default_image

4 years ago

October 7, 2021

नेपालका ‘३डी’ क्रिकेटर विवेक

623 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

अलराउन्डर विवेक यादव नेपाली क्रिकेटले पाएको नयाँ पुस्ताका क्षमतावान खेलाडी हुन् । यसअघि घरेलु क्रिकेटमा प्रदेश २ बाट खेलाडी आफ्नो परिचय दिएका विवेकले काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा विदेशी खेलाडीबीच पनि आफूलाई सावित गरेका छन् । विवेकको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षको प्रदर्शनले टोलीका प्रशिक्षक नै सोचेभन्दा राम्रो रहेको प्रतिक्रिया दिइरहेका छन् । समग्रमा भन्नुपर्दा विवेक आधुनिक क्रिकेटका ३डी क्रिकेटरका रुपमा देखिएका छन् । ३ डी अर्थात तीनै डाइमेन्सन (पक्ष) मा अब्बल क्रिकेटर ।

पछिल्लो ७ वर्षदेखि नेपालमा राष्ट्रिय टि२० प्रतियोगिता हुन सकेको छैन । तर निजी क्षेत्रबाट फ्रेन्चाइज लिगहरु निरन्तर हुँदै आएका छन् । नेपाली क्रिकेट फ्रेन्चाइज लिग नै धान्दै आएको छ भन्दा सायदै दुइमत होला । लामो समयदेखि फ्रेन्चाइज लिगको प्रदर्शनलाई आधार मानेर नै राष्ट्रिय टोलीको छनोट समेत भएका छन् । थुप्रै नयाँ प्रतिभाले यिनै प्रतियोगिताको प्रदर्शनले राष्ट्रिय टोलीको यात्रा तय गरेका छन् ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण टियु मैदानमा जारी छ । सधैं कमजोर रहँदै आएको नेपाली खेलाडीको ब्याटिङले यस संस्करणमा पनि निरन्तरता पाएको छ । त्यसो त अधिकांश टोलीले विदेशी खेलाडीको रुपमा ब्याटरलाई नै अनुबन्ध गरेका छन् । भएका केहि नेपाली खेलाडीको प्रदर्शन निकै कमजोर छ । वर्तमान नेपाली टोलीका प्रमुख खेलाडी, नाम चलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडीनै रन बनाउन सकेका छैनन् ।

निकै अपेक्षा गरेका स्टार खेलाडी चल्न सकेका छैनन् । तर युवा अलराउन्डर विवेकले आफ्नो ब्याटिङ क्षमतालाई इपिएलमा पनि निरन्तरता दिएका छन् । तीव्र गतिका बलिङ अलराउन्डर विवेकले पोखरा राइनोजबाट खेल्दै उच्च प्रदर्शन गरे । गत माघमा काठमाडौंमा भएको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेटमा उच्च प्रदर्शनका साथ सबैको ध्यान तानेका विवेकले इपिएलमा पनि त्यसलाई निरन्तरता दिएका छन् ।

पोखरा राइनोजका रिचार्ड लेभी, विनोद भण्डारी, असेला गुणरत्ने जस्ता चर्चित ब्याटर रन बनाउन संघर्षरत छन् । प्रमुख ब्याटरको कमजोर प्रदर्शनका बाबजुद पोखराले फाइनल यात्रा तय गर्यो । शीर्षक्रमले एकपछि अर्को कमजोर प्रदर्शन गर्दा मध्यक्रममा निरन्तर रन बनेको छ । पोखराको फाइनल यात्रामा मुख्य नायक बनेका छन् १८ वर्षिय युवा अलराउन्डर विवेक ।

प्रतियोगिता सुरु हुनुअघि पोखराले फाइनलमा स्थान बनाउला भनेर निकै कमले मात्र सोचेका थिए । अझ लिगमा प्रमुख ब्याटरकै कमजोर प्रदर्शनपछि पोखरा फाइनलमा पुग्ने आशा गर्ने ठाउँ पनि कम थियो । विवेक कमजोर ब्याटिङमा खम्बा बनिएर अडिएका छन् । लिगमा विवेककै उच्च प्रदर्शनमा पोखराले दोस्रो क्वालिफायर हुँदै फाइनल यात्रा तय गरेको छ ।

विवेक विष्फोटक ब्याटिङ गर्न रुचाउने मध्यक्रमका ब्याट्सम्यान हुन् । पोखरा नचलेको ब्याटिङमा विवेकले भने गज्जबको प्रदर्शन गरेका छन् । लिगमा कुनैपनि खेलमा आउट नभएका विवेक टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी थिए । क्वालिफायरमा चितवन टाइगर्सविरुद्ध प्रतियोगितामै पहिलो पटक आउट भएका विवेकले दोस्रो क्वालिफायरमा भैरहवा ग्ल्याडियटर्सविरुद्ध भने ब्याटिङ गर्ने अवसर पाएनन् । आफ्नो करिअरको सर्वाधिक ठूलो अवसरको रुपमा लिएका विवेकले त्यसलाई भरपूर्ण फाइदा उठाउन प्रयास गरिरहेका छन् ।

‘मैले नेपालको हरेक प्रतियोगिता पिएमकपदेखि इपिएल सम्म एउटा अवसरको रुपमा लिँदै आएको छु । आफूलाई त्यसै अनुसार तयारी गर्दै आएको छु । अझै राम्रो प्रदर्शन गर्ने छ । मेरो लागि यो धेरै ठूलो अवसर हो’, विवेकले भने ।

‘हामी जित्न र फाइनल खेल्नको लागिनै आएका थियौं । पहिलो क्वालिफायर हाम्रो लागि खराब दिन थियो । हामीले राम्रो पूनरागमन गर्यौ । आशा छ फाइनल पनि जित्ने छौं,’ पोखरा फाइनलमा पुगेपछि विवेकले भने, ‘मेरो लागि पहिलो पटक फ्रेन्चाइज फाइनल हो । धेरै राम्रो अनुभव भइरहेको छ । फाइनलमा अहिले जुन सामान्य योजनाका साथ खेलेका छौं । हामी त्यसैलाई अझ राम्रो गर्न चाहन्छौं । पहिलो पटक फाइनल खेल्दा पक्कैपनि उत्साहित भईहाल्छ । उपाधि जित्नेमा शतप्रतिशत आत्माविश्वासी छु ।’

पोखराले दोस्रो क्वालिफायरमा लिगकै सर्वाधिक बलियो भैरहवा ग्ल्याडियटर्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरायो । तर लिगमा भैरहवाविरुद्ध पोखरा सुरुवाती प्रदर्शन सम्झन लायक थिएन । खराब अवस्थामा पुगेको पोखरालाई वर्षाले बचाएको थियो । पोखराले भैरहवासँग १०.१ ओभरमा ६५–७ को अवस्थामा वर्षाको कारण अंक बाँडेको थियो ।

रिचार्ड लेभी, विनोद भण्डारी र लोकेश बम शून्यमा आउट हुँदा विवेक १६ बलमा १ चौका र १ छक्का सहित १६ रनमा अविजित थिए । चितवनसँग पोखरा ९ विकेटले पराजित हुन पुग्यो । टस जितेर पहिला ब्याटिङ रोजेको पोखरा ब्याटिङ सम्झन लायक रहेन । विशेषगरि शीर्षक्रमका ब्याटरको खराब लयले निरन्तरता पायो । विवेकले विवेकपूर्ण जिम्मेवारी इनिङ खेल्दै ४५ बलमा ३ चौका र ३ छक्का सहित ५३ रनको अविजित इनिङ खेल्दै १ सय २३ रनमा पुर्याउँदै साख बचाए ।

काठमाडौंविरुद्ध जित्नै पर्ने दबाबको खेलमा विवेकले प्लेयर अफ द म्याच प्रदर्शन गरे । उनले अन्तिम ओभरमा बलिङ गर्दै ३ विकेट लिएका थिए । काठमाडौंसँग खेलमा पनि पोखरा शीर्षक्रम ब्याटिङ पुन निराश बनाए । जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा पोखरा ५.५ ओभरमा ३६–४ को अवस्थामा पुगेको थियो । उक्त संकट अवस्थाबाट विवेकले सहान अर्चाचिगेसँग पाँचौं विकेटका लागि ७७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । जुन साझेदारीले पोखरा खेलमा मात्र फर्किएन डकवर्थ लेविस पद्धतिको आधारमा १४ रनको जितको आधार तय गर्यो । विवेक २८ बलमा ४ चौका र २ छक्का सहित ४१ रनमा अविजित रहँदै १५ ओभरमा १४२–५ को अवस्थामा पुर्याएका थिए ।

विवेकले एकतर्फबाट रन बनाउदा अर्कोतर्फबाट निरन्तर विकेट गुम्दै आएको छ । यसले पनि उनलाई आफ्नो उत्कृष्ट प्रदर्शन दिन केहि दबाब र असर परेको हुनसक्छ । तर यस्तोमा कुनै दबाब नहुने विवेक बताउँछन् । ‘पोखरामा मेरो भूमिका ६–७ नम्बर ब्याटिङ गर्ने हो । मैले कहिल्यै दबाब लिएर खेलेको छैन । रमाएर खेलिरहेको छु । आफ्नो जुन खेल हो त्यो परिस्थिति अनुसार खेल्ने गर्दछु’, विवेकले भने ।

राष्ट्रिय टोलीमा स्थान बनाउनेबारे विवेकले भने, ‘मैले प्रदर्शनमा अझैपनि सुधार गर्नुपर्छ । चाँडै राष्ट्रिय टोलीमा आउन प्रदर्शन यो भन्दा राम्रो हुनुपर्छ । हरेक खेल मेरो लागि महत्वपूर्ण छन् । म हरेक खेलको लागि तयार भएर बसेको छु ।’

आफू सिनियर टोलीबाट कति टाढा रहेको विवेकसँग जवाफ छैन । तर हरेक दिन आफ्नो प्रदर्शन सुधार गर्न खोज्ने बताए । आफ्नो प्रदर्शनमा सिनियर टोलीमा स्थान निर्भर पर्ने विवेकको बुझाई छ ।

यू१९ विश्वकप छनोट नहुँदा विवेकले आफूलाई घाटा भएको बताउँछन् । ‘विश्वकप भएको भए हामीले अझ एक्स्पोजर अझ धेरै पाउने थियौं । धेरै युवा खेलाडी आएका थिए । हामी विश्वकप खेल्नेमा आत्माविश्वासी पनि थियौं’, उनले भने ।

पोखराका कप्तान विनोद भण्डारीले टोलीलाई चाहेजस्तो अलराउन्डर पाएको बताउँछन् । ‘विवेक राम्रो अलराउन्डर भयो । हामीलाई यो सिजनमा राम्रो अलराउन्डर चाहिएको थियो । हामीले पनि त्यसै अनुसारको खेलाडी पायौं । ब्याटिङ, बलिङ र फिल्डिङमा पनि राम्रो गरिरहेको छ । त्यसले गर्दा पोखरा राइनोजले एक एकदमै राम्रो खेलाडी पाएको हो’, कप्तान विनोदले भने ।

टोलीका प्रशिक्षक शक्ति गौचनपनि विवेकलाई ब्याटिङ अलराउन्डरको रुपमा लिएपनि बलरझैं प्रयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘विवेक अलराउन्डर हो भन्ने हामीलाई थाहा थियो । हामी पनि अलराउन्डरको खोजीमा थियौं । हाम्रो योजना मध्यक्रममा अलराउन्डर चाहिन्छ भनेका थियौं । विवेक खास ब्याटिङ अलराउन्डर हो । तर उसले दुई तीन ओभर बलिङ पनि फाल्दिन्छ भने त्यो हाम्रो लागि राम्रो कुरा हो,’ प्रशिक्षक गौचनले भने ।

विवेकले पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । माघमा भएको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा विवेकले प्रदेश–२ का खेल्दै उत्कृष्ट प्रदर्शनका साथ उदीयमान खेलाडी चुनिएका थिए । पिएम कपको पहिलो खेलमै लुम्बिनी प्रदेशविरुद्ध आठौं नम्बरमा ब्याटिङ गर्दै विवेकले ४९ बलमा ३ चौका र ३ छक्का सहित ५१ रनको इनिङ खेलेका थिए । दोस्रो खेलमा बागमी प्रदेशविरुद्ध विवेकले नवौं नम्बरमा ब्याटिङ गर्दै ७४ बलमा ३ चौका र ३ छक्का सहित ६६ रनको अर्धशतकीय इनिङ खेलेपछि उनको चर्चा नेपाली क्रिकेटमा चुलिएको थियो ।

तेस्रो खेलमा सुदूरपश्चिमविरुद्ध ५२ बलमा २ चौका र ३ छक्का सहित ४१ रनको इनिङ खेलेका थिए । विवेकमा जिम्मेवारी मात्र होईन प्रदर्शनमा एकरुपता छ । जुन नेपाली अन्य खेलाडीमा निकै कम भेटिन्छ । पिएमकपको उच्च प्रदर्शनले विवेक फागुनमा कतार भ्रमणको लागि पहिलो पटक नेपाली टोलीको बन्द प्रशिक्षणमा परेका थिए । तर अभ्यासको केहि दिनमै कतार भ्रमणनै स्थगित भएपनि नेपाली टोलीबाट खेल्ने सपना पूरा हुन सकेन । त्यसपछि उनी पुन: नेपाली टोलीमा परेनन् ।

युवा अलराउन्डर विवेकले बुधबार आफ्नो १८ औं जन्मोत्सव मनाए । उमेरले कलिला भएपनि मैदानमा उनको प्रदर्शन परिपक्क छ । आक्रामक ब्याटिङ गर्ने उनले आफ्नो जिम्मेवारीपूर्ण र परिपक्क प्रदर्शन इपिएलमा पनि दोहोर्याए । विवेक पछिल्लो समय राम्रो लयमा पनि छन् । अर्को वर्ष हुने टि२० विश्वकप ग्लोबल छनोट नेपालको लागि प्रमुख प्रतियोगिता हो । नेपालले विश्वकपमा स्थान बनाउन विवेक जस्ता सम्भावना देखाएका खेलाडीलाई विशेष ध्यान दिन आवश्यक देखिन्छ ।

टि२० विश्वकप नेपालको हालसम्म हात पारेको सर्वाधिक ठूलो सफलता हो । सन् २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको नेपालले त्यसपछि उक्त सफलता दोहोर्याउन सकेको छैन । टि२० शैलीको खेलाडीको अभाव मुख्य कारक हो । टि२० क्रिकेटमा अलराउन्डरको भूमिका निकै महत्वपूर्ण हुन्छ । अझ हार्ड हिटरले छोटो समयमा खेललाई मोड्ने क्षमता राख्छन् ।

राष्ट्रिय टोलीको प्रशिक्षक पद नै रिक्त रहेको अवस्थमा छनोटकर्ताले अहिले देखि टोली तयार पार्नतर्फ ध्यानदिनुपर्छ । सिनियर टोलीमा पर्न विवेकले यो भन्दा उत्कृष्ट प्रदर्शन र मिहिनेत गर्नुपर्छ । तर सिनियर टोलीमा विवेक जस्ता युवा खेलाडीलाई फक्रिने अवसर भने सिर्जना गर्न आवश्यक देखिन्छ ।

यसअघि पहिलो पटक सिनियर टोलीको बन्द प्रशिक्षणमा परेपछि उनको जीवनीलाई समेटेर तयार पारेको लेख : भलिबल खेलाडीका क्रिकेटर छोरा

April 27, 2025

आरसिबी शीर्षस्थानमा उक्लियो

एजेन्सी – रोयल च्यालेन्जर्स बैगलुरू (आरसिबी) इण्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। दिल्ली क्यापिटल्सलाई आज ६ विकेटले आरसिबी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो । जितको लागि १ सय ६३ रनको चुनौति आरसिबीले १८.३ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो।‌ आरसिबीले सुरूवात खराब गर्यो। २६ रन मात्र जोड्दा ३ विकेट गुमायो। ओपनर ज्याकब […]

April 27, 2025

आरसिबीलाई दिल्लीको मध्यम लक्ष्य

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बैंगलुरु‌ (आरसिबी) लाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ। टस जितेर आरसिबीले फिल्डिङ रोजेको थियो। दिल्लीले ८ विकेटको नोक्सानीमा १ सय ६२ रन बनाएको छ।दिल्लीले खुलेर ब्याटिङ गर्न सकेन । टोलीका लागि केएल राहुलले सर्वाधिक ४१ रन बनाए। ओपनर अभिषेक पोरेलले […]

April 27, 2025

मुम्बई दोस्रो स्थानमा उक्लियो

एजेन्सी – जसप्रति बुमराह र ट्रेन्ट बोल्टले ७ विकेट लिएपछि मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराएको छ। जितसँगै मुम्बई अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ।‌२ सय १६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो। लखनउका लागि आयुष बोधानीले सर्वाधिक […]

Success

Thank you for your time.