default_image

4 years ago

September 29, 2021

भैरहवाको सहज जित

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बुधबारको दोस्रो खेलमा भैरहवा ग्ल्याडीयटर्सले विराटनगर वारीयर्सलाई ६ विकेटले पराजित गरेको छ । यस जितसँगै भैरहवा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

विराटनगरले प्रस्तुत गरेको ९० रनको लक्ष्य भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । भैरहवाको जितमा उपुल थरांगाले सर्वाधिक ३४ रनको योगदान दिए । विजयी चौका प्रहार गरेका उनले ३५ बलमा ४ चौका प्रहार गरे । कप्तान शरद भेषावकर ६ रनमा नटआउट रहे ।

भैरहवाका लागि ओपनर प्रदीप ऐरीले २३ बलमा ३ चौकासहित २२ रनको योगदान दिए । उनी पाँचौ ओभरमा करण केसीको बलमा सिकन्दर राजाबाट समातिए । पहिलो विकेटका लागि २७ रनको साझेदारी अन्त्य भएपछि आठौं ओभरमा अर्का ओपनर तमिम इकबाल रामनरेश गिरीको बलमा आउट भए । उनले १३ बलमा १ चौका र १ छक्काको मदतले १२ रन जोडे ।

११ औं ओभरको अन्तिम बलमा रोहित पौडेल रामनरेशकै शिकार बने । ठूलो सट खेल्ने धुनमा उनी चन्द्रपाल हेमराजको हातबाट थर्डमा समातिए । उनले १० बलमा २ चौकको मदतले १२ रन जोडे । लगत्तै अर्को ओभरमा आरिफ शेख वसन्त रेग्मीको बलमा खाता नखोली आउट हुँदा भैरहवा ७०-४ को स्थितिमा पुगेको थियो ।

त्यसपछि शरद र उपुलले टोलीलाई जितसम्म पुर्याएका थिए । विराटनगरका लागि रामनरेशले २ विकेट लिँदा वसन्त र करणले १-१ विकेट हात पारे ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १७.४ ओभरमा ८९ रनमा अल आउट भयो । विराटनगरका ब्याटर दीलशान मुनाविराले सर्वाधिक २५ रन बनाए । पहिलो ओभरको चौथो बलमा धाम्मिका प्रसादले ओपनर हेमराज चन्द्रपाउललाई विकेटकिपर उपुल थरंगाबाट शून्यमा क्याच आउट गराए ।

बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले छैटौं ओभरको तेस्रो बलमा ओपनर आसिफ शेखलाई ११ रनमा बोल्ड आउट गरे । आसिफ अघि बढेर सट खेल्नेक्रममा मिस हुँदा बोल्ड हुन पुगेका थिए । आरिफको आठौं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका अनिलकुमार शाह वैकल्पिक फिल्डर भुवन कार्कीबाट ११ रनमा समातिन पुगे ।

आरिफ शेखको दशौं ओभरको अन्तिम बलमा दीलशान २५ रनमा अभिनाष बोहराबाट क्याच आउट भए । उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । कृष्ण कार्कीले कप्तान करण केसीलाई शून्यमा क्याच आउट गराए ।

आरिफको १२ औं ओभरको चौथो बलमा सिकन्दर राजा लङअनमा अभिनाषबाट ५ रनमा क्याच आउट भएपछि विराटनगर ६६–६ को अवस्थामा पुगेको थियो । अभिनाषको बलमा सौरभ खनाल ३ रनमा क्याच आउट भएका थिए । प्रतिश जि.सी शून्य, सुमित महर्जन १३ र वसन्त रेग्मी १० रन बनाए ।

भैरहवामा मध्यगतिका बलर आरिफ शेखले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । धाम्मिका प्रसादले ३ ओभरमा १ मेडन सहित ६ रन खर्चेर विकेट लिए । अभिनाष बोहराले ३.४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । दुर्गेश गुप्ता र कृष्ण कार्कीको नाममा १–१ विकेट रह्यो ।

यस जितसँगै भैरहवाले २ खेलमा ३ अंक जोडेको छ । पोखराविरुद्ध पहिलो खेल वर्षाले रद्द भएपछि १-१ अंक बाँडेका थिए । भैरहवा रन रेटमा समान ३ अंक जोडेको पोखरालाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । लगातार दोस्रो हार बेहोरेको विराटनगर भने अंकविहिन छ ।

त्यसअघि बुधबारको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियटर्सलाई ९ विकेटले पराजित गरेको थियो । जितको लागि ५२ रनको सामान्य लक्ष्य पछ्याएको पोखराले ९.३ ओभरमा १ गुमाउँदै पूरा गर्यो । पोखरा रिचार्ड लेभी २२ बलमा ५ चौका र १ छक्का सहित ३८ रनमा अविजित रहे । डेब्यू खेल खेलेका युवा ब्याट्सम्यान रित गौतम १४ बलमा १ चौका सहित १२ रनमा बोल्ड आउट भए । पहिलो विकेटका लागि लेभी र रितले ५.२ ओभरमा ३९ रनको साझेदारी गरेका थिए ।

ललितपुरका अजमतुल्लाह ओमरजाईले पहिलो ओभरमा ९ रन खर्चेका थिए । दोस्रो ओभरमा रिजन ढकालले ५ रन खर्चिए । तेस्रो ओभरमा योगेन्द्रसिंह कार्कीले ९ रन खर्चिएका थिए । रिजन ढकालले चौथो ओभरमा २ चौका सहित १२ रन खर्चिएका थिए । पवन सरार्फले पाँचौं ओभरमा ४ रन दिए । छैटौं ओभरको दोस्रो बलमा अजमतुल्लाहले रितलाई बोल्ड आउट गरे ।

छैटौं ओभरमा अजमतुल्लाहले १ विकेट लिएर २ रन दिएपछि खेल अन्तिम ओभरमा पुगेको थियो । अन्तिम ओभरमा पोखरालाई जितको लागि ११ रन आवश्यक परेको थियो । पवनलाई पहिलो बलमा लेभीले चौका प्रहार गरे । दोस्रो बलमा लेभीले छक्का प्रहार गर्दै जित सहज बनाए । एक रन चाहिँएको बेला लेभीले तेस्रो बलमा चौका प्रहार गर्दै खेल जिताए ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको थियो । भिजेको आउटफिल्डको कारण खेल सुरु हुन निर्धारित समय भन्दा दुइ घण्टा ढिलो हुँदा खेल ७–७ ओभरमा झारिएको थियो । ललितपुरका विकेटकिपर सान्दुन वीराक्कोडीले १६ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक १९ रन बनाएका थिए ।

पहिलो ओभरमा केज्रिक विलियम्सले ७ रन खर्चेका थिए । तीव्र गतिका बलर विक्रम सोबको दोस्रो ओभरको पहिलो बलमा कप्तान कुशल भुर्तेल थर्डमा नन्दन यादवबाट ३ रनमा सहज क्याच आउट हुन पुगे । दोस्रो ओभरमा विक्रमले एक चौका सहित एक विकेट लिँदै कुल ७ रन खर्चेका थिए । नन्दन यादवको तेस्रो ओभरको पहिलो बलमा ठूलो सट खेलेका पवन सरार्फ लोकेश बमबाट ५ रनमा आउट भए । नन्दनले यस ओभरमा ६ रन खर्चिए ।

विक्रमको चौथो ओभरको पहिलो बलमा ठूलो सट खेलेका अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ डिप मिडविकेटमा सुनिल धमलाबाट एक रनमा क्याच आउट हुन पुगेका थिए । विक्रमले चौथो ओभरमा ४ रन खर्चेर १ विकेट लिए । मध्यगतिका साहन आर्चचिगेले पाँचौं ओभरमा एक चौका र एक छक्का सहित कुल १४ रन खर्चिए । केज्रिकको छैटौं ओभरको तेस्रो बलमा सान्दुन एज लागेर विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट हुन पुगे । केज्रिकले छैटौं ओभरमा १ विकेट लिँदै कुल १० रन खर्चेका थिए ।

सातौं ओभरको चौथो बलमा नन्दनले नारायण जोशीलाई ११ रनमा बोल्ड आउट गरे । नारायणले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे । पाँचौं बलमा सन्दीप जोरा शून्यमा आउट भए । ओशद फर्नान्डो ७ बलमा १ चौका सहित १० रनमा अविजित रहे । पोखराका नन्दन यादवले २ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । विक्रमले २ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । केज्रिक विलियम्सले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

पहिलो खेलमा पोखराले भैरहवा ग्ल्याडियटर्ससँग बर्षाको कारण १-१ अंक बाँडेको थियो । पोखराले तेस्रो खेल शुक्रबार चितवन टाइगर्ससँग खेल्ने छ । ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर काठमाडौं किंग्स इलेभेनसँग ७ विकेटले पराजित भएको थियो । तेस्रो खेल ललितपुरले बिहीबार विराटनगर वारियर्ससँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.