default_image

4 years ago

September 19, 2021

ह्वाटमोरको अन्तिम खेलमा सुखद नतिजा अपेक्षा

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली ओमानसँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुने छ । ओमान भ्रमणको अन्तिम खेलमा नेपाल जितका साथ अन्त्य गर्न चाहन्छ ।

नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र ओमानको जिशान मकसुदले गर्ने छन् । पाकिस्तानी मुलका खेलाडीको बाहुल्यता भएको ओमान नेपालमाथि लगातार चौथो जित निकाल्ने सोचमा छ । नेपाल ओमानलाई हारको स्वाद चखाउने सोचमा छ । तर पछिल्ला दुई खेलको प्रदर्शनले भने नेपाललाई जितको लागि धेरै सुधार गर्नुपर्ने देखिन्छ ।

मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको यो नेपाली क्रिकेट टिमका लागि अन्तिम खेल हो । नेपाली खेलाडी ह्वाटमोरलाई जितका साथ बिदाई गर्न चाहन्छन् । ह्वाटमोरले ओमान भ्रमणपछि नेपाली टोली छाड्ने गरि राजीनामा दिइसकेका छन् ।

पछिल्ला दुई खेलमा नेपालको ब्याटिङ र बलिङ दुवै चलेको छैन । ओमानसँग ५ विकेट र अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । दुबै खेलमा बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा नेपालले कमजोर प्रदर्शन गरेको थियो । विशेषगरि ब्याटिङ सुधारमा विशेष ध्यानदिन आवश्यक छ ।

गैर जिम्मेवारी ब्याटिङ र खराब सटको कारण नेपालको ब्याटिङ कमजोर रहँदै आएको छ । ब्याटिङमा जिम्मेवारी लिएर सबै खेलाडीलाई खेल्न आवश्यक छ । बलिङमा पनि नेपालको पछिल्ला दुबै खेलमा सम्झन लायक प्रदर्शन छैन ।

लगातार हारपछि नेपालको टोलीमा आज कम्तिमा दुई परिवर्तनको सम्भावना छ । ओमान भ्रमणमा फ्लप युवा अलराउन्डर कुशल मल्ललाई नेपालले आजको खेलमा बेन्चमा राख्ने लगभग निश्चित छ । उनले ओमान भ्रमणमा ५ खेलमा ७ रन बनाएका छन् । पपुवा न्युगिनीसँग दुबै खेलमा एक एक रनमा आउट भएका थिए । अमेरिकासँग पहिलो खेलमा एक र दोस्रो खेलमा शून्यमा आउट भएका थिए ।

ओमानसँग चार रनमा पेभिलिएन फर्केका थिए । उनी नचल्दा नेपालको मध्यक्रम कमजोर बनेको छ । मध्यक्रम बलियो बनाउन नेपालले कुशलको स्थानमा शरद भेषावकरलाई मौका दिने सम्भावना बढी छ । शरद सर्वाधिक अनुभवी खेलाडी हुँदा टोलीमा उनको आवश्यक पनि धेरै देखिदै आएको छ । उनको आगमनले मध्यक्रम बलियो हुने आशा राखिएको छ । शरद पार्टटाइम राम्रो स्पिन बलिङ गर्ने गर्दछन् ।

त्यस्तै विनोद भण्डारीको स्थानमा आरिफ शेखलाई मौका दिनसक्छ । आरिफ मध्यक्रमका भरपर्दा ब्याट्सम्यान हुन् । विनोद नहुँदा विकेटकिपर ओपनर आसिफ शेखले गर्नसक्छन् । विनोदबाट अपेक्षा अनुसार प्रदर्शन हुन सकेको छैन । उनी अमेरिकासँग १० र ओमानसँग ६ रनमा आउट भएका थिए ।

आरिफ मध्यगतिको बलिङको राम्रो विकल्प हुन् । पहिलो खेलमा डेब्यू दिएका गुलशन झाको स्थानमा अभिनाश बोहरालाई मौका दिनसक्छ । पहिलो खेलमा ब्याटिङमा २८ रन जोडेपनि बलिङमा ३ ओभरमा ३१ रन खर्चेका थिए ।

ओपनर कुशल भुर्तेल, आसिफ शेख र कप्तान ज्ञानेन्द्र मल्ललाई ठूलो इनिङमा बदल्न आवश्यक देखिन्छ । राम्रो सुरुवात दिएपछि विकेट गुमाउँदै आएका छन् । युवा ब्याट्सम्यान रोहित कुमार पौडेलबाट नेपालले ठूलो आशा राखेको छ । तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी र करण केसीको पनि प्रदर्शन राम्रो हुन सकेको छैन ।

सोमपाल कामी पछिल्ला दुबै खेलमा महँगो सावित हुँदै विकेटविहिन बने । जुन नेपाललाई सबैभन्दा ठूलो चिन्ताको विषय हो । सोमपाल ब्याटिङमा पनि चल्न सकेका छैनन् । सोमपाललाई जिम्मेवारीका साथ प्रदर्शन गर्न आवश्यक देखिन्छ । करणले पनि अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन् । उनलाई आफ्नो शैली अनुसार प्रदर्शन गर्न आवश्यक देखिन्छ ।

स्पिनर सन्दीप लामिछाने नेपालका प्रमुख हतियार हुन् । सन्दीपले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ओमानलाई स्तब्ध पार्न सन्दीपको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । ओमानसँग पहिलो खेलमा सन्दीपले पेटमा समस्याको कारण बलिङ गरेका थिएनन् । सुशान भारीको प्रदर्शन पनि अपेक्षा अनुसार छैन ।

यता ओमान प्रमुख दुई खेलाडी अकिब इलायस र खवर अलीको चोटको कारण केहि कमजोर बन्न पुगेको छ । पछिल्लो खेलमा अमेरिकाले प्रस्तुत गरेको १ सय ७९ रनको विजयी लक्ष्य पछ्याउन ओमानले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपाली मुलका विकेटकिपर सुरज कुमारले ओमानबाट राम्रो प्रदर्शन गर्दै आएका छन् । ओपनर जतिन्दरसिंह नेपाललाई पुन घातक बन्न सक्छन् । नेपालविरुद्ध उनले १ सय ७ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए ।

पहिलो पावर प्लेमा ओमानले १ सय ८ रन बनाएको थियो । अलराउन्डर मोहम्मद नदिम र जिशान मकसुदले पनि नेपाललाई निराश बनाउन सक्छन् । तीव्र गतिका बलर बिलाल खान नेपाललाई घातक बन्न सक्ने ओमानका हतियार हुन् । नेपालविरुद्ध उनले पछिल्लो खेलमा ४ विकेट लिएका थिए । नदिम, जतिन्दर बिलाल खान ओमानका प्रमुख हतियार हुन् ।

हेड टु हेड :

नेपाल र ओमानबीच तीन ओडिआई खेल भएको छ । ओडिआईमा नेपालले ओमानलाई हराउन सकेको छैन । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । ओमानले गत वर्ष नेपाललाई घरेलु मैदानमै पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित गरेको थियो । अन्तर्राष्ट्रिय खेलमा ओमानले नेपाललाई सहजै पराजित गर्दै आएको छ ।

२०१९ मा पाँच टोलीबीचको टि२० सिरिजमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । २०१८ को एसिया कप छनोटमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । २ सय २१ रन बनाएपनि नेपाल पराजित हुन पुगेको थियो । त्यसै वर्ष डिभिजन २ को खेलमा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो ।

मौसम : खेलमा वर्षाको कुनै सम्भावना छैन । तापक्रम भने न्यूनतम २९ र उच्चतम ३५ डिग्री हुने छ ।

नेपालमा खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्समा हेर्न सकिने छ । त्यस्तै इन्टरनेटमा आइसिसी टिभी र फ्यान कोडबाट हेर्नबाट पनि हेर्न सकिन्छ ।

नेपालको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल

ओमानको टोली : जिशान मकसुद (कप्तान), अकिब इलायस, जतिन्दर सिंह, खवर अली, मोहम्मद नदीम, अयान खान, सुरज कुमार, सन्दीप गौड, नेस्टर धम्बा, कलिमुल्लाह, बिलाल खान, नसिम खुशी, सुफ्यान मोहम्मद र सोहिब खान

विश्वकप लिग-२ अंक तालिका

ओमान १२ खेलमा १० मा जित र २ मा हार सहित २० अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १५ खेलमा ७ मा जित र ८ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । नेपाल ७ खेलमा ३ मा जित र ४ मा हार सहित ६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.