९ खेल्न सक्छन् । त्यसले प्रर्दशनमा निखारता ल्याउने छ ।

विवेकलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पर्न एउटा प्रर्दशन मात्र पर्पाप्त देखिदैन । आगमी प्रतियोगिता र बन्द प्रशिक्षणमा त्यो भन्दा राम्रो प्रर्दशन गर्दै निरन्तरता दिन सक्नुपर्छ ।

यो पनि : नेपालका ‘३डी’ क्रिकेटर विवेक

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

Success

Thank you for your time.