4 years ago
October 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणमा काठमाडौं किंग्स इलेभेनलाई डकवर्थ लेविस पद्धतिको आधारमा १४ रनले पराजित गरेको छ । पोखरासँग हारसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको छ । पोखरालाई जितको लागि ३० बलमा ४१ रन आवश्यक परेको अवस्थामा वर्षाले खेल रोकिएको थियो ।

जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १५ ओभरमा ५ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो । भारी वर्षासँगै पुन खेल हुन नसकेपछि पोखरा डकवर्थ लेविसको आधारमा विजयी भएको हो । पोखराका युवा ब्याटर विवेक यादव २८ बलमा ४ चौका र २ छक्का सहित ४१ रनमा अविजित रहे । लोकेश बम ८ बलमा ३ चौका सहित १८ रनमा अविजित रहे ।
श्रीलंका ब्याटर असान अर्चाचिगेले २३ बलमा ४ चौका र ३ छक्का सहित ४३ रनमा क्याच आउट भए । गुलशनको तेस्रो ओभरको पाँचौं बलमा ओपनर रित गौतम एज लागेर २ रनमा अमरसिंह राउटेलाबाट क्याच आउट भएका थिए । गुलशनकै बलमा पाँचौं ओभरको दोस्रो बलमा ओपनर रिचार्ड लेभीबाट १७ रनमा क्याच आउट भएपछि पोखराले खराब सुरुवात गरेको थियो । लेभीले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

जितेन्द्र मुखियाको छैटौं ओभरको तेस्रो बलमा कप्तान विनोद भण्डारी एज लागेर विकेटकिपर रहमानउल्लाह गुरबाजबाट ५ रनमा समातिन पुगे । मुखियाले दुई बलपछि असेला गुणरत्नेलाई शून्यमा बोल्ड आउट गर्दा पोखरा ५.५ ओभरमा ३६–४ को अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि असान अर्चाचिगे र विवेक यादवले ७७ रनको महत्वपूर्ण साझेदारी गर्दै पोखराको जितको सम्भावना कायमै राखेका थिए ।
कप्तान सन्दीप लामिछानेको १३ औं ओभरको अन्तिम बलमा अर्चाचिगे अमित श्रेष्ठबाट क्याच आउट भएका थिए । काठमाडौंका जितेन्द्र मुखिया र गुलशन झाले २-२ विकेट लिए । सन्दीप लामिछानेले १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो ।
काठमाडौंका अमित श्रेष्ठले ४१ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । रायन बर्लले ४३ बलमा २ चौका र ३ छक्का सहित ५० रनमा आउट भए । तल्लोक्रममा कप्तान सन्दीप लामिछानेले ११ बलमा २ चौका र ३ छक्का सहित ३१ रनको आक्रामक इनिङ खेल्दै टोलीलाई बलियो योगफलमा पुर्याए । बर्लले ४२ र अमितले ३६ बलमा अर्धशतक पूरा गरेका थिए ।

कमजोर सुरुवात गरेको काठमाडौंलाई तेस्रो विकेटका लागि रायन र अमितले १ सय ६ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै पूनरागमन गरेका थिए । दोस्रो ओभरको दोस्रो बलमा ओपनर रहमानउल्लाह गुरबाजलाई रित गौतमले १२ रनमा रन आउट गर्दै पोखरालाई महत्वपूर्ण सफलता दिलाएका थिए । रितले ननस्ट्राइकमा सिधैं स्टम्प ताक्दै गुरबाजलाई पेभिलिएनको बाटो देखाए ।
तेस्रो ओभरको पहिलो बलमा विक्रम सोबले सुवास खकुरेललाई २ रनमा एलबिडब्लू आउट गरेका थिए । अमितलाई १५ औं ओभरको चौथो बलमा किशोर महतोले बोल्ड आउट गरेका थिए । नन्दन यादवको १८ औं ओभरको तेस्रो बलमा बर्ल एज लागेर विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट हुन पुगेका थिए ।

अमरसिंह राउटेला ७ रनमा क्याच आउट भए । विवेक यादवको अन्तिम ओभरको तेस्रो बलमा ठूलो सट खेलेका सन्दीप एज लागेर थर्डमा क्याच आउट भएका थिए । पोखरा तीव्र गतिका बलर विवेक यादवले १ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । साहन अर्चाचिगे, विक्रम सोब, नन्दन यादव र किशोर महतोले १–१ विकेट लिए ।
यो जितसँगै पोखरा ५ खेलमा ३ मा जित र १ मा हार सहित ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । सोमबार भैरहवा ग्ल्याडियटर्स काठमाडौं किंग्स इलेभेनसँग पराजित भएमा पोखरा शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्नेछ । तर भैरहवा विजयी भएमा वा वर्षा र भिजेको आउटफिण्डको कारण अंक बाँड्न परेमा भैरहवा क्वालिफायर खेल्ने छ ।
काठमाडौंलाई प्लेअफमा पुग्न अन्तिम खेलमा जित आवश्यक पर्छ । वर्षाको कारण खेल हुन नसकेपनि काठमाडौं प्लेअफमा पुग्नेछ । तर काठमाडौं पराजित भएमा ललितपुर प्लेअफमा पुग्नेछ । चितवन यसअघिनै क्वालिफायरमा पुगि सकेको थियो ।
अंक तालिका
चितवन ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्षस्थानमा छ । पोखरा ५ खेलमा ३ जित र १ मा हार सहित ७ अंकका साथ दोस्रो स्थानमा छ । भैरहवा ग्ल्याडियटर्स ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ तेस्रो स्थानमा छ ।
ललितपुर ५ खेलमा १ मा जित र ३ मा हार सहित ३ अंक जोड्दै चौथो स्थानमा । काठमाडौं ४ खेलमा १ मा जित र ३ मा हार सहित २ अंकका साथ पाँचौं स्थानमा छ । विराटनगर वारियर्स ५ खेलमा १ मा जित र ४ मा हार सहित पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]